राजकुमार रेग्मी-
‘नेपाल चीनतिर ढल्कियो’– यो वाक्यको ठूलो राजनीतिक–सामरिक अर्थ छ । यो वाक्यले गहिरो राजनीतिक षडयन्त्र तर्फ पनि संकेत गर्छ । यो वाक्य भारतीय तथा खासखास प्रजातिका पश्चिमाहरुले बोल्ने गरेका छन् । सन् ९० अघि जसरी विश्व राजनीति अहिले ध्रुवीकृत हुँदै गइरहेको तथ्यलाई ध्यानमा राखेर यो वाक्यको अर्थ खोजिनु पर्छ ।
यो वाक्यको सार खोज्न केही दिन अघि संयुक्त अरब इमिरेट्स (युएई) र इज्राइल बीच भएको सम्झौतालाई ध्यान दिउँ । अनपेक्षित थियो इज्राइल र युएई बीच कूटनीतिक सम्बन्ध बनाउने सम्झौता । सो सम्झौताले पूरै विश्वलाई तरंगित गरिरहेको छ । आकारले दुवै देश ठूला होइनन् । नेपाली राजनीतिमा यी दुई देशको कुनै पनि खालको प्रत्यक्ष प्रभाव छैन । तथापि, यी दुईको सम्झौताले आगामी विश्व राजनीति कता जानेछ र ध्रुवीकरण कसरी बढ्नेछ भन्ने संकेत गरेको छ ।
तिब्र ध्रुवीकरण
‘यता कि उता’ को अर्थ चीनतिर कि अमेरिकातिर भनेको हो ।
इज्राइल र युएई बीच सम्झौताको भित्रभित्रै तयारी चलिरहँदा भारत र चीनबीच नेपालको पश्चिमबाट अझ पश्चिमतिर रहेको गलवान क्षेत्रमा सैन्य मुठभेड चलिरहेको थियो । सो मुठभेड तत्कालका लागि साम्य भइसकेको छ तर दुई देशबीच द्धन्द जारी छ । दुई छिमेकीले द्धन्द गर्दा नेपाललाई ‘तिमी यता कि उता ?’ भनेर सोध्छन् भने त्यसलाई सामान्य नै मान्नुपर्छ ।
यता कि उता भन्ने प्रश्नको सामना नेपालले मात्र गरिरहेको होइन । खाडी क्षेत्रका सबै देशका सम्मुख यो प्रश्न उपस्थित भएको छ । अमेरिका र चीन बीच चलिरहेको सामरिक प्रतिस्पर्धा यही रुपमा बढ्दै गयो भने आगामी दिनमा विश्वका सबै देशका सामु ‘यता कि उता ?’ भन्ने प्रश्न उपस्थित हुनेछ ।
र, अमेरिका र चीन बीच आगामी दिनमा द्धन्द चरम बन्दै जाने निश्चित जस्तै छ ।
अमेरिकी ध्रुवका हुन् इज्राइल र युएई । खाडी क्षेत्रका निर्णायक देशहरु इरान र साउदी अरेबिया बीच चरम सामरिक प्रतिद्धन्दिता छ । इरान अहिले चीनको साथमा छ । टर्की पनि क्रमश चीनसँग नजिकिँदै छ । एसिया र युरोपको साँधमा पर्ने टर्कीको ठूलो सामरिक महत्व छ । रोचक के छ भने चीनसँग क्रमश नजिकिँदै गएका टर्की र इरान दुई देशको भने सामरिक स्वार्थ फरक छ, उनीहरुको स्वार्थ टकराउँछ । पाकिस्तान चीनको पक्षमा गइसकेको छ । अमेरिकी ध्रुवको साउदी अरेयिबासँग पाकिस्तानको सम्बन्ध बिग्रनु र टर्की र इरानसँग सम्बन्ध सुध्रनु संयोग मात्र होइन । सामरिक स्वार्थको मिहिन विष्लेशण नगरी सम्बन्ध सुध्रने र बिग्रने हुँदैन । अर्थात् विश्वव्यापी रुपमा ध्रुवीकरण शुरु भइसकेको छ । खासगरी एसियामा ध्रुवीकरण आगामी दिनमा चरम बन्ने देखिन्छ ।
लेख्दालेख्दै स्मरण गराउँ– ‘नेपाल चीनतिर ढल्कियो’ भन्ने वाक्यभित्रको निहितार्थ पहिल्याउन यी सबै चर्चा गरिँदैछ ।
विश्वमा अहिले सबै देश सामु यता कि उता भन्ने प्रश्न उपस्थित भएको बेला दक्षिणबाट रोइकराई गर्दै भन्दैछन्– नेपाल चीनतिर ढल्कियो ।
यता न उता
गत शीतयुद्धकालमा भारत र चीन दुवै निर्णायक शक्ति थिएनन् । अहिले चीनले विश्वको एउटा धुरीको नेतृत्व गरिरहेको छ । भारत पनि निर्णायक शक्ति बनेको छ । छिमेकी दुवै देश शक्तिशाली बन्दा नेपाल खुसी हुनुपर्ने हो, उनीहरुको शक्ति र समृद्धिको लाभ नेपालले पाउनुपर्ने हो । तर, अवस्था उल्टो छ ।
शीत युद्ध कालमा सोभियत संघ र अमेरिकी ध्रुवमा देशहरु बाँडिएका थिए तैपनि अधिकांश देशले अमेरिका र सोभियत संघ दुवैसँग राम्रै सम्बन्ध राखेका थिए । कुनै ध्रुवमा नलाग्ने भन्दै असंलग्न आन्दोलन चलाइरहेका देशहरु पनि प्रत्यक्ष या परोक्ष रुपमा एउटा ध्रुवमा लागेका हुन्थे । अहिले त्यति सजिलो अवस्था छैन । एकतिर लाग्नैपर्ने बाध्यता देशहरुलाई थोपरिँदैछ । यसको सिकार नेपाल क्रमश बन्दै गइरहेको छ ।
‘नेपाल चीनतिर ढल्कियो’ भन्ने टिप्पणी र ‘नेपाल कता’ भन्ने प्रश्न एउटै सिक्काको दुई पाटा हो । यो सिक्काले के संकेत गर्छ भने परम्परागत परराष्ट्र नीतिलाई निरन्तरता दिन सकिएन भने नेपालमा षडयन्त्रमूलक घटना मञ्चन गराइन सक्छ जसले नेपालको राजनीतिक प्रवाह अन्यत्र मोडिदिन सक्छ ।
नेपाल कता भन्ने प्रश्नको जवाफ हो– न यता न उता । खासगरी भारतले यो कुरा पचाउँदैन । नेपालको तटस्थता भारतलाई मान्य छैन । त्यसैले नेपाल चीनतिर ढल्कियो भन्ने प्रचार गरिरहेको छ ।
नेपाल कता ?
नेपाल चीनतिर ढल्किएकै हो । ढल्किएको होइन भनियो भने गलत हुन्छ । (यसको अलि बढि ब्याख्या तल गरिने छ ।)
नेपाल किन चीनतिर ढल्कियो ? भारतका कारणले । भारतले नेपालमा जहिले पनि अस्थिरता चाह्यो । नेपाललाई उसको प्रान्त सरह व्यवहार गर्न खोज्यो । नेपाललाई दपेट्न र लपेट्न मात्र खोज्यो । नेपालको साँध जोडिएको छिमेकी भारत र चीन मात्र हो । भारतले भित्तैमा पुग्ने गरी ठेल्दा नेपाल चीनतिर पुग्छ, चीनले ठेल्यो भने भारततिर पुग्छ । बास्तवमा, नेपाल चीनतिर आफैं ढल्किएको होइन । भारतले ठेलेर पेलेर चीनतिर ढल्काएको हो । भारतले संविधान बनाउन नदिएको होइन र ? भूकम्पले नेपाल थिलथिलो बनेको मौका पारेर नाकावन्दी लगाएको होइन र ? औषधी समेत नेपाल छिर्न नदिएको होइन र ? भारतले खुलेर नाकावन्दी तीनपटक लगायो तर उसले जहिलेतहिले नेपाललाई नियन्त्रित नाकावन्दी लगाइरहेको छ । नेपाललाई अकुण्ठित पारवहन अधिकार दिएको छैन । पारवहनमा जहिलेतहिले झन्झट दिएर नेपालको आर्थिक विकास हुन नदिने भारत होइन र ? भारतले नेपाललाई अकुण्ठित पारवहन अधिकार दिने हो भने नेपालको आर्थिक विकास अर्कै उचाईमा पुगिसक्ने थियो ।
नेपालको कालापानी लिपुलेक क्वाप्पै खाने, नेपालले आफ्नो भूमि समेटिएको मानचित्र जारी गर्दा निहुँ खोज्ने भारत नै होइन र ? यसरी भित्तैमा पुग्ने गरी ठेल्ने, चीनसँग निकट हुन बाध्य बनाउने अनि आफैं ‘चीनतिर ढल्कियो’ भन्दै रोइलो गर्ने किन ? भारतले खुलेआम भने हुन्छ– हामीले नेपाललाई ठेलेर चीनतिर ढल्काएका छौं ।
नेपाल कता भन्ने प्रश्नमा भारतीय कोणबाट जवाफ ‘नेपाल चीनतिर’ भन्ने नै हुन्छ । तसर्थ भारतीय कोणबाट हेर्दा नेपाल चीनतिर ढल्किएको देखिनु स्वाभाविक हो । भारतको मित्रशक्ति बनेको अमेरिकी गठवन्धनले पनि नेपाललाई चीनतिर ढल्किएको देख्छ भने अन्यथा होइन । अहिलेको सन्दर्भमा भारतले चीनतिर नेपाल ढल्किएको भन्छ भने के निष्कर्षमा पुग्न सकिन्छ भने नेपालको परराष्ट्र नीति ठिक ठाउँमा छ, नेपाल जता जाँदैछ ठिक बाटोमा जाँदैछ ।
अब चाहिँ कता ?
नेपाल चीनतिर ढल्कियो भन्ने आरोप होइन, त्यो रोइलो हो । रोइलोको रुपमा नै बुझ्नु बेश हुन्छ । तर, कुरा यतिमा मात्र सीमित छैन । आगामी दिनमा नेपालले आफू कता भन्ने प्रष्ट पार्दै जानुपर्ने हुनसक्छ । भविष्यमा पनि नेपालले भारत या अमेरिकातिर ढल्कन्छु भन्ने छैन । अरुले ठेलेर कतै ढल्काइदिनु बेग्लै कुरा हो तर आफैं कतै ढल्कने नेपालको चरित्र नै होइन ।
भारतको रोइलोको अर्थ हो– हामीतिर ढल्कनुपर्छ । नेपालले भारतसँग जसरी नै चीनसँग सम्बन्ध बढाउँदा ढल्किएको भन्न मिल्छ र ? चीनतिर पनि नाका खोल्न खोज्दा ढल्किएको भन्न मिल्छ र ? चीनबाट पनि सहयोग लिँदा ढल्किएको भन्न मिल्छ र ? यदि यसैलाई ढल्किएको भनिन्छ भने नेपाल चीनतिरै ढल्कन्छ । अझ ढल्कनुपर्छ ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले चीनलाई उच्च प्राथमिकता दिएको प्रष्टै छ । भारतको चीनसँग द्धन्द छ तर नेपालको छैन । भारतको कोकोसँग द्धन्द हुन्छ उसँग नेपालले सम्बन्ध नबढाउने भन्ने हुन सक्दैन । भारत र चीनको द्धन्द उनीहरुको विषय हो तर नेपालले दुवैसँग सम्बन्ध बढाउँछ भन्ने मान्यता ओली सरकारको देखिन्छ ।
ओली सरकार के कुरामा स्पष्ट देखिन्छ भने भारतसँग जसरी नै चीनसँग पनि सम्बन्ध बढाउनुपर्छ । भुटानको जस्तो भूमिकामा नेपाललाई खुम्च्याउनुपर्छ भन्ने भारतीय मान्यतालाई ओली सरकारले ठाडै प्रतिवाद गरिरहेको छ । सरकारको यही नीतिका कारण नेपालमा षडयन्त्रमूलक घटना मञ्चन गराइन सक्छ भनेर माथि लेखिएको हो । किनभने विश्व तथा क्षेत्रीय ध्रुवीकरणमा तटस्थ बस्ने सरकार नपचाउने शक्ति धेरै छन् । नेपालमा स्थिरता नहाेस् भनी चाहने शक्ति सक्रिय छन् ।
षडयन्त्रको चक्र
नेपाली राजनीतिको चक्र षडयन्त्रबाट सुरु भएर षडयन्त्रमै टुंगिने गरेको छ । विगतका आन्दोलन तथा क्रान्तिहरु जनताको आकांक्षामै भएका थिए तर त्यो आकांक्षाको घोडा चढेर विदेशीले स्वार्थ पूर्ति गरे । अहिले नेपालको अवस्था र विश्व राजनीतिको अवस्था जस्तो देखिन्छ त्यसलाई हेर्दा नेपालमा अनपेक्षित घटना नहोला भन्न सकिन्न । नेपाली राजनीति सदासर्वदा षडयन्त्रमय छ । अहिलेको राजनीति पनि षडयन्त्रमय नै छ । र, आगामी राजनीति पनि षडयन्त्रमय नै हुने देखिन्छ ।
मुख्य कुरा, नेपाललाई अस्थिरतामा फसाउने विदेशी षडयन्त्र अहिलेदेखिको होइन ।
आन्तरिक राजनीति र विश्व राजनीतिको सम्बन्ध हुन्छ नै । अहिले विश्व राजनीतिले जस्तो चरित्र देखाउँदैछ त्यसको प्रत्यक्ष आघात नेपाललाई पर्न थालिसकेको पनि छ । विश्व राजनीतिले नेपाललाई पारेको असर वाक्य हो– ‘नेपाल चीनतिर ढल्कियो ।’
नेपाल चीनतिर ढल्कियो भन्नेहरुको धारणा छ– भारततिर ढल्कनुपर्छ । केपी ओली सरकार रहेसम्म नेपालले कतै नढल्कने र चीनसँग सम्बन्ध बढाउँदै जाने नीति छाड्ने छैन । यही कारण केपी ओली सरकार गिराउन खोजिएको हो । ओलीलाई ढाल्न सम्भव देखिएन । आउँदो चुनावसम्म पर्खने धैर्य पनि ‘नेपाल चीनतिर ढल्कियो’ भनेर रोइलो गर्नेहरुलाई पक्कै छैन । त्यसैले नेपालमा कुनै षडयन्त्रमूलक अनपेक्षित घटना मञ्चन गराउन खोज्छन् ।
सामरिक स्वार्थका लागि जे पनि गर्ने, जस्तोसुकै हर्कत गर्ने र त्यस्तो हर्कत खुलेआम समेत गर्ने दिन विश्व राजनीतिमा पुन आइसकेको छ । त्यसकारण नेपाल जस्तो तटस्थ नीति लिने मुलुकमा आफू अनुकूलको सरकार मात्र होइन सत्ता नै स्थापित गर्ने प्रयास सामरिक खेलाडिहरुबाट हुनसक्छ । सामरिक स्वार्थ गासिएका देशलाई आफ्नो पक्षमा पार्ने होडबाजी दक्षिण एसियामा पनि तिब्र भइसकेको छ । चीन हिमालबाट तल ओर्लिसकेको छ भने भारतले आफ्नो सामरिक स्वार्थलाई पहिलेभन्दा धेरै ध्यान दिनुपर्ने भइसक्यो । सामरिक गठवन्धनको नयाँ युग सुरु भइसक्यो ।
ठाडै र प्रष्टै भन्ने हो भने कुनै अनपेक्षित घटना गराएर नेपाललाई आफ्नो सामरिक छाताभित्र ल्याउने प्रयाश हुनसक्छ ।
