काठमाडौं । नेपालको राजनीतिमा बारम्बार चमत्कार हुँदै आएका छन् । हरेक पटक नयाँ नयाँ ब्रेकिङ र नयाँ नयाँ किर्तीमान । ती किर्तीमानले नेपाली जनतालाई मात्र हाेइन विश्व जगतलाई नै चकित पारेको छ ।
सशस्त्र युद्धमा लागेको तत्कालीन् नेकपा माओवादी शान्ति प्रक्रियामा आउला भन्ने कसैले सोचेकै थिएनन् । तर संसारलाई चकित पार्दै माओवादी शान्ति प्रक्रियामा आयो ।
दुईसय वर्ष लामो इतिहास बोकेको शाह वंशीय राजतन्त्र समाप्त होला भन्ने विश्वले नै सोचेको थिएन । तर बिनारक्तपात शान्तिपूर्ण तरिकाले राजतन्त्रको अन्त्य भयो । नेपालमा गणतन्त्र स्थापना भयो ।
माओवादीले सशस्त्र आन्दोलन गरिरहोस्, नेपालमा अशान्ति भइरहोस्, नेपाली जनता मारिइरहुन् भन्ने सोचेकाहरु माओवादी शान्ति प्रक्रियामा आएपछि छक्क मात्र परेनन् चकित नै परे । विश्व जगतले त्यसलाई चमत्कारको रुपमा लियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि मधेशमा साना साना समूहलाई उकासेर आतंक मच्चाउने प्रयास भए । मधेशमा विभिन्न आतंकवादी समूह अस्तित्वमा देखिए । तर ती पनि टिक्न सकेनन् ।
माओवादी भित्रैबाट वैद्यलाई फुटाएर फेरि पनि हतियार उठाउन लगाउने जोडबल गरियो । त्यो पनि सफल भएन । त्यसपछि नेत्र विक्रम चन्द विप्लवलाई उचाल्ने प्रयास गरिँदै छ । त्यसले पनि सार्थकता पाउन सकेको छैन ।
उल्टो कम्युनिष्टमा विभाजनको रेखा कोरिनु भन्दा एकताको ग्राफ तयार भयो । नेपालको कम्युनिष्ट आन्दोनलमा कसैले सोच्दै नसोचेको घटना भयो । दुईवटा ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भयो ।
यो यस्तो अभूतपूर्व र चमत्कारिक एकता थियो कि, स्वयम् दुईवटा कम्युनिष्ट पार्टीका नेताले समेत यस्तो एकता हुन्छ भन्ने सोचेका समेत थिएनन् । कार्यकर्ता आम मानिसले पार्टी एकताको विश्वास नै गरेका थिएनन् ।
दुई ठूला कम्युनिष्ट मिलुन् र देशको शासन सत्ता चलाउन् भन्ने नेपाली नागरिकको चाहनालाई पूरा गर्दै ठूला कम्युनिष्ट पार्टी एक भए । नागरिकले राम्रो मत पनि दिए । कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतको सरकार बन्यो ।
जनअनुमोदित कम्युनिष्ट सरकारले राष्ट्र, राष्ट्रियताको पक्षमा काम गर्न लागेपछि देशी विदेशी शक्तिलाई त्यो सैह्य भएन । सानो सानो क्षेत्रमा हात हाल्दा सार्थक परिणाम आउन नसकेपछि ठूलै ठाउँमा हात हाल्ने प्रयत्न भयो । नेपाल कम्युनिष्ट पार्टीलाई नै फुटाउन प्रयत्न गरियो ।
नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गराउने गरी षडयन्त्रको बिऊ रोपियो । पार्टी स्थायी कमिटी बैठकमा भाँडभैलो भयो । नेताहरु गुट गुटमा विभाजन भए । नेताहरुको समर्थन र विरोधमा सडकमा जुलुश निस्किए ।
प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र अध्यक्षबाटै हटाउने भन्दै केही नेता लागे । प्रधानमन्त्रीलाई पार्टीको विधि र थिति नमानेको आरोप लगाइयो । पार्टी फुटेपनि ओलीलाई नछाड्ने भन्दै केही नेता लागे । पार्टी फुटको संघारमा पुग्यो ।
अब नेकपा फुट्छ, आफ्ना स्वार्थ पूरा हुन्छ भन्दै नेकपामा फुट ल्याई नेपालको राष्ट्र र राष्ट्रियता कमजोर बनाउने शक्ति ताली बजाउँदै थिए । उनीहरु रमितामा लागेकै बेला नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमद दाहाल प्रचण्ड वार्तामा बस्नुभयाे । विवाद समाधानको लागि कार्यदल बनाउने सहमतिमा पुग्नुभयाे ।
पार्टीलाई कुनै पनि हालतमा फुटबाट जोगाउनुपर्छ र राष्ट्रियतालाई बलियो बनाउनुपर्छ भन्ने प्रतिवद्धता साथ लागेका नेताको कार्यदलले सर्वस्वीकार्य विवाद समाधानको प्रस्ताव तयार गर्याे सो प्रस्तावपछि नेकपाका शीर्ष नेताबीच विवाद समाधान भयो ।
पार्टी फुटाउन चाहनेको अभिष्ट पूरा भएन । उनीहरुले सोच्दै नसोचेको कुरा भयो, फेरि कम्युनिष्ट एक भए । नेकपाका दुई अध्यक्षबीच अभूतपूर्व एकता भयो ।
नेकपामा विभाजन ल्याउन चाहने अझै थाकेनन् । उनीहरुले अन्तिम अस्त्र प्रहार गरे । त्यो अस्त्र थियो राष्ट्रपतिले सरकारको सिफारिसमा मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा खेल्ने ।
सो पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमको नाम ल्याउने र ल्याउन लगाउने । जसलाई प्रधानमन्त्री केपी शर्माले स्वीकार्नु हुन्न र फेरि पार्टीमा किचलो हुन्छ । नेकपा फुट्छ भन्ने सोच उनीहरुमा थियो ।
तर उनीहरु यस्तो नराम्रोसँग पछारिए कि सबै वातावरण बुझिसक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा आफैले राष्ट्रिय सभा सदस्यका लागि बामदेव गौतमको नाम प्रस्ताव गर्नुभयो । फेरि नेपालको कम्युनिष्ट इतिहासमा कसैले नसोचेको घटना भयो । पार्टी फुटाउन चाहने सबैको मुख बन्द भयो । हात गोडा गले । अहिले खत्र्याक खुत्रुक्क भएर बसेका छन् ।
बामदेव गौतम राष्ट्रिय सभामा जानुहुन्थ्यो हुँदैनथ्यो, लानुहुन्थ्यो हुँदैनथ्यो त्यो अर्को वहसको विषय बन्ला । तर बामदेवको सिफारिसमा विवादको बिऊ रोपेर फेरि नेकपामा भाँडभैलो मच्चाउन चाहनेको योजना भने नराम्रोसँग असफल भएको छ ।
यो घटनाक्रमसँगै नेकपामा देखिएको विवाद अन्त्य भएको छ । पार्टीमा अभूतपूर्व र चमत्कारिक एकता भएको छ । सबैको ध्यान महाधिवेशनमा केन्द्रित भएको छ । अब नेकपामा न विवाद छ, न सरकारमा । राष्ट्र राष्ट्रियताको लडाईंमा एक पटक फेरि नेपालका कम्युनिष्टले सफलता प्राप्ट गरेका छन् । अब मिलेर राष्ट्रिय लडाईंलाई अघि बढाउने मार्गप्रसस्त भएको छ ।
