गाेबिन्द थापा-
हाम्रो संविधान ६ वर्षको भएको छ । विगत पाँच वर्षमा यो संविधान कार्यान्वयन जसरी भएको छ त्यसलाई देशले हासिल गरेको अपूर्व उपलब्धी मान्नुपर्छ । संविधान कार्यान्वयन सजिलो थिएन । किनभने संविधानले जन्मँदै ठूलो चुनौती भोग्नुपरेको थियो । संविधान जारी गरेको आक्रोशमा भारतले नाकावन्दी समेत लगाएको थियो ।
त्यसबेला संविधान कार्यान्वयन हुनु, यो संविधानले परिकल्पना गरेको संघीयता स्थापित हुनु लगभग असम्भव छ भन्ने गरिन्थ्यो । तर, नेपाली जनताको महान एकता र राजनीतिक दलका नेताहरुको बुद्धिमताबाट संविधान कार्यान्वयन शुरु भयो ।
वर्तमान सरकारको लगभग दुई वर्ष संविधान कार्यान्वयनको आधार तयार पार्ने कानुन, विधि र परिपाटी स्थापित गर्नमै बितेको स्मरणीय छ । स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्नु जति जटिल थियो, चुनावपछि तिनलाई व्यवस्थित गर्नु झन् जटिल थियो । तीन तहको सरकार व्यवस्थापन गर्ने र तिनको विधि प्रकृया तथा कानुनहरु बनाउने अनुभव नेपालसँग कहिले पनि थिएन । तैपनि यो सरकारको नेतृत्वमा ती सबै काम सम्पन्न भएको छ । यस अर्थमा ऐतिहासिक काम गरेकोमा संविधान दिवसको अवसरमा सरकारलाई धन्यवाद दिनैपर्ने हुन्छ ।
संविधान कार्यान्वनको अवस्था अत्यन्त सन्तोषजनक रहेको मान्न सकिन्छ । तथापि नेपाललाई स्थिर हुन नदिने देशीविदेशी शक्तिहरुले संविधान माथि निरन्तर प्रहार गरिरहेकै छन् । उनीहरुको प्रहारले संविधानलाई हल्लाउन सकेको छैन र सक्ने पनि छैन ।
यो संविधानको दिर्घायु र प्रभावकारी कार्यान्वयनमा सबैभन्दा महत्वपूर्ण भूमिका नेकपाको छ र आगामी दिनमा पनि नेकपाकै हुनेछ । किनभने नेकपा पूर्ण बहुमत साथ केन्द्र सरकारमा छ । सातमध्ये ६ वटा प्रदेशमा नेकपाको बहुमतको सरकार छ । स्थानीय तहहरुमा पनि बहुमत ठाउँमा नेकपाकै नेतृत्व छ । आगामी चुनावहरुमा पनि नेकपाले नै अग्रता लिने र अगुवाई गर्ने अवस्था देखिन्छ । तसर्थ संविधान दिवसको अवसरमा नेकपाको आगामी बाटो र आन्तरिक एकताका बारेमा समीक्षा गर्नु उचित हुनेछ ।
नेकपाको इतिहास फुट र विभाजनका घटनाले भरिपूर्ण रहेको छ । एकताका नेपालमा दर्जनौं कम्युनिष्ट पार्टी थिए । त्यो अवस्थालाई छिचोल्दै नेकपाको छानामुनि सबै कम्युनिष्टहरु गोलबद्ध भएका छन् । नेकपा एमाले र नेकपा एमाओवादी बीच एकीकरण भएको थिएन भने संविधान कार्यान्वयन यति सहज ढंगले हुने थिएन । संविधान कार्यान्वयनका लागि सबैभन्दा ठूलो शक्ति र उर्जा नेकपाको एकीकरणले दिएको हो । नेकपामा एकता भएन भने यो संविधान कमजोर हुन्छ, संविधान भत्काउनुपर्छ र नेपाललाई अस्थिरतामा लैजानुपर्छ भन्ने देशीविदेशी शक्तिहरु सफल हुनेछन् । तसर्थ, संविधानको प्रभावकारी कार्यान्वयन नेकपाको प्रमुख दायित्व हो । यो दायित्व पूरा गर्न नेकपाभित्र उच्च गुणस्तरको एकता अपरिहार्य छ ।
नेकपाको एकता कायम रहला ? नेकपाले यो सरकारलाई पाँच वर्ष टिकाउला ? सर्वत्र उठिरहेको प्रश्न हो यो । यो प्रश्नको जवाफ कसैले दिएर हुँदैन । नेकपाका नेताहरुले नै दिनुपर्ने हुन्छ । पार्टीमा उच्च गुणस्तरको एकता हुन्छ र त्यस्तो एकताको बलमा आगामी दिनमा अगाडि बढ्छौं भनेर नेकपाका नेताहरुले मुखले भनेर पनि हुँदैन, कामले भन्नुपर्ने हुन्छ । केही समय पहिले देखिएको जस्तो विवाद नेकपामा फेरि बल्झियो भने के होला ? सबैको चिन्ताको विषय बनेको छ ।
नेकपाको आन्तरिक शान्ति खल्बलिँदा त्यसको प्रत्यक्ष असर सरकारको प्रभावकारितामा पर्छ । सरकारलाई बदनाम बनाउने, सरकार र प्रधानमन्त्री विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई सघाउ पुग्छ । केही महिना नेकपा र सरकारले यस्तो अवस्था भोगिसकेको छ । अहिले विवाद साम्य भएको छ र पार्टीभित्र एकता सिर्जना भएको छ । तर, यस्तो एकताले मात्र पुग्दैन । सरकारको पक्षमा, सरकारलाई सघाउन समग्र पार्टी नेतृत्व तथा कार्यकर्ता पंक्ति अग्रसर भएजस्तो देखिँदैन । सरकारले दैनिक हजारौं हजारवटा काम गरिरहेको हुन्छ । त्यति धेरै संख्यामा काम गर्दा कतिपय गल्ती त्रुटी हुन्छ । ससाना गल्तीत्रुटी र नकारात्मक घटनाहरुलाई अतिरञ्जित गरेर प्रचार गर्ने र सरकार नै खत्तम, नेकपा नै खत्तम भने जस्तो भ्रम फैलाउने काम गर्ने गरिएको छ । यस्ता कामलाई नेकपाको नेतृत्व तथा कार्यकर्ता पंक्तिले एकढिका भएर प्रतिवाद गर्दै सत्य उजागर गर्ने काम नगरेसम्म नेकपाभित्र उच्च गुणस्तरीय एकता सिर्जना भयो भन्न मिल्दैन ।
नेपालका राजनीतिक पार्टीहरु प्रतिपक्षमा बस्दा शशक्त तर सत्तापक्ष बनेपछि अशक्त बन्छन् । मनमोहन अधिकारी नेतृत्वको ०५१ सालको नौ महिने सरकार र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भने अपवाद बनेको छ । नेपालको इतिहासको सर्वाधिक प्रभावशाली सरकार यिनै दुई हुन् भन्नेमा असहमत मानिस थोरै मात्र होलान् । तर, आफ्नो पार्टीको सरकारलाई अशक्त बनाउने काम सत्तापक्षभित्रैबाट हुने गरेको नेपालको इतिहास छ । यो अवस्था नेकपाभित्र दोहोरिन दिन हुँदैन । आगामी दिनमा पनि त्यस्तो हुने सम्भावना समाप्त पारिनुपर्छ ।
नेपालमा कुनै पनि सरकारले पूरा अवधी काम गर्न पाएनन्, बीचमै ढालियो । नेकपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई पाँच वर्ष पूरा अवधी चलाउने घोषणा गरेको थियो । घोषणा विपरित सरकार ढाल्ने प्रयास नेकपा भित्रैबाट नभएको होइन । अर्थात्, नेपालमा स्थिर सरकार प्रतिपक्षले होइन सत्तापक्ष आफैंले ढाल्छ भन्ने भनाई पुन एकपटक प्रमाणित गर्न प्रयास भएको थियो । तर, त्यो प्रयास असफल भएको छ र नेकपा पुन एकता र सहकार्यको महान बाटोमा अगाडि बढ्न थालेको छ । नेकपाको यो एकताले संविधानको सुरक्षा र प्रभावकारी कार्यान्वयनको अर्काे आधार तयार गरेको छ ।
नेकपाको एकता आम जनताको चासो र सरोकारको विषय हो । नेकपा भनेको यसमा लागेका मानिसहरुको मात्र पार्टी होइन । यो नेपाली जनताको पार्टी हो । यो पार्टीले गर्ने निर्णयहरुले देशको राजनीति मात्र नभएर सम्पूर्ण क्षेत्र प्रभावित हुन्छ । नेकपाको आन्तरिक एकतासँग यो संविधानको कार्यान्वयन र दिर्घजीवन प्रत्यक्ष रुपमा गासिएको छ । त्यसैले नेकपाको आन्तरिक मामिलाहरु आम जनताको चासो र सरोकारको विषय हो ।
नेकपामा केही समय पहिले चरम विवाद थियो । पार्टी फुट्छ, सरकार गिर्छ, मुलुकमा फेरि राजनीतिक अस्थिरता आउँछ भनेर जनता त्राहिमाम भएको अवस्था थियो । सो अवस्थाको निराकरण नेकपाकै नेताहरुले गरेका छन् । मुलुकका लागि ठूलो उपलब्धी हो भने नेपालको कम्युनिष्ट आन्दोलनको पनि महत्वपूर्ण उपलब्धी हो । कम्युनिष्टहरु मिल्छन् तर फुटिहाल्छन् भन्ने भनाईलाई नेकपाको वर्तमान नेतृत्व पंक्तिले असत्य सावित गरिदिएको छ ।
संघीय संसद्मा बामदेव गौतमको मनोनयनसँगै नेकपाको आन्तरिक एकता नयाँ उचाईमा पुगेको देखिन्छ । पार्टी विवाद समाधानका लागि बामदेवले जुन सूत्रहरु प्रस्तुत गर्नुभयो लगभग त्यसकै सेरोफेरोमा विवाद समाधान पनि भएको छ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितको नेतृत्व टिमले पार्टीमा विवाद समाधान भएको र एकता थप उचाईमा पुगेको प्रष्ट पारिसक्नुभएको छ । विवाद बीच बामदेवको मनोनयन भएको भए त्यसको अर्कै अर्थ लाग्थ्यो, शायद प्रभाव पनि अर्कै पथर््यो होला । तर, विवाद समाधान भइसकेपछि पार्टी र सरकारलाई नयाँ उर्जासाथ हाँक्ने प्रयास नेकपाले गरिरहेको बेला बामदेवको मनोनयन हुनु संयोग मात्र होइन । नेकपाको आन्तरिक एकता नयाँ उचाईमा पुगेकाले पनि यस वर्षको संविधान दिवस विशेष महत्वको हुन गएको छ ।
यो संविधानले विकास र समृद्धिको परिकल्पना गरेको छ । त्यो परिकल्पनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमका रुपमा अगाडि सार्नुभएको छ । नेकपा पार्टी एकीकरणको लक्ष्य पनि स्थिर सरकार तथा विकास र समृद्धि नै हो । यो संविधान कार्यान्वयन गर्नु भनेको विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु हो । विकास र समृद्धिका लागि सबैभन्दा पहिले सत्तारुढ नेताहरुबीच एकता हुनुपर्छ, राजनीतिक स्थिरताका लागि प्रतिवद्धता हुनुपर्छ अनि कार्यकर्ता पंक्तिलाई पनि त्यसरी नै परिचालित गरिएको हुनुपर्छ ।
यो संविधान देशका लागि वरदान हो । तीन तहको चुनाव भएपछि कानुन तथा विधि प्रभावकारी ढंगले स्थापित गर्न सकिएको थिएन भने मुलुक अर्कै बाटोमा जान सक्थ्यो । संविधानप्रति अनास्था फैलन सक्थ्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले दूरदृष्टि राखेर कानुन तथा विधि स्थापित गर्न सफल भयो । संक्रमणकालमा संघीयता र संविधानको यति सफल कार्यान्वयन विश्वका अन्य मुलुकमा शायदै भएको होला । तर, नेपालले सफल कीर्तिमान बनाएको छ । यसको श्रेय नेकपाको नेतृत्वपंक्ति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिन कन्जुस्याईं गर्न हुँदैन ।
यो संविधानलाई दिर्घायु, शशक्त र अझ प्रभावकारी बनाउने अगुवाई मात्र नेकपाले गर्ने हो, जिम्मेवारी चाहिँ सबै जनताको हो । यो जनताको संविधान हो । यो संविधानको रक्षाका लागि जनताबीच व्यापक एकताको खाँचो छ ।
