जसरी होस् ख्यात बन्नुपर्छ, ‘प्र’ भए पनि र ‘कु’ भएपनि । यस्तो मान्यता डा. बाबुराम भट्टराईले बोक्नुभएको देखिन्छ । नेपालमा चर्चित् छन् मुकुन्दे, डिल्ली खनाल, पुण्य गौतमहरु । र, उनीहरु जसरी नै बाबुराम पनि चर्चित हुनुहुन्छ ।
बाबुरामको कूल हैसियत भनेको सांसद् मात्र हो । उहाँको पार्टीले गत चुनावमा जम्माजम्मी एक सिट जितेको थियो । जित्ने उम्मेदवार उहाँ स्वयं हुनुहुन्थ्यो । एक सिट भए पनि उहाँले आफ्नोभन्दा ठूलो पार्टीसँग एकीकरण गर्दै जानुभयो । अहिले जनता समाजवादी पार्टीका चौथो नम्बरका नेता हुनुहुन्छ । सो पार्टीमा चौथो नम्बरमा भए पनि चर्चाका दृष्टिले बाबुराम पहिलो नम्बरमा हुनुहुन्छ ।
जनता समाजवादीमा मात्र होइन, समग्र नेपाली राजनीतिमा बाबुराम चर्चित हुनुहुन्छ । ठूला पार्टीका ठूला नेता सरह बाबुरामको चर्चा हुने गरेको छ । चर्चित हुन र विवादमा आउन बाबुरामले अनेक ट्रिक लगाउने गर्नुभएको छ । चर्चा र विवादमा आउने कुनै मुद्दा पाइएन भने उहाँले जातीय, साम्प्रदायिक तथा धार्मिक विग्रहको पक्षमा विचार दिनुहुन्छ । क्षेत्रीबाहुन तथा पहाडी समुदायलाई गालीगलौज गर्नु बाबुरामको नित्यकर्मजस्तै भइसकेको छ ।
बाबुरामले अहिले अर्काे बखेडा निकाल्नुभएको छ । उहाँले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ कमिसन खाएको आरोप लगाउनुभएको छ । बाबुरामले आरोप लगाएको भन्दा पनि दावी नै गरेको भने हुन्छ । किनभने तीनजना नेताले नौ अर्ब रुपैयाँ खाएको प्रमाण आफूसँग भएको उहाँले सार्वजनिक घोषणा गर्नुभएको छ ।
बाबुरामले नौ अर्ब रुपैयाँवाला काण्डको प्रमाण पेस गर्नुभयो भने के हुन्छ ? नेपाली राजनीतिमा ठूलो उथलपुथल आउनेछ । त्यस्तो प्रमाण बाबुरामले सार्वजनिक गनौसाथ ओली, प्रचण्ड र देउवाको राजनीतिक जीवन ठाउँको ठाउँ सकिनेछ । त्यति मात्र होइन, तीनैजना नेताको हातमा हतकडी लाग्नेछ ।
तर, के बाबुरामले प्रमाण सार्वजनिक गर्नुहोला ? यो भने विचारणीय छ । बाबुरामसँग प्रमाण होला कि नहोला ? प्रश्न अनेक उठिरहेको छ ।
बाबुरामले जे कुरा उठाउनुभएको छ, जे दावी गर्नुभएको छ त्यो सत्य हो कि होइन भन्ने जाँच्ने एउटा मात्र उपाय छ । उहाँले प्रमाण सार्वजनिक गर्नुपर्छ । गर्नुहोला त बाबुरामले प्रमाण सार्वजनिक ?
अहिलेसम्म बाबुरामको राजनीतिक शैली हेर्दा उहाँको राजनीति झुठै झुठमा उभिएको देखिन्छ । जसरी होस् चर्चा र विवादका लागि बोल्ने बाबुरामको ट्रिक हो । जसरी भए पनि स्थापित र ठूला पार्टीका नेताहरुलाई बदनाम बनाउने, खुइल्याउने र प्रहार गर्ने बाबुरामको प्रवृत्ति देखिन्छ । भारतको काँधमा बसेर सबै नेतालाई पछारेर एकलौटी नेता बन्छु, राज्य कब्जा गर्छु भनेर बाबुरामले तत्कालीन माओवादी मात्र नभएर कम्युष्टि पार्टी नै त्याग्नुभएको थियो । ओली, प्रचण्ड, देउवाहरुलाई भुसुनामा परिणत गरेर आफू हात्ती बनेर बस्छु भन्ने बाबुरामको सपना भताभुंग भइसकेको छ । पराया पार्टीको चौथो नम्बरको नेता बनेर बस्नुपर्दा, सत्तामा पुगिने सम्भावना क्षीण हुँदा बाबुराममा कुण्ठा उब्जनु स्वाभाविक हो । कुण्ठा र छटपटीलाई समन गर्न बाबुरामले अन्टसन्ट बोल्ने गर्नुभएको जगजाहेर छ । यस्तै कुण्ठा र छटपटीमा बाबुुरामले नौ अर्ब रुपैयाँको फण्डा निकाल्नुभएको ठहर गर्न सकिन्छ ।
बाबुरामले नौ अर्ब रुपैयाँ ओली, प्रचण्ड र देउवाले मिलेर खाएको आरोप लगाउँदै गर्दा आफ्नी पत्नी हिसिला यमी भ्रष्ट नभएको दावी गर्नुभएको छ । हिसिला यमी उनै पात्र हुनुहुन्छ जसले ‘नेपाल देशलाई खारेज गर्नुपर्छ’ भनेर नारा लगाउनुभएको थियो ।
साँच्चै नै बाबुरामसँग प्रमाण छ त ? कहिलेदेखि त्यस्तो प्रमाण बोकेर उहाँ बस्नुभएको हो ? अथवा, अब कति समय प्रमाण बोकेर उहाँ बस्नुहुन्छ ? अरुले गरेको अपराधको प्रमाण खुसुक्क लुकाएर दुईटा अवस्थामा बसिन्छ । पहिलो हो– आफू पनि मतियार बनेको अवस्था । दोस्रो हो– ब्ल्याकमेलिङ गरेको अवस्था । प्रमाण बोकेर बाबुरामले ओली, प्रचण्ड र देउवाहरुलाई ब्ल्याकमेलिङ गरिरहनुभएको त थिएन ? प्रश्न उठ्छ । अर्काे प्रश्न के उठ्छ भने मसँग प्रमाण छ सार्वजनिक गरिदिन्छु भनेर बाबुरामले ब्ल्याकमेलिङ गर्न थाल्नुभएको त होइन ?
बाबुरामले लगाउनुभएको आरोप सामान्य छैन । त्यसमाथि उहाँले प्रमाण छ भनिसक्नुभएको छ । अब उहाँले खल्तीमा प्रमाण बोकेर बस्ने कि सार्वजनिक गर्ने ? प्रमाण सार्वजनिक गर्न सक्नुहुन्न भने बाबुरामलाई हदैसम्मको कारवाही हुनुपर्ने देखिन्छ ।
बाबुरामले जे आरोप लगाउनुभयो त्यसको नेपाली कांग्रेसले प्रतिवाद गरिसकेको छ । नेकपाले पनि प्रतिवाद गर्नु स्वाभाविक हो । अब बाबुरामसँग माफी माग्ने या प्रमाण सार्वजनिक गर्ने दुईटा मात्र विकल्प छ । यी दुईमध्ये कुनै एक काम गर्नुहुन्न भने बाबुराम भट्टराई नेपाली राजनीतिको सर्वाधिक पत्रु नेता ठहरिनुहुनेछ । उहाँले अरुलाई हानेको ढुंगा आफैंलाई लाग्ने अवस्था आएको छ । बाबुरामले आफू मुकुन्दे, डिल्ली खनाल, पुण्य गौतमहरु सरह भइसकेको छुइन भनेर प्रमाणित नगरी नहुने बेला आएको छ ।
