--गोविन्द थापा--
केपी ओली दोस्रो पटक प्रधानमन्त्री बन्न लाग्नुहुँदा भारतले विदेश मन्त्री शुष्मा स्वराजलाई नेपाल पठायो । शुुष्माले ओलीलाई ‘मेरो माइती’ भन्नुभयो । नेपाल भारत सम्बन्ध बिग्रनुमा आफ्नो ठूलो भूमिका रहेकोमा शायद सुष्मालाई पश्चाताप थियो । त्यसैले प्रधानमन्त्री बन्नुअगावै ओलीसँग भेट्न विदेशमन्त्री सुष्माको आगमन भएको थियो ।
नाकावन्दीका बेला केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्नथ्यो भने नेपालको स्वाभिमान र स्वतन्त्रतामा कति ठूलो क्षति पुग्ने थियो भन्ने हामीले बुझेकै हो ।
गत आम चुनावमा केपी ओलीको नेतृत्वले बहुमत पाउने प्रष्ट देखिँदै थियो । त्यसैले ओली नेतृत्वलाई बहुमत नपुगोस् भनेर भारतले भरमग्दुर प्रयास गरेको थियो । नेपाली जनताको विवेकपूर्ण निर्णयका कारण वाम गठवन्धनले बहुमत प्राप्त गर्न पुग्यो र केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो ।
यो प्रसंग किन निकालिएको हो भने अहिले नेपाल र भारतको सम्बन्ध बिग्रिएको छ । सम्बन्ध सुधार्ने नाममा भारतको गुप्तचर संस्था रअका प्रमुखलाई दूतका रुपमा नेपाल पठाइयो । राज्यहरु बीचमा दूतको प्रयोग प्राचिन कालदेखि नै हुँदै आएको छ । यसरी पठाइने दूतलाई युद्धरत अवस्थामा पनि सम्मान गरिन्छ । उनले ल्याएको सन्देश सुनिन्छ ।
तथापि रअकै प्रमुखलाई पठाइनु अलि अस्वाभाविक हो । रअलाई खुलेआम प्रयोग गरेर भारतले पारस्परिक हित र समानताको आधारमा सम्बन्ध सुधार्नेभन्दा थिचोमिचोपूर्ण व्यवहारलाई नै निरन्तरता दिन खोजेको हो की ? यस्तो आशंकालाई बल पुग्ने नै भयो । प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पार्ने, घेरावन्दीमा पार्ने, एम्बुसमा पार्ने भारतको नीति तथा व्यवहारले निरन्तरता पाएको महशुस नेपाली जनताले गर्नु अस्वाभाविक भएन ।
केपी ओलीको वास्तविक राष्ट्रवाद
केपी ओलीको नेतृत्वलाई जनताले किन बहुमत दिए भन्ने विषयमा चर्चा गरेर मात्र नेपाल र भारतबीचको अहिलेको सम्बन्धको विश्लेषण गर्न मनासिब हुन्छ ।
केपी ओलीले विकास, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता र नेपालको राष्ट्रियताको जगेर्ना गर्ने विचार अगाडि सार्नुभयो । यो विचार जनताले चित्त बुझाए । त्यसैले बहुमत दिए । केपी ओलीलाई जनताले राष्ट्रवादी भनेर चिन्ने गरेका छन् । तर, यस बीचमा राष्ट्रवादको अपव्याख्या गर्न प्रयास गरियो । राष्ट्रवाद शब्दलाई नै बदनाम बनाउने प्रयास गरियो । राष्ट्रवाद शब्दलाई बदनाम नबनाई केपी ओलीलाई बदनाम बनाउन सकिँदैन भन्ने बुझाईको आधारमा काम गर्न थाले कतिपय शक्तिहरुले ।
नेपाली सन्दर्भमा राष्ट्रवाद भनेको नेपाल र नेपालीको हित हो । नेपालको सीमा जोडिएका छिमेकी दुईटा मात्र छन– भारत र चीन । यी दुवैसँग समान स्तरमा सम्बन्ध राख्ने, दुवैबाट नेपालले विकासका लागि सहयोग आदानप्रदान गर्ने, एक देश विरुद्ध अर्काे देशसँग नमिल्ने नीति नै नेपालको वास्तविक राष्ट्रवाद हो र केपी ओलीको राष्ट्रवादले पनि यही विचार बोकेको देखिन्छ ।
भारतको डबल रोल
प्रधानमन्त्री बन्नुभएपछि ओलीसँग अर्थात् नेपालसँग सम्बन्ध सुधार्न केही लचकता देखाउन भारत वाध्य बन्यो । सम्बन्ध सुधारेजस्तो गर्ने तर नेपालभित्र खेल्ने, सरकारलाई स्थिर हुन नदिने ढंगले भारतले खेल्न थालेको सबैले बुझेकै हो । नेपाली राष्ट्रवादलाई बुझ्ने र नेपालको राष्ट्रिय हितलाई हेर्ने भारतीय दृष्टिकोण फेरिएन । नेपालले भारतसँग विशेष सम्बन्ध राख्नुपर्छ र अरु देशसँग सामान्य सम्बन्ध राख्नुपर्छ भन्ने भारतीय दृष्टिकोण छिपेको छैन । तर, दुई छिमेकी बीच रहेको नेपालले कसैसँग विशेष सम्बन्ध नराखेर दुवैसँग समान स्तरको सम्बन्ध राख्नुपर्छ । यो नेपालको राष्ट्रिय आवश्यकता र मान्यता हो । यो मान्यतासँग भारत असहमत छ, चीन विरुद्ध नेपाल लाग्नुपर्छ भन्ने भारतीय विचार हो ।
नेपाल न भारतको विरुद्ध लाग्छ, न चीनको विरुद्ध लाग्छ । दुईको द्धन्दमा पनि नेपाल तटस्थ बस्छ । नेपालको परम्परागत मान्यता यही हो । यो मान्यतालाई केपी ओली तथा उहाँको सरकारले दह्रोसँग आत्मसात गरेको देखिन्छ । भारतलाई चित्त नबुझेको यसैमा हो । दुई छिमेकी बीचको द्धन्दमा नेपाल तटस्थ बसेको मन नपराउने व्यक्ति तथा शक्तिहरु नेपालभित्रै पनि छन् ।
केपी ओलीलाई ब्ल्याकमेलिङ
प्रधानमन्त्री केपी ओलीले असंलग्नता र तटस्थताको नीति अपनाउनुभएपछि त्यसलाई तोडेर भारतमुखी बनाउने प्रयास यस बीचमा नभएका होइनन् । तर, दृढ निश्चयी र नेपालको हितका लागि कटिवद्ध रहनुभएका केपी ओली विचलित हुनुभएन । दवाब र प्रभावमा पर्नुभएन । अनेक दृष्य अदृष्य ब्ल्याकमेलिङलाई वास्ता गर्नुभएन । भारतको आशिर्वाद बिना नेपालको प्रधानमन्त्री पदमा टिकिरहन सकिँदैन भन्ने परम्परागत मान्यतालाई ठाडो चुनौती दिइरहनुभयो । त्यसैले भारतले बाहिरबाहिर नेपालसँग सम्बन्ध सुधार्न प्रयास गरेजस्तो गर्ने तर भित्रभित्र चाहिँ नेपालमा अस्थिरता लाद्ने प्रयास गरिरह्यो ।
यही कारण केपी ओलीसँग भारत चिढिएको हो भन्ने सबैले बुझेका छन् । भारत चिढिए पनि ऊसँग सुमधुर सम्बन्ध राख्नुपर्छ भन्ने ओलीको मान्यता स्पष्ट मुखरित भइरहेको छ । यही कारण उहाँले विशेष दूतका रुपमा पठाइएका रअका प्रमुख सामन्त गोयलसँग पनि भेट्नुभयो र भेट भएको कुरा जनता समक्ष खुलस्त रुपमा राख्नुभयो । कतिपयले दूतलाई भेट्नु गलत हो भनेका छन् । तर, हाम्रो प्राचीनकाल देखिको मान्यता दूतलाई भेट्न इन्कार गर्न हुँदैन भन्ने हो । यो कुरा माथि चर्चा गरिसकिएको छ ।
केपी ओलीलाई दवाब र प्रभावमा पार्न तथा ब्ल्याकमेलिङ गर्न अनेक उपक्रम गरिएको देखिन्छ । यस अघि ओलीलाई चीनको पक्षमा लागेको, चीनको चंगुलमा फसेको भनेर भारतले दुष्प्रचार गर्याे । भारतीय मिडियाहरुले दुष्प्रचार अभियान नै चलाए । नेपाल भित्र पनि दुष्प्रचार अभियान चलाइयो । जति दुष्प्रचार गरे पनि केपी ओली न भारतमुखी बन्नुभयो, न चीनमुखी बन्नुभयो । नेपालमुखी ओलीलाई यस बीचमा पदबाट हटाउन देशी विदेशी हर्कत पनि गरिए । तर, नेपाली जनताको सदाशयता र पार्टीका नेताहरुको बुद्धिमताका कारण सरकार स्थिर रुपमा अगाडि बढिरहेको छ ।
षडयन्त्रको प्लान ए र प्लान बी
केपी ओलीलाई चीन परस्त भनेर आक्रमण गरिँदा त्यसले उहाँलाई असर गरेन । बरु, झन् फाइदा भयो । विदेशीको इशारा र षडयन्त्रमा सरकार गिराउन पाइँदैन भन्ने जनआवाज उठ्यो । सबै तिकडम असलफल भएपछि अब ओलीलाई भारतपरस्त देखाउने प्रयास भइरहेको छ । ओलीलाई भारत परस्त भनेर देखाइदिने, त्यही प्रचारको आडमा स्थिर सरकारको गर्दनमा प्रहार गर्ने उद्देश्य हुनसक्छ ।
नत्र केही दिन अघिसम्म चीन परस्त भनेर ओलीलाई प्रहार गर्नेहरु अहिले किन भारत परस्त भनेर प्रहार गरिरहेका छन् ? किन प्रचार गरिरहेका छन् ? ओलीलाई चीन परस्त भन्दै आरोप लगाएर झुकाउन र गलाउन नसकेपछि अहिले ठिक उल्टो आरोप लगाउन थालिएको हो । अर्थात्, उनीहरुको प्लान ए फेल भयो, प्लान बी अगाडि बढाएका हुन् ।
हास्यास्पद आरोप
केपी ओलीले राष्ट्रवादको बाटो छाड्नुभयो, भारतपरस्त बन्नुभयो भनेर प्रमाणित गर्न अनेक आधार देखाइँदैछ । शुभकामना दिँदा प्रयोग गरेको फोटो भित्रको असाध्यै सानो नक्सामा चुच्चो देखिएन भन्दै मनगढन्ते आरोप लगाइँदैछ । नेपालको निशाना छापभित्र रहेको सानो मानचित्रमा सबै चुच्चो र कुना देखिन सम्भव हुँदैन भन्ने तथ्यलाई निर्लज्ज ढंगले छोपेर प्रधानमन्त्री माथि आरोप लगाइयो । विगतमा ओलीलाई चीन परस्त देखाउन जसरी हास्यास्पद र वेतुकका आधार देखाइने गरेको थियो, त्यस्तै बेतुकका आधार देखाएर ओलीमाथि प्रहार गरिँदैछ ।
अर्काे हास्यास्पद आरोप रअका प्रमुखको आगमनसँग सम्बन्धित छ । रअका प्रमुखलाई भारतले दूत बनाएर पठायो । प्रधानमन्त्रीले विभिन्न च्यानलबाट विभिन्न देशहरुसँग संवाद गरिरहनुपर्ने हुन्छ । नेपाल र भारतको हकमा भने संवादहीनताको अवस्था थियो । भारतले रअको प्रमुखलाई पठायो । नभेट्ने भन्ने कुरा आएन । भेट्नुभयो र भेटको सार्वजनिक जानकारी पनि दिनुभयो । यति भेटकै आधारमा ओली भारतपरस्त हुनुभयो, राष्ट्रिय हित छाड्नुभयो भनेर आरोप लगाउँदै छन् ।
खराब नियत र अज्ञानको अन्धकार
रअका एकजना कर्मचारीलाई भेट्दैमा ओलीले दशकौं देखि लिनुभएको विचार र अडान कसरी फेरिन्छ ? आफ्नो विचारमा अड्दा केपी ओलीले १४ वर्ष जेल बस्नुपर्याे । जेलभित्र बस्दा पनि राजाले उहाँलाई ‘पञ्चायत स्वीकार गर, तत्काल मन्त्री बनाइदिन्छु’ भनेका थिए । तर, ओली ज्यान गुमाउन तयार हुनुभयो तर अडान छाड्नुभएन । उहाँलाई जेलभित्रको पनि जेल गोलघरभित्र हालियो । तर, उहाँले विचार र अडान छाड्नुभएन । यस्ता केपी ओलीले कसैसँग भेटेकै भरतमा विचार छाडेको, राष्ट्रिय हित छाडेको आरोप लगाउँछ भने कि उ अज्ञानको अन्धकारमा छ, कि उसको नियत खराब छ ।
अज्ञानको अन्धकारमा हुनेहरुले भोलि तथ्य देख्दै जानेछन्, केपी ओलीको काम र व्यवहार देख्दै जानेछन् । नियतवस केपी ओली र वर्तमान सरकार विरुद्ध भ्रम फैलाउनेहरुको नियतबारे केही भन्नैपर्छ । हिजो केपी ओली चीनतिर लागेको भन्दै रुवावासी गर्नेहरु आज भारततिर लागेको भन्दै किन खुसी मनाइरहेका छन् ? हिजो केपी ओलीलाई चीन परस्त भनेर आरोप लगाइनु पनि षडयन्त्रकै हिस्सा थियो, आज भारत परस्त आरोप लगाइनु पनि षडयन्त्रकै हिस्सा नै हो ।
ओलीलाई चीनपरस्त भनी आरोप लगाउँदा आफ्नो कुत्सित षडयन्त्र सफल नभएपछि अहिले भारत परस्त भनेर आरोप लगाएका हुन् भन्ने सबैले बुझ्न जरुरी छ । केपी ओली भारत परस्त र चीन परस्त दुवै होइन, भारत विरोधी र चीन विरोधी दुवै होइन । केपी ओली चीन विरोधी होइन भन्ने विचार तथा वाक्य भारतलाई मन पर्दैन, नेपाल भित्रैका कतिपयलाई मन पर्दैन । मन नपर्नु उनीहरुको समस्या हो ।
ओलीलाई भारतपरस्त भनेर सरकार ढाल्ने खेल ?
केपी ओलीलाई भारत परस्त भनी प्रचार गरेर त्यही भावभूमिमा उभिएर यो सरकार ढाल्न केपी ओलीलाई भारत परस्त भनी प्रचार गरेर त्यही भावभूमिमा उभिएर यो सरकार ढाल्न खोजिएको हो भने, नेकपालाई फुटाउन खोजिएको हो भने किमार्थ सफल हुने छैनन् । किनभने नेकपाको नेतृत्व र कार्यकर्ता पंक्ति त्यति अबुझ छैन जति उनीहरुले ठानेका छन् ।
देशीविदेशी षडयन्त्रलाई परास्त गर्दै नेकपाले यो सरकार पूरै पाँच वर्ष चलाउनुपर्छ र अर्काे चुनावमा पनि शानदार बहुमत ल्याएर विकास र समृद्धि अभियानलाई निरन्तरता दिनुपर्छ । यो बाहेक अरु बाटोमा लागे बर्बादी मात्र हुनेछ ।
याे लेखकाे भिडियाे हेर्न तलकाे लिंक क्लिक गर्नुस्ः
भारतको प्लान ए असफल, प्लान बी सुरु
