सागर दाहाल-
परिणामको गलत आकलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अभियोगपत्र ल्याउँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा फस्नुभएको छ ।
२८ कात्तिकमा प्रचण्डले सचिवालय बैठकमा एक लिखत पेस गर्नुभयो । सो लिखतलाई प्रचण्ड पक्षले सुरुमा ‘राजनीतिक प्रतिवेदन’ भन्दै प्रचार गरेको थियो । तर, लिखतको सिरानमै ‘सचिवालयको बैठकमा प्रस्तुत प्रस्ताव’ लेखिएको छ । सो प्रस्तावमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष विरुद्ध अभियोग नै अभियोग लगाइएको छ ।
सचिवालयमा पेस गरेपछि अभियोगपत्रलाई प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले भव्य मार्केटिङ गरेको थियो । तर, अभियोगपत्र प्रचारप्रसारमा आएपछि प्रचण्डलाई पहिलो अप्ठेरो पर्यो माधव नेपाल खेमाकै खेमाको कार्यकर्ता पंक्तिबाट । अर्काे अप्ठेरो पर्यो बामदेव गौतमको खेमाबाट । प्रचण्डले ल्याएको अभियोगपत्रको विरोध मुख्यगरी पूर्व एमालेका सबै खेमाका कार्यकर्ता पंक्तिले गर्यो ।
पूर्व एमालेका माधव र बामदेव खेमाका कार्यकर्ता पंक्तिबाट आफूले ल्याएको अभियोगपत्रको विरोध होला भन्ने प्रचण्डले शायद कल्पना गर्नुभएको थिएन । अभियोगपत्र सार्वजनिक गरेपछि प्रधानमन्त्री ओली विरुद्ध चौतर्फी हमला हुनेछ, कडा प्रहार हुनेछ, ओली विरुद्ध घृणानिन्दा अभियान चल्नेछ भन्ने आकलन प्रचण्डको पक्कै थियो । त्यही घृणानिन्दाको घोडामा सवार भएर केपी ओलीको सिकार गर्ने अर्थात् मरिचमान सिंह बनाउने प्रचण्ड खेमाको योजना थियो । तर, भइदियो उल्टो ।
प्रचण्डले तयार गर्नुभएको अभियोगपत्रमा उहाँको मात्र हस्ताक्षर छ । तर, अभियोगपत्र ल्याइएपछि सो पत्र नेकपा सचिवालयका पाँच सदस्यको साझा हो भनियो । अभियोगपत्रको नियत ठिक देखेनन् पूर्व एमाले कार्यकर्ताहरुले । त्यसैले विरोध सुरु भयो । अभियोगपत्रको वैचारिक रुझान प्रष्टसँग पूर्व माओवादीको जस्तो देखिन्छ । पत्रभित्र प्रकट भएको विचारका कारण पनि पूर्व एमालेहरु शसंकित हुन पुगे । त्यसैले अभियोगपत्र मार्फत् जे सिकार गर्ने योजना थियो, त्यो भएन । बरु उल्टो हुन पुग्यो ।
सचिवालयको बुधबारको बैठकपछि परिस्थिति पर्लक्कै पल्टियो । अभियोगपत्रलाई काँध थाप्न माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम तयार हुनुभएन । बुधबारको बैठकमा माधव नेपालले अभियोगपत्रलाई आफ्नो हो भनेर ठाडै सकार्नुभएन । बामदेव गौतमले त ओलीका विरुद्ध आफू रहेपनि अभियोगपत्र स्वीकार गर्न नसकिने भनी ठाडै भनिदिनुभयो ।
अब अवस्था के भएको छ भने ओली विरुद्ध ल्याइएको अभियोगपत्रबाट पूर्व एमाले नेताहरु सबैजना ब्याक भएका छन् तर बाहिर घोषणा गरेका छैनन् । अभियोगपत्रबारे पूर्व एमाले नेताहरुले सार्वजनिक रुपमा चर्चा पनि गर्न मानिरहेका छैनन् । यद्यपी, सरकार ढाल्ने पक्षका नेताहरु आपसमा अहिलेसम्म फुटेका भने छैनन् ।
आफू विरुद्ध ल्याइएको अभियोगपत्र प्रचण्डका लागि गलपासो सावित भएपछि केपी ओलीले पनि चाल चल्नुभयो । सचिवालय बैठकमा उहाँले आफू विरुद्ध ल्याइएको अभियोगपत्र प्रमाणित भयो भने पद छाड्ने, प्रमाणित भएन भने अभियोग लगाउनेले पद छाड्नुपर्ने बताउनुभएको छ । ओली यसरी आक्रामक हुनुहोला भन्ने प्रचण्ड पक्षको आकलन थिएन । त्यसमाथि ओलीले आरोपको एकएक जवाफ सचिवालयको आउँदो १३ गतेको बैठकमा दिने घोषणा गर्नुभएको छ । सो जवाफमा प्रचण्डमाथि पनि पक्कै विभिन्न आरोप लगाइनेछन् । आफूले आरोप लगाएपछि ओलीले पनि दस्तावेजीकरण गरेरै आरोप लगाउन सक्ने सम्भावनालाई सरकार ढाल्ने समूहका रणनीतिकारहरुले ठम्याउन सकेनन् ।
अब ओलीले आरोपको जवाफ दिँदा प्रचण्ड विरुद्ध ओलीको वर्षा गर्नुभयो भने प्रचण्डका लागि सजिलो हुने छैन । यो स्थितिलाई ध्यानमा राखेर नेकपाभित्र सहमतिको प्रयास सुरु भएको छ । तर, प्रधानमन्त्री ओली आफूलाई लगाइएका आरोपको कुनै पनि हालतमा जवाफ दिने मुडमा देखिनुभएको छ । प्रधानमन्त्री ओलीले पनि प्रत्यारोप गर्नुभएको अवस्थामा प्रचण्डको अवस्था अरु असहज हुनेछ ।
अब प्रचण्ड विरुद्ध ओलीले केके अभियोग लगाउनुहोला ? अथवा, केके अभियोग लगाउनु ठिक होला ? यी प्रश्नमा सामाजिक सञ्जालमा व्यापक बहस उठिसकेको छ । यो अनौठो बहसले मुलुकको राजनीतिक स्वास्थ्यलाई फाइदा पक्कै पनि हुँदैन । यो बहसमा प्रचण्डलाई साथ दिन डा. बाबुराम भट्टराई र गगन थापा जस्ता नेताहरु अगाडि आइसक्नुभएको छ । तर, प्रचण्ड विरुद्धका आरोपमाथि बहस सुरु हुनु स्वयं प्रचण्डका लागि पनि राम्रो पक्कै होइन ।
समाधानका लागि प्रचण्डलाई सरकार ढाल्ने खेमाभित्रैबाट अभियोगपत्र फिर्ता लिन सुझाव दिइन थालेको छ ।
प्रचण्डको अभियोगपछि नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी भन्ने विभाजन देखिन थालेको छ । नवगठित पार्टीको स्वास्थ्य र दिर्घायुमा यस्तो विभाजनले नराम्रो असर पर्ने आकलन गर्न थालिएको छ ।
