गोविन्द थापा -
नेकपा एमाले र नेकपा एमाओवादी भएको पार्टी एकता अहिले आएर भंग हुने अवस्थामा पुगेको छ । एकता भंग भएमा त्यसको असर सरकारको स्थायित्वमा पर्नेछ । सातवटै प्रदेशका सरकार अस्थिर बन्नेछ । ७५३ वटै पालिकाहरु अस्थिर बन्न पुग्नेछ । देश फेरि अस्थिरताको अँध्यारो युगमा प्रवेश गर्नेछ ।
नेकपाको आन्तरिक कलह बुझ्ने सन्दर्भमा आजकाल समाचारको केन्द्र बनिरहेको अफ्रिकी मुलुक इथियोपियाको चर्चा सान्दर्भिक होला ।
इथियोपिया, नेकपा र नेपाल
जतिबेला नेपालमा संविधान निर्माणका नाममा जातीय धार्मिक द्धन्द चर्काउन खोजिँदै थियो त्यसबेला इथियोपिया तिब्र आर्थिक विकासमा अगाडि बढिरहेको थियो । इथियोपियाले जातीय द्धन्द, भोक, गरिबी र युद्धलाई नै आफ्नो पहिचान बनाएको थियो । बरबादीको अर्काे नाम थियो इथियोपिया । त्यस्तो अवस्थालाई पार लगाउँदै इथियोपिया शान्ति, स्थिरता, विकास र एकताको पथमा लम्कँदै थियो ।
इथियोपियालाई बर्बाद बनाएको थियो जातीय द्धन्दले । जातीय द्धन्द त्यसै हुँदैन । जातीय विविधतालाई विवादमा रुपान्तरण गरेर राजनीतिको रोटी सेक्ने तत्वहरु हावी भएपछि इथियोपिया बर्बाद भएको थियो । लाखौं मानिस द्धन्दमा मारिएका थिए । जातीय द्धन्दबाट समालिँदै इथियोपिया आर्थिक विकासको बाटोमा लाग्यो । विश्वमा सबैभन्दा तिब्र आर्थिक विकास गर्ने देशका रुपमा प्रतिष्ठित हुन पुग्यो ।
त्यो इथियोपिया अहिले फेरि जातीय द्धन्दको आगोमा होमिएको छ ।
यता नेपालमा इथियोपिया तथा अन्य मुलुकलाई जातीय द्धन्दले गरेको बर्बादीको उदाहरण दिँदै जातीय राजनीति नगरौं भन्ने आवाज ब्यापक बनेको थियो । जातीय उन्माद र अतिवादी विचार मुलुकमा हावी हुँदै थियो । त्यसबेला नेपालमा दुई मुख्य वैचारिक धार देखिन्थ्यो । एउटा हो– जातीय धार । अर्काे हो– एकता र मेलमिलापको धार । जातीय धारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले गर्नुहुन्थ्यो भने एकता र मेलमिलापको धारको नेतृत्व केपी शर्मा ओलीले गर्नुभएको थियो । उहाँहरु दुई धारमा हुनुहुन्थ्यो ।
कालान्तरमा ओली बन्नुभयो एमालेका अध्यक्ष तथा प्रधानमन्त्री । बाबुराम भट्टराईले भने अझ बढि जातीवादी धार समाउँदै कम्युनिष्ट पार्टी नै परित्याग गर्नुभयो । प्रचण्ड चाहिँ नेकपा एमालेसँग एकीकृत बन्न पुग्नुभयो र नेपालमा विशाल कम्युनिष्ट पार्टी नेकपाको जन्म भयो । एकीकरणसँगै प्रचण्डले जातीवादी तथा अतिवादी धार त्याग्नुभएको विश्वास गर्ने गरिएको छ तर यदाकदा उहाँमा अतिवादी विचारको अवशेष प्रकट हुने गरेको छ ।
नेकपाको एकता भंग हुन पुगेमा केन्द्र, प्रदेश र स्थानीय तहमा जुन अस्थिरता फैलनेछ त्यसले मुलुकलाई पुन जातीय उन्मादको युगमा फर्काउने खतरा हुन्छ । इथियोपियामा पनि राजनीतिक स्थिरतामा प्रहार भयो । फलत त्यहाँ पुन जातीय द्धन्द जागृत भएर अहिले गृहयुद्ध जस्तो अवस्था सिर्जना भएको छ । इथियोपियाले दुई दशकमा हासिल गरेको आर्थिक उपलब्धी चकनाचुर हुने खतरा देखिएको छ । इथियोपिया मात्र नभएर अन्य कतिपय देश यस्ता छन् जसले राजनीतिक स्थायित्वकाे स्वर्णकाल चिन्न सकेनन् र अस्थिरतामा गए । परिणामस्वरुप युद्ध र भोकमरीको सिकार बने ।
अन्य देशको त्यस्ता तीता अनुभवलाई ध्यानमा राख्दै नेकपाको एकता भएको हो । ठूलो पार्टी बन्न मात्र एकता भएको होइन ।
नेपालले पनि विगितमा द्धन्द भोग्यो । जनयुद्धका कतिपय उपलब्धी देख्न सकिन्छ । ती उपलब्धी संस्थागत गर्नका लागि पनि हो पार्टी एकता । जनयुद्धका नाममा विभिन्न खालका वैचारिक विष देशमा छरियो, मुख्यत त्यसलाई सफा गर्नका लागि गरिएको हो पार्टी एकता । जनयुद्धकाल तथा त्यसको एक दशकसम्म देशमा जातिवाददेखि अतिवादसम्मका फोहोर थुपारियो । नेपाललाई द्धन्दको डम्पीङ साइट बनाइयो । डम्पीङ साइट बनाइएको नेपाललाई सफा गर्ने दायित्व नेकपाको एकीकरणले बोकेको होइन र ?
यी कार्यभार पूरा नगरी प्रचण्डले पार्टी एकता भंग गर्न पाउनुहुन्न । नेपाललाई रुवाण्डा, इथियोपिया, सुडान जस्ता देश बनाउने गरी जुन विष छरिएको छ त्यसलाई निमिट्यान्न पार्ने कार्यभारबाट कसैले भाग्न पाउँदैन । सुशुप्त भएर बसेका ती विषलाई मलजल गर्न पाइँदैन । एकीकरणले बोकेको लक्ष्य तथा कार्यभार पूरा गर्न प्रचण्ड तथा तत्कालीन नेकपा माओवादीका साथीहरु सक्षम हुनुहुन्छ भनेरै एकता गरिएको हो । यो विश्वासबाट तत्कालीन एमालेका साथीहरु डग्मगाएका छैनन् तर प्रचण्ड भने डग्मगाउनुभएको देखियो । आशा र विश्वास गरौं– प्रचण्ड समालिनुहुनेछ ।
कसले भंग गर्न खोज्यो ?
एकता कसले भंग गर्न खोज्यो भन्ने सन्दर्भमा यी पाँच तथ्यलाई ध्यान दिनुपर्छ -
तथ्य– १
पूर्व एमाले र पूर्व एमाओवादीका गरी नेकपामा दुईजना अध्यक्ष हुनुहुन्छ । पूर्व माओवादीका अध्यक्ष प्रचण्डले पूर्व एमालेका अध्यक्ष ओलीले पद छाड्नुपर्छ भनिरहनुभएको छ । बुझ्नुपर्ने कुरा के छ भने ओली र प्रचण्ड दुवैजना स्थायी अध्यक्ष होइन । आउँदो महाधिवेशनसम्मका लागि मात्र उहाँहरु अध्यक्ष हो । महाधिवेशनले कसलाई अध्यक्ष बनाउँछ अहिले नै भन्न सकिन्न । महाधिवेशनको संघारमा आइपुगेपछि एउटा अध्यक्षले अर्काे अध्यक्षलाई पद छाड्नुपर्छ भन्नु भनेको एकीकरण भंग गर्न खोज्नु नै हो । यस दृष्टिले हेर्दा प्रचण्डले एकता भंग गर्न खोज्नुभएको देखिन्छ ।
तथ्य– २
एमाले र एमाओवादी उत्रै आकारका पार्टी थिएनन् । एमाले ठूलो थियो । दुई पार्टी एकीकरण पछि एमालेले माओवादीलाई बहुमतको बलमा निल्न सक्ने खतरा हुन्थ्यो । यही कारण बहुमतका आधारमा नभएर महाधिवेशनसम्म सहमतिका आधारमा अगाडि बढ्ने विधि अनाइएको हो । यो विधि तोडेर पूर्व माओवादीका प्रचण्ड अहिले बहुमतका बलमा अगाडि बढ्न खोज्नुभएको छ । बहुमतको बलमा पूर्व एमालेका ओली अगाडि बढ्न खोज्नुभएको भए भए पनि एकता भंग गर्न खोजेको ठहरिन्थ्यो । अहिले बहुमतको खेतिमा पूर्व माओवादीका प्रचण्ड लाग्नुभएको छ, यसको अर्थ उहाँ एकता भंग गर्न खोजिरहनुभएको छ ।
भिडियाेमा याे लेख
तथ्य– ३
अध्यक्षका रुपमा ओली र प्रचण्डका मुख्य कार्यभार एकीकरणलाई पूर्णता दिँदै महाधिवेशन गर्ने हो । महाधिवेश गर्न छाडेर एकजना अध्यक्षले अर्का अध्यक्षलाई पद छाडिदिनुपर्यो भन्न मिल्छ र ? त्यसो भन्नुको अर्थ महाधिवेशन पनि नगर्ने र एकता पनि भंग गर्ने हो ।
तथ्य– ४
नेकपाको आउँदो महाधिवेशन वैचारिक महाधिवेशन पनि हो । पार्टीले महाधिवेशनबाट यस्तो विचार लिनुपर्छ भनेर छलफल गर्न तथा विचार राख्न पाइन्छ । बहुदलीय जनवाद नै पार्टीको विचार हुनुपर्छ भन्ने आवाज व्यापक रुपमा उठिरहेको छ । ‘बहुदलीय जनवाद’ उच्चारण नै गर्न हुँदैन भन्ने ढंगले प्रचण्डले निषेधकारी व्यवहार गरिरहनुभएको छ । ‘बहुदलीय जनवाद’ उच्चारण गर्नेलाई एकता विरोधी, गैर कम्युष्टि, प्रतिगामी, देश विरोधी जस्ता आरोप लगाइँदैछ । अन्य विचार राख्नेलाई आरोपित गर्नु र निषेध गर्नु भनेको पार्टी एकता भंग गर्न खोज्नु नै हो ।
तथ्य– ५ नेकपालाई पाँच वर्ष सरकार चलाउने जनादेश छ । पाँच वर्ष नपुगी सरकार ढाल्न खोज्नु भनेको पार्टी एकता भंग गर्न खोज्नु हो, जनादेशको अपहेलना गर्नु हो । जनादेशलाई विश्वास नर्गनु, जनादेशको पालना नगर्नु भनेको प्रचण्ड लगायतका नेताहरु जनयुद्धकालीन मानसिकतामा फर्कनु हो । ब्यालेटबाट बनेको सरकारलाई बुलेटमुखी विचार बोकेर ढाल्न खोज्नु भनेको पार्टी एकता भंग गर्न खोज्नु नै हो ।
अब के गर्ने ?
नेकपा भनेको केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालयमा रहेका नौ जनाको पार्टी मात्र होइन । लाखौं कार्यकर्ताको पार्टी हो । वास्तवमा नेकपा कार्यकर्ताको भन्दा पनि आम जनताको पार्टी हो । यो पार्टीको एकता भंग गर्ने सामर्थ्य नेताहरुसँग होला तर नैतिक अधिकार छैन । नेकपाको सरकार ढाल्ने सामर्थ्य नेकपाका नेता तथा सांसद्हरुसँग होला तर त्यसो गर्ने नैतिक अधिकार उनीहरुसँग छैन ।
जसरी अहिले इथियोपियामा सानो प्रान्त टिग्रेबाट युद्धको आगो सल्काइएको छ त्यसैगरी नेकपाभित्र नौ जनाको सचिवालयले झगडाको डढेलो सल्काउन खोज्दैै छ । सचिवालयका नौ जना नेताले पार्टी एकता भंग गर्ने र सरकार ढाल्ने दुष्प्रयास बन्द गर्नासाथ नेकपा पुन एकता र मेलमिलापको बाटोमा अगाडि बढ्न सक्छ । पार्टीमा स्थायी एकता र मेलमिलाप खोज्ने हो भने महाधिवेशनमा जानुपर्छ । पार्टीभित्र देखिएको विवादको छिनोफानो निराकरण गर्ने सर्वाेच्च थलो महाधिवेशन नै हो । महाधिवेशनलाई अस्वीकार गर्नु या भाग्नु भनेको पार्टी एकता भंग गर्न खोज्नु हो ।
पार्टी एकता भंग गर्न खोज्नु भनेको सरकार ढाल्न खोज्नु हो । सरकार ढाल्न खोज्नु भनेको पार्टी एकता भंग गर्न खोज्नु हो । यसो गर्नु भनेको नेपाललाई इथियोपिया बनाउनु हो ।
