मदन भण्डारीलाई अब नेकपाले त्याग्नुपर्ने हो ? नेकपा भित्र अब मदन भण्डारीको नाम उच्चारण गर्न नपाइने हो ? अब बहुदलीय जनवाद मान्नेहरु प्रतिक्रियावादी, प्रतिगामी मानिने हुन् । केही समय यता नेकपामा यस्तै बातावरण बनाउन प्रयास गरिँदै आएको छ ।
नेकपाभित्र मदन भण्डारीको स्मरण गर्न र बहुदलीय जनवादको चर्चा गर्न निषेध गर्न थालिएको छ । मदन भण्डारी र बहुदलीय जनवादको कारणले नै हो आज केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारी र बहुदलीय जनवादका कारणले नै माधव नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री बन्नुभयो । १७ हजार मानिस मारेपछि तथा देश बर्बाद पारेपछि चोखिन र जोगिन पुष्पकमल दाहाल प्रचण्ड पनि बहुदलीय जनवादकै शरण पर्नुभयो, एमालेमा एकीकृत हुनुभयो ।
मदन भण्डारीले देखाएको बाटोमा हिँड्दा...
मदन भण्डारी र बहुदलीय जनवादका कारण नेपालको कम्युनिष्ट आन्दोलन यो उचाइमा आइपुगेको हो । मदन भण्डारी र बहुदलीय जनवादकै कारण सयौंले मन्त्री बन्न पाए, राजनीतिक पद पाए । मदन भण्डारीकै वैचारिक जगमा नेकपा उभिएको छ । आज उनै मदन भण्डारी र बहुदलीय जनवादको उच्चारण नै गर्न नपाइने अवस्था नेकपाभित्र सिर्जना गरिँदैछ ।
नेकपामा पूर्व एमाले र उनीहरुले बोकेको विचारलाई निमिट्यान्न पार्ने षडयन्त्र भइरहेको छ । मदन भण्डारी र बहुदलीय जनवाद उच्चारण गर्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रिसाउनुहुन्छ । माधव नेपाल, झलनाथ खनालहरु आगो बन्नुहुन्छ । बहुदलीय जनवाद शब्दावली प्रचण्ड र माधव नेपालहरु सुन्नै चाहनुहुन्न ।
एमाले र माओवादीको एकीकरण हुनुको अर्थ मदन भण्डारी र बहुदलीय जनवादलाई डष्टबीनमा फाल्नु होइन । दुई पार्टीको एकीकरण जुन राजनीतिक बातावरणमा भयो, त्यो बातावरणको परिकल्पना मदन भण्डारीले नै गर्नुभएको हो । प्रतिष्पर्दात्मक राजनीतिक व्यवस्थामा कम्युनिष्टहरु कसरी अगाडि बढ्ने भन्ने बाटो मदनले नै देखाउनुभएको हो । सर्वसत्तावादी एकल राज्य चलाउनुपर्छ भन्दै जनयुद्ध गरेको माओवादी खुला र प्रतिस्पर्दात्मक राजनीतिक बाटोमा आयो । यो बाटो भनेको बहुदलीय जनवादको बाटो हो ।
मदन भण्डारीले देखाउनुभएको बाटोमा लागेपछि प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएको होइन र ? अनि, उनै मदनको नाम उच्चारण गर्नलाई प्रचण्डले निषेध गर्न मिल्छ ?
महाधिवेशनले जुन विचार पारित गरे पनि
नेकपाको आउँदो महाधिवेशनले जुन विचार पारित गर्छ त्यो विचारको जग बहुदलीय जनवाद नै हुनेछ । महाधिवेशनले बहुदलीय प्रतिस्पर्धाको बाटोमा नजाने, मुलुकलाई सर्वसत्तावादी बाटोमा लैजाने, कम्युनिष्ट पार्टीले सम्पूर्ण राज्यसत्ता कब्जा गर्ने विचार पारित गर्ला त ? अहँ गर्दैन । माओवादीले जनयुद्धकालमा लिएको जस्तो विचार महाधिवेशनले लिने सम्भावना छैन । यो असम्भव छ । सम्भव के छ भने बहुदलीय प्रतिस्पर्दाको बाटोमा जाने । बहुदलीय प्रतिस्पर्दाको बाटोमा जाने विचार महाधिवेशनले पारित गर्छ भने त्यो बहुदलीय जनवादकै निरन्तरता हुनेछ ।
अर्थात्, नेकपाले तथा प्रचण्ड माधव नेपालहरुले भविष्यमा पनि बहुदलीय जनवादले देखाएको बाटोमै हिँड्नु अनिवार्य छ । बहुदलीय जनवादले देखाएको बाटोमा चाहिँ हिँड्ने तर बहुदलीय जनवादको उच्चारण गर्न चाहिँ नदिने । यो कस्तो नीति हो ? यो बहुलठ्ठीपन हो । बहुदलीय जनवाद जिन्दावाद नभनेर प्रचण्डपथ जिन्दावाद भन्नुपर्ने ?
मदन भण्डारीको नाममा कुनै कार्यक्रम गर्न हुँदैन, मदनको सम्झना नै गर्न हुँदैन भन्ने ढंगले प्रचण्ड र माधव नेपालहरु लाग्नुभएको छ । त्यसैले उहाँहरुले मदन भण्डारीका नाममा स्थापित संघसंस्था बन्द गर्नुपर्छ, तिनले कुनै गतिविधि गर्न पाउनुहुन्न भनिरहनुभएको छ । पार्टी एकता सम्बन्धी कार्यदलले पनि प्रचण्ड र माधव नेपालहरुको प्रभावमा परेर मदन भण्डारीका नाममा स्थापित संघसंस्थालाई गतिविधि गर्न दिनु हुँदैन भनेको छ ।
मदन भण्डारीका नाममा कार्यक्रम गर्नु अपराध हो भने जसरी अहिले मिडियाले प्रचार गरिरहेको छ । कर्णाली प्रदेशमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले कार्यक्रम गरेछ । कार्यक्रम किन गरियो भनेर अहिले कोकोहोलो मच्चाइएको छ । कार्यक्रमको ब्यानरमा जनताको बहुदलीय जनवाद जिन्दावाद लेखिएको छ । कार्यक्रम उपर मात्र नभएर ब्यानरमा लेखिएको बहुदलीय जनवाद शब्दावलीमा समेत आपत्ति जनाइएको छ ।
पाँच प्रश्न
मदन भण्डारीको स्मरणमा खोलिएको संस्थाले ‘बहुदलीय जनवाद जिन्दावाद’ नभनेर ‘जनयुद्ध जिन्दावाद’ भन्नुपर्ने हो ?
अब नेकपाका कार्यकर्ताले प्रचण्डपथ जिन्दावाद भन्नुपर्ने हो ?
मदन भण्डारीको नाममा खोलिएको संस्थाले मदन भण्डारीको सट्टा प्रचण्ड, माधव नेपालहरु जिन्दावाद भन्नुपर्ने हो ?
मदन भण्डारीको विकल्पको नेता को हो ?
बहुदलीय जनवादको विकल्प के हो ?
वीपी कोइराला, कार्ल मार्क्स र मदन भण्डारी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा गर्दा मुनामदन कृतिको नाम आइहाल्छ । माधव घिमिरेको चर्चा गर्दा गौरी खण्डकाव्यको नाम आइहाल्छ । लेनिनको चर्चा गर्दा अक्टोबर क्रान्तिको चर्चा आउनैपर्छ । मार्क्सकाे चर्चा गर्दा पूँजी कृतिको नाम आइहाल्छ । त्यसैगरी मदन भण्डारीको चर्चा बहुदलीय जनवादका कारण हो । मदन भण्डारीको नाममा खोलिएको संस्थाले बहुदलीय जनवाद लेख्नु बेठिक होइन । बरु, मदनका नाममा खोलिएका संस्थाले बहुदलीय जनवाद लेखेनन् भने चाहिँ गल्ती हो ।
मदन भण्डारीको स्मरण गर्दा बहुदलीय जनवादको उच्चारण नगरी हुन्छ र ?
मदन भण्डारी को हुन् भनेर सोधियो भने यो जसले पनि भन्छ– बहुदलीय जनवादका प्रणेता भनेर । अनि, मदन भण्डारीको नाममा स्थापित संस्थाले ब्यानरमा बहुदलीय जनवाद लेख्नैपर्ने हुन्छ । यस अर्थमा मदन भण्डारी स्पोर्टस एकेडेमीले ब्यानरमा जनताको बहुदलीय जनवाद लेख्नैपर्ने हुन्थ्यो, लेख्यो । आपत्ति किन ? मदन भण्डारीका नाममा स्थापित संघसंस्थाले कार्यक्रम गर्न हुँदैन, गतिविधि गर्न हुँदैन भन्नु तानाशाही हो । नेपालमा हजारौं संघसंस्था, प्रतिष्ठान, फाउण्डेसन छन् । सबैले आआफ्ना गतिविधि गर्न पाएका छन् । तर, मदन भण्डारीको नाम गाँसिएको संस्थाले भने गतिविधि गर्न नपाइने भन्नु अत्याचारी विचार हो । माओवादीले जनयुद्धकालमा अरुलाई जसरी निषेध गर्ने गरेको थियो, अहिले त्यही शैलीमा मदन भण्डारीलाई निषेध गर्न खोजिएको छ ।
नेपाली कांग्रेसले वीपी कोइरालालाई मान्छ । वीपी कोइरालाले नेपाली कांग्रेसका लागि प्रजातान्त्रिक समाजवादको जग हालिदिनुभएको थियो । वीपी कोइरालाको चर्चा गर्दा कांग्रेसले प्रजातान्त्रिक समाजवादको चर्चा अवश्य गर्छ । कांग्रेसमा प्रजातान्त्रिक समाजवाद र वीपी कोइरालाको चर्चा गर्न पाइने । नेकपामा मदन भण्डारी र बहुदलीय जनवादको चर्चा गर्न किन नपाइने ?
गलत प्रचण्डपथ, सही बहुदलीय जनवाद
नेकपामा प्रचण्डहरुले मदन भण्डारी र बहुदलीय जनवादलाई निषेध गर्ने जुन अभियान चलाउनुभएको छ त्यसको परिणाम राम्रो आउने छैन । मदन भण्डारीको विकल्प प्रचण्ड हुन सम्भव छैन । बहुदलीय जनवादको विकल्प प्रचण्डपथ हुन सक्दैन । बहुदलीय जनवाद सही बाटो ठहरिएको छ । प्रचण्डपथ गलत बाटो ठहरिएको छ । त्यसैले प्रचण्डहरु आफैं पनि प्रचण्डपथको उच्चारण गर्न सक्नुहुन्न । यो देशमा प्रचण्डपथले गरेको बर्बादी अकल्पनीय छ । अनि, बहुदलीय जनवादले दिएको उपलब्धी हाम्रा सामु छ ।
नेकपाको आउँदो महाधिवेशनले कस्तो विचार गर्छ भन्ने अहिले नै भन्न नसकिएला । तर, जस्तो विचार पारित गरे पनि मदन भण्डारी र बहुदलीय जनवाद नेपाली माटोमा स्थापित भइसकेको छ, जनताको मनमष्तिष्कमा स्थापित भइसकेको छ । कसैले चाहँदैमा मदन भण्डारी र बहुदलीय जनवाद यो धरतीबाट उखेलिँदैन । कसैले निषेध गर्दैमा बहुदलीय जनवाद मर्दैन । बहुदलीय जनवादले निषेध मान्दैन, निषेधलाई अस्वीकार गर्छ ।
त्यसैले मदन भण्डारी र बहुदलीय जनवाद अमर छ । नेकपाका हरेक नेता कार्यकर्ताले मदन भण्डारी र बहुदलीय जनवादलाई आत्मसात गर्नुपर्छ ।
