देश नेकपा भित्र देखिएको बिबादले तरंगिएको छ । नेकपाका नेताहरुको दिनचर्या बदलिएको छ । बोली बदलिएको छ । गुटका कोठे बैठकको संख्या बढेको सुन्न पाइन्छ । एउटा पक्षले अर्को पक्षलाई खुइल्याउन हद नागेर पोल खोलाखोल भइरहेको अबस्था छ । तिललाई पहाड बनाएर सञ्चार माध्यममा देखिने, चर्चामा आउने प्रयत्न नानी देखिको बल लगाएर भइरहेको देखिन्छ । हिलो छ्याप्ने खेल सचिवालय, स्थायी समिति हँुदै केन्द्रीय समितिसम्म पुगिसकेको छ । गुटका भजनमण्डलीहरु प्रदेश र पालिका स्तर सम्म नै सक्रिय हुन थालेका छन् ।
इमान्दार कार्यकर्ताहरुले पहुँच अनुसार पार्टी फुटाउन बिगार्न हुँदैन है भन्दै दवाब दिने, अनुरोध गर्ने र चिन्ता गर्ने गरेको देखिएको छ । परिस्थिति हेर्दा अब पार्टी फुटाउने र नफुटाउने पक्षले सडकमा आएर नारा जुलुस लगाएमा अनौठो नमाने हुने भयो । सडकमा जाँदा नारा चाहिन्छ । नारा केके लगाउने ? अहिलेको अवस्थामा उपयुक्त नारा के होला ? यसमा केही नारा प्रस्ताव गरिएको छ । काम लाग्ला की !
देश र समाजमा बिद्यमान स्थापित थिति अनुसार कसैले गल्ति गरेछ र कारवाही गर्नुपरेको खण्डमा अनौपचारिक प्रयत्न बाहेक औपचारिक कारवाही थाल्दा पहिले स्पष्टिकरण सोधिन्छ । स्पस्टिकरणको प्रत्युत्तर आएपछि त्यसमा छलफल गरिन्छ । प्रत्युत्तरमा चित्त नबुझेको खण्डमा गल्तीको स्तर अनुसार आत्मआलोचना गर, माफी माग वा पद छोड, राजीनामा देउ भनेर कमिटीले औपचारीक निर्णय गर्ने विधि हुने गथ्र्यो । अहिले विधि फेरिएको देखिन्छ । पहिले राजीनामा माग्ने, त्यसपछि आरोप छरपस्ट गर्ने अनि मात्र कमिटीमा छलफल गर्ने ! पार्टी सदस्यहरु कार्यकर्ता नभएर गुटका भजनमण्डली हुन् भन्ने देखियो ।
यो पार्टी लाखौ कार्यकर्ताको अथक परिश्रम मेहनतले बनेको भन्ने देखिएन । पार्टी केवल दुईचार जना नेताको हो र तिनले जे चाहन्छन त्यही हुनुपर्दछ भन्ने मानसिकता देखिन्छ । प्रधानमन्त्रीले कतिपय कुराहरुमा पार्टीसँग औपचारिक छलफल सल्लाह नगर्ने मनोमानी निर्णय गर्दै जाने भए त्यो गलत हो । त्यसैगरी पार्टीले विधिसम्मत ढंगले सरकार बनाइसकेपछि सरकारलाई सहयोग गर्ने, सरकारका काममा पार्टी पंतिmको परिचालन र सहयोग जुटाउने, जनतालाई सुसूचित र परिचालित गर्ने कामको अनुगमन गर्ने लगायतका काम सचिवालय र स्थायी समितिले गर्नुपर्ने हो । बैठक बेलामा नहुने समस्य त बैठक आफैंले अर्काे बैठक तोकेर बिहान बेलुका राति बैठक बस्ने ब्यबस्था गरेर पनि समाधान गरे हुँदैन र ?
पार्टी सरकारमा हँुदा यति पनि गर्न नसक्नु स्थायी समिति र सचिवालयको असक्षमता मान्ने की नमान्ने ? असक्षम हो भने राजीनामा किन नमाग्ने ? जनताका चासोका कामहरु कार्यान्वयन गर्न सरकारलाई सघाउने, कार्यान्वयन र अनुगमन गर्ने काम नै नगरेको, लकडाउनका बेला कार्यकर्ता परिचालन नगरेको, गरिब जनता र सरकारलाई सहयोग नगरेको, भागवण्डाका लागि झगडाको वितण्डा मच्चाएकोमा सचिवालयको पनि राजीनामा माग्नुपर्छ । त्यसैले सचिवायले राजीनामा दे ! राजीनामा दे !! यो नारा कस्तो होला ?
भागबण्डाको झगडाको सन्देश समाजमा फैलिएको अवस्थामा प्रधानमन्त्रीले सचिवालयका नेताहरुको जुँगा र स्तर अनुसार भाग दिएर देश गतिशील बनाउनु पर्ने हो । सचिवालयका नेताहरुको जुँगा र स्तर अनुसार भाग दिएर देशलाई गतिशील बनाउन नसक्ने प्रधानमन्त्री- राजिनामा दे ! राजिनामा दे !!
सडकमा तमासा देखाउन जाँदा यति नाराले मात्र कहाँ पुग्छ र ? अरु नारा पनि चाहिन्छ ।
जनताले अपार माया दिएर दुई तिहाई नजिकको जनमत साथ राज्य सञ्चालन गर्न दिएको जिम्मेवारी आज अर्थहीन भएको देखिन्छ । भिमकाय पार्टीको कार्यकारी भूमिका पाएका अध्यक्षलाई पार्टी गतिशील बनाउन केन्द्रदेखि वडासम्मका कमिटी, विभागहरु, देशभरका ७५३ सरकारलाई ठाउँ अनुसार सहयोग वा प्रतिपक्षको भूमिका निर्बाह गर्न सफल बनाउन अहोरात्र काम गर्नुपर्ने त देखिएन । देखियो त केवल भागबण्डा र पदको चिन्ता । देश कहाँ छ ? श्रोत साधन के छ ? समस्या कस्ता र के छन् भन्ने जानकारी नभएका, विकास कसरी गर्ने कुनै ज्ञान नभएका, समाजलाई धमिल्याउन मात्र जानेका अभियन्ता नामका बुख्याचाहरुले समाजलाई निरास बनाउन खोजिरहेका छन् । यस्तो बेला पार्टीले कुनै भूमिका देखाउन नसक्ने प्रष्ट कुरा जनतामा लान नसक्ने । त्यसो हो भने सडकमा जाँदा पार्टीलाई गतिशील बनाउन नसक्ने कार्यकारी अध्यक्ष- राजिनामा दे ! राजिनामा दे !!
ठिक छैन त यो नारा ?
पार्टी एकीकरण र जनअनुमोदित पार्टी बनेपछि केन्द्रदेखि पालिकासम्मका सरकारहरुले काम गरिरहेका छन । कहीँ आफ्नो सरकार छ त कहीँ प्रतिपक्ष बनेको छ । लेलिनवादी संगठनात्मक सिद्धान्त मान्ने पार्टीको टोलटोलमा इकाइ हुनुपर्ने हो । कहीँ सरकारलाई सघाउने, कहीँ प्रतिपक्षको भूमिका निर्बाह गर्नुपर्ने हो तर वडासम्म पनि संगठन बनाउन नसक्ने, सदस्यताको अभिलेखसम्म बनाउन नसक्ने संगठन विभाग- राजिनामा दे ! राजिनामा दे !! अर्काे नारा यो हुनसक्छ ।
एकीकरण पछि दुईटा अलगअलग ओरियन्टेसनबाट आएका पार्टीको संयुक्त सरकार बनेको छ । जनमत प्राप्त गरेपछि त्यसको कदर गरेर जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने हुन्छ । यस्तो अबस्थामा नेता कार्यकर्ताहरुको बीचमा वैचारिक र ब्यक्तिगत पनि मतभिन्नता हुने र काममा बाधा पर्ने धेरै हुनसक्छ । पार्टीको स्कुल विभाग छ । त्यहाँ बैचारिक तथा कार्यक्रमिक प्रशिक्षण दिने ब्यबस्था गरिएको होला । निर्वाचित आधा कार्यकाल बित्न लागेको आजसम्म प्रशिक्षण गर्न नसक्ने स्कुल बिभाग- राजिनामा दे ! राजिनामा दे !! लगाउनैपर्ने खालको नारा होइन त यो ?
भष्टाचारले देश आक्रान्त भयो भनेर सञ्चार र सामाजिक सञ्जालले कुरा उठाइरहँदा निर्वाचित आफ्ना जनप्रतिनिधीहरुलाई सचेत बनाउने कामलाई पारदर्शी बनाउने उपाय सहितको कुनै कार्यक्रम नबनाउने अनुशासन आयोग- राजिनामा दे ! राजिनामा दे !! यस्तो नारा लगाउनेलाई अनुशासनको कारवाही के होला है ?
अब अर्काे नाराको चर्चा गरौं । नेताहरुले भागबण्डा गरेर विबिध आधारमा नियुक्ति गरेको तथा नियुक्त गर्न खोजेको समाचारहरु बाहिरिएकोे बेला जिम्मेवारी अपेक्षित पार्टी निकट विज्ञ, राज्यले खोज्नुपर्ने विज्ञ वा स्वतन्त्र विज्ञहरुको नामहरुको क्षेत्रगत सूची बनाउन प्रकृयासम्म नथाल्ने राज्य ब्यबस्था बिभाग ( राजिनामा दे ! राजिनामा दे !!
यी मूल नारा उपयुक्त होलान् । अरु जिम्मेवारहरु धेरै छन् । आवश्यकता अनुसार तिनका नाममा पनि नारा लगाउँदै राजीनामा माग्दा ठिक होला ।
सडकमा तमासा देखाउन यी नारा काफी छैनन् भने अरु थपे पनि हुन्छ । माथिका नाराहरुलाई संष्लेषित गरेर यस्तो बनाउन सकिन्छ–
१- सचिवालयका नेताहरुको जुँगा र स्तर अनुसार भाग दिएर देशलाई गतिशील बनाउन नसक्ने प्रधानमन्त्री - राजिनामा दे ! राजिनामा दे !!
२ - पार्टीलाई गतिशील बनाउन नसक्ने कार्यकारी अध्यक्ष - राजिनामा दे ! राजिनामा दे !!
३ - संगठन बनाउन नसक्ने, सदस्यताको अभिलेखसम्म बनाउन नसक्ने संगठन बिभाग राजिनामा दे ! राजिनामा दे !!
४ - प्रशिक्षण गर्न नसक्ने स्कुल बिभाग- राजिनामा दे ! राजिनामा दे !!
५ - आफ्ना जनप्रतिनिधीलाई सचेत बनाउने, कामलाई पारदर्शी बनाउने उपाय सहितको कुनै पनि कार्यक्रम नबनाउने अनुशासन आयोग- राजिनामा दे ! राजिनामा दे !!
६ - विज्ञहरुका नामको क्षेत्रगत सूची बनाउन प्रकृयासम्म नथाल्ने राज्य ब्यवस्था विभाग- राजिनामा दे ! राजिनामा दे !!
७ - भागवण्डाका लागि झगडा मच्चाउने सचिवालय- राजीनामा दे ! राजीनामा दे !! यी सबैभन्दा माथिको र मूल नारा हो– भागवण्डा जिन्दावाद !
यी सबै नाराभन्दा माथि छ भागवण्डा जिन्दावाद नारा । यो नारा चाहिँ पार्टीका मुख्य नेताहरुले लगाउने हो की ?
