गाेविन्द थापा-
► असहिष्णु प्रचण्ड
► अाराेप लगाउने तर प्रतिवाद नसहने प्रचण्ड
► ध्वंशात्मक प्रचण्ड
► सच्चिने हाे भने भविष्यमा नेकपाको नेता प्रचण्ड
नेकपामा विध्वंश मच्चिँदैछ र विध्वंशका नायक हुनुहुन्छ पुष्पकमल दाहाल प्रचण्ड । उहाँको राजनीतिक प्रवृत्ति र मनोविज्ञान बारे यहाँ चर्चा गरिँदैछ ।
सत्तारुढ नेकपाको विध्वंशका नायक प्रचण्डको मनोविज्ञान र प्रवृत्ति बारे विष्लेशण गरेर मात्र अहिले नेकपाभित्र चलिरहेको कलहको अन्तर्य बुझ्न सकिन्छ ।
राष्ट्रिय राजनीतिका अग्रणी व्यक्तित्वमध्ये प्रचण्ड पनि एक हो । दुई पटक प्रधानमन्त्री बन्नुभयो । अहिलेको जस्तो व्यवहार छाडेर परिपक्व र जिम्मेवार राजनीति गर्नुभयो भने भविष्यमा फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । करिब चार दशकदेखि लगातार पार्टी अध्यक्ष हुनुहुन्छ । त्यस्ता अनुभवी नेताले आफ्नै पार्टीका प्रधानमन्त्री विरुद्ध आरोपपत्र सार्वजनिक गर्नुभयो । प्रचण्ड जस्तो उच्च व्यक्तित्वले झुठैझुठ, कृत्रिम तथा निकृष्ट आरोपपत्र ल्याउनुभयो भन्ने सुन्दा सुरुमा धेरैलाई पत्यार नै लागेन होला । पहिलेपहिले कलेजमा स्ववियुको चुनाव हुँदा अखिल र नेवि संघका विद्यार्थीले जसरी आपसमा आरोप लगाउँथे, त्योभन्दा तल्लो दर्जामा उत्रिएर प्रचण्डले आरोपपत्र ल्याउनुभयो । अहिले त अखिल नेविसंघका सिकारु कार्यकर्ताले समेत धेरै हदसम्म जिम्मेवार राजनीति गर्छन् । प्रचण्डले आफूलाई असाध्यै तल गिराएर आरोपपत्र ल्याउनुभयो ।
असहिष्णु प्रचण्ड
प्रचण्डको राजनीतिक जीवन असहिष्णु राजनीतिक संस्कृतिमा हुर्कियो । उहाँ जुन राजनीतिक धाराबाट यहाँसम्म आउनुभयो त्यो धारामा खुला राजनीति र खुला छलफल कहिल्यै हुँदैनथ्यो । षडयन्त्र, जालझेल, अँध्यारो कोठाभित्र गुटवन्दी, हत्या जस्ता काम हुन्थ्यो । फरक मत र फरक विचारलाई कुनै हालतमा नस्वीकार्ने, त्यस्तालाई मार्ने राजनीतिक पृष्ठभूमिबाट आउनुभयो । खुला राजनीतिमा आउँदा त्यस्तो प्रवृत्ति त्याग्दै जानुहोला भन्ने जनविश्वास थियो । त्यो जनविश्वासलाई प्रचण्डले धेरैपटक कुठाराघात गरिसक्नुभएको छ । एमाले जस्तो जिम्मेवार पार्टीसँग एकीकृत भएपछि प्रचण्डले विगत एमालेको सुसंस्कृत राजनीतिक संस्कृति अंगाल्नुहुन्छ भन्ने जनविश्वास पनि चकनाचुर भएको छ ।
राजनीतिमा गुट हुन्छ, मतभेद हुन्छ, सामान्य आरोपप्रत्यारोप पनि हुन्छ । तर, आरोपप्रत्यारोप भित्र पनि मर्यादाको सीमा हुन्छ । त्यस्तो मर्यादा र सीमा प्रचण्डले कहिल्यै बुझ्न सक्नुभएन । उहाँले देश र पार्टी रुपान्तरणको नारा बारम्बार दिनुभयो तर आफैंलाई रुपान्तरण गर्न कहिल्यै चाहनुभएन । कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि जस्ताको तस्तै भनेजस्तो भयो ।
याे लेखकाे अडियाे सुन्नुहाेस्, भिडियाे हेर्नुहाेस्
प्रचण्डमा असहिष्णु प्रवृत्तिको लामो इतिहास छ । पार्टी बाहिरका मात्र नभएर पार्टी भित्रका विरोधीलाई समेत प्रचण्डले मार्नुभयो । यानप्रसाद गौतम उर्फ आलोक मारिए । बाबुराम भट्टराईलाई प्रचण्डले जनयुद्धकालम हिरासतमा राख्नुभयो । बाबुरामलाई प्रचण्डले मार्नसक्ने भारतले बुझ्यो । त्यसपछि भारतले हस्तक्षेप गरेर बाबुरामलाई छुटायो । चरित्र हत्या त उहाँहरुका लागि सामान्य विषय थियो । तर, खुला राजनीतिमा विरोधीको हत्या गर्ने त कल्पना समेत गर्न सकिन्न, चरित्र हत्या पनि जघन्य काम हो । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीको चरित्र हत्या गर्ने जस्तो जघन्य कुकर्म प्रचण्डबाट भएको छ ।
यति उचाइमा पुगिसक्नुभएका प्रचण्डले यस्तो बहुलठ्ठीपूर्ण हर्कत कसरी गर्नुभयो ? अचम्म लाग्दो छ ।
अाराेप लगाउने तर प्रतिवाद नसहने प्रचण्ड
प्रचण्डको साथमा माधव नेपाल, बामदेव गौतम लगायतका नेताहरु हुनुहुन्छ । उहाँहरुले त्यस्तो निकृष्ट आरोपपत्र ल्याउन सुझाव दिनुभयो होला त ? कल्पना पनि गर्न सकिन्न । पूर्व एमालेका नेताहरुले त्यति निकृष्ट आरोपपत्रलाई बोक्छन् भने के ठहर गर्नुपर्ने हुन्छ भने प्रचण्डको असहिष्णु शैली कोरोना भाइरस जसरी नेकपामा फैलिएको छ । प्रचण्डलाई संस्कार सिकाउनुपर्ने नेताहरु प्रचण्डबाट कुसंस्कार सिकिरहेका छन् । नेकपाभित्र असहिष्णु संस्कृतिको प्रदूषण फैलाउन थालिएको छ ।
आरोप लागेपछि त्यसको प्रतिवाद हुन्छ भन्ने प्रचण्डले हेक्का राख्नुभएन । झुठा आरोप कसैले सहेर बस्दैन । उहाँ यस्तो पार्टीबाट आउनुभयो जहाँ उहाँले अरुलाई जति पनि आरोप लगाउन पाउनुहुन्थ्यो तर उहाँलाई चाहिँ आरोप लगाउन पाइँदैनथ्यो । प्रचण्डलाई आरोप लगाउनु या विरोध गर्नु भनेको काल निम्त्याउनु हुन्थ्यो या पार्टी छाडेर हिँड्नुपथर््यो । आरोपको त कुरै भएन, सामान्य आलोचना समेत गर्न नपाइने संस्कृति सिकेर प्रचण्ड आउनुभयो । त्यसैले आफूले आरोप लगाउन पाइने, अरुले प्रतिवाद गर्न नपाइने मानसिकता उहाँको भयो । यही मानसिकता बोकेर उहाँले केपी ओलीमाथि कृत्रिम र झुठा आरोप लगाउनुभयो । तर, प्रतिवाद भयो । प्रचण्डलाई प्रतिवाद मन पर्दैन भन्ने सबैलाई थाहा छ ।
आरोपको खण्डन केपी ओलीले जुन तरिकाले गर्नुभएको छ, त्यसबाट प्रचण्डको राजनीतिक जीवन नाङगो बनेको छ । प्रचण्डले तथ्यमा नटेकी मनोगत आरोप लगाउनुभयो । तर, ओलीले प्रचण्डकै आरोपमाथि टेकेर जवाफ दिनुभयो । जवाफ फर्काउनलाई ओलीले तथ्यहरुको सहारा लिनुभयो । प्रचण्ड आफैंले फायर खोल्नुभयो र आफैं घाइते बन्नुभयो । आफूलाई कति घाउचोट लाग्छ भन्ने प्रचण्डलाई मतलब छैन जस्तो छ, उहाँ अरुलाई कति धेरै घाइते बनाउन सकिन्छ भन्ने सिकारी मानसिकता बोकेर हिँड्नुभएको छ ।
अधैर्य प्रचण्ड
प्रचण्डको अधैर्य स्वभाव सबैलाई थाहा छ । उहाँ मूलबाटो हिँड्ने मानिस होइन, चोरबाटो हिँड्ने राजनीतिक प्रवृत्ति देखिन्छ । विधि प्रकृयाबाट पदप्राप्ति हुनेमा विश्वास नै छैन । विधि प्रकृयाबाट पद गुम्ने लोकतान्त्रिक परिपाटी पनि मान्नुहुन्न । त्यसैले तत्कालीन माओवादीमा महाधिवेशनको नाममा नौटंकी हुन्थ्यो, चुनाव हुँदैनथ्यो । चुनाव नलडी, भोटको बाकस नथापी सधैं पार्टी प्रमुख बनिरहनुभयो । अब नेकपामा पनि महाधिवेशनको नाममा नौटंकी गरेर पार्टी हत्याउने उहाँको उद्देश्य देखिन्छ । यो उद्देश्य सफल पार्न प्रचण्डले नेकपामा भाँडभैलो मच्चाउन थाल्नुभएको छ । असहिष्णु संस्कृतिको पराकाष्टा हो ओली विरुद्ध ल्याउनुभएको आरोपपत्र । अधैर्य स्वभावको परिचायक हो आरोपपत्र ।
प्रचण्डले शालिन राजनीति गर्नुभएमा भविष्यमा फेरि प्रधानमन्त्री बन्ने पक्का छ । महाधिवेशनबाट नेकपाको अध्यक्ष बन्ने पनि पक्का थियो । तर, आमचुनाव र महाधिवेशनसम्म धैर्य गर्न नसक्नाले उहाँले ती पद पाउनुहुन्छ भन्नसक्ने अवस्था रहेन । दुःख पाइस् मंगले आफ्नै ढंगले भन्ने उखान प्रचण्डको जीवनमा चरितार्थ हुँदैछ ।
ध्वंशात्मक प्रचण्ड
प्रचण्डहरुले निर्माण जान्नुभएन, ध्वंश मात्र जान्नुभयो । जसरी हुन्छ ध्वंश गर्ने काममा उहाँको आजसम्मको राजनीतिक जीवन बितेको छ । भौतिक ध्वंश कति गर्नुभयो भन्ने देशका सामु छ । देशको इतिहास, संस्कृति, भाषा, जातीय विविधता, धर्म सबैमा ध्वंश गर्न खोज्नुभयो । नेपाल देशको नाम समेत फेर्न खोज्नुभयो । विश्वकै अद्धितीय चन्द्र सूर्य राष्ट्रिय झण्डालाई समेत ध्वंशको सिकार बनाउन बहुत प्रयत्न गर्नुभयो तर सक्नुभएन । अतित हेर्दा भन्न सकिन्छ– प्रचण्डको अर्काे नाम ध्वंश हो, विध्वंश हो । प्रचण्डको मनोविज्ञानमा ध्वंश मात्र देखिन्छ, निर्माण देखिन्न ।
नेकपामा दुईखाले पृष्ठभूमि छ । एउटा माओवादी पृष्ठभूमि, अर्काे हो एमाले पृष्ठभूमि । दुवैका अतितका गल्तीबाट शिक्षा लिएर सच्चिनु र विगतका असल शिक्षालाई अझ परिस्कृत गर्नु नै वास्तविक पार्टी एकीकरण हो । मानिसका झुण्ड र कमिटी एकीकरण गर्नु मात्र एकीकरण होइन । विगतका कुसंस्कार त्याग्नु र नयाँ पार्टीभित्र त्यस्ता कुसंस्कार भित्रन नदिनु पनि एकीकरणको मर्म हो । ध्वंशात्मक र असहिष्णु विचार त्याग्नु पनि एकीकरण हो । प्रचण्डले यो मर्म बोक्न सक्नुभएन ।
प्रचण्डले एमालेका पूर्व गुटहरुलाई जुधाएर, फुटाएर, लडाएर पार्टी कब्जा गर्ने उद्देश्य लिनुभयो । एकीकरण नै उहाँले एमालेका पूर्व गुटहरुलाई जुधाउँछु र पार्टी कब्जा गर्छु भन्ने सुनियोजित उद्देश्यसाथ गर्नुभयो । फुटाउ र राज गर भन्ने नीति लिनुभयो । अर्थात्, नेकपा नयाँ बन्यो तर प्रचण्ड पूरानै नेता बन्नुभयो । प्रचण्डको हातमा बन्दुक त छैन तर व्यवहार र नीति हेर्दा हातमा अझै बन्दूक छ । प्रचण्डले विचार, नीति र व्यवहारमा बोक्नुभएको अदृष्य बन्दूक त्याग्नु नै नेकपाको अहिलेको घर झगडाको समाधान हो । सच्चिनुभयो भने भविष्यमा नेकपाको नेता प्रचण्ड नै हो । प्रचण्ड सच्चिनुहुन्छ भनेर आशा गर्नैपर्ने हुन्छ तर भर पर्न सकिने अवस्था छैन ।
