कमानसिंह लामा मरिसक्नुभयो । तर, नेकपाका एकखाले नेताहरुले दिवंगत कमानसिंहलाई बारम्बार मारिरहेका छन् । नारायणकाजी श्रेष्ठ र सुसन कर्मचार्यले कमानसिंहलाई ज्यूँदो छँदा बारम्बार मारेको खुलासा भइसकेको छ ।
कमानसिंहलाई उहाँले जीवन अर्पेको पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिको बैठकमा बोलेर मारिसक्नुभएको छ । माधवकुमार नेपालले पनि एक टेलिभिजन कार्यक्रममा अन्र्तवार्ता दिँदै फेरि एकपटक मारिसक्नुभएको छ ।
माधव नेपालले राजेन्द्र बानियाँको यक्ष प्रश्न कार्यक्रममा ठाडै भन्नुभयो– ‘नारायणकाजीको यसमा कुनै संलग्नता छँदै छैन ।’
माधवको अर्काे वाक्य यस्तो छ– ‘नारायणकाजी किन तारोमा पर्नुभयो भनेदेखि केपी ओलीको आलोचना गर्नभुयो ।’
माधव नेपालको यो भनाईको एक्सरे गरौं, शल्यक्रिया गरौं । माधव नेपालको भनाई कति ठिक कति वेठिक भन्ने तथ्य पहिचान गरौं ।
नारायणकाजीको संलग्नता नभएको माधव नेपालको दावीलाई कमानसिंह र नारायणकाजीको संवाद भएको भिडियोले ठाडै खारेज गर्छ । लेनदेनको कुराकानी भएको भिडियो सार्वजनिक भइसकेको छ । सो भिडियोमा नारायणकाजीले आफ्नी पिए सुसनसँगको लेनदेन हो, तपाईंहरु बसेर मिलाउनुहोस् भन्नुहुन्छ । तर, बीचबीचमा लेनदेनको कुरामा ‘हामीले तिर्नुपर्ने हो ?’ भनेर पनि सोध्नु हुन्छ ।
भिडियोले लेनदेन सुसनसँग मात्र नभएर नारायणकाजीसँग पनि हो भन्ने प्रष्ट हुन्छ । यति प्रष्ट भिडियो देखिसकेपछि पनि माधव नेपाल भन्नुहुन्छ– नारायणकाजीको यसमा कुनै संलग्नता छैन ।
माधवकुमारजी, एउटा कुरा भन्नुस् त, नारायणकाजीको संलग्नता नभएको भए कमानसिंहले किन नारायणकाजीसँगै कुरा गरेर भिडियो खिच्नुभयो ? तपाईंसँग कुरा गरेर पनि भिडियो खिच्न सक्नुहुन्थ्यो । प्रचण्डसँग कुरा गरेर पनि खिच्न सक्नुहुन्थ्यो । किन नारायणकाजीसँगै कुरा गरेर भिडियो खिच्नुभयो ? अलिकति विचार गर्नुस् त । संलग्नता नभएको भए भिडियो खिचिन्थ्यो र ? घाम जत्तिकै छर्लङग तथ्य नदेखे झैं गरेर कमानसिंहको मृत आत्मालाई किन सताउनुहुन्छ माधवजी ?
अब माधवको अर्काे झुठको चर्चा गरौं ।
केपी ओलीको आलोचक भएकाले नारायणकाजीलाई तारो बनाइएको भन्ने माधवको अभिव्यक्ति लाखौंलाख प्रतिशत झुठो छ । कमानसिंहसँग हाइड्रो पावरको कारोबार गर्नु भनेर नारायणकाजी र सुसनलाई केपी ओलीले अह्राएको हो ? अढाई करोड रुपैयाँ खाइदिनु भनेर नारायणकाजी र सुसनलाई केपी ओलीले पठाएको हो ? मर्नु अघि फेसबुकमा सबै पोल खोल्नु भनेर कमानसिंहलाई केपी ओलीले भनेको हो ? कमानसिंहको घर भाँड्नु, जीवन बर्बाद पार्नु भनेर केपी ओलीले नारायणकाजीलाई खटाएको हो ? यदि हो भने प्रमाण दिनुस् माधव नेपालजी । होइन भने कमानसिंहले फेसबुकमा लेख्नुभएको र नारायणकाजीले ‘हामी’ भन्दै रकमको डिल गरेको भिडियो हेर्नुस् ।
कमानसिंहको निधन भएको थिएन भने यी सबै कुरा यसरी बाहिर आउने थिएन होला । कमानसिंह बितिसक्नुभयो । उहाँले छाडेर गएका प्रमाणहरुका आधारमा न्याय दिनुपर्ने होइन र ?
नारायणकाजी र सुसन निर्दाेष ठहरिन पनि सक्नुहुन्छ । तर, त्यसका लागि छानविन हुनुपर्छ । यति गम्भीर विषय छ, आरोप अत्यन्तै संगीन छ । तर, बिना छानविन माधव नेपाल भन्नुहुन्छ– नारायणकाजीको कुनै संलग्नता छैन ।
माधव नेपालको कमानसिंह लामासँग केही सत्रुता थियो कि ? शंका लाग्ने विषय भएको छ । सत्रुता थियो भने पनि मरिसकेका मानिसप्रति दुराग्रह राख्न हुँदैन । स्वस्थ्य मानसिकताको मानिसले दिवंगत व्यक्तिप्रति दुराग्रह राख्दैन । माधवले कमानसिंहप्रति दुराग्रह मात्र देखाउनुभएको छैन, कमानसिंहलाई फेरि पनि मार्नुभएको छ ।
केपी ओलीका आलोचक जति मानिस छन्, उनीहरुले कुनै गलत गरे भने, अपराध गरे भने, पाप गरे भने तिनको पक्षपोषणमा उभिने कस्सम माधवले खाएको हो ? कसैले केही गलत गर्यो भने– केपी ओलीको आलोचना गरेकाले फसाइयो भन्नु हदैसम्म गैरजिम्मेवार काम हो । केपी ओलीको आलोचना गर्नेले जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने माधवको अभिव्यक्तिमा आशय झल्कन्छ ।
माधव नेपालजी, कमानसिंह लामाले मृत्यु शैय्यामा पुगेपछि लेख्नुभएको फेसबुक स्टाटस तपाईंले पढ्नुभएन ? पक्कै पढ्नुभयो । तैपनि किन कुरा नबुझे जसरी नारायणकाजीको संलग्नता छैन भन्नुहुन्छ ?
नेकपाको अब बस्ने स्थायी समितिको बैठकमा कमानसिंह, नारायणकाजी र सुसन प्रकरणको विषयमा माधव नेपालले छानविनका लागि आवाज उठाउनुहुन्छ भन्ने आशा गर्न सक्ने अवस्था देखिएन । माधव त मरिसकेका कमानसिंहलाई पटकपटक मार्ने पक्षमा देखिनुभयो । कमानसिंहको दिवंगत आत्माले नेकपाभित्रका अपराधीहरुलाई श्राप दिइरहेको छ । त्यो श्रापको भागीदार बन्न कुनै पनि नेताले प्रयास नगरुन् ।
