गाेविन्द थापा-
अब चुनावपछि प्रधानमन्त्री को हो ? यस्तो उत्सुकता अहिले सबैमा छ । सबैलाई थाहा भएको कुरा हो– चुनाव जितेर प्रधानमन्त्री बन्ने हैसियत नेकपा र कांग्रेसका नेताले मात्र राख्छन् । यी दुई बाहेकका पार्टी र नेताहरुले संसदीय गणित मिलाएर तथा च्याँखे परेको आधारमा मात्र प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने अवसर पाउँछन् ।
अब चुनावपछिको प्रधानमन्त्री केपी शर्मा ओली नै हो । जनताको माग यही हो, देशको आवश्यकता यही हो । जनस्तरको यो माग नेकपाका नेता कार्यकर्ताले कसरी बुझेका छन्, बुझे अनुसार कसरी प्रतिक्रिया दिन्छन् र माग सम्बोधनका लागि के गर्छन् भन्ने चाहिँ प्रतिक्षाको विषय बनेको छ ।
अब तेस्रो पटक प्रधानमन्त्री बन्ने संघारमा ओली हुनुहुन्छ । तेस्रो पटक प्रधानमन्त्री बन्न सिर्फ चुनाव कुर्नुपर्ने देखिन्छ । चुनाव हुनुको अर्थ केपी ओली फेरि पनि प्रधानमन्त्री बन्नु हो । यो कुरा आम नेपाली जनताले बुझिसकेका छन्, ओली नेतृत्वको पार्टीलाई भोट दिन व्यग्र प्रतिक्षा गरिरहेका छन् । ओलीलाई फेरि पनि प्रधानमन्त्री बन्न नदिन चुनाव भाँड्ने प्रयास गरिरहेका छन् ।
अाेलीका क्षमता र वाध्यता
केपी ओलीले राजनीतिबाट सन्यास लिन्छु कहिल्यै भन्नुभएको छैन । तर, पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्दिन भनेर बारम्बार भन्नुभएको छ । उहाँले यो कुरा धेरै पटक भनिसक्नुभएको छ । एउटै व्यक्ति जीवनभर नेतृत्वमा रहने कुराको उहाँले सधैं विरोध गर्दै आउनुभएको छ ।
पहिलो पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नु ओलीको राजनीतिक जीवनको अपरिहार्य आवश्यकता थियो । व्यक्तिले क्षमता अनुसारको जिम्मेवरी खोज्छ नै । अध्यक्ष र प्रधानमन्त्री पद ओलीलाई राजनीतिक यात्राका क्रममा आइलागेको जिम्मेवारी थियो । र, त्यो स्वाभाविक जिम्मेवारी थियो । दोस्रो पटक ओली रहरले प्रधानमन्त्री बन्नुभएको थिएन । ओली प्रधानमन्त्री बन्नु राष्ट्रिय आवश्यकता बनेको थियो । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको थिएन भने गत चुनावमा एमालेको जित सम्भव थिएन । एमालेसँग गठनवन्धन गरेर ओली नेतृत्वको छाताभित्र बसेको थिएन भने माओवादी पाँचसात सिटमा खुम्चिने थियो । त्यसैले गत आमचुनावमा भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अगाडि सार्नु देशको आवश्यकता थियो, जनताको माग थियो, ओलीका लागि रहर भन्दा पनि वाध्यता थियो । ओलीलाई माझी नबनाई एमाले र माओवादीको डुंगा पार हुनेवाला थिएन ।
ओलीले पार्टी अध्यक्ष पद आउँदो महाधिवेशनबाट अरुलाई हस्तान्तरण गर्नुहुने निश्चित छ । तर, अबको प्रधानमन्त्री भने ओली नै बन्नुपर्छ भनेर नेकपाका नेता–कार्यकर्ता पंक्ति तथा कमिटीहरुले आग्रह गर्नुपर्ने अवस्था आएको छ । यद्यपी, नेकपामा प्रधानमन्त्री बन्न लायक, योग्य, क्षमतावान अब्बल नेताहरुको ठूलो टिम रहेको छ । नेकपा योग्यहरुको सुयोग्य पार्टी हो, अयोग्यहरुको ठूलो हिस्सा बाहिरिएपछि नेकपा झन् सबल र प्रबल पार्टी बनेको छ । अहिले केही खास परिस्थिति सिर्जना भएको छ । त्यसकारण केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय गरेर नेकपाले चुनावी अभियान थाल्न ढिलाई गर्न हुँदैन ।
विघटन र निर्वाचनको औचित्य सिद्ध गर्न
प्रतिनिधि सभा विघटन किन गर्नुपर्याे ? ताजा जनादेश किन चाहियो ? यो विषयको ब्याख्या गर्ने सर्वाधिकार प्रधानमन्त्री ओलीसँगै छ । गत प्रतिनिधि सभाको संरचनाले मुलुकलाई स्थिरता दिन सकेन, सरकारलाई काम गर्न बाधा दियो । अब कस्तो प्रतिनिधि सभा चाहिन्छ ? कस्ता सांसद् चाहिन्छ ? जनतालाई यो सबै भन्ने तथा बुझाउने जिम्मेवारी ओलीकै हो । त्यसैले नेकपाले ओलीकै नेतृत्वमा चुनावमा नगई सुखै छैन ।
मुख्य कुरा, चुनावको औचित्य सिद्ध गर्नु छ । कतिपले विघटन गलत हो, चुनाव गलत हो भनी भ्रम फैलाइरहेका छन् । चुनाव गलत हुनै सक्दैन । जनतामा नगई संसदीय गणितको गोलचक्करमा मुलुकलाई फसाउनु भन्दा जनता माझ जानु कैयन गुणा राम्रो हो भन्ने तथ्य बुझाउने काम ओलीकै नेतृत्वमा हुनु अपरिहार्य छ । लोकतन्त्र तथा लोकतान्त्रिक राज्य प्रणालीलाई संसदको गणितीय गोलचक्करले कमजोर बनाउँछ, चुनावले बलियो बनाउँछ । यो तथ्य जनतामाझ लैजाने नेतृत्व केपी ओली नै हो ।
प्रतिनिधि सभा नामको संस्था गलत होइन, त्यहाँ निर्वाचित भएर गएका प्रवृत्तिहरु चाहिँ गलत भए भनेर जनतालाई बुझाउने जिम्मेवारी ओलीको काँधमा आएको छ । ३३० जनाभित्र बहुमत जुटाएर समग्र जनादेश अपहरण गर्न पाइँदैन भन्ने तथ्य बोकेर जाने जिम्मेवारी ओलीको काँधमा छ । जनता नै सर्वोपरी हुन् भनेर ताजा जनादेशमा जाने निर्णय जुन प्रधानमन्त्रीले गरेको छ, ती प्रधानमन्त्रीले आफ्नो टिम लिएर जानैपर्ने हुन्छ । प्रधानमन्त्रीको टिम भनेको नेकपा हो । अब नेकपाले औपचारिक रुपमा जनतालाई भन्नुपर्छ– ‘आदरणीय जनता, केपी शर्मा ओलीको नेतृत्वमा हामी तपाईं माझ आउँदैछौं ।’
जनादेशका विरुद्ध गुटादेश
गत चुनावमा जनताले दिएको मत, जसलाई अर्काे शब्दमा जनादेश भनिन्छ । त्यस्तो जनादेश प्रतिनिधि सभाभित्र गणितको षडयन्त्रमूलक खेल गरेर अपहरण गर्न खोजियो । जनताले यो कुरा बुझिसकेका छन् । नेपाली राजनीतिको सबैभन्दा ठूलो समस्या जनादेशलाई गुटले अपहरण गर्ने प्रवृत्ति हो । गत चुनावमा जस्तो जनादेश आयो, त्यसलाई नेकपाभित्रका गुटहरुले अपहरण गर्न खोजे । प्रधानमन्त्री ओलीले जनादेश अपहरण गर्न दिनुभएन । जनादेशलाई गुटको कब्जामा जान दिनुभएन । गुटहरुसँग ओलीले आत्मसमर्पण गर्नुभएन । बरु, जनादेश दिने जनता समक्ष जाने निर्णय गर्नुभयो ।
नेपालमा सरकारले काम गर्नै नपाउने, स्वार्थी गुटहरुको घेरावन्दीमा प्रधानमन्त्रीले विवशतापूर्वक बस्नुपर्ने अवस्था पहिलेदेखि नै थियो । जनादेश पाएका प्रधानमन्त्रीले गुटहरुको स्वार्थमा काम गर्नुपर्ने अवस्थाप्रति ओलीले विद्रोह गर्नुभयो । केही नेताहरुको परिवार, नातागोता तथा स्वार्थी गिरोहहरुको सम्मिश्रणबाट बनेका गुटहरुलाई ओलीले स्वीकार गर्नुभएन । यो तथ्य जनतालाई भन्ने जिम्मेवारी ओलीमाथि आइलागेको छ । त्यसैले ‘आउँदो चुनावको नेतृत्व ओलीको, भावी प्रधानमन्त्री ओली’ भन्नैपर्ने हुन्छ ।
जनादेशलाई गुटादेशले अपहरण गर्ने अवस्था अन्त्य गरिएन भने भविष्यमा हुने चुनावले दिने जनादेश पनि अपहरण हुनेछ । लोकतन्त्र र चुनाव हात्तीको देखाउने दाँत मात्र ठहरिने छ । लोकतन्त्र र चुनावका नाममा कालो कोठाभित्रका गुटहरुले नै रजाईं गर्नेछन् । जनादेशलाई गुटले अपहरण गर्ने परिपाटी अन्त्यका लागि पनि ‘भावी प्रधानमन्त्री केपी ओली’ भन्नैपर्छ ।
उपलब्धी संस्थागत गर्न
संविधान निर्माण भएर ओली नेतृत्वमा सरकार बनेपछि नेपालमा एउटा मौन क्रान्ति भयो । स्थानीय, प्रदेश र केन्द्रको चुनावपछि यी सबैको व्यवस्थापन गर्नु असाधारण चुनौती थियो । यी सबैलाई व्यवस्थापन गर्न दर्जनौं कानुन बनाउनुपरेको थियो । यसका लागि लाखौं लाख पृष्ठ कागज र हजारौं लिटर मसी खर्च गर्न परेको छ । केही मानिस छन् जो हुलहुज्जत गर्नु, रगत बगाउनुलाई नै क्रान्ति भन्छन् । तर, संघीय व्यवस्थापनको प्रारम्भिक चरणमा खर्च गरिएका लाखौं लाख पृष्ठ कागज र मसी मौन क्रान्ति थियो । विश्वको इतिहासमै यो असाधारण काम थियो ।
अब रगत बगाउनु क्रान्ति होइन, मसी बगाउनु क्रान्ति हो । देश बनाउन बुद्धि र विवेक चाहिन्छ । जनताप्रति समर्पण चाहिन्छ । कागज र मसी चाहिन्छ । देशलाई अब रगतको होइन कागज र मसीको खाँचो छ । यो कुरा केपी ओलीले स्थापित गर्नुभएको छ । त्यसैले फेरि पनि एकपटक देशलाई केपी ओलीको खाँचो छ ।
नेपाललाई संघीयताको अनुभव नै थिएन । नयाँ सुरुआत थियो । चुनावपछि संघीयताको सफल व्यवस्थापन मौन क्रान्ति थियो । यो क्रान्ति पूरा भएको छैन । यसलाई अगाडि बढाउन, सफलताको अर्काे उचाईमा पुग्न केपी ओली नै चाहिन्छ । देशभरीका स्थानीय तहहरु अहिले धेरै हदसम्म प्रभावकारी छन् । तिनको प्रभावकारितालाई अझ माथि उठाउन ओली नै चाहिन्छ ।
सरकारले करिब तीन वर्षको अवधीमा महान काम गरेको छ । तर, ओली नेतृत्वको सरकारले एउटा गल्ती गर्याे । त्यस्ता उपलब्धीहरुलाई प्रचारित गर्न सकेन । सरकार काममा व्यस्त भयो, जनादेश अपहरण गर्ने गुटहरु सरकार विरुद्ध दुष्प्रचार गर्न व्यस्त भए । देशी विदेशी सबै शक्तिहरु केपी ओली तथा सरकार विरुद्ध दुष्प्रचार गर्न निरन्तर लागिरहे । उपलब्धीहरु जनता माझ प्रचारित हुन सकेन । तर, परिस्थिति फेरिएको छ । जनादेश अपहरण गर्ने गुटका मठाधीशहरु पार्टीबाट बाहिरिएका छन् । जनताले मठाधीशहरुको नियत बुझे, सरकारको काम पनि अब बुझ्न थाले । जनताको एउटा तप्काको आँखामा पट्टि बाँधिएको थियो । अब पट्टि खुलेको छ । त्यस्ता जनता पनि ओली नै चाहन्छन् ।
सरकारले गरेका महान कामहरु, विशिष्ट उपलब्धीहरुको म बेग्लै लेखमा चर्चा गर्नेछु । अहिले संक्षिप्तमा यति लेखौं– सरकारले यो तीन वर्षमा गरेका उपलब्धीहरुलाई संस्थागत गर्न ओली नै चाहिन्छ ।
विपना बन्न थालेको समृद्धिको सपना
ओली नेतृत्वको सरकारले देशमा क्रान्तिकारी विकास गरेको छ । विभिन्न आर्थिक सूचकांकमा नेपाल विश्वमै अग्रणी मुलुकमा पर्न थालेको छ । सामाजिक तथा मानव विकास सूचकांकका दृष्टिले विश्वमा छलांग मारिरहेको देशमा नेपाल पर्दछ । देशमा जताततै सडक बनिरहेको छ । जताततै पूल बनिरहेको छ । काठमाडौं मात्र सहर हो भनेजस्तो अवस्थाको अन्त्य भएको छ । ठूला विल्डिङ देख्न काठमाडौं आउनुपथर््यो । अहिले दूरदराजका साना बजारहरु पनि सहर बनेका छन् । समृद्धिको सपनालाई विपनामा रुपान्तरण गर्ने काम केपी ओलीबाट भइरहेको छ । त्यसैले फेरि पनि केपी ओली नै चाहिन्छ ।
फैलाइएका भ्रमहरुबाट मुक्त भएर हेरौं– नेपालको मुहार फेरिन थालेको छ । समृद्धिको आधार तयार हुन थालेको छ ।
विश्वमा नेपाल प्रतिष्ठित देश बन्न थालेको छ । नेपालको आवाज विश्वले सुन्न थालेको छ । विगतमा छरछिमेकीले समेत नेपाललाई हेप्थे । अहिले अवस्था बदलिएको छ । नेपाललाई विश्वले हेर्न थालेको छ, नेपालभित्र केही भयो भने विश्व समाचार बन्न थालेको छ । संक्षेपमा भन्नुपर्दा नेपालको प्रतिष्ठा चुलिएको छ ।
नेपाल अहिले जहाँ छ, जस्तो छ, जसरी छ, त्यसबाट छलांग मार्न केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने प्रष्ट भइसकेको छ । त्यसैले आउँदो चुनावमा पनि केपी ओली चाहिन्छ, चुनावपछि देश विकासको महाअभियानको नेतृत्व केपी ओलीले नै गर्नुपर्छ ।
रगत बगाउननेलाई बहिष्कार, मसी बगाउनेलाई पुरस्कार ! आउँदो चुनावको मुख्य एजेण्डा यही हो, बहस यसैमा केन्द्रीत हुनुपर्छ ।
