विश्वको सबैभन्दा घटिया मिडिया भारतमा छन् । त्यहाँका घटिया मिडियाले पनि घटिया भनेर खिसी गर्ने एउटा पत्रिका नेपालमा हुनु दुःखको कुरा हो ।
भारतमा जी न्यूजलाई धेरैले घटिया मिडिया भन्छन् । त्यसो भन्ने नेपालीको संख्या पनि थोरै छैन । जी न्यूजले समेत घटिया ठहर गरिदिएको नेपाली मिडिया हो– नयाँ पत्रिका । सनसनीखेज, उत्तेजक, भ्रामक समाचारका लागि नयाँ पत्रिका ख्यात छ । पुष्पकमल दाहाल प्रचण्डको नियन्त्रणमा रहेको यो पत्रिकालाई जी न्यूजले ‘मिलाएर’ घटिया देखाइदिनुको ठोस कारण छ ।
नेपाल आएर प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता लिने सुधीर चौधरीले सगरमाथाको बेसक्याम्प पुगेर बनाएको एउटा समाचार जी न्यूजमा प्रसारण भयो । सो समाचारमा सर्वाेच्च शिखर, जसलाई हामी सगरमाथा भन्छौं, त्यसलाई राधाकान्त सिक्दरको नाम दिनुपर्छ भन्ने सुधिरको समाचारमा अपिल छ । यही अपिललाई आधार बनाएर नयाँ पत्रिकाले धुँवाधार, भ्रामक र सनसनीखेज समाचार बनाएको थियो ।
सर्वाेच्च सगरमाथालाई भारतले राधाकृष्ण सिक्दर नाम दिनुपर्छ भन्ने जी न्यूजको समाचारभित्रको अर्थ, आशय र उद्देश्यलाई पूरै बंगाएर नयाँ पत्रिकाले समाचार बनायो । नेपालको राष्ट्रियता जी न्यूज र भारतले खान लाग्यो, सगरमाथा नै भारतले लैजान लाग्यो भन्ने ढंगले नयाँ पत्रिकाले समाचार लेख्यो । जी न्यूजले समाचारमा जेजे भनेको थियो त्यसलाई बंगायो । जी न्यूजले जुन उद्देश्यले समाचार ल्याएको थियो त्यो उद्देश्यलाई नै बंगायो । नयाँ पत्रिकाले सनसनी नै मच्चायो । यो पत्रिकाको अर्काे नाम नै सनसनी हो ।
कतिपय अन्य मिडियाले पनि नयाँ पत्रिकाको नियतलाई सघाउँदै प्रधानमन्त्री ओलीलाई खुइल्याउन सगरमाथा सम्बन्धमा भ्रामक समाचार प्रवाह गरे ।
कतिपय सामाजिक सांस्कृतिक पक्ष छन् सगरमाथाको नाम सम्बन्धमा । त्यस्ता तथ्यहरुप्रति पूरै आँखा चिम्लिएर सिर्फ विरोध गर्ने उद्देश्यले नयाँ पत्रिकाले समाचार बनायो । सो अखबारले भारतको विरोध गर्न समाचार बनाएको होइन । सुधिर चौधरी र जी न्यूजको विरोध गर्न पनि समाचार बनाएको होइन । प्रधानमन्त्री केपी ओलीको विरोध गर्न समाचार बनाएको हो । नयाँ पत्रिकाको समाचारबाटै यो कुरा बुझिन्छ ।
नयाँ पत्रिकाले प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्ने, ओलीलाई बदनाम बनाउने, ओलीका बारेमा अनेक भ्रम फैलाउने, विभिन्न आरोप आविष्कार गर्ने काम गर्दै आएको छ । जी न्यूजमा प्रधानमन्त्री ओलीले दिनुभएको अन्तर्वार्ताले सारा नेपालीको मन जित्यो । विश्वको ध्यान खिच्यो । यसबाट नयाँ पत्रिकाका असली सञ्चालकहरु आत्तिए । त्यसपछि जी न्यूजको समाचारलाई बंगाएर ओलीलाई खुइल्याउने प्रयत्न गरिएको हो ।
जी न्यूजको समाचार नेपालकै पक्षमा देखिन्छ । कसरी देखिन्छ भन्ने बारे केही तल लेखिनेछ । यहाँ के लेखौं भने सगरमाथाको नाम एभरेष्ट होइन । नामको अनुवाद हुँदैन । नेत्रप्रसाद नामलाई अग्रेजीमा आईप्रसाद भनिँदैन, राजकुमार नामलाई अंग्रेजीमा प्रिन्स भनिँदैन । त्यस्तै सगरमाथालाई पनि एभरेष्ट भन्न मिल्दैन । सगरमाथा भनेको सगरमाथा नै हो । सगरमाथालाई अंग्रेजीभाषीले एभरेष्ट भन्छन् । तर, सगरमाथाको अनुवाद एभरेष्ट हुँदै होइन । यो मामिलामा नेपाल चुक्दै आएको छ ।
नेपालका सरकारी दस्तावेजमा पनि अंग्रेजीमा सगरमाथालाई एभरेष्ट लेखिएको देखिन्छ । यो सरासर गलत हो । नामको पनि अनुवाद हुन्छ र ? सगरमाथालाई अंग्रेजी भाषीले एभरेष्ट भन्छन् भन्दैमा नेपालीले पनि एभरेष्ट भन्नु गलत हो ।
सगरमाथा महान हिमाल हो, विश्वको सर्वाेच्च शिखर हो । यति महान शिखरका हामी नेपाली मालिक हौं तर सगरमाथा विश्वकै सम्पत्ति हो । यति महान शिखरलाई विभिन्न देशमा मानिसले आआफ्नो नाम दिएर सम्मान गर्छन् भने नेपालीले स्वागत गर्नुपर्छ । यति महान शिखरमा कुनै देशले अपनत्व खोज्छ भने हामी खुसी हुनुपर्छ । हाम्रो सगरमाथालाई अरुले घृणा गरे, अपमान गरे भने पो दुःखी हुने हो । हाम्रो सगरमाथालाई सम्मान गर्छन्, माया गर्छन् भने खुसी हुने हो । लुम्बिनीमा हामीले विभिन्न देशलाई गुम्बा बनाउन दिएका छौं । त्यसैगरी सगरमाथालाई पनि विश्वका हरेक मुलुकले एकएकवटा नाम दिउन् ।
जी न्यूजले भारतले सगरमाथालाई राधाकान्त सिक्दरको नाम दिनुपर्छ भन्यो । यो स्वागत योग्य कुरा हो । जी न्यूजले सगरमाथा नाम हटाउनुपर्छ भनेको छैन । सगरमाथालाई चीनले चोमोलोङमा भन्छ । चोमोलोङमा नाम हटाउनुपर्छ पनि भनेको छैन । एभरेष्ट नाम हटाउनुपर्छ पनि भनेको छैन । यति भनेको छ– भारतले राधाकान्त सिक्दरको नाममा सिक्दर हिमाल भन्नुपर्छ भनेको छ ।
सगरमाथालाई माया गरेर, सम्मान गरेर आफ्नो देशको तर्फबाट एउटा नाम दिउँ कसैले भन्छ भने नेपालीले त्यसमा विरोध गर्ने हो र ? झन् समर्थन पो गर्ने हो । यही कुरालाई नयाँ पत्रिकाले बंगायो । त्यति मात्र होइन, सो भारतीय मिडियाले राधाकृष्ण सिक्दर नाम प्रस्ताव गर्नुको उद्देश्य र ऐतिहासिक तथ्यलाई बंगाएर नयाँ पत्रिकाले केपी ओली विरुद्ध भ्रम फैलाउन खोज्यो । सगरमाथा जस्तो नेपालीको महान र गौरवपूर्ण हिमाललाई कसैले गरेको माया र सम्मानलाई बंगाएर केपी ओलीलाई खुइल्याउन नयाँ पत्रिकाले प्रयास गर्यो । पत्रकारिताको निचतम् उदाहरण प्रस्तुत गर्यो ।
राधाकृष्ण सिक्दर ती व्यक्ति हुनुहुन्थ्यो जसले सबैभन्दा पहिले विश्वको सर्वाेच्च शिखरको पहिचान गर्नुभयो । उहाँ भारतको सर्वे विभागमा काम गर्नुहुन्थ्यो । हाम्रो हिमाललाई विश्वमा चिनाइदिने सिक्दरलाई नेपालले पनि सम्मान गर्नुपर्छ । आरोही जुनसुकै देशको होस्, सगरमाथा आरोहण गर्ने हरेकलाई नेपालले सम्मानित गर्ने गरेको छ । झन् हाम्रो हिमालको पहिचान गरेर विश्वमा चिनाइदिनेलाई सम्मान नदिने कुरै भएन । यस अर्थमा राधाकृष्ण सिक्दर नेपालका लागि पनि सम्मानित नाम हो । पहिलो पटक सगरमाथा आरोहण गर्ने तेन्जिङ शेर्पा र एडमण्ड हिलारी हुनुहुन्थ्यो । हिलारी न्यूजिल्याण्डका नागरिक हो । हिलारीको नाम हामी सम्मानसाथ लिन्छौं, किनभने उहाँले हाम्रो सगरमाथालाई माया गर्नुभयो, पहिलो लटमा आरोहण गर्नुभयो । त्यसैगरी राधाकृष्ण पनि हाम्रा लागि सम्मानित नाम हुनुपर्छ । नयाँ पत्रिकाको भुलभुलैयामा पर्न हुँदैन ।
नयाँ पत्रिकाले प्रधानमन्त्री ओलीलाई खुइल्याउँदै गर्दा राधाकृष्ण सिक्दरलाई अपमान गरेको छ ।
नेपाली समाजलाई नै मार्ने गरी, नेपाली संस्कारकै हत्या गर्ने गरी निकृष्ट भारतीय मिडियाका नेपाली अवतारहरुले काम गरिरहेका छन् । निकृष्ट भारतीय मिडियाका नेपाली अवतारका रुपमा रहेका मिडिया कुनकुन हुन् भनेर पाठकले चिन्न थालिसकेका छन् । यस्ताले फैलाउने उत्तेजना र भ्रमको सिकार कोही पनि बन्न हुँदैन ।
