मिना श्रेष्ठ-
प्रचण्डपथको गर्भबाट रामकुमारी पथको जन्म भएको छ । प्रचण्ड प्रवृत्तिभित्र रामकुमारी पथ उदाएको छ । रामकुमारी झाँक्री व्यक्ति हो । उहाँबारे म कुनै टिप्पणी गर्दिन तर उहाँबाट केही समय यता जेजस्तो अमर्यादित, अनैतिक, अशोभनीय तथा सभ्य समाजले सुन्नै नसक्ने टिप्पणी निस्कन थालेका छन्, त्यसलाई रामकुमारी प्रवृत्ति भन्न वाध्य भइएको छ ।
गाउँघरमा झैझडामा कसैले दुर्वाच्य बोल्दा ‘रामकुमारी वाक्य नबोल’ भन्ने चलन सुरु भइसकेको छ । कसैले गतिछाडा कुरा बोल्योभ भने ‘कस्तो रामकुमारी जस्तो’ भन्ने चलन सुरु भइसकेको छ । त्यसैले रामकुमारी शैलीका अभिव्यक्तिलाई प्रवृत्ति र प्रचण्डपथ पछिको दोस्रो पथ मान्नैपर्ने भएको छ ।
कलियुगकी रामकुमारीको मुखबाट मर्यादाका सबै हद नाघेर अभिव्यक्ति निस्कँदैछ, त्यसैले रामकुमारी प्रवृत्तिले समाजमा आतंक मच्चाउँदै छ ।
कालो जिब्रोले र सेतो सारीको पवित्रामा हमला गर्याे । रामकुमारी झाँक्रीले जस्ता अभिव्यक्तिसाथ हमला गर्नुभएको छ त्यसलाई विद्यादेवी भण्डारीमाथिको मात्र हमला मान्न सकिन्न । रामकुमारीले गर्नुभएको हमला समग्र नारीमाथिको प्रहार हो । राजनीतिक दुराग्रह र स्वार्थमा रामकुमारी कति डुब्नुभएको रहेछ भन्ने देखियो । हृदयमा राजनीतिक लाभका निम्ति मानिसको भावनामाथि चोट दिने कुविचारको थुप्रो रहेछ, पत्तो लाग्यो ।
हुन त रगतको खोलमाथि उभिएर सत्ताको भर्याङ नपाउँदा छटपटिएका खलनायकहरुको हूलमा मिसिएपछि विवेक गुम्छ, नैतिकता र मर्यादाको वास्ता हुँदैन । मानवतालाई मार्न किञ्चित पनि संकोच नमान्ने जमातमा मिसिएका पात्रहरुबाट यस्तै अमानवीय अभिव्यक्ति आउने नै भयो ।
राष्ट्रिय राजनीतिमा विभिन्न उतार चढाव फेरबदल भैरहन्छ, एक पार्टीले अर्को पार्टीलाई आलोचना गर्ने चलन देखिन्छ । हिजोआज आफ्नै पार्टीले आफ्नालाई छिमेकी छिमेकी झगडा गरे भन्दा तल्लो स्तरमा झरेर बाझाबाझ गरेको स्थिति छ ।
यति भैरहँदा एउटा सम्मानित संस्था राष्ट्रपतिमाथि विभिन्न लाञ्छना र गालीसहितको नारा लगाउन थालिएको छ । नारा त लगाए लगाए, भाषणमा समेत ‘सेतो सारीमाथि’को कुविचार र चारित्रिक आरोप लगाउँदै ठूलो आवाज गर्न थालिएको छ । आफ्नी आमा, फुपू, काकी उमेरकी राष्ट्रपतिलाई चारित्रिक लाञ्छना लगाउँदै ‘फलानो ठाउँमा जाऊँ’ भन्ने जस्ता अभिव्यक्ति दिने मात्र जति अमानवीय हुन्, त्यस्तो अभिव्यक्तिमा ताली पिट्नेहरु पनि त्यति नै अमानवीय हुन् । यस्ता मानवता र समाज विरोधीलाई राष्ट्रपति कार्यालयले मानहानीको मुद्दा किन दायर गर्दैन ? असामाजिक अमानवीय अपाराध गरेकोमा मुद्दा किन लगाउँदैन ?
राजनीतिक, सामाजिक तथा सार्वजनिक जीवनका विभिन्न फाँटमा क्रियाशील महिलालाई रामकुमारी संलग्न जत्थाले कतिबेला कहाँ र कसरी आरोप लगाउँछ भन्ने ठेगान भएन । रामकुमारीहरुको जत्थाले चरित्र हत्या गरिदिने डरले त्राहिमाम भएर महिलाहरुले बस्नुपर्ने अवस्था भयो । आज रामकुमारीहरुले एकल महिलामाथि हमला गरेका छन्, भोलि विवाहित महिलामाथि पनि यस्तै हमला गरेर ‘घर बिगार्ने’ अभियान चलाउन सक्छन् । विद्या भण्डारीहरु माथि हमला गरेर रामकुमारीहरुको जत्थाले एकल महिलालाई घरभित्रै सीमित बस भनेको हो । एकल महिलाहरुलाई राजनीतिक सामाजिक कार्यमा नलाग भनेको हो । राजनीतिलाई पुरुषको जिम्मा देउ भनेको हो ।
व्यक्ति रामकुमारी झाँक्रीबारे मेरो कुनै टिप्पणी छैन । ‘रामकुमारी’का मुखबाट जेजस्ता अभिव्यक्ति आउने गरेको छ त्यसलाई म ‘रामकुमारी प्रवृत्ति’ भन्छु । ‘रामकुमारी पथ’ भन्छु । हजारौंलाई मार्ने प्रचण्ड प्रवृत्तिभित्र रामकुमारी प्रवृत्ति उदाएको छ । प्रचण्डपथले रामकुमारी पथ समातेको छ ।
पदमाथिको गिद्दे नजर र लालचले मानिसलाई कतिसम्म बौलाहा बनाउँदो रहेछ भन्ने उदाहरण भएको छ रामकुमारी प्रवृत्ति । जुन पद नपाएको पीडामा छटपटिएर निच अभिव्यक्ति दिएर हिँडिरहेकाहरूले त्यो पद पाउने हैसियत निर्माणको एउटा सशक्त निर्माणकर्ता हो राष्ट्रपति । महिलामुक्ती आन्दोलनको अभिभावक, सारा नेपाली महिलाहरूको पहिचानको पृष्ठभूमिबाट उदाएको राजनीतिक व्यक्तित्व हो । आज तिम्रो निच हर्कतले नेपाली महिलाको मात्र होइन सारा विश्वभरीको महिलाको शिर झुकेको छ ।
यस्तो गतिछाडा राजनीति गर्ने हाम्रो संस्कार होइन । भुइँमा पछारिएको बखत तिम्रो रातो सारीमा लागेको दाग मेटाउन आफ्नै मान्छे साथमा नहुँदाको क्षण सम्झ एकपटक, एकल हुनु सेतो सारी लगाउनु कुनै पनि महिलाको रहर हुँदैन, महिलाको बाध्यतालाई छाडा शैलीमा गाली गलौजमा उत्रनु राजनीति भित्र हुने गरेको महिला माथिको हिंसा हो, यसलाई तत्काल रोक्नुपर्छ ।
राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि लिङ्गलाई आधार बनाएर बोलिएका वा लेखिएका सबै गलत कुराहरू जोसुकैबाट किन नहुन् निन्दनीय छन्, तुरुन्त रोकिनुपर्छ, उहाँमाथि पोखिएको आक्रोश उहाँ महिलामाथि बढाईचढाई गरी कोकोहोलो गर्नु राम्रो हुँदैन ।
राष्ट्र प्रमुखको हैसियत र सम्मानमा राष्ट्रपति रहन्छ । राष्ट्रपति आफैं बोल्दैन, राष्ट्रपतिले आफंै केही गर्दैन । यो हाम्रो संवैधानिक व्यवस्था हो । सरकारको निर्णयको पालना नै राष्ट्रपतिको कर्तव्य मानिन्छ । सानातिना कुरामा राष्ट्रपतिलाई विवादमा पार्दा राष्ट्र नै कमजोर हुन्छ । नेपाली राष्ट्रियताको छातीमा छुरा प्रहार भएको बेला राष्ट्रपतिमाथि यस्ता नियोजित आलोचना गर्नेको विवेकको तह राजनीति गर्ने नै हुन्छ ?
राष्ट्रपति विरुद्ध कुप्रचार गरेर आम जनताबीचमा भ्रम पैदा गरेर राष्ट्रपतिमाथि शाब्दिक प्रहार गाली गलौज गर्नेहरूले कोबाट यस्तो गलत प्रचार र भ्रम सिर्जना गराइँदैछ भन्ने कुरा आम जनताले जानकारी प्राप्त गरेको समय तिनलाई पुनः जनताको बीचमा जान कति लाजमर्दो हुने हो ?
यो हामी महिलाको मात्र एजेण्डा होइन यो मुलुकै एजेण्डा हुनुपर्छ अनि मात्र यस्ता समस्या हट्छन् ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भईसकेको अवस्थामा पनि हामीसँग पुरातन चिन्तनहरू सुधारिन बाँकी नै छ, आफूभित्र भएका पुरातन चिन्तनहरू छन् । अझ सामन्ती पितृ सत्तात्मक चिन्तन उखेलिन बाँकि नै छन् ।
हाम्रो मुलुकमा आलंकारिक राष्ट्रपतिको कानुनप्रद भूमिकालाई नस्वीकार्दै विभिन्न आलोचना गर्नु लोकतन्त्र र संस्थागत हुँदै गरेको अवस्थामा महिलाको अस्तित्वलाई स्वीकार्न नसक्ने हाम्रा पुरुष चिन्तन पनि मुख्य जड हो । यहि स्थानमा पुरुष राष्ट्रपति भई दिएको भए यति धेरै नाना भाँतीको आलोचना नहुन सक्थ्यो ?
हामीकहाँ हरेक क्षेत्रमा जकडियर रहेको पुरुष चिन्तन ज्यूँका त्यूँ देखिन्छ । घरका भित्तादेखि राजनीति दायरासम्म, गर्भदेखि चिहानसम्म छोडेको छैन पितृसत्तात्मक चिन्तनले । यो चिन्तनबाट मुक्त भएपछी मात्र एक सामान्य महिलादेखि मुलुकको सम्मानित संस्था राष्ट्रपतिसम्मको अस्तित्वलाई स्वीकार्न सक्नेछौं । यसर्थ हाम्रा हेराइहरू बदलौं, कुहिएको पितृ सत्तात्मक चिन्तन बदलौं ।
रामकुमारी पथ र प्रवृत्तिलाई निमिट्यान्न पार्नु अाज सबैकाे कर्तब्य हुन अाएकाे छ ।
