मदन कुमार अधिकारी-
गत पुष ५ गते पहिलो प्रतिनिधि सभा निर्धारित आयुभन्दा लगभग दुई बर्ष पहिले नै विघटन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा वा रहरमा यस्तो कठोर र अप्रिय निर्णय लिनुभएको अवश्य होइन ।
कुनै पनि घटना अकारण हुँदैन । सुषुप्त अवस्थामा रहेका कारणहरू संगठित तथा एकीकृत हुँदै जाँदा कुनै एउटा विन्दुमा पुगेर घटना घटित हुन जान्छ । यसर्थ घटना भनेको कारणहरूको समवेत परिणाम हो र एउटा परिणामले अर्को परिणाम जन्माउँछ, फेरि त्यो परिणामले फेरि अर्को परिणाम जन्माउछ । परिणामहरू सुखद नै हुन्छन् भन्ने पनि छैन र दुखद नै हुन्छन् भन्ने पनि छैन । मानव जीवन र प्रकृतिमा कारण र परिणामको अविश्रान्त प्रकृया निरन्तर चलिआएको छ र सदैव चलिरहने छ । अहिलेको प्रतिनिधि सभा विघटनको घटनालाई पनि यहि प्रकृयाको सापेक्षतामा हेरिनु उचित हुन्छ ।
केपी शर्मा ओलीको मिलिजुली सरकारको पहिलो प्रधानमन्त्रीत्वकाल नौ महिनाको रह्यो । आमुल परिवर्तनका लागि यो अत्यन्त छोटो समय हो तथापि उहाँको यो कार्यकाल घोर निराशामा बाचिरहेका नेपाली जनतामा उज्यालो भविष्यको आशा जागृत गर्न सफल रह्यो । साथै कुशल नेतृत्व भयो भने ठूला र शक्तिशाली राष्ट्रहरूका बीच सानो राष्ट्रले पनि आफ्नो स्वाभिमानलाई समान हैसियतमा उभ्याउन सक्छ भन्ने विश्वास र आत्म गौरव अनुभूत गरायो ।
उसो त केपी ओलीमा नेपाली जनताको जीवन सुखमय बनाउने र राष्ट्रिय गौरवलाई उच्च तुल्याउने चाहना र अठोट उहिले देखि नै थियो । २०५१ सालको मध्यावधी निर्वाचनताका मैले उहाँसँग बहुदल आएपछि पनि मुलुकले अग्रगति लिन नसकेको, सरकार भ्रष्टाचारमा लिप्त रहेको, नातावाद कृपावाद हावी रहेको भनेर आफ्नो निराशा प्रकट गरेको थिएँ । त्यस बेला उहाँले संक्षेपमा भन्नु भएको थियो– ‘एक पटक म देशको प्रधानमन्त्री भए भने यो मुलुकलाई संमृद्ध बनाउँछु ।’ नभन्दै उहाँको त्यो चाहना र अठोटले पहिलो पटक प्रधानमन्त्री हुनासाथ मूर्तरूप लिन थाल्यो । स्पष्ट बहुमतको सरकार बिना मुलुकलाई अग्रगति दिन सकिदैन भन्ने कुरा आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा उहाँले प्राप्त गरेको अनुभव थियो ।
बहुमत प्राप्त सरकार निर्माणका लागि केपी ओलीले तत्कालिन माओवादी पार्टीसँग चुनावी तालमेल गर्नुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षणिक लाभका लागि जुनसुकै बेला जे पनि गर्न तयार हुने स्वभावका कारण चुनावी तालमेल र त्यस पछि गरिएको पार्टी एकिकरण भरपर्दो र टिकाऊ हुनेछ भन्ने कुरामा केपी ओली ढुक्क हुनुहुन्थ्यो भनेर सोच्नु गÞलत हुनेछ । बरू एकीकरण उहाँको बाध्यता थियो । साथै सावधानीपूर्वक अगाडि बढ्दा यो एकतालाई जोगाउन सकिन्छ र स्थायित्व दिन सकिन्छ भन्ने विश्वास उहाँमा थियो भन्न सकिन्छ ।
चुनावी तालमेल र पार्टी एकिकरण गर्दा देखि नै माओवादी पार्टी र प्रचण्डलाई उहाँले जुन महत्व दिनु भो यो त्यसै उद्देश्यका लागि थियो । तर, घटनाहरूले पुष्टि गरेका छन कि नेपाली जनताको सुख संमृद्धि कमरेड प्रचण्डको पहिलो प्राथमिकता होइन र उहाँसँग त्यस प्रकारको कुनै भिजन पनि छैन । उहाँमा शिलअश्लिल जुनसुकै प्रकारले शक्ति आर्जन गर्ने र सदैव आफू शक्तिमा टिकिरहने तानाशाही चिन्तन हावी छ । परिवार मोह उहाँको अर्को कमजोरी हो । छिनछिनमा बोलि फेर्ने, आत्मविश्वास नभएको र अस्थिर चरित्रको हुनुहुन्छ प्रचण्ड । जब कि यसको ठिक विपरित केपी ओली स्पष्ट भिजन र दृढ ईच्छा शक्ति भएको, आत्मविश्वासले भरिपूर्ण, राष्ट्र निर्माणको एकमात्र चाहना बोकेको दूरदृष्ट्रियुक्त नेता हुनुहुन्छ । यिनै दुई विपरित चिन्तनको टकराहट नै मूल कारण हो जसले केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गर्न बाध्य तुल्यायो ।
माधव नेपाल र झलनाथ खनालको लघुताभाष र सामन्ती सोच, वामदेव गौतमको निजी स्वार्थ केन्द्रित ढुलमुलेपन र नारायण काजीको शकुनी चरित्र दोश्रो कारण हो जसले प्रचण्डको अभिष्टलाई सार्थकता दिन हौसला प्रदान गर्यो । मुख्य यिनै आन्तरिक कारणहरूले केपी ओलीको राष्ट्रवादी चरित्र र अडानबाट असन्तुष्ट बनेको बाह्य शक्ति केन्द्रहरुलाई मुलुकको आन्तरिक मामिलामा प्रवेश गर्ने ढोका खोलिदियो । भित्रभित्रै गतिशील रहेको षडयन्त्रको यो विषकुण्ड बर्षौदेखि भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सरकारले प्रकाशित गरेपछि र केपी ओलीको मृगौलाको दोश्रो पटकको शल्यकृया सफल भएपछि छताछुल्ल भयो । यस अधि विधि र पद्धतिको आवरणमा सरकारका झिना मसिना कमजोरीलाई मुद्दा बनाएर सरकारको असफलतालाई आम जनमानसमा सम्प्रेषण गर्ने र सरकारका प्रत्येक कदममा ब्यवधान खडा गर्ने काम गरिरहेको यो गिरोहले अब भने प्रकट रूपमा केपी ओली माथि हर प्रकारका अश्त्रहरू प्रयोग गर्दै चारैतिरबाट आक्रमण शुरू गर्यो ।
नेपालको नयाँ नक्सा प्रकाशित गरेपछि कांग्रेस नेता चन्द्र भण्डारी र एनपी सावदले केपी ओलीसँग गरेको संवाद निकै गम्भीर र चिन्ताजनक छ । एउटा टेलिभिजÞन अन्तर्वार्तामा नेता चन्द्र भण्डारीले सरकारले जारी गरेको नेपालको नयाँ नक्सा सदनबाट अनुमोदन गर्न प्रधानमन्त्रीले गर्नुपर्ने पूर्व तयारीको विषयमा सल्लाह दिदै ‘अब तपाईंलाई प्रधानमन्त्रीबाट हटाउने प्रयत्न हुनेछ’ भन्दै सचेत गराउनु भएको र जवाफमा प्रधानमन्त्री ओलीले ‘मलाई सरकारबाट हटाउन सक्दैनन् बरू बीरेन्द्रको जस्तै वंशनाश गर्न सक्छन’ भन्नु भएको कुराको गाम्र्यिता चानचुने छैन ।
नेता चन्द्र भण्डारीको आशंकाले मूर्तरूप लिइसकेको छ र केपी ओलीले भन्नु भएको सरकारबाट बेदखÞल गर्न नसक्ने कुरा पनि सत्य सावित भैसकेको छ । अब शिखण्डिहरू प्रधानमन्त्री ओलीले गर्नुभएको आशंका (राजा बिरेन्द्रको जस्तै वंशनाश) मा केन्द्रीत भएका छन् । त्यसै योजना अनुरूप अहिले शिखण्डिहरूले आफ्ना सबै निशाना प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी माथि केन्द्रित गरेका छन् । उनीहरूको पकडका सबै संचार माध्यमहरू प्रधानमन्त्री र राष्ट्रपति बिरूद्ध अनर्गल प्रचार गर्न र मिथ्या आरोप लागाउँदै प्रधानमन्त्रीलाई प्रतिरक्षात्मक अवस्थामा पुर्याउन परिचालित छन् ।
केहि समय अगाडि काठमाण्डौमा भएको आफ्नो पक्षका विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले गरेको मांसाहारी आन्दोलनको चर्चा हठात् ब्यक्त भएको भनेर वेवास्ता गर्नु ठूलो भुल हुनेछ । रामकुमारी झाँक्री, बर्षमान पुन, योगेश भट्टराई, रघुजी पन्त, घनश्याम भुषालहरूले राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त जस्ता सम्मानित व्यक्तित्वहरूलाई घिसारेर सडकमा ल्याइने खुलेआम चुनौती सार्वजनिक मञ्चहरूबाट दिनु चानचुने कुरा अवश्य होइन । यस्ता धम्कीलाई हलुका रूपमा लिन कदापि सकिँदैन । उनीहरूको यो बोलि आफ्नो हुँदै होइन र यसका पछडि निकै बलियो देशीबिदेशी शक्तिको गठजोड़ छ भन्ने कुरा बुझ्न जरूरी छ ।
अहिले यी सारा आक्रमणको सामना केपी ओली र उहाँको सहयोगी टिमले गरिरहेको छ । केपी ओलीको सहयोगी टिम निःसन्देह इमान्दार र निष्ठावान छ तर शिखण्डिहरूको जालझेललाई तुरून्त बुझ्न र त्यसका बिरूद्ध रणनीति बनाउन यो टिम उति सक्षम देखिएको छैन । यसर्थ केपी ओली एक्लै शिखण्डिहरूको आक्रमणको सामना गरिरहनुभएको छ भन्दा अत्युक्ति हुने छैन । आधारभूत वर्गको ठूलो हिस्सा प्रधानमन्त्री ओलीको पक्षमा छ तर यो वर्ग शिखण्डिहरू जस्तो जालझेल गर्न जान्दैन । शिखण्डिहरू जस्तो सुकिलो मुकिलो पनि छैन । शिखण्डिहरू जस्तो शब्दजाल बुनेर भ्रम सिर्जना गर्न सक्दैन । अर्थात् यो वर्ग आफ्ना आवाजलाई उचित समयमा उचित तरिकाले मुखरित गर्न सक्दैन । मात्र त्यो वर्ग केपी ओलीलाई आफ्नो मन भित्र सम्मानित स्थान दिन सक्छ र उसले गरिरहेको पनि त्यहि हो ।
यसर्थ यस संवेदनशील घडीमा देशलाई माया गर्ने सबै राष्ट्रवादी शक्तिहरू, व्यक्ति तथा संस्थाहरू जो शिखण्डिहरूका कुटिल षडयन्त्रहरूलाई बुझ्ने सामथर््य राख्छन्, केपी ओलीको वरिपरी यसरी गोलबन्द हुन जरूरी छ कि जसरी रानोको वरिपरी मौरी गोलबन्द हुन्छन् र रानोको सुरक्षा गर्छन् । वर्तमान परिस्थितिले माग गरेको हाम्रो यो कर्तव्यलाई बेवास्ता गरियो भने देशले गुमाउने सबथोक हुनेछ तर प्राप्त चाहिँ केही गर्ने छैन । यसर्थ अहिले सारा नेपालीको कर्तब्य हो ‘रानोको रक्षा गरौं’ ।
