–दयालबहादुर शाही
तीन दशकअघि २०४७ सालमा सन्त नेता कृष्णप्रसाद भट्टराईले आफ्नो सरकारमा रहेका वामपन्थीहरुको तेजोवध गर्दै भनेको कथन यस्तो थियो– ‘यो त भगवानको कृपा हो कि वामपन्थीहरु पनि सरकारमा पुगे ।’
ईख भएका राजनेता मदन भण्डारीको उत्तर थियो– ‘जरुर भट्टराईजी, यो भगवानकै कृपा हो कि हामीहरु पनि मन्त्रीमण्डलमा छौं । तर कुनचाहिँ भगवानको कृपा हो ? तपाईँका भगवानको कृपा हो कि हाम्रा भगवानको कृपा हो ? यो हाम्रा भगवानको कृपा हो । हाम्रा भगवान भनेका नबोल्ने पशुपतिनाथ होइनन्, हाम्रा भगवान भनेका कुनै नबोल्ने ढुंगाका देउताहरु होइनन् । हाम्रा भगवान भनेका त जिवित जनता हुन् । त्यसो हुँदा जनताको अनुकम्पा हो, जनताको कृपा हो कि हामी पनि सरकारमा छौं । बेला त्यस्तो आउने छ, तपाईँ हामी मात्रै होइन, तपाईँका भगवान र हाम्रा भगवानको पनि प्रतिद्वन्द्विता हुनेछ ।’
तीन दशकपछि आज कांग्रेसका भगवान होइन वामपन्थीहरुका भगवान जनता जनाद्र्धनको जित भएको छ । अहिले कांग्रेसको भन्दा वामपन्थीसँग विचार, जनाधार, जनमत, जनादेश, संगठन, योजना, सपना सबथोक बढी छ । कमी छ त केबल ईखको । उहिले २०१७ सालमा कांग्रेसबाट दुईतिहाई बहुमतको सरकार राजा महेन्द्रले छिनेका थिए । आज वामपन्थीहरु नै केपी ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकार छिनेर किस्तीमा राखेर कांग्रेसलाई सुम्पिन आतुर दन्छन । वामपन्थीको आवरणमा ओली बोक्न छोडेर पूँजीवादी शक्तिसामु झोली बोक्ने यो झेल ईखको अभाव, बैचारिक टाट पल्टाइँ र नैतिकताको निर्वस्त्रीकरणको त्रिवेणी हो ।
ओलीको चमत्कार
विचारको राजनीति, लोकतन्त्रप्रतिको अटल निष्ठा, राष्ट्रियताको जगेर्ना, देशभक्ति, अधिनायकवादको अस्वीकार्यता, जातीय र क्षेत्रिय अतिवाद बिरुद्धको संघर्ष, फटवाद र जालझेलको राजनीतिको प्रतिरोधको अर्काे नाम नै केपी ओली हो । लोकतन्त्र, समाजवाद एबं सामाजिक न्याय, देशभक्ति एबं राष्ट्रियता, शान्ति र समृद्धिको फहराएको झण्डा हो जनताको बहुदलीय जनवाद ।
शक्ति पृथकीकरण र आवधिक निर्वाचनप्रतिको प्रतिवद्धता, अधिनायकवाद प्रतिको मोहभंग, राष्ट्रिय स्वाभिमान, विकास तथा समृद्धिको सपना र योजनाको अर्को नाम जबज हो । ओढारका हकदार कम्युनिष्टहरुलाई राजकीय भण्डारका हकदार बनाउने सिद्धान्त जबजलाई नेपाली राजनीतिको मियो बनाउन अटल रहनु ओलीले दिएको महत्वपूर्ण देन हो । जबजका मौसमी समर्थक, ओठेभक्त, विरोधीसँगको प्रतिष्पर्धाको दौरानमा तत्कालिन एमालेमा सानाठूला उतारचढाबहरु आइरहे ।
कांग्रेस र माओवादीको तानातान परेर एमालेको लोकतन्त्रप्रतिको निष्ठाको खुबै परीक्षा भयो । कांग्रेसको रखैल हुन्छ कि माओवादीको चखैल हुन्छ भन्ने सन्देहको बाक्लै घेरामा रहेको एमालेलाई स्वाभिमानको मेरुदण्ड मिल्नुको एक्लौटी श्रेय ओलीकै पोल्टामा जान्छ । पश्चिम बंगालमा भाकपा(माक्र्सवादी) जस्तै माधव नेपालको पालामा एमाले पतनका डिलमा पुगिसकेको थियो । निरास हतास भैसकेको एमालेलाई पुनर्जीवन दिन उत्कर्षकालीन माओवादीसँग पञ्जा लडाउने हिम्मत यदि ओलीमा नहुँदो हो त एमालेको अस्तित्व र जबजको सार्थकता एका देशको कथा भैसक्ने थिए ।
माधव र झलनाथको पालामा एमालेको भान्सा पाक्ने तरकारीमा नून खुर्सानीको मात्रा तोक्न गिरिजाप्रसाद कोइराला वा प्रचण्डको मुख ताक्नुपर्ने अवस्था थियो । ओली लहरले तिनै कांग्रेस र माओवादीको ओठतालु सुकाइदियो । विश्वका अन्य वामपन्थी दल चुनावी प्रतिष्पर्धामा पूँजीवादी लोकतन्त्रवादी पार्टीबाट पराजीत हुने गर्छन् । संसदीय लोकतन्त्र भएका मुलुकहरु मध्येमा नेकपालाई विश्वको एकमात्र विजेता कम्युनिष्ट पार्टी बनाउन सक्नु ओलीको चमत्कार हो ।
देश र जनताप्रति समर्पित एउटा मानिसले मार, मुक्का र गोताहरुको सामना गर्दै कतिसम्म काम गर्न सक्छ भन्ने सत्यको दृष्टान्त २०६६ सालको सेनापति काण्ड यता ओलीले देखाएको चमत्कार सिलसिला हो । राजा, कांग्रेस र एमाले सुताइसकेपछि कुलबहादुर खड्कालाई विभीषण बनाएर सेना कब्जा गर्ने र सेनाको आडमा अधिनायकवादको सपना पूरा गर्न थालेका प्रचण्डलाई चखाएको सत्ताच्युतीको नमिठो स्वादबाट ओली उदयको असल सुरुवात भएको थियो ।
माओवादीको छद्म युद्ध र अधिनायकवादी सपनाको वैचारिक प्रतिरोध, भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माण अभियानको नेतृत्व, दुई–दुई वटा संविधानसभा असफल पारेर नेपाललाई संविधान बनाउन नसक्ने असफल राष्ट्र करार गर्ने भारतीय चलखेललाई दिएको टक्कर, नाकाबन्दीको दृढतापूर्वक सामना, चीनसँगको ऐतिहासिक पारवहन सन्धीमार्फत् भारतले प्रयोग गर्ने नाकाबन्दी कार्डको खारेजी र भविष्यमा नाकाबन्दी नहुने आधारको सृजना, अतिव्रmमित भूमि लिम्पियाधुरा माथिको न्यायोचित र तर्कपूर्ण हकदाबी, जातीय र क्षेत्रिय अतिवाद विरुद्धको चट्टानी अडान र वैचारिक संघर्ष, पाइपलान, सुरुङ युग, मेलम्चीको काठमाण्डौंमा अपतरण, खानी अन्वेषण, पूर्वाधार निर्माण, अल्पविकसित देशबाट विकासशील देशका रुपमा मातृभूमिको शिरमा पहिरिएको ताज ओली राज र ओली युगका मेट्नै नसकिने निशानीहरु हुन् ।
अरुले बनाएको बाटोमा हिड्ने पथिक मात्र हुन् तर नदी, बाढी, डोजर र जनताको विश्वास, आशिर्वाद र आशा प्राप्त गरेको राजनेता बाटोका निर्माताहरु हुन् । यिनीहरु जहाँ जान्छन् त्यहीँ जान्छ बाटो, त्यही हो बाटो । आफुसँगै देश हिडाउने सक्ने ओली चमत्कारको जरो सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने संकल्प र सिंगो जीवनमा रोपिएको छ ।
प्रचण्डको ललकार
रामायण, महाभारत, वाइवल, कुरानदेखि पुराणसम्मले देखाएका छन् कि समय र मानिस यति ज्याद्रा कुरा हुन् कि यिनका अगाडि भगवान नै पनि रक्षात्मक बनेका छन् । रावणको व्यवस्थापन नगर्दासम्म राम जतिको नालायक र नाजुक सायद कसैलाई मानिदैन हो । पिताजीले ठेलेकै छ, सौतेनी आमा र भाइले पेलेकै छ, न राज्य छ, न राजाको भूमिका छ, न युवराजको पदवी बचेको छ, न घरबार छ, भएकी एक श्रीमती शत्रुको कब्जामा छ ।
प्रचण्डको सुकेको पार्टी र माधव नेपालको सुकेको गुटको जालझेलमा पारेर ओलीलाई गर्ने गरिएको प्रचण्ड ललकार पनि रामको दुःखमा दिनदशा थप्ने रावणको जस्तै विनाशकाले विपरीत बुद्धिको निरन्तरता हो ।
सानो पार्टीको मर्म हेरेर दुई अध्यक्षलाई दिइएको भिटो अधिकारलाई जाली तमसुक शैलीमा तोडमरोड पारेर हिजो गाउँको ठूलो घर हान्ने शैलीलाई आज ठूलो पार्टी हान्नमा प्रयोग गरिदैछ । बहुमत एमालेले जबज मान्न नपाइने, बहुमत एमालेले प्रचण्ड हटाउन नपाइने, तर बहुमतले ओली हटाउन पाइने, एमालेको चल अचल सम्पत्ती लुट्न पाइने र सूर्य चिन्ह हडप्ने जस्ता दोहोरो न्याय लादिदै छ । हिजो घर हनाइ पाउनेले त राज्यबाट क्षतिपूर्ति पाए । प्रचण्ड माधव खेमालाई थाह छैन कि जनताको मनोदशा ग्रहदशाभन्दा निर्मम बन्न सक्छ ।
शकुनी कारखाना
संस्कार, विचार, सदाचार, शक्ति र ऐश्वर्यले भरिपूर्ण देशहरु हस्तिनापुर, पान्चाल, मगधमा नभई शकुनीको जन्म कमजोर देश गान्धारमा भएको थियो । भनिन्छ भीष्मले बाहुबल र प्रभावको आड्मा नेत्रहीन नाति धृतराष्ट्रको बिबाह आफ्नी सुसंस्कृत र रुपसुन्दरी बहिनी गान्धारीसँग गरिदिएपछि शकुनीले हस्तिनापुरको सर्वनाश गरिछाड्ने संकल्प गरेका थिए ।
वामदेव गौतम ल्याएर चोरलाई चौतारो साधुलाई सुली गरेर माधव नेपालले घनश्याम्, योगेश प्रवृत्तिलाई पोसेको ओलीले सहन गरेको सत्यको साक्षी इतिहास छ । माओवादीसँगको चुनावी गठबन्धनको बेला माधव धारको भागका केही सिट माओवादीको भागमा परेको प्रतिशोधमा माधव नेपाल शकुनी बनेकाले नै र नेपाल धार शकुनी उत्पादन गर्ने कारखाना भएकाले नै नेकपा भित्र महाभारत चलेको हो । चौध–चौध वर्षसम्म माधवधारबाट अनाचार खपेर बहुदलीय जनवादीहरुले त्याग गरे ।
ओलीको रिसले प्रचण्ड हुँदै कांग्रेस र मोदीको चरण चुम्बन शकुनी कारखानाले अाँफैलाई खनेको खाडल हो । ओली बोक्न छोडेर भारतको अगाडि झोली बोक्ने विषयान्तर कला मातृभूमि माथिको गद्दारी हो र लिम्पियाधुरा सदाका लागि भारतलाई सुम्पिने तयारी हो ।
