गाेविन्द थापा-
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छाती चौडा बनाउनुपर्ने नयाँ राजनीतिक युगमा मुलुक प्रवेश गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापना भएसँगै राजनीतिमा नयाँ अवस्था आएको छ । सर्वाेच्च अदालतको फैसलाबाट एमाले मात्र पुर्नस्थापित भएको छैन, सूर्य चिन्ह पनि केपी शर्मा ओलीको पक्षले पाएको छ ।
सर्वाेच्च अदालतको फैसलाले कतिपय सांसद्हरु ठूलो समस्यामा परेका छन् । खासगरी माधवकुमार नेपाल, झलनाथ खनाल तथा उहाँहरुको साथमा रहनुभएका केही सांसद्हरुको राजनीतिक जीवन नै संकटमा परेको देखिन्छ । राजनीति भनेको अरुलाई सिध्याउने खेल हो, राजनीति भनेको अरुलाई फसाउने बिगार्ने खेल हो भन्ने ढंगले उहाँहरुले केही महिना यता व्यवहार गरिरहनुभएको थियो । केपी ओलीलाई ताछ्ने, खुइल्याउने, बदनाम बनाउने, छिर्के लगाउने काममा उहाँहरु लाग्दै आउनुभएको थियो । केपी ओली पछारिनु भएन, बरु, माधव–झलनाथहरु नै पछारिनु भएको छ ।
माधव–झलनाथहरुको अभीष्ट पूरा हुन सकेन । उहाँहरु नेकपा एमालेको अतित समेत मेट्न उद्यत हुनुहुन्थ्यो । एकीकरणपछि नेकपा बन्नुको अर्थ एमालेको इतिहास मेटिनु थिएन । एमालेको गौरवमय अतित देशकै सम्पत्ति थियो । माधव–झलनाथहरुले नेकपा बनेपछि त्यो सम्पत्ति समाल्न चाहनुभएन । जनयुद्धको गौरवगाथा प्रचण्डले गाउनुहुँदा एमालेको गौरवमय अतित माधव–झलनाथहरुले उच्चारण समेत गर्नुहुन्नथ्यो । नियतिले माधव–झलनाथहरुलाई पुन एमाले बन्ने मौका दिएको छ । एमाले बन्ने कि नबन्ने अब माधव–झलनाथहरुले छान्नुपर्ने भएको छ ।
केपी ओलीको पहिलो दायित्व नेकपा पुन एकीकरण गर्ने हो । यसका लागि ओली तयार बन्नुभएर मात्र हुँदैन, प्रचण्ड पनि तयार बन्नुपर्ने हुन्छ । यो तीन वर्षमा देशले जेजे देख्यो, त्यस्तो नहुने प्रतिवद्धता उहाँहरुले गर्नुपर्ने हुन्छ । विगतको गल्ती नदोहोराउने प्रतिवद्धता आउँछ भने एकीकरण गर्नुपर्छ । होइन, पहिलेकै जस्तो हुने हो भने एकीकरणको अर्थ हुँदैन । वास्तवमा एकीकरणको सम्भावना छैन भने पनि हुन्छ ।
माधव–झलनाथहरुको राजनीतिक जीवन पूरै संकटमा परेको छ । संकटमा पर्नुभएका उहाँहरुको उद्दार गर्ने जिम्मेवारी केपी ओलीको काँधमा आएको छ । घर फर्कने जिम्मेवारी माधव–झलनाथहरुको हो नै, उहाँहरुलाई सम्मानसाथ घर फर्काउने जिम्मेवारी केपी ओलीको पनि हो । देशको अभिभावकत्व लिनुभएका केपी ओलीले माधव–झलनाथहरुको पनि अभिभावकत्व लिनुपर्छ ।
माधव–झलनाथहरुले हिजो केके भन्नुभयो, केके गर्नुभयो भन्ने अब समस्त एमालेजनले बिर्सनुपर्छ । सँगै बसेपछि एकअर्कालाई ठेस लाग्छ । मानिसले बाटो बिराउन सक्छ । मानिस सच्चिन सक्छ । माधव–झलनाथहरुले हिजो के भन्नुभयो भन्ने अब कुनै विषय रहेन, अब के भन्नुहुन्छ भन्ने मुख्य विषय रह्यो । उहाँहरुले हिजो केके गर्नुभयो भन्ने गौण भयो, अब के गर्नुहुन्छ भन्ने मुख्य विषय भयो । अब उहाँहरु थपक्क एमालेमा बस्नुपर्छ । केपी ओलीले पनि उहाँहरुलाई विगत एमालेमा रहँदाकै पदहरु दिएर, विगतको जस्तै सम्मान दिएर राख्नुपर्छ । यस अर्थमा अब केपी ओलीको चौडा छाती र उदार ह्रदय देखिनुपर्छ ।
केपी ओलीले आफू कठोरमा इस्पातजस्तो र नरममा नौनीजस्तो हो भन्ने विगतमा देखाइसक्नुभएको छ । फेरि पनि ओलीले आफू नौनी हो भनेर देखाउने बेला आएको छ । सबैलाई थाहा छ, केपी ओलीको राजनीतिक जीवन सम्पूर्ण रुपमा समाप्त पार्न, व्यक्तिगत रुपमा समेत बदनाम बनाउन माधव–झलनाथहरु लागिपर्नुभएको थियो । केपी ओलीलाई नष्टविनष्ट पार्नका लागि एमालेको सम्पूर्ण इतिहास सिध्याउनुपर्छ भनेर उहाँहरु लागिपर्नुभएको थियो । ओलीले यस्ता कुरा सम्झिएर पूर्वाग्रह राख्नुहुँदैन । केपी ओली राजनेताको उचाईमा उठिसकेको व्यक्तित्व हुनुहुन्छ । क्षुद्र आक्रमणहरुलाई सम्झिएर ओलीले सानो चित्त गर्न हुँदैन ।
माधव नेपालले सार्वजनिक रुपमा बारम्बार भन्ने गर्नुभएको छ– मलाई मान पुगेन, सम्मान पुगेन । माधव नेपाललाई के गर्दा मानसम्मान पुग्छ भन्नेतर्फ ओलीले विशेष ध्यान दिनुपर्छ । उहाँले आगामी दिनमा केके पद पाउनुहुन्छ भन्ने भविष्यको कुरा भयो तर विगत एमालेमा हुँदा उहाँ जुन पदमा हुनुहुन्थ्यो ती पद तत्कालै दिनुपर्छ ।
बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु, अरुलाई सिध्याउन खोज्दा आफैं सिद्धिने दिन पनि आउँछ भन्ने सबैले बुझ्न जरुरी छ । हिजो जोजसले प्याच्च बोल्ने र आफ्नो घर छाडी अरुको घर गएर थ्याच्च बस्ने काम गरे, ती सबै बिर्सनुपर्छ ।
माधव–झलनाथहरु मात्र होइन, एमालेका कैयन कार्यकर्ताले बाटो बिराएका थिए । अब उनीहरु सबै घर फर्कनेछन् । उनीहरु सबैलाई यथोचित जिम्मेवारी दिने, मूलप्रवाहमा मिसाउने र एमाले भनेको तपाईंहरुकै घर हो भन्ने अनुभूति दिलाउने काम केपी ओलीले गर्नुपर्छ ।
यतिले मात्र केपी ओलीको जिम्मेवारी पूरा हुँदैन । नेकपा एमाले भनेको नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनको मूलप्रवाह हो, अगुवा हो । यो पार्टीमा विभिन्न पार्टीबाट आएका मानिस छन् । माओवादी केन्द्र पृष्ठभूमिबाट आएका नेता कार्यकर्ता पनि छन् । एमाले पुनर्जिवित हुनुको अर्थ उनीहरुको बहिर्गमन होइन । अन्य पार्टीबाट आएकाहरुको पनि एमाले घर हो । उनीहरुलाई कुनै पनि प्रकारको हेलाहोंचो हुन नपाओस् भनेर सबैले चौडा छाती गर्न आवश्यक छ ।
यस प्रसंगमा वरिष्ठ नेता वामदेव गौतमको उल्लेख्य भूमिका पनि देशले अपेक्षा गर्छ भन्ने कसैले बिर्सन हुँदैन ।
एमालेको पुनर्स्थापनासँगै माओवादी केन्द्र पनि पुनस्र्थापित भएको छ । माओवादी आन्दोलन छिन्नभिन्न भइसकेको छ । छिन्नभिन्न भएको माओवादी आन्दोलनमा असल नेता कार्यकर्ता प्रशस्त छन् । उनीहरु सबैलाई समेट्ने जिम्मेवारी एमालेको अध्यक्षका रुपमा केपी ओलीको काँधमा आएको छ । यो जिम्मेवारी ओलीले सफलतासाथ निर्वाह गर्नुहुने विश्वास गरौं ।
