देवी कुमारी पराजुली-
महिला र पुरुष बीच जैविक भिन्नता छ । जैविक भिन्नतालाई कसैले पनि बदल्न सक्दैन । महिला र पुरुष बीच सामाजिक भिन्नता पनि छ । समाजले कोरिदिएको सीमारेखा वा तोकिदिएको भूमिका नै लैङगिकता हो ।
लैंगिकता समाज सापेक्ष हुन्छ । लैंगिकताका आधारमा महिला र पुरुषबीच अधिकारको असमानताबारे बहस हुने गरेको छ । युग अनुसार समाजमा हुने फेरबदलले यस्ता लैङ्गिक सामाजिक बहसलाई कहिले कठोर र कहिले उदार बनाउँदै लगेको छ ।
महिला र पुरुष बीचको सामाजिक भिन्नता अर्थात् लैंगिकता बारे प्राचीन कालदेखि नै विभिन्न विचार आइरहेको छ । प्लेटो, अरस्तु, हब्स, जोन लक, रुसो जस्ता विचारकहरु महिला र पुरुषबीचको सम्बन्धलाई कसैले उदार त कसैले अनुदार रुपमा ब्याख्या गरेका छन् ।
कुनै पनि धर्मले दार्शनिक रुपमा लैंङ्गिक, जातीय तथा वर्गीय विभेदलाई प्रश्रय दिएका छैनन् । धर्मका कथित व्याख्याकारहरुले धार्मिक दर्शनको अपव्याख्या गरी विभेद सिर्जना गर्दै आएका छन् ।
समाजले मनोगत रुपमा लगाइदिएको लैंङ्गिकताको पर्खाल भत्काउने प्रयास प्राचीनकालदेखि नै हुँदै आएको छ । उन्नाइसौं शताब्दीको पूर्वाद्धमा युरोप र अमेरिकामा मतदानको अधिकारको माग हँुदै विश्वब्यापी रुपमा आधुनिक महिलावादी आन्दोलनको सुरुवात भएको पाइन्छ । विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय संघ संस्थाको अगुवाईमा धेरैभन्दा धेरै हक अधिकारहरु स्थापित भएका छन् भने अन्तर्राष्ट्रिय प्रतिवद्घताले लैंङ्गिक एवं समावेशी न्यायलाई प्रवद्र्घन गर्न हरेक राष्ट्रलाई दायित्वबोध गराएका छन् ।
नेपालमा प्रााचीन वैदिक साहित्य, उपनिषद्, महाकाव्य, पुराण लगायत प्रायः सबै शास्त्रमा माता वा नारीको स्थान उच्च देखाइएको छ । त्यसपछिको कालखण्डदेखि लिच्छवीकालको पूर्वाद्धसम्मको कालखण्डका लेख्य सामग्री उपलब्ध छैन, त्यसैले त्यस कालखण्डमा नारीको स्थान कस्तो थियो भन्न सकिन्न ।
दक्षिण तराईमा पर्ने विदेह राज्यमा जनकपुत्री सीता, गार्गी लगायत विदुषीहरुको समाजमा उच्च सम्मान र प्रतिष्ठा थियो । लिच्छवीकालमा उच्चवर्गीय नारीहरुको मात्र समाजमा राम्रो अवस्था र इज्जत कायम थियो । यस कालमा सतिप्रथा कुरीतिको रुपमा स्थापित थियो । यद्यपी अनिवार्य नभएको कुरा मानदेवकी आमा राज्यवती, भौम गुप्तकी आमा आभीरी, जयदेव द्वितीयकी आमा वत्सदेवी लगायतका रानीहरु आफ्ना पतिको मृत्युपश्चात सती नगएबाट प्रष्ट हुन्छ । चाँगुनारायणको अभिलेखमा मानदेवकी आमा राज्यवतीको उल्लेख गर्दा ‘विशुद्घवंशविभवा’ अर्थात् ‘चोखो कुलमा जन्मेकी’ लेखिएको छ । मल्लकालमा प्रचलित बालविवाह र बहुविवाहले गर्दा सती प्रथाले ज्यादै उग्र रुप ग्रहण गरेको थियो ।
तत्कालीन समाजमा उच्चबर्गमा शिक्षाको राम्रो व्यवस्था थियो । निम्नवर्गीय नारीहरु दैनिक नोकरी गरी पेट पाल्नुपर्ने बाध्यतामा रहेको व्यहोरा राजा अंशुवर्माको हाँडीगाउँको अभिलेखमा ‘कुचो लगाउने आइमाई’ भनी उल्लेख भएबाट थाहा हुन्छ । नरेन्द्रदेवको अनन्तलिंगेश्वरको अभिलेखबाट तत्कालीन समाजमा प्रचलित दासी प्रथा र निम्नवर्गीय महिलाहरुको आर्थिक अवस्था ज्यादै नै दयनीय अवस्थामा रहेको देखिन्छ ।
समानता, विकास, सशक्तिकरण र समावेशी न्यायका लागि नेपालका महिलाहरुले पनि आन्दोलन गरेको इतिहास छ । आन्दोलनको फलस्वरुप वि.स.१९७७ मा सामाजिक मान्यता प्राप्त सती प्रथा सदाका लागि अन्त्यको घोषणा भयो । मुलुकी ऐनमा भएको समसामयिक संशोधनका साथै विभिन्न विभेदकारी कानूनहरुमा संशोधन भए । संविधानमा मौलिक हक अन्तर्गत महिलाको हक, सूचनाको हक जस्ता हक तथा अधिकारको व्यवस्था स्थापित भएका छन् । नीतिगत, कानूनी, संरचनागत र कार्यप्रक्रियागत व्यवस्था हँुदै कार्यान्वयनको कार्य अगाडि बढेको छ । जसले लंैङ्गिक एवं समावेशी न्याय प्रवद्र्घनमा ठूलो सहयोग पुर्याएको छ ।
यति हुँदाहुदै पनि अझै पनि सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक लगायत सबैजसो क्षेत्रमा महिलाको अधिकार र पहुँच न्यून छ । कूल जनसंख्याको आधाभन्दा बढी (५१.५०) प्रतिशत हिस्सा ओगटेका महिलाहरु लैंङ्गिक असमानताका कारण विविध प्रकारका हिंसाको शिकार हुन बाध्य छन् । यसलाई न्यून गर्न सार्वजनिक प्रचारयन्त्रहरु सकारात्मक रहनु पर्दछ ।
सार्वजनिक प्रचार यन्त्र भनेका आम सञ्चारका माध्यम हुन् । एक्काइसौं शताब्दीको विज्ञान र प्रविधिको यस युगमा मिडिया यत्रतत्र छाएको छ । जसले आम नागरिकलाई सुसुचित हुन ठूलो भूमिका खेलेको पनि छ । तर, समाजलाई सही सूचना दिने मिडिया नै सही हुन सकेन भने सही सूचना प्राप्त गर्ने र विभेदहरुबाट मुक्त हुने अवस्था रहन सक्दैन । त्यसका लागि मिडियाको भूमिका स्वतन्त्र हुनु पर्दछ । यो कतै नढल्कने बीचमा (मिड)मा बस्नु पर्ने भएकाले यसलाई मिडिया भनिएको हो । अथात् यो तटस्थ हुनु पर्दछ । सञ्चारको आधारभूत मान्यता भनेको निष्पक्ष सूचना हो ।
सत्यतथ्य सूचना सम्प्रेषण नहुँदा एकातिर नकारात्मक असर पर्दछ भने अर्कोतिर विकृति पनि भित्र्याउँछ । अहिले सञ्चार माध्यम वकालत गर्ने प्लेटर्फम जस्ता बनेका छन् । सञ्चारको व्यावसायिकता सूचनामा हुनु पर्छ, आयआर्जनमा होइन । आयआर्जनको व्यावसायिकताले सूचना पनि आफूलाई लाभ हुनेगरी प्रवाह गर्ने प्रवृत्ति बढेको छ ।
सञ्चार क्षेत्र, हुन त महिला पुरुष भनेर छुट्याउने बिषय होइन । तथापि यसले समाजका लंैङ्गिक संवेदनालाई आत्मसात गर्न सकेको देखिँदैन । सत्य सूचना व्यक्ति समाज र राष्ट्रको लागि आवश्यक हुन्छ । सत्य समाचार प्रवाह हँुदा पुरुष भन्दा महिला बढी लाभान्वित हुन्छन् किनभने उनीहरुको आम सामाजिक पँहुच तुलनात्मक रुपमा कमजोर छ । तर, मिडियामा लंैङ्गिक संवेदना महशुस नगर्ने प्रवृत्ति बढेको छ । जसले कतिपय सञ्चार माध्यम जनचेतनाको संवाहक नभएर विकृतिको वाहक बन्न पुगेका छन् । उदाहरणको रुपमा प्रतिष्ठित समाजसेवी दिलशोभा श्रेष्ठलाई “यौंन धन्दाको कोठी” चलाएको आरोप लगाइयो । यसैगरी निर्मला हत्याकाण्डमा बम दिदीबहिनीले मिडियाकै कारण सामाजिक बहिष्करणमा पर्नु पर्याे ।
मिडियाका कारण यसरी अन्यायमा पर्नु भनेको एउटा व्यक्ति मात्रै अन्यायमा पर्नु होइन । यसको प्रभावको रफ्तार ठूलो गतिको हुन्छ । एउटा अपराधीले एउटा व्यक्तिमाथि अन्याय गर्न सक्छ र त्यसको असर व्यक्तिमा सीमित हुन्छ । तर एउटा मिडियाले गलत सूचना प्रवाह गर्दा सिङ्गो समाज त्यसवाट पीडित बन्छ । विभिन्न आरोप लगाएर नारी अस्मितालाई धुमिल गर्ने दुःसाहस शिक्षित वर्गमा पनि दिनप्रतिदिन बढ्दो छ । यसो हुनुको कारण हाम्रा मिडियाको लैङ्गिगक असंवेदनशीलता नै हो ।
माध्यम भन्नाले वाहक बुझिन्छ । जव खबर बोकेर ल्याउने माध्यमले आफूसँग बोकेको खबर असत्य छ, असंवेदनशील छ भने त्यो सबैतिर फैलिनु स्वाभाविक हो । उदाहरण घरको भान्छामा पिउने पानी पुर्याउने पाइप प्रदुषित छ भने पानी पिउनेले दुषित पानी पिउनै पर्छ । त्यसको असर पानी पिउने सबैमा पर्छ । त्यस्तै सञ्चार माध्यमले बोक्ने विचार तथ्य, तटस्थ र सत्य भएन भने समाजमा कसैलाई घाम नै घाम मिल्छ, कसैलाई छायाँ मात्र पर्छ, समाज पाखण्डी, ढोंगी र परपीडक बन्छ । आजको समाजलाई लैङ्गिकताका दृष्टिले सभ्य बनाउन मिडिया जगतको शुद्धता आवश्यक छ ।
( देवीकुमारी पराजुली नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्य हुनुहुन्छ )
