--नारायण घर्ती--
नेकपा (एमाले) यतिखेर असहज अवस्थामा छ । आफ्नै पार्टीका नेताको कारण पार्टीभित्र असहजता पैदा भएको छ ।
आफू प्रधानमन्त्री बन्न कुनै समय राजालाई दाम चढाउने माधवकुमार नेपालका कारण नेकपा एमाले आज असहज परिस्थिति भोग्दै छ । नेपाल प्रधानमन्त्री पद प्राप्त गर्न आफ्ना त्यस्तै चरीत्र बोकेका सीमित नेता–कार्यकर्तालाई बोकेर एमालेमा गुटबन्दी गरिरहनु भएको छ ।
नेपालले नेकपा एमालेको महासचिव भएर करीब १५ वर्ष पार्टीको नेतृत्व गर्दा पार्टीलाई कहिल्यै निर्णायक तहमा पुर्यान सक्नुभएन । ढुलमुले चरित्रका नेपाल आज पार्टीभित्र चरम गुटबन्दी गरिरहनुभएको छ ।
पार्टी नेतृत्व र बहुमतको निर्णय विपरित गएर नेपालले अवैध ढङ्गले भेलाहरु गरिरहनु भएको छ । देश र पार्टीको नेतृत्व सम्हालिसक्नुभएका उहाँलाई पार्टी अध्यक्ष, महासचिव र बहुमत केन्द्रीय सदस्य तथा सांसद्ले गरेको निर्णय नैं आधिकारिक हुन्छ भन्ने चेत र सुझबुझ समेत नभए जस्तो देखिन्छ ।
पार्टी नेतृत्वको क्षमताको वास्तविक जाँच पार्टी सांगठनिक र जनमतको हिसाबले असजिलो परिस्थितिमा गुज्रिएको बेला हुन्छ । यस्तो बेलामा जसले पार्टीलाई प्रभावकारी ढंगले नेतृत्व प्रदान गर्छ त्यही नै काबिल नेतृत्व ठहरिन्छ । राजनेता केपी ओली यस अर्थमा यो देशका सबैभन्दा सफल प्रभावशाली र काबिल नेता हो ।
पार्टी संगठन र एमालेको जनमत माधव नेपालकै ढुलमुले चरित्रका कारण संकुचित भएको थियो । अत्यन्त जटिल अवस्थामा नेता ओलीले पार्टीको नेतृत्व सम्हान पुग्नुभयो ।
त्यस पछि नेकपा एमाले गतिशील र निर्णायक ढंगले अगाडि बढ्यो । राष्ट्रिय राजनीतिमा कांग्रेस र माओवादी पार्टी निर्णायक रहेको परिस्थितिलाई परिवर्तन गर्दै केपी ओलीले एमालेलाई मुलुकको सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउनुभयो ।
संविधान निर्माणमा ओलीले अग्रगामी भूमिका निर्वाह गर्नुभयो । भारतले लगाएको नाकाबन्दीको जबर्जस्त रुपमा सामना गर्दा प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि उच्च स्थानमा पुग्यो । जो सधैंसधैं कायम छ ।
छिमेकी मुलुक भारत र चीनका नेता र कुटनितिज्ञसँग ब्याक्तिगत स्वार्थका निम्ति मात्र ’डिलिङ’ गर्ने प्रचण्ड–माधव प्रवृत्तिका नेता भएको मुलुकमा ओलीजस्ता नेता निस्किए । नेपालको भलाईका निम्ति कटिबद्ध हुने ओली जस्ता नेता पाउँदा आम नेपालीले गौरवान्वित महसुस गर्नैपर्छ ।
राष्ट्रवादी नेता केपी ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले नेपाली भूमि हडप्ने भारतको विस्तारवादी कदमको कडा ढंगले प्रतिवाद ग¥यो । नेपालको नक्सामा साे भूमि समेट्यो । नेता ओलीको यो कदमको आमजनमानसले व्यापक प्रशंसा गर्यो । विश्व समुदायको ध्यान नेपाल तर्फ तानियो ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउने योजना स्वरुप एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका दुई वटा ठूला कम्युनिष्ट पार्टीको एकता गर्नुभयो । फलस्वरुप नेकपा गठन भयो ।
आम नेपाली जनताबीच उहाँको लोकप्रियताकै कारण तत्कालीन एमालेले मात्र होइन पार्टी संगठन र जनमत एकदमै कमजोर रहेको माओवादीले समेत उल्लेख्य विजय हासिल गर्यो । प्रचण्ड स्वयमले पनि केपी ओलीको नाम उच्चारण गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मत मागेर चुनाव जित्नुभयो ।
उहाँको योजना स्वरुप एकत्रित भएको नेकपा अदालतको पछिल्लो आदेश र प्रचण्ड–माधव नेपालको गुटगत षडयन्त्रको कारण विघटन भएको छ । प्रचण्ड र माधव नेपालको प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नैपर्ने हठका कारण नेकपा विघटन हुनुपुग्यो ।
३२ वर्षदेखि माओवादी पार्टीमा अध्यक्ष पदमा रहेका प्रचण्ड र पन्ध्र वर्ष एमाले पार्टीको नेतृत्व गरिसकेका नेपालको पदीय लोलुपतालाई आमनेपालीले नजिकबाट नियालिरहेकै छन् । पार्टीबाट बिदा लिएर युवाहरुलाई अवसर प्रदान गर्नुपर्ने बेलामा पनि बेमौसमी बाजा बजाउँदै तत्कालीन नेकपाको सरकारलाई जनमुखी कामै गर्न नदिने काम माधव नेपाल र प्रचण्डबाट भयो । नेपालले पार्टीलाई प्रभावकारी रुपमा संचालन हुँनै नदिने परिस्थिति निरन्तर सिजना गर्नुभयो, अझै गरिरहनु भएको छ ।
आफू नेतृत्वमा हुँदा प्रभावकारी काम गर्न नसक्ने तर ओलीले जनताका आकांक्षा सम्बोधन गर्दै विकास निर्माणका काम एकपछि अर्को सम्पन्न गर्दै जाँदा अवरोध खडा गर्ने काम उहाँहरुबाट भइरह्यो । आज पनि आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर कांग्रेस वा जसपाको नेतृत्वमा सरकार बनाउन खोज्ने जस्तो देश र पार्टी घाती काम नेपाल–खनालबाट भइरहेको छ ।
केपी ओली नेतृत्वको सरकारले कैयाैं सम्पदा पुनर्निर्माण गरिसक्यो । देशमा रेल र सडक मार्गहरु धमाधम निर्माण र बिस्तार भैरहेछन् । अन्तराष्ट्रिय स्तरमा मुलुकको छवि उच्च भएको छ ।
प्रचण्ड र माधव नेपाल जस्ता अन्ध विरोधी ओली सरकारको यो सफलता देख्दैनन् । यसकारण सरकारलाई असफल ठान्छन् । असफल बनाउन लागि पर्छन्
लोकतन्त्रमा सबैभन्दा ठूला जनता हुन् । कुनै पनि विवादमा अन्तिम निर्णय दिने जनता नै हुन् । तर उहाँहरु यो कुरा स्वीकार्न तयार हुनुहुन्न । जनताको बीचमा जान चाहनुहुन्न, कार्यकर्तालाई विश्वास गर्नुहुन्न ।
ढिलो चाँडो कुनै न कुनै दिन जनताको माझमा जानै पर्छ । सधैं जनता र कार्यकर्ताको बीचबाट भागरेर राजनीति हुँदैन । ओली नेतृत्वको सरकारलाई असफल बनाउन दिनरात लागिपर्ने प्रचण्ड–माधव नेपालहरुलाई नेपाली जनताले चुनावमा पक्का देखाउने छन् । को ठीक को गलत भन्ने पक्का छुट्याईदिने छन् । जनताले दुधको दूध, पानीको पानी छुट्याउने छन् ।
