गोविन्द थापा,
नेपाल अहिले महाविपत्तिमा फसेको छ । यो अवस्थाबाट पार पाउनुको विकल्प छैन । हामी अदृष्य सत्रु अर्थात् भाइरससँग लडिरहेका छौं । यो अवस्थाबाट पार पाउन अब केके गर्ने ? विचारणीय भएको छ ।
मानव सभ्यताका लागि महामारी नयाँ होइन । महामारी नदेखेको, नभोगेको पुस्तालाई अनौठो लाग्ला तर यस्ता हजारौं महामारीलाई जितेर मानव समाज यहाँसम्म आइपुगेको हो । हरेक महामारीमा हजारौं, लाखौं, करोडौं मानिसले हारे होलान्, जीवन गुमाए होलान् तर मानव समुदायले हारेको छैन, सभ्यताले हारेको छैन ।
आगामी दिनमा मानव समुदायले यस्ता कैयन महामारी अवश्य भोग्नुपर्नेछ । त्यसैले अहिलेको महामारी पहिलो पनि होइन र अन्तिम पनि होइन ।
यो महामारीलाई पनि हामी निश्चित रुपमा जित्नेछौं । महामारीलाई जितिसक्दा मानव समुदायले भने ठूलो क्षति व्यहोर्नुपर्ने देखिएको छ । नेपालमा क्षतिको मात्रा र आकार बढेको बढ्यै छ । क्षति न्यूनीकरण गर्दै महामारीमाथि विजय पाउनु असाधारण चुनौती बनेको छ नेपालका लागि ।
यसकारण चुनौती
पृथ्वीमा मानव एक्लै छैन । अर्बाैं अर्ब भाइरस र ब्याक्टेरियाहरु पनि छन् । मानिसका वरिपरि हजारौं लाखौं किसिमका रोग छन् । समाज सामान्य अवस्थामा रहेको बेला पनि विभिन्न रोग मानिसलाई लागिरहेको हुन्छ । नेपालमा मात्र नभएर हरेक देशमा स्वास्थ्य सुविधाको व्यवस्था सामान्यकाललाई ध्यानमा राखेर बनाइएको हुन्छ । महामारी आउँछ र त्योसँग जुधौंला भनेर स्वास्थ्योपचारको संरचना बनाइएको हुँदैन । त्यसो गर्न सम्भव पनि छैन ।
झन्, नेपाल त सामान्य कालमा समेत पर्याप्त स्वास्थ्य सेवा दिन नसकिरहेको देश हो । यस्तो देशले कोभिड १९ को सुनामी सामना गर्नु चुनौतीपूर्ण छ । महामारीको चरित्र नै यस्तो हुन्छ कि मानिसले सामान्यकालका लागि बनाएका मान्यता र संरचना सबैलाई भत्काइदिन्छ ।
विपत्कै बीचमा उपाय खोजेर नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्नुको विकल्प छैन । महामारीसँग आत्मसमर्पण गर्ने होइन, जुध्ने हो । भाग्ने होइन जित्ने हो । महामारीसँगको युद्धमा हाम्रो नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनुभएको छ । नेपाली जनताले आजसम्म सबैभन्दा विश्वास गरेका नेता केपी ओलीको नेतृत्वमा महामारी विरुद्धको लडाईं हामीले अवश्य जित्नेछौं ।
महामारीमाथि विजय पाउन सरकारले गर्नैपर्ने केही काम सिफारिस गरिन्छ :
– तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्छ । संकटकाललाई युद्धकाल ठान्नुपर्छ । युद्धमा सरह खटिएर, दत्तचित्त भएर लागेर महामारीमाथि विजय पाउनुपर्छ ।
– महामारीको सामना गर्न हरेक देशसँग साधन स्रोतको अभाव छ, नेपालसँग पनि अभाव हुने नै भयो । साधनस्रोतको व्यवस्थापन, जनशक्ति परिचालन गर्न एक विशेष र केन्द्रीकृत निकाय बनाइनुपर्छ ।
– सामान्य कालमा जसरी साधन स्रोत व्यवस्थापन गर्न थालियो भने ढिलो हुन्छ । त्यसैले युद्धकालमा जसरी साधन स्रोत व्यवस्था गर्नुपर्छ । यसका लागि कैयन कानुनहरु बाधक हुनसक्छ । महामारीकाल अवधीका लागि त्यस्ता नियमकानुन निलम्वित गरिनुपर्छ ।
– महामारीसँग जुध्ने प्रयोजनका लागि तथा सोको सीमाभित्र सार्वजनिक खरीद ऐन तत्काल निलम्वन गरिनुपर्छ । तत्काल वस्तु तथा सेवा खरीद गर्न तथा आयात गर्न सो कानुन वाधक हुनसक्छ । खरीदमा ढिलाई हुनसक्ने कानुनको पहिचान गरिनुपर्छ र त्यस्ता कानुनलाई निलम्बन गर्नुपर्छ ।
– चिकित्सा क्षेत्रमा महामारीकाल अवधीका लागि ‘हायर एण्ड फायर’ लागू गरिनुपर्छ । सरकारी निकायहरुले जनशक्ति सोझै भर्ना गर्नसक्ने र आवश्यकता पर्दा हटाउन सक्ने व्यवस्था गरिनुपर्छ ।
– साधन स्रोतको आयातका लागि वैदेशिक कूटनीतिको अत्याधिक प्रयोग गरिनुपर्छ । विदेशमा रहेका नेपाली राजदूतहरुलाई अत्याधिक परिचालन गरिनुपर्छ । उनीहरु मार्फत सम्बन्धित देशहरुसँग स्वास्थ्य सामग्री प्राप्त गर्न पहल गरिनुपर्छ । र, यो काम तत्कालै थालिनुपर्छ ।
– नेपालमा रहेका सबै राजदूत, दातृ संस्थाका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले आफ्नो देशले भोगिरहेको विपत बारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुपर्छ ।
– नेपालमा कार्यरत अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई महामारी नियन्त्रणको काममा सहयोग गर्न भन्नुपर्छ । उनीहरुले अन्य क्षेत्रमा खर्च गर्ने बजेटलाई महामारी नियन्त्रणको काममा लगाइनुपर्छ । अर्थात्, डाइभर्ट गर्न लगाउनुपर्छ ।
– ‘ग्रीन लाइन’ यातायातको व्यवस्था गरिनुपर्छ । अर्थात्, उपचारसँग सम्बन्धित सामान ढुवानीलाई विशेष प्राथमिकता दिने गरी यातायात क्षेत्रमा विशेष व्यवस्था गरिनुपर्छ । यो व्यवस्था हवाई उडानमा समेत लागू गरिनुपर्छ । सामग्रीको छिटो छरितो ढुवानीका लागि वैकल्पिक व्यवस्थाहरु समेत गरिनुपर्छ ।
– सामान आयातमा सरलीकरण गर्न सरकारका विभिन्न निकायहरुको केन्द्रीकृत ईकाई बनाउनुपर्छ । त्यस्तो इकाईले आयातको अनुमति ठाउँको ठाउँ, केही मिनेटमै दिनसक्ने व्यवस्था गरिनुपर्छ ।
– चिकित्साका लागि प्रयोग हुने सामानलाई भन्सार मिनाहा गर्नुपर्छ । त्यस्ता सामान नेपाल प्रवेश हुँदा भन्सार विन्दुमा युद्धस्तरमा भन्सार क्लियरेन्स गरिदिने व्यवस्था गरिनुपर्छ । भन्सार विन्दुमा केही मिनेटमै क्लियरेन्सको व्यवस्था गरिनुपर्छ । यसका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्छ ।
– व्यक्ति, व्यापारिक संघसंस्था, गैरसरकारी संस्थाहरुलाई विदेशबाट स्वास्थ्य सामग्री ल्याउन प्रोत्साहित गर्नुपर्छ । उनीहरुले ल्याउने सामान तथा सहयोग नेपाल भित्राउँदा हुने प्रशासनिक झन्झट निर्मुल गर्दै एकद्धार प्रणाली मार्फत केही मिनेटमै काम हुने व्यवस्था गरिनुपर्छ ।
– स्वास्थ्य उपचार महंगो भएको गुनासोलाई ध्यानमा राखेर तत्कालै एउटा अनुगमनकारी निकाय व्यवस्था गरिनुपर्छ । महामारीका बेला अस्पतालहरुलाई कडा कारवाही गर्न सकिँदैन । तर, अस्पतालले विरामीसँग अहिले लिइरहेको शुल्क उपर महामारी पछि सुनुवाई र कारवाही गर्नेगरी एक विशेष निकाय बनाउनुपर्छ । त्यस्ता निकायले अहिलेबाटै उजुरी लिने काम थाल्नुपर्छ ।
– अस्पतालहरुमा आगामी दिनमा विरामीको चाप झन् बढ्ने देखिन्छ । त्यो अवस्थाको सामना गर्न अन्य क्षेत्रका निजामती कर्मचारीलाई चिकित्सा क्षेत्रमा स्वयंसेवकका रुपमा परिचालन गर्न तत्काल कार्ययोजना बनाइनुपर्छ ।
अब महामारीमाथि विजय पाउन व्यक्ति तथा समाजले गर्नैपर्ने केही काम सिफारिस गरिन्छ :
– महामारी यस्तो अवस्था हो जसको सामना सरकार एक्लैले गर्न सक्दैन । महामारीको सामना समाजले गर्ने हो र नेतृत्व सरकारले गर्ने हो ।
– सबैथोक सरकारले गरिदिन्छ या गरिदिनुपर्छ भन्ने अवधारणा महामारीका बेला लागू हुँदैन । सरकारले सकेको गर्छ नै, समाज पनि अग्रसर हुनुपर्छ । हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ । महामारी नियन्त्रण गर्ने, विपत्मा परेकालाई मद्दत गर्ने काम मेरो पनि पनि हो भनेर हरेक मानिसले कर्तव्यवोध गर्नुपर्छ ।
– विपत्को बेला राज्य तथा सरकारलाई असफल पार्ने तत्वहरु सक्रिय हुन्छन् । महामारीको अवधीभरी सरकार या सरकारी कामको विरोध गर्दा हरेक नागरिकले विवेक प्रयोग गर्नुपर्छ । सामान्य अवस्थामा जसरी सरकारको विरोध गर्न हुँदैन ।
– अराजकतावादीहरुसँग सतर्क रहनुपर्छ । जे चिजलाई पनि नकारात्मक मात्र देख्ने, नकारात्मक मात्र टिप्पणी गर्ने, खोट मात्र खोज्ने, गल्ती कमजोरी मात्र खोज्ने प्रवृत्ति सदाका लागि त्याग गरौं । त्यसो गर्न सकिँदैन भने कमसेकम महामारी अवधीभरी अराजकतावादी तथा नकारात्मकवादी नबनौं । सकारात्मक बनौं । समाजमा निरासा होइन, आशा फैलाऔं ।
– महामारी (पेन्डेमिक) सँगै गलत सूचनाको भाइरस (इन्फोडेमिक) पनि फैलिरहेको छ भन्नेमा हरेक मानिस सतर्क हुनुपर्छ । पेन्डेमिकले व्यक्तिलाई मार्छ, इन्फोडेमिकले समाजलाई मार्छ । अतिरञ्जित र सनसनीखेज सूचना तथा खबरसँग जोगिउँ ।
– सक्नुहुन्छ भने महामारी नियन्त्रणका लागि आफ्नो ठाउँ तथा हैसियत अनुसार योगदान गरौं, सक्नुहुन्न भने अरुको काममा बाधा नदिउँ । महामारीको सामना गर्न सरकारी तथा गैरसरकारी क्षेत्रका सयौं निकाय तथा व्यक्तिहरु अहोरात्र लागिरहेका छन् । उनीहरुलाई हतोत्साहित गर्ने काम नगरौं, प्रोत्साहित गर्ने काम गरौं ।
– लापरवाही नगरौं । तपाईंको सानो लापरवाहीले तपाईं संक्रमित बनेर पीडित बन्नुहुन्छ । तपाईं संक्रमित बन्नु भनेको तपाईंको परिवार पनि संक्रमित बन्नु हो । तपाईंको परिवार संक्रमित बन्नु भनेको समुदायमा संक्रमण झन् फैलनु हो । तपाईं आफू जोगिनुहुन्छ भने अरुलाई पनि जोगाउनुहुन्छ । आफू जोगिनुहुन्न भने अरुलाई पनि जोगाउन सक्नुहुन्न ।
– निरास नहुनुस्, आशावादी बन्नुस् । राष्ट्रिय विपत्को बेला सरकारलाई हरतरहले साथ दिनुस् । विभिन्न निकायहरुले जारी गर्ने सूचना तथा आदेश मनन गर्नुहोस्, पालना गर्नुहोस् ।
– अरुलाई मद्दत गर्नुहोस् । विपत्को बेला अधिकार होइन कर्तव्य प्रमुख हुन्छ भन्ने नभुल्नुहोस् ।
