कमल चौलागाईँ
जेसस क्राईस्ट जन्मेको ५ सय ६३ वर्ष अगाडि वैशाख शुक्ल पुर्णिमाका दिन कपिलवस्तुका शाक्य वंशका राजा सुद्धोधन र कोलिय वंशकी राजकुमारी रानी मायादेवीको कोखबाट रोहिणी नदी छेउमा रहेको लुम्बिनी साल रुखहरुको जंगल बीचमा पुष्करिणी तलाउको किनारमा एउटा रुखको फेदमा सिद्धार्थ गौतमको जन्म भयको थियो ।
माईतीमै सुत्केरी हुनु पर्ने त्यस बेलाको चलन अनुसार रानी मायादेवी कपिलवस्तु तिलौरकोट दरबारबाट माइती देवदह जाँदै गर्दा प्रसव व्यथाले च्यापेर लुम्बिनीको उक्त स्थानमा सिद्धार्थ गौतमको जन्म भयो । त्यति बेलाको चलन अनुसार जन्मेको पाँच दिनमै न्वारान हुँदा असित ऋषिले बालकको नाम सिद्धार्थ राखिदिनुभयो ।
जन्मेको सात दिनमै आमा मायादेवीको निधन भए पछि सानीआमा प्रजापति गौतमीले सिद्धार्थलाई हुर्काउनुभयो । प्रजापतिबाट पनि एक सन्तान जन्मिनुभएको थियो । जसको नाम नन्द थियो । पालन पोषण गर्ने सानीआमा गौतमीकै नामबाट सिद्धार्थको नाममा गौतम थपिन गएको भनाइ छ ।
१६ वर्षको उमेर पुगे पछि सिद्धार्थ गौतमको विवाह कोलिय वंशका राजा सुप्पबुद्ध र रानी पमिताकी १६ वर्ष पुगेकी राजकुमारी यशोधरासँग भयो । रानी पमिता राजा सुद्धोदनकै बहिनी हुन् । राजा सुद्धोधनकी रानी मायादेवी र प्रजापति दुवै राजा सुप्पबुद्धका बहीनी हुन् ।
सिद्धार्थ गौतम र यशोधराबाट एक सुपुत्र राहुल जन्मिनुभयो । गौतम बुद्धको ८० वर्षको उमेरमा देहान्त भयो भने त्यसको दुई वर्ष अघि ७८ वर्षको उमेरमा यशोधराको देहान्त भयो । वृद्ध, रोगी , मलामी र जोगी देखेपछि राजकुमार सिद्धार्थमा वैराग्य उत्पन्न भयो । यो संसार किन दुःखमय छ र मानव जीवनको दुःखको कारण के हो ? यसको निदान के हो ? भन्ने प्रश्नले उहाँलाई घच्घचाई रह्यो । आखिर २९ वर्षको उमेरमा दरबारको सुखसयल त्याग्दै पत्नी ,छोरा र बाबु आमा छाडेर उहाँ मध्य रातमा ग्राहस्थ्य जीवन त्यागेर तपस्याको निम्ति निस्किनुभयो । घुम्दा घुम्दै सिद्धार्थ गौतम योगी अलार कालाम र उद्दक रामपुत्रकोमा पुग्नुभयो । उहाँहरुसँग योग साधना तथा समाधी लिने कुरा सिक्नुभयो । त्यस पछि उरुवेला पुगेर विविध प्रकारको तपस्या गर्न थाल्नुभयो ।
सिद्धार्थले शुरुमा तिल चामल खाएर तपस्या शुरु गर्नुभयो । पछि अन्न पानी नै त्यागेर तपस्या गर्न थाल्नुभयो । मानव दुःखको कारणको खोजी गर्न शरिरलाई नै चरम कष्ट पुर्याउनुभयो । शरिर सुकेर कांटा झै भयो ।
६ साल बित्यो तर तपस्या सफल भएन । तपस्यारत रहँदा नै नगरबाट गीत गाउँदै फर्किरहेका केटीहरुको गीतको आवाज सिद्धार्थको कानमा गुन्जियो । सितारको तार खुकुलो छोड्दा पनि राम्ररी बज्दैन, अनि बेस्सरी तार कस्दा पनि राम्ररी बज्दैन भन्ने गीतको बोल थियो । कुनै कुराको पनि अति ठीक हुन्न , शरीर अति भोगमा लिप्त हुने वा शरीरलाई अति कष्ट दिने दुवै कुरा ठिक छैन, मध्यम मार्ग अपनाउनु नै ठिक हुन्छ भन्ने उहाँलाई त्यो गीतले शिक्षा दियो र खाना खाएर तपस्या गर्न शुरु गर्नुभयोे ।
गौतमले खान खान लागपछि उहाँलाई पतित हुन लागेका आरोप लाग्यो । ज्ञानको खोजीमा उहाँसँगै हिँडेका अरु पाँचजना तपस्वी साथीहरुः कौण्डन्य, अस्सजि, महानाम, वप्प, भद्दिय (कपिलवस्तुका व्राह्मण) ले सिद्धार्थ पतित भयो, अब गृहस्थ तिर फर्कियो भनेर गौतमलाई छाडेर हिंडे ।
गौमत विचलित हुनुभएन । सोही क्रममा वोधगयामा पुगे पछि सिद्धार्थ गौतम पिपलको रुखमुनि बसी तपस्यारत रहेकै शेला सुजाता नामकी महिलाले दिएको खिर खानुभयो । त्यही बैशाख पुर्णिमाको रात ध्यानमा मग्न रहँदै गर्दा उज्यालो नहुँदै सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभयो । त्यही रुखमुनि ध्यानमा बसेर ४९ औँ दिनमा उहाँले ज्ञान प्राप्त गर्नुभयो । उहाँले यो विश्व र व्रम्हाण्ड बारेको अनेकन प्रश्नको उत्तर रुपि ज्ञान प्राप्त गर्नुभयो । यस पछि उहाँ बुद्ध हुनुभयो ।
बुद्धको ज्ञानको चुरो यस्तो छ :– चार आर्य सत्य कुरा के हो भने (क) मानव जीवन दुःखपुर्ण छ ( ख) दुःखको कारण छ (ग) दुःखको निवारण पनि छ (घ) दुःखको निवारणको उपाय पनि छ ।
उहाँले दुःख निवारणको उपायको रुपमा अष्टाङ्ग मार्ग सुझाउनुभयो । जुन यस प्रकार छ :– (क) सही दृष्टि (ख) सही संकल्प (ग) सही वाचा (घ) सही काम (ङ) सही जिवीका (च) सही प्रयत्न (छ) सही चेत (ज) सही समाधि । दुःखको पछाडिको मूल कारण तृष्णा र यस प्रतिको अविच्छिन्न आसक्ती भाव भएको तथ्य उहाँले पत्ता लगाउनुभयो । उक्त तृष्णाको मूल अविद्या ( अज्ञान ) लाई नाश गर्नु नै दुःख मुक्तिको बाटो हो भन्ने तथ्य प्रकाश पार्नुभयो । अति भोग विलास र अति दुष्करचर्याको बाटो त्यागि मध्यम मार्ग अंगाल्नु पर्ने शिक्षा दिनुभयो । बुद्धको प्रयोगात्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ । शील , समाधि र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गर्न सकेमा दुःख मुक्तिको अवस्था निर्वाण ( ल्ष्चखबलब) को साक्षात्कार गर्न सकिन्छ ।
शील, समाधि र प्रज्ञाको मार्गको पुष्ट हुने क्रममा नै चार आर्य सत्य ( द्ध ल्यदभि त्चगतज ) लाई पूर्णरुपमा बुझ्दै जान सकिन्छ । बुद्धले आफ्नो शिक्षालाई धम्म–विनय भन्ने नाम दिनुभयो । धम्म : दुःख मुक्तिको लागि शिक्षा र विनय : भिक्षुको लागि बनाइएको नियम संग्रह हो । बुद्धले भन्नुहुन्थ्यो : भिक्षुहरु म दुई कुरा मात्र सिकाउछु = दुःख र दुःख मुक्ति को उपाय । बुद्धको देहान्त पछि शुद्धका सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रुपमा संग्रह गरियो । जसमा बुद्धका ८२ हजार र उहाँका प्रमुख शिष्यका २ हजार गरि ८४ हजार शुत्र संग्रहित छन् ।
बुद्ध ज्ञान ( धर्म) को प्रचार :–
वोधगयामा ज्ञान प्राप्त गरे पछि सर्वप्रथम बुद्ध वनारस स्थित मृगपार्कमा रहेका पाँच ब्राम्हण तपस्वी ( जस्ले उहाँलाई पतित भयो भनेर छोडेर हिडेका थिए ) कोमा पुग्नुभयो । त्यहाँ उहाँले जीवन र जगतको सास्वत ज्ञान बाँड्नुभयो । यस घटनालाई वुद्धमार्गीहरु धर्म चक्र प्रवर्तन भन्छन् । बुद्धत्व प्राप्त भएको १ वर्ष पछि बुद्ध कपिलवस्तु आउनुभयो । उहाँबाट प्रभावित भै शाक्य र कोलिय वंशका राजकुमारहरु भद्दिय, अनुरुद्ध, आनन्द, भृगु, किम्मिल, देवदत्त र उहाँहरुका हजाम उपाली बुद्ध धर्ममा दिक्षित हुनुभयो । बुद्धले पुरुष सरह महिलालाई पनि धर्म अभ्यास गर्ने प्रेरणा दिनुभयो । सानीआमा प्रजापती गौतमी पत्नी यशोधरा सहित कपिलवस्तुका सयौँ राजकुमारी समेत ५ सय महिला शुद्ध संघमा प्रवेश गरी भिक्षुणी बन्नुभयो । जातीभेद चरम रहेको युगमा पनि बुद्धले अछुत भनिने सुनित, उपाली ,स्वास्तीलाई संघमा उच्च सम्मान र जिम्मेवारी दिनुभयो । बुद्ध जडता विरोधी महान मानवतावादी गुरु हुनुहुन्थ्यो । जसले आफ्ना शिष्य र उपासकलाई बुद्ध दर्शन माथि सन्देह वा परीक्षण गर्न प्रेरित गर्नुहुन्थ्यो । शब्दले सत्य बोल्नु भन्दा व्यवहारबाट सत्य सिद्ध गराउने उहाँको तरिका प्रभावशाली थियो । उहाँ अनुभवको गहिराईबाट सत्य वोध गर भन्नुहुन्थ्यो ।
बुद्ध धर्मका प्रमुख दुई सम्प्रदायमा : महायानका अनुयायि चीन, तिब्बत , कोरिया, मंगोलिया, जापानमा छन् । हिनयानका अनुयायि श्रीलंका, म्यानमार, इन्डोनेसिया, थाइल्याण्डमा छन् । सम्राट अशोकले आफूले बुद्ध धर्म ग्रहण गर्नुभयो । आफ्ना भाइ, छोरा, छोरीलाई बुद्धका उपदेश प्रचार गर्न विभिन्न देशमा पठाउनुभयो । उहाँकी छोरी चारुमतीले नेपालका राजकुमारसँग बिबाह गरेर बुद्ध धर्म प्रचार गरी हाल चाबेलमा चारुमती विहार स्थापना गर्नुभयो । जो अहिले पनि छँदै छ ।
अशोकले बुद्ध धर्मलाई राजकिय धर्म बनाउनुभयो । बैद्ध विहार बनाउने भिक्षु संघलाई राजकिय सम्मान प्रदान गर्नुभयो । सम्राट अशोकले ईसापूर्व २४९ मा (वुद्धको देहान्त भएको ३ सय १४ वर्ष पछि) आठ मध्ये लुम्बिनी समेत सात वटा स्तुप उत्खनन गरी बुद्धको अस्थि धातु निकालेर बाँढेर ८४ हजार स्तुप निर्माण गर्न लगाउनुभयो । कोलिय राजाले भने राम ग्रामको अस्थिधातु निकाल्न दिएनन् । बुद्धको देहान्त पछि दाह संस्कार गरेर अस्थि धातुलाई आठ गणराज्यमा बाँढियेको थियो । जुन ः– मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, पावा, कुशिनगर र कोलिय गणराज्य हुन् । बुद्ध जन्म स्थल :
ईसं ४०३ मा चिनियाँ यात्री फाहियान लुम्बिनी आइपुग्नुभयो । उहाँले कपिलवस्तु नगरदेखि पूर्वतर्फ लुम्बिनी उद्द्यान रहेको र त्यही नै बुद्धको जन्म थलो भएको ठहर गर्नुभयो ।
ईसं ६३६ मा चिनियाँ यात्री ह्वेन सांङ्गले आफ्नो यात्रा वृत्तान्तमा लुम्बिनी र त्यहाँको संरचना बारे उल्लेख गर्नुभयो । ईसं १८९६ मा तत्कालिन पाल्पाका बडाहाकिम खड्ग शम्शेरको नेतृत्वमा लुम्बिनीको उत्खनन भयो । सो क्रममा अशोक स्तम्भ लगायत प्राचिन भग्नवशेष भेटिए पछि बुद्ध जन्मेको ठाउँ लुम्बिनी हो भन्ने ठहर भयो । भारतिय सम्राट अशोकले लुम्बिनीमा राख्नुभएको अभिलेखमा ‘शाक्य मुनिति शीला भिगद भिन्या ...लुम्बिनी गामे’ भनि शाक्य मुनि बुद्ध र लुम्बिनी गाउँ किटान गर्नुभयो । उक्त अभिलेख ब्राम्हि लिपि र पाली भाषामा लेखिएको छ । ईसं १९३३–१९३९ मा केसर शम्शेरले मायादेवी मन्दिर आसपास र पुष्करिणी तलाउको उत्खनन् गर्नुभयो । ईसं १८९६ डिसेम्वर १ मा भारतका पुरातत्वविद ए फुहरर त्यहाँ आएर अशोक स्तम्भको अभिलेख प्रकाशमा ल्याए पछि बुद्ध जन्मस्थल लुम्बिनी रहेको कुरा विश्वव्यापि चर्चा भयो । फुहरर फर्के पछि अर्का पुरातत्वविद पूर्णचन्द्र मुखर्जी आएर यो विवरण ईसं १९०१ मा प्रकाशित भयो । तर विडम्बना पछि भारतले दुरासय राखेर बुद्ध भारतमा जन्मिनु भएको हो भन्ने प्रचार गर्यो । भारतिय दुरासयको सुरुवात ईसं २००२ अगस्ट १ को टाइम्स अफ इण्डियाबाट प्रकट भयो । त्यहाँ चन्द्र भानु पटेलले लुम्बिनी भारतको उडिसामा पर्छ भनि भ्रम फैलाउने काम गर्नुभयो ।
नेपाल भारत तथा विश्वका प्राज्ञको अध्ययन र विश्लेषणले निर्विवाद रुपमा बुद्धको जन्मस्थल कपिलवस्तुको पूर्व र कोलिय राज्यको पश्मिमा अवस्थित पडेरिया गाँउ छेउ रहेको लुम्बिनी हो भन्ने तथ्य स्विकार गर्न गर्यो । बुद्धको महापरिनिर्वाण (देहान्त) :
वर्षौसम्म हजारौँ माइल पैदल हिडेर ज्ञान र उपदेशको पालि भाषामा प्रचार गरी ८० वर्षको उमेरमा महामानव गौतम बद्धले कुशिनगरमा देहत्याग गर्नुयभयो । देहान्त हुनु अघि कुशिनगरको परिब्राजक सुभद्रलाई उहाँले अन्तिम उपदेश दिनु भयो । बुद्धको अन्तिम वाक्य यो थियो ‘हे भिक्षुहरु ! यो समय आज तिमीहरुसँग यति नै भन्छु कि जतिपनि संस्कारहरु छन् सबै नाशवान हुनेछन् प्रमाद रहित भएर कल्याण गर !’ कुशिनगरको सालको वनमा दुई साल वृक्षको बीचमा उत्तर तर्फ सिरानी गरी दायाँ कोल्टे परि दायाँ खुट्टा माथि वायाँ खुट्टा राखेर सिद्धार्थ गौतम बुद्ध समाधिस्थ हुनु भयो । बुद्ध बारे
महान वैज्ञानिक अल्वर्ट आइन्स्टिनको शब्दमा ‘संसारमा आधुनिक विज्ञान अनुकुल कुनै धर्म छ भने त्यो बुद्ध धर्म हो ।’
चर्चित दार्शनिक वर्ट्रेन्ड रस्सेल भन्नुहुन्छ ‘एक्लो बुद्ध मात्र त्यस्तो गुरु हुन् जसले संसारलाई यथार्थमा बुझेका थिए ।’
कार्ल मार्क्स :– ईसं १८६१ मा कार्ल कोपेन्सले जर्मन भाषामा लेखिएको बुद्धका शिक्षाहरु भएको किताव कार्ल मार्क्सलाई दिनुभएको थियो । पाँच वर्ष पछि एन्टोनेट फिलिसँग भेट हुँदा मार्क्सले आफूले बुद्धको शिक्षा अनुरुप मन लाई शुन्य अवस्था मा राख्ने अभ्यास गर्ने गरेको बताउनुभएको थियो ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त समय र देहान्त समेतका जीवनका महत्वपूर्ण घटना शुक्ल पुर्णिमा तिथीमा परेको थियो ।
