सुन्दर पाठक-
नेकपा एमालेलाई फुटाउन चाहने र जुटाउन चाहनेहरु बीच अहिले तिब्र द्धन्द चलिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन अधिकतम लचकता अपनाउँदै आउनुभएको छ । उहाँले एकताका लागि विशेष आव्हान गरेदेखि नै एमाले सिध्याउन भनी लागिपर्नुभएका नेता माधवकुमार नेपाल एमालेका विपक्षी नेताहरुहरुको घरदैलोमा पुगेर हात जोड्न थाल्नुभएको छ ।
क्रियाकलाप तथा नियत नियाल्दा माधव नेपाल स्वचालित हुनहुन्न, रिमोट कन्ट्रोलरबाट परिचालित हुनुभएको देखिन्छ । त्यसैले एमाले एकतामा सबैभन्दा मुख्य वाधक रिमोट कन्ट्रोल देखिएको छ ।
एमालेको दुर्गति भए मात्र नेपालको दुर्गति हुनसक्छ भन्ने बुझेका देशी बिदेशी शक्तिहरु एमालेको एकता चाहँदैनन् भन्ने प्रष्ट छ । एमालेको एकता ककसले चाहँदैनन् भन्ने खोजिनीति गर्दै उनीहरुकै दैलोमा पुगेर माधवले हात जोडिरहनुभएको छ ।
सघीय संसद्मा करिब दुई हैसियत भएको विश्वको तेस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपालाई नफुटाई नेपालमा अस्थिरता ल्याउन सकिँदैन, नेपालको शान्ति र स्थायित्व खल्बलाउन सकिँदैन भन्ने बुझेकाहरुले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई साथ लिए । प्रचण्ड र माधवको टोलीलाई फिल्डमा उतारे ।
एमालेलाई भत्काउन, नेपालमा अस्थिरता फैलाउन, समृद्ध नेपाल सुखी नेपालीको एजेन्डालाई असफल पार्न केपी शर्मा ओलीलाई असफल पार्न आवश्यक थियो । उनीहरुले प्रचण्ड र माधवलाई केपी ओली विरुद्ध उतारे ।
केपी ओली नेपालका सम्पूर्ण कम्युनिष्टलाई एकिकृत बनाएर बलियो शक्ति बनाउने पक्षमा हुनुहुन्थ्यो । ओलीको त्यो सपना प्रचण्ड, माधब लगायतका नेताहरुको लोभलालच, महत्वाकांक्षा र निजी स्वार्थले गर्दा पूरा हुन पाएन । उनीहरु नेकपा भत्काउन सफल भए । नेकपा भत्किएपछि एमाले र माओवादी केन्द्र पुनस्थापित भए । एमालेले तत्कालै जनताको समर्थन र माया, पुरानो साख, इज्जत प्रतिष्ठा पायो । तर, माओवादी केन्द्र भने पहिले नै समाप्त भइसकेको शक्ति थियो । एमालेले वाम गठवन्धनका नाममा काँधमा माओवादीलाई बोकेको हुनाले नै गत चुनावमा त्यति सिट ल्याएको थियो । एमालेले काँधमा बोकेको थिएन भने माओवादीको हैसियत गत चुनावमा झिना मसिना पार्टीका रुपमा खुम्चिने निश्चित थियो ।
विकास र समृद्धिको बाटोमा देशलाई हिँड्न नदिन, नेकपालाई भत्काउन र केपी ओलीको खुट्टा तान्न नेकपा रहेको बेला प्रचण्ड र माधव नेपालहरुको समूहले कतिसम्म गति छाडेको थियो भन्ने जनताले देखिसकेका छन् । तर, ‘म त हिँड्छु आफ्नै बाटो, खुट्टा तान्दै गर’ भन्दै केपी ओलीले देशलाई अगाडि बढाउनुभयो । विकास र समृद्धि तर्फ देशले विशाल फड्को मार्न थाल्यो । नेपालको इतिहासमा सबैभन्दा सफल सरकार यही हो, सबैभन्दा धेरै विकास गरेको सरकार यही हो । तर, एमाले विरोधी तथा नेपाल विरोधी शक्तिहरुले विकास भएकै छैन, देश बर्बाद भयो भन्दै कुप्रचार गरे, दुष्प्रचार गरे, भ्रम फैलाए । सहरी क्षेत्रका अवसरवादी कथित बुद्धिजीवी भनाउँदाहरु सरकार र केपी ओलीको बदनाम बनाउन निरन्तर लागे, उनीहरुको नियन्त्रणमा रहेको मिडियाले सरकारको विरोधमा झुठैझुठ फैलाए । तर, सचेत जनताले केपी ओली र एमालेलाई साथ दिइरहे ।
अब पनि देशमा एमाले नै मुख्य शक्ति हुने भयो, एमालेले आउँदो चुनावमा दुई तिहाई हाराहारी जित्ने भयो भनेर उनीहरु आत्तिए । त्यसपछि चुनाव गर्न हुँदैन भन्दै कुप्रचार गरे । चुनाव गर्यो भने लोकतन्त्र खतरामा पर्छ भनेर निर्लज्ज अभियान चलाए । चुनाव भएन भने पो लोकतन्त्र खतरामा पर्छ, चुनाव हुँदा लोकतन्त्र समृद्ध हुन्छ । प्रतिनिधि सभा पुनस्थापना भएपछि उनीहरुले वैकल्पिक सरकार दिन समेत सकेनन् ।
प्रतिनिधि सभा पुनस्थापना भएपछि उनीहरुको मुख्य ध्यान एमालेलाई फुटाउनेमा केन्द्रीत रह्यो । उनीहरुले माधव नेपालको समूहलाई परिचालित गरे । सो समूहलाई कांग्रेस र माओवादीले काँधमा बोक्यो । यता, केपी ओलीले भने पार्टी एकताका लागि निरन्तर पहल गर्नुभयो । तर, रिमोट कन्ट्रोलबाट परिचालित पात्र र समूह कहिले कार्की ब्याङक्वेट त कहिले सडकमा आएर उछलकूद गर्न थाल्यो । त्यसबेला भ्रमवश र भुलवश माधव नेपालको समूहतिर लागेकाहरु सबैजना एमालेमा फर्किसकेका छन् । तर, अझै पनि केही पात्रहरुले एमाले विरोधी गतिविधि गरिरहेका छन् । उनीहरुलाई एमालेमा फर्काउने उद्देश्यले नै केपी ओलीले उदार ह्रदयबाट एकताका लागि अपिल गर्नुभएको हो ।
प्रचण्ड र माधव एमाले विरोधी तथा देशविरोधीहरुको औजार नबन्नुभएको थियो भने विकास र समृद्धिले थप उचाई हासिल गरेको हुने थियो । यसबाट सबैभन्दा क्षति माधव र प्रचण्डलाई नै भएको छ । उहाँहरुको राजनीतिक अस्तित्व आउँदो चुनावबाट समाप्द हुँदैछ । उहाँहरुलाई चुनावमा मतदाताले दण्डित गर्नेछ । अरुको औजार बन्नाले उहाँहरुको भविष्य अन्धकार भएको छ । जेसुकै होस्, एमालेलाई भत्काएरै छाड्ने भन्ने उहाँहरुको मिशन असफल भइसकेको छ । अब एमाले फु्ट्ने छैन, उहाँहरुले चोइटाउनसम्म सक्नुहुन्छ ।
एमालेलाई चोइटाउन उहाँहरु कतिसम्म लाग्नुभएको छ, एमालेको एकता नहोस् भनेर उहाँहरु कतिसम्म भिड्नुभएको छ भन्ने झलनाथ खनालको विज्ञप्तिपछि देख्न पाइयो ।
उपचारका लागि भारत जाने बेला झलनाथले पूरानो बैमनस्य र मनमुटाब सबै बिर्सेर धैर्य र संयम अपनाई पार्टी एकताको पक्षमा उभिन अपिल गर्नुभयो । झलनाथको अपिलबाट माधव नेपालको समूह तर्सियो, कांग्रेस र माओवादी आत्तिए । तत्कालै शेरबहादुर देउवा र प्रचण्ड बसेर माधव नेपाललाई बोलाउनुभयो । सरकार विरोधी सामूहिक वक्तव्यमा माधव नेपाललाई सही गर्न लगाउनुभयो ।
एकताको पक्षमा झलनाथको वक्तव्यपछि फुटपरस्त र अतिवादीहरुले आफ्नो असली रुप देखाइहाले । विजय पौडेल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री जस्ता ख्यात पात्रहरुले एकताको विपक्षमा होहल्ला मच्चाए । झलनाको विज्ञप्ति नै होइन, नक्कली विज्ञप्ति हो, नक्कली हस्ताक्षर हो भनेर प्रचार गर्न थाले । वक्तव्यको भाषा झलनाको जस्तो छैन समेत भने । तर, वक्तव्य झलनाथकै थियो, एकताको अपिल उहाँले ह्रदयदेखि नै गर्नुभएको थियो । सो वक्तव्य दिएर झलनाथ भारत जानुभएपछि माधव समूहका मान्छेहरुले झलनाथको स्वास्थ्य लाभको कामना समेत गरेनन् । कृतध्न प्रवृत्ति देखाए । विगतमा केपी ओली विरामी पर्नुहुँदा स्वास्थ्य लाभको कामना नगर्ने, अस्पतालबाटै विदा भइदिए हुने भनेर प्रार्थना गर्ने खलपात्रहरुले झलनाथलाई पनि छाडेनन् ।
झलनाथको चेत खुलेको छ, तर, माधवको भने चेत खुलेको छैन । माधव नेपाल भिरको छेउमा पुगिसक्नुभएको छ । अब पनि माधवको चेत खुलेन, पार्टी एकताको पक्षमा आउनुभएन भने उहाँ र उहाँको समूहमा लागेका केही दर्जन पात्रहरु भिरबाट झर्नेछन् । त्यसबेला हामी रामराम भन्नेछौं तर गर्न चाहिँ केही सक्नेछैनौं ।
