नेपालमा एकजना यस्ता नेता छन् जसको नाम नभनी बानीव्यहोरा वर्णन गरियो भने उनलाई सजिलै चिनिन्छ । अर्थात्, नाम नभनी बानीब्यहोरा र कर्तूत मात्र वर्णन गरियो भने जसले पनि त्यो नेता ‘फलाना हो’ भनेर ट्वाक्कै भन्न सक्छ ।
उनको केही कर्तूत तथा ब्यहोरा यस्ता छन् :-
– चाडबाड आउनासाथ हिन्दू धर्मलाई गाली दिने
– जातीय सद्भाव भड्काउन मरिहत्ते गर्ने
– धार्मिक सद्भाव भड्काउन कम्मर कसेर लाग्ने
– अरु धर्मका विकृति विसंगति नदेख्ने, हिन्दू धर्मका परम्परालाई मात्र विकृति देख्ने
– अरु धर्मका चाडबाडमा शुभकामना दिँदा राजनीति नघुसाउने, तर, हिन्दू चाडपर्वमा शुभकामना दिँदा पनि राजनीति घुसाउने
– हिन्दू देवीदेवतालाई गाली दिने
– पतिपत्नी नै मिलेर हिन्दू धर्म तथा परम्परागत मान्यतामाथि प्रहार गर्ने
यस्तो हर्कत गर्ने नेता डा. बाबुराम भट्टराई नै हो भनेर तपाईंहरुले अवश्य ठम्याउनुभयो होला । बाबुरामको यस्तो बानीब्यहोराको कुख्याती अहिले भारतमा पनि चर्चामा छ ।
भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ कुनै धार्मिक समारोहमा सहभागी भएको एउटा तस्विर बाबुरामले टुइटरमा शेयर गर्नुभएको छ । तस्विर सामान्य छ । तर, त्यहाँ तस्विर मात्र छैन । तस्विरमा आपत्तिजनक टिप्पणी लेखिएको छ ।
त्यो तस्विर यही हो । यो तस्विरमा आदित्यनाथ नदीमा दूध अर्पण गरिरहनुभएको छ । नदीमा दूध अर्पण गर्नु हिन्दू परम्परा तथा भारतीय उपमहाद्धीपको संस्कृति पनि हो । तस्विरमाथि टिप्पणी लेखिएको छ– ‘विश्वास डरलाग्दो हुन्छ, विश्वासले तपाईंलाई दूध फ्याँक्ने र पिसाब पिउने बनाइदिन्छ ।’
यो आपत्तिजनक टिप्पणी सहितको फोटा डा. भट्टराईले शेयर गर्नुभएको हो । त्यो टिप्पणी कसले लेखेको हो थाहा छैन । तर, त्यसमा भट्टराईले भारतमा पढ्दाका साथीले फैलाएको लेख्नुभएको छ ।
अब बाबुरामको नियतको चर्चा गरौं । नियतको चर्चा गर्दा सुरुमै लेखौं– बाबुरामको नियत खराब छ ।
'विश्वास डरलाग्दाे हुन्छ....' याे शब्दावली हिन्दू धर्म तथा धर्मावलम्बी विरुद्ध वर्षाैवर्षदेखि प्रयाेगमा आएकाे शब्दावली हाे । त्याे शब्दावली प्रयाेग भएकाे फाेटाे शेयर गर्नु नियत अलिअलि नभएर पूरै खराब हुनु हाे । कसैकाे विश्वास र आस्थामाथि प्रहार गर्न पाइँदैन । यति कुरा बाबुरामले बुझ्नुभएकाे छैन भन्न मिल्दैन । खासगरी भारतमा याे शब्दावली प्रयाेग सभ्य समाजमा वर्जित जस्तै छ । याे कुरा पनि बाबुरामले नबुझेकाे भन्न मिल्दैन । बाबुरामले जानाजान र नियत खराब भएरै त्यस्ताे शब्दावली भएकाे सामग्री शेयर गर्नुभएकाे हाे भनेर ठाेकुवा गर्न सकिन्छ ।
अर्काे कुरा, बाबुरामलाई त्यस्ताे शब्दावली सहितकाे फाेटाे साथीले पठाइदिएका पनि हुनसक्छन् । तर, त्याे फाेटाे र शब्दावली अहिले भारतमा ट्राेलकाे रुपमा प्रयाेग भइरहेकाे छ । भारतकाे ट्राेललाई बाबुरामले प्रयाेग गर्नु राम्राे नियत हुँदै हाेइन ।
हिन्दू चाडबाडका बेला पनि हिन्दूलाई नै गाली गर्ने, नेपालका अन्य परम्परागत चाडबाडमा पनि साम्प्रदायिक सद्भाव भत्काउने शैलीमा शुभकामना दिने बाबुरामको पहिलेदेखिकै नियत हो ।
यो फोटोमा बाबुरामको नियत छर्लङग छ । उहाँ हिन्दू तथा भारतीय उपमहाद्धीपका परम्परागत मान्यतामा प्रहार गर्दै हुनुहुन्छ । कसरी प्रहार गर्ने भनेर बाबुराम र हिसिला मौका खोजेर बसिरहनुहुन्छ । त्यो फोटोमा त्यस्तो कमेन्ट कसैले लेखेछ, मौका यही हो भन्दै बाबुरामले एकजना साथीको हवाला दिएर सामाजिक सञ्जालमा हालिहाल्नुभयो ।
डा. भट्टराईकी पत्नी हिसिलाले पनि दुर्भावना फैलाउने मौका ढुकेर बस्नुभएको हुन्छ, मौका पाउनासाथ दुर्भावनायुक्त दुर्वाच्य बोलिहाल्नुहुन्छ ।
हिसिला यस्ती महिला हो जो नेपाल देश नै खारेज गर्नुपर्छ भन्ने विचार राख्नुहुन्छ । कुनै एउटा कार्यक्रममा गिरफ्तारी दिन जाँदा उहाँ पति बाबुरामको साथमै हुनुहुन्थ्यो । काठमाडौंको पुतलीसडकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार बाबुराम हिसिला दम्पत्ती पक्राउ पर्नुभयो । प्रहरीले उहाँहरुलाई समातेर मोटरमा राख्यो । त्यही मौकामा हिसिलाले ‘नेपाल देशलाई खारेज गर्’ भन्दै जोडतोडसँग नारा लगाउनुभएको थियो ।
देशविरोधी र धर्म विरोधी हर्कत गर्ने मौका पाउँदा बाबुराम हिसिला दम्पत्तीले छाड्नुहुन्न ।
बाबुरामको चर्चाको क्रममा हिसिलाको अर्काे अपराधको चर्चा गरौं । गत जेठ २८ मा टुइटरमा उज्जवल विक्रम थापाले लेख्नुभयो– ‘हिमालयमा बस्ने भगवान शिव लाई मधेसमा सबै भन्दा बढी पुज्छन् । मधेशमा बस्ने भगवान वुद्धलाई हिमालमा सबैभन्दा बढी पुज्छन् । यो हो नेपालको उत्कृष्ट एकता सदभावको इतिहासिक उदहारण ।’
समाजलाई एकताको सन्देश दिने, एकता र सद्भाव फैलाउने गरी लेखिएको टुइट हिसिलालाई के चित्त बुझ्थ्यो । उहाँ प्रतिवादमा उत्रनुभयो । हिसिलाले उज्जवल विक्रमको टुइटमा क्वोट रिट्विट गर्नुभयो । हिसिलाको लेखाई यस्तो थियो– ‘जस्ले शिव र बुद्धलाई पुज्दैछ तिनीहरूलाई जाबो कोरोनाले मार्दैछ : पुजा भन्दा भुजा चाहिएको छ !’
कति निकृष्ट सोचाई, कति कालो नियत, कति अपराधी चिन्तन । यस्तो अपराधी चिन्तन बाबुराम हिसिलाले बारम्बार प्रकट गर्दै आउनुभएको छ ।
अब फेरि बाबुरामको पछिल्लो फोटो शेयरिङको चर्चा गरौं ।
बाबुरामले आदित्यनाथको फोटो सहितको ट्वीट बुधबार बिहान आठ बजेर २२ मिनेट जाँदा लेख्नुभयो । त्यसको दुई घन्टापछि अर्थात् १० बजेर दुई मिनेटमा लेख्नुभयो– ‘महान् पर्व इद–उल–अदहाको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना-मुबारक !’
इदको शुभकामना दिनु राम्रो हो । यसमा प्रश्न उठाउने ठाउँ छैन । तर, बाबुरामले हिन्दू तथा नेपाली चाडहरुलाई कहिले पनि ‘महान’ लेख्नुहुन्न । तर, इस्लाम र इसाई चाडवाडलाई ‘महान’ लेख्नुहुन्छ । यसबाट पनि बाबुरामको नियत छर्लङग हुन्छ ।
हिन्दू चाडबाड आउनासाथ डा. भट्टराईको गालीको मौसम सुरु हुन्छ । डा. भट्टराईले खासगरी पहाडी र मधेसी समुदायमा विभाजन ल्याउन, पहाडकै जातजाति बीच वैमनश्य फैलाउन प्रयास गर्दै आउनुभएको छ । डा. भट्टराई दम्पत्तको राजनीति नै जाती, धर्म, सम्प्रदायबीच विभाजन ल्याउनेमा लक्षित हुँदै आएको छ ।
माकर््सवाद देखि माओवादसम्मको नाममा अपराध गर्दै आउनुभएका बाबुराम हिसिलाको जोडीले अहिले देश र समाज विरुद्ध अपराध गरिरहेको छ, हिन्दू धर्म तथा नेपाली संस्कृतिप्रति वैमनश्य फैलाउँदै हुनुहुन्छ । यो सरासर अपराध हो ।
यस्तो अपराधमा कसले सजाय दिने होला ?
