गुट, जत्था, समूह र गिरोहमा के फरक छ ? माधवकुमार नेपालले परिचालन गरिरनुभएको जत्था गुट हो कि, समूह हो कि गिरोह हो ? अहिले धेरै मानिस अन्यौलमा परिरहेका छन् ।
माधवकुमार नेपालको साथमा कैयन नेताहरु छन् । उनीहरुको खास किसिमको नियत र उद्देश्य देखिन्छ । उनीहरुले सामूहिक निर्णय पनि गर्ने गरेका छन् । माधवको साथमा भएकाहरुको जमातलाई कतिपयले ‘गुट’ भन्ने गरेका छन्, एमालेकै कैयन नेताहरुले पनि माधव नेपालको ‘गुट’ भन्ने गरेका छन् । तर, यो सत्य होइन । माधवको साथमा ‘गुट’ छैन, ‘समूह’ या ‘गिरोह’ छ ।
माधव नेपालको साथमा भएको जत्थालाई ‘गुट’ भन्नु सर्वथा अनुचित हो, गिरोह या समूह भन्नु जायज हो ।
गुट हुनका लागि केही पूर्व शर्त हुन्छन् । गुट भनेको राजनीतिक दलभित्र खासै असामान्य होइन । राजनीतिक दलभित्र गुट सामान्य हो । कम्युनिष्ट पार्टीभित्र गुट हुनुहुँदैन भन्ने गरिन्छ, तर, नेपालका कम्युनिष्ट पार्टीहरु सबैमा गुट रहेको इतिहास छ । तर, अहिले भने नेकपा एमाले र माओवादी केन्द्रभित्र कुनै गुट छैन । यी दुईटा गुटविहिन पार्टी हुन् ।
एमालेभित्रको माधव गुट पार्टीबाट बाहिरिएको छ । अब एमाले गुटरहित भएको छ ।
उता, माओवादीमा पनि गुट छैन । प्रचण्डले जनयुद्धका बेला आफ्ना विरोधीलाई मार्ने गर्नुभएको थियो । खुला राजनीतिमा आएपछि आफ्ना प्रतिस्पर्धी र विरोधीलाई मार्न नमिल्ने भएकाले प्रचण्डले पार्टीबाट लखेट्ने गर्नुभएको छ । त्यसैले माओवादीमा कुनै गुट छैन । अर्काे कुरा, गुट भन्ने राजनीतिक दलमा हुन्छ, माओवादी अहिले प्रचण्डको निजी गुठी जस्तो छ, राजनीतिक दलमा हुनुपर्ने गुण माओवादीमा छैन, त्यसैले माओवादीभित्र गुट हुने कुरा आएन ।
दलभित्रको खास किसिमको समूह नै गुट हो । तर, माधव नेपालको साथमा रहेको जमात नेकपा एमालेभित्र छैन । एमाले बाहिर छ । त्यसैले माधव नेपालको गुट होइन, समूह हो । गुट हुनका लागि पार्टीभित्रको समूह हुनुपर्छ । जुन समूह पार्टीभित्र छँदैछैन, त्यसलाई पार्टीको गुट भन्न मिल्दैन ।
नागरिक समाज भन्दै माइतीघरमा उफ्रने जत्था कुनै पार्टी होइन, कुनै गुट पनि होइन । माधव नेपालको समूह पनि माइतीघरमा उफ्रिपाफ्री गर्ने समूह जस्तै हो । एमालेभित्रै रहेको अवस्था थियो भने माधव नेपालको गुट नै हुन्थ्यो, समूह हुँदैनथ्यो ।
सामान्यतया अपराधिक जमातलाई गिरोह भन्ने गरिन्छ । माधव नेपालको समूह राजनीतिक अपराध गर्ने गिरोह हो । केही महिना यता यो समूहले जेजति राजनीतिक अपराध गरेको छ, जेजस्ता गैरराजनीतिक चरित्र र अनैतिक अराजनीतिक हर्कत गरेको छ, त्यस आधारमा माधवको जत्थालाई समूह समेत भन्न मिल्दैन, गिरोह भने हुन्छ । तर, हालका लागि माधवको जत्थालाई समूह भनेरै सम्मान गरिदिनु वाञ्छनीय हुन्छ । किनभने माधवको गिरोहमा भुलभुलैयामा परेका कैयन इमानदार मानिस पनि छन्, जसको भविष्यमा आँखा खुल्नेछ र पार्टीमा निश्चित रुपमा फर्कनेछन् ।
माधव नेपालको जत्थालाई ‘गुट’ भन्न नमिल्ने कैयन आधार छन् ।
१- पार्टी भत्काउने उद्देश्य
गुटको उद्देश्य पार्टी संस्थापनलाई चुनौती दिँदै पार्टीलाई सुधार्ने हुन्छ । संस्थापन पक्षले भन्दा पार्टीको भलो आफूहरुले गर्छाैं भनेर देखाउने गुटको उद्देश्य तथा प्रवृत्ति हुन्छ । तर, माधवको समूहको उद्देश्य पार्टी सुधार्ने देखिँदैन । कसरी एमालेलाई भत्काउने तथा सिध्याउने भन्ने उद्देश्य देखिन्छ । त्यसैले माधवको गुट होइन, समूह हो ।
२- आफ्नै गुटकै कुभलो
गुटको उद्देश्य पार्टीमा आफू अनुकूल निर्णय गराउने हुन्छ । तर, माधवको समूहले आफू अनुकूल या आफ्नो गुटको हित हुने खालको निर्णय गराउन कहिले पनि प्रयास गरेको देखिएन । सो समूहले माओवादी र कांग्रेस अनुकूलको तथा ती पार्टीको हित हुने खालको निर्णय मात्र पार्टीबाट गराउन खोजेको देखिन्छ । आफ्नो गुटलाई सिध्याएर भए पनि कांग्रेस माओवादी पोस्ने काम माधवको समूहले गर्दै आएको छ । एमालेको अहित र कांग्रेस–माओवादीको हित गर्दा आफ्नो गुट समाप्त हुन्छ भन्ने माधवलाई थाहा थियो । उहाँको गुट अहिले केन्द्रीय नेताहरुको क्लबमा परिणत भइसकेको छ । तैपनि आफ्नै गुटको कुभलो र कांग्रेस–माओवादीको भलो गर्न छाड्नुभएको छैन । त्यसैले माधवको गुट होइन समूह हो ।
३- नेतृत्व चाहिएन
गुटको उद्देश्य पार्टीको आगामी महाधिवेशनमा आफू अनुकूलको नेतृत्व स्थापित गर्ने हुन्छ । गुटको लक्ष्य महाधिवेशन हुन्छ । गुटको मुख्य ध्येय भनेको आउँदो महाधिवेशनलाई लक्षित गरेर गतिविधि गर्ने, महाधिवेशनमा संस्थापनलाई पराजित गर्ने हो । माधव समूहको आउँदो महाधिवेशनसँग कुनै लेनादेना छैन । महाधिवेशनमा लोकतान्त्रिक चुनावबाट नेतृत्व लिने उद्देश्य माधवको समूहले अलिकति पनि बोकेको छैन । पार्टीको नेतृत्वमा नबस्ने, कांग्रेस–माओवादीको काँधमा बस्नेमै माधवको रुची देखियो । बरु, मौका परे महाधिवेशन नगरी नेतृत्व हत्याउने नियत र षडयन्त्र भइरहेको छ । त्यसैले माधवको समूह हो, गुट होइन ।
४- पार्टी नै सत्रु
गुटको सबैभन्दा मुख्य विशेषता भनेको गुटले पार्टीलाई सत्रु ठान्दैन । पार्टीका विरोधीहरु गुटका पनि विरोधी नै हुन्छन् । पार्टीका विरोधीहरुलाई संस्थापन पक्षले भन्दा हामीले राम्ररी चुनौती दिनसक्छौं भनेर गुटले जहिले पनि भनिरहेको हुन्छ, तद्अनुरुपको व्यवहार गरिरहेको हुन्छ । तर, यो विशेषता माधवहरुसँग छैन । यो समूहले पार्टीका सत्रु आफ्ना मित्रु ठान्छ, पार्टीका सत्रुलाई सघाउँछ । मुख्य कुरा, माधव समूहले पार्टी अर्थात् नेकपा एमालेलाई नै सत्रु ठान्छ । तसर्थ, माधवको गुट होइन, समूह हो ।
५- एकता र संघर्ष
राजनीतिक दलमा गुटको सिर्जना संस्थापन पक्षको विरुद्धमा हुन्छ । माधवको गुट भने संस्थापन पक्षको विरुद्धमा छैन, सिंगो पार्टीकै विरुद्धमा छ । नेकपा एमालेलाई अन्य प्रतिस्पर्धी दल तथा विरोधी दलहरुबाट जति खतरा छ, त्योभन्दा धेरै खतरा माधव गुटबाट छ । गुटले संस्थापन पक्षसँग एकता, सहमति र संघर्षको नीति लिएको हुन्छ । तर, माधवको समूहले एमाले संस्थापनलाई सत्रु ठान्छ, एकता र सहमति भन्ने काम र शब्द माधव समूहको सत्रु जस्तै हो । जसरी भए पनि पार्टी र संस्थापन पक्षलाई एकसाथ समाप्त पार्ने नियत लिएको छ । त्यसैले माधवको गुट होइन, समूह हो ।
६- निर्णयमा विमति, कार्यान्वयनमा सहमति
गुटले पार्टी निर्णयमा विमति राख्न सक्छ । तर, निर्णय भइसकेपछि त्यसलाई कार्यान्वयन गर्न संस्थापन पक्षलाई सम्पूर्ण सहयोग गर्छ । यो चरित्र माधवको समूहमा पटक्कै छैन । पार्टीको निर्णय विरुद्ध जानु नै माधव समूहको नीति रहेको छ । त्यसैले माधवको समूह गुट हुँदै होइन, समूह मात्र हो ।
७- विरोधीको काखमा
गुट भनेको राजनीतिक दलको काखमा बसेको हुन्छ । गुट भनेको पार्टीको अभिन्न र अभिभाज्य अवयव हो । तर, माधव समूह पार्टीको काखमा बसेको छैन । सो समूह कांग्रेस र माओवादीको काखमा बसेको छ । कांग्रेस र माओवादीको काखमा बसेको समूहलाई एमालेको गुट भन्न कसरी मिल्छ ? मिल्दै मिल्दैन । त्यसैले माधवको समूह एमालेको गुट हुँदै होइन । बरु, नेपाली राजनीतिमा उदाएको एउटा गिरोह हो ।
♦ ♦ ♦ माधव नेपालको समूह पार्टी बाहिर गएको छ, पार्टी बाहिरै बसेर गतिविधि गरिरहेको छ । बाहिर बसेर पार्टीलाई प्रहार गरिरहेको छ । कांग्रेस र माओवादीले सिर्जना गरेको, उनीहरुले पालनपोषण गरेको समूहलाई कसरी एमालेको गुट भन्ने ? सडकमा विभिन्न समूह छन् । त्यस्ता समूहलाई कुनै पार्टीको गुट भनिदिन कसरी मिल्छ ? एमालेको गुट हुनका लागि एमालेभित्र बसेको हुनुपर्छ । माधव समूह घर त्यागेर डेरामा बसेको छ र डेराको भाडा कांग्रेस माओवादीले तिरिरहेका छन् ।
जतिबेलासम्म माधवको समूह एमालेभित्र थियो, त्यो बकाइदासँग गुट थियो । एमाले बाहिर गएपछि त्यो समूह बन्यो, एमालेको गुट रहेन । एउटा समूहका रुपमा माधवको समूहले जेजति अपराध गरेको छ, त्यो हेर्दा यसलाई गिरोह भन्न मिल्छ । जताबाट पनि माधव जत्थालाई गुट भन्न मिल्दैन, कि गिरोह भन्नुपर्ने हुन्छ, कि समूह भन्नुपर्ने हुन्छ ।
