-निरोज पौडेल-
कम्युनिष्ट घोषणा पत्र तयार गर्दा कार्लमार्क्स, राणा शासनविरुद्ध हाँसी हाँसी फाँसीमा चढ्ने गङ्गालाल, नेपाल कम्युनिस्ट पार्टीकाे स्थापना गर्दा कमरेड पुष्पलाल यी सबै ३० वर्ष तलका युवा थिए । वास्तवमा युवा सिर्जनाका खानी हुन् । जोस, जाँगर र उत्साह हुन् । युवा ऊर्जा हुन्, वर्तमान र भविष्यका आधार हुन् । त्यसैले युवा क्रान्तिका जननी र समृद्धिको संवाहक हुन् । त्यसैले राष्ट्र निर्माणको आधार युवा हुन् ।
उथलपुथलकारी विश्व राजनीतिको निर्माता युवाहरु नै थिए, छन् र हुनेछन् ।
सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनी परिभाषित गरेको छ । ‘युथभिजन-२०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा यस उमेर समूहकाे कुल जनसंख्याको ४० दशमलव तीन प्रतिशत छ ।
राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवा वर्गको भूमिका महत्वपूर्ण हुन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिएको छ । उत्पादनशील उमेरकाे यस जनसंख्याको सही परिचालन नै समृद्ध नेपालको योजना पूरा गर्ने आधार बन्नेमा दुईमत हुन सक्दैन । शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवाशक्ति विकास गरी यो जनसांख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरूले देशको सामाजिक एवं आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् ।
दैनिक एक हजार बाहिरिन्छन्
नेपालमा प्रति वर्ष करिब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने अनुमान छ । तर आन्तरिक श्रम बजारको प्रशोचन क्षमता कम छ । श्रम शक्ति सर्वेक्षण २०७४ अनुसार श्रम शक्ति सहभागिता दर ३८दशमलव ५ प्रतिशत रहेको र श्रमशक्तिको ३६ दशमलव ५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न रहेको तथ्यांक छ । साे सर्वेक्षणका अनुसार हाल नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत छ । जसमा महिला बेरोजगारी दर १३ दशमलव १ प्रतिशत र पुरुष बेरोजगारी दर १०.३ प्रतिशत छ । साे सर्वेक्षणमा हप्तामा एक घण्टा तलब, ज्यालामा वा वस्तु तथा सेवा उत्पादनमा संलग्न व्यक्तिलाई रोजगार मानिएकाले यसलाई जीवनयापनको भरपर्दो र दिगो श्रोतको रुपमा लिन सकिन्न । आन्तरिक श्रम बजारको यस्तो वास्तविकताको कारण दैनिक करीब एक हजार युवा रोजगारीको लागि विदेशिरहेका छन् । रोजगारीका अतिरिक्त उच्च अध्ययनको नाममा विदेश पलायन हुने युवाहरुको संख्या बढ्दो छ ।
देशभित्र पर्याप्त रोजगारीका अवसर नभएका कारण युवाशक्ति श्रमका लागि विदेशिन बाध्य छ । हाल करिब ४३ लाख ६५ हजार ४ सय १५ युवा विश्वका करिब ११० मुलुकमा रोजगारीको लागि रहेका तथ्यांक छ । यसरी कामका लागि विदेशिएका युवाहरुमा १.५ प्रतिशत दक्ष कामदार, २४ प्रतिशत अर्धदक्ष कामदार र बाँकी ७४.५ प्रतिशत अदक्ष कामदार छन् । जनसंख्याको यो ठूलो हिस्सालाई लक्षित गरी ठोस नीति, योजना, तथा कार्यक्रमहरु बन्न सकेको देखिँदैन । बनेका योजनाहरु पनि कार्यान्वयन हुन सकेका छैनन् । उर्जावान र सिर्जनशील युवाहरुलाई उपयुक्त जिम्मेवारी दिन सकिएको छैन ।
श्रम बजारमा युवाजनशक्तिको माग हुदाहुँदै पनि सही किसिमबाट आपूर्ति हुन नसक्दा युवाहरु कि त बेरोजगार छन् कि विदेश पलायन हुन वाध्य छन् । नेपालकाे युवा जनसंख्या ठूलाे सम्पत्ति हाे । युवा जनसंख्याकाे अनुपात आगामी दिनमा घट्दै जाने प्रक्षेपण गरिएकाे छ । त्यसैले युवा जनशक्ति प्रचुर भएकाे बेला देश विकासकाे गतिलाई बढाउन ढिला गर्न हुँदैन । भविष्यमा युवा जनसंख्याकाे अनुपात घट्न थालेपछि नेपालले पनि जनशक्ति आयात गर्नुपर्ने दर्दनाक अवस्था आउन सक्छ ।
नीतिले यसाे भन्छ
युवालाई उपयुक्त शीप र क्षमता विकासको अवसर दिन नसक्दा जोखिमयुक्त श्रमबजारमा जान वाध्य रहेको स्थिति छ । यस प्रकारको स्थितिको अन्त्यको लागि युवा परिचालनको स्पष्ट कार्यदिशा हुनु आवश्यक छ । युवाहरुमा क्षमताको विकास गर्नु, युवा प्रतिभा पलायनलाई रोक्नु, युवा लक्षित प्राविधिक र जीवनउपयोगी शिक्षा सर्वसुलभ गराउने, स्वदेशमा नै रोजगारी तथा स्वरोजगारीको अवसर सिर्जना गर्ने जस्ता चुनौती छन् ।
बढ्दो युवा जनसंख्यालाई सीप र उद्यमशीलतायुक्त बनाई जनसांख्यिक लाभ हासिल गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै पनि आन्तरिक रोजगारी सिर्जनामा अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । लोकतन्त्रको पुनस्थापनापछिका सबै सरकारहरूसँग युवालाई राष्ट्र निर्माणमा मूलप्रवाहीकरण गर्ने राजनीतिक सोच र इच्छाशक्ति देखिएन । युवामा आफ्नो शक्ति र भूमिकाप्रति जागरूकता सिर्जना गर्नु, युवा लक्षित कार्यक्रमहरूलाई विस्तार गर्नका लागि आधार तयार हुनु, राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै उनीहरूका अधिकारहरूको उपयोग गर्ने वातावरण सिर्जना गर्ने संवैधानिक प्रतिबद्धता आदि यस क्षेत्रका अवसर हुन् ।
राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको पन्ध्रौँ योजनामा स्वस्थ, सकारात्मक सोचयुक्त, उद्यमशील, सिर्जनशील, अधिकारप्रति सचेत र कर्तब्यप्रति प्रतिवद्ध युवा शक्तिको विकास र परिचालनलाई लक्ष्यको रुपमा राखिएको छ । त्यस्तै योजनाको उद्देश्यको रुपमा युवामा दक्षता र क्षमताको विकास गर्ने, युवालाई उद्यमशील, रोजगारमूलक, स्वरोजगार बनाउने, आत्मनिर्भर र चरित्रवान बनाउने तथा शासकीय प्रक्रिया एवम् सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणमा युवाको सार्थक सहभागिता अभिवृद्धि गर्नु उल्लेख छ ।
राजनीतिमा युवा सहभागिता
नेपालमा व्यवस्था विरुद्धको लडाईंको हरेका मोर्चामा युवा अग्रपंक्तिमा रहेका थिए । गौरवपूर्ण राजनीतिक इतिहास निर्माणमा युवाशक्तिको अतुलनीय योगदान थियो । हरेक संघर्षको अग्रभागको नेतृत्व र पहलकदमी युवाहरुकै थियो । अहिले नेपाली राजनीतिको प्रतिनिधिमुलक संस्थाहरुमा युवाको उपस्थिति बढेको भएपनि सन्तोषजनक छैन् । निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तहमा निर्वाचित (१६ देखि ४० वर्ष उमेर समूह) का युवाहरूको संख्या १३ हजार ८ सय ९३ अर्थात ३९.६५ प्रतिशत रहेको छ । प्रदेश तहमा २३.६३ प्रतिशत, प्रतिनिधि सभामा १३.९ प्रतिशत र राष्ट्रिय सभामा ६.७७ प्रतिशत रहेको पाइन्छ । यो तथ्यांकले माथिल्लो तहमा अर्थात नीति निर्माणको निर्णायक स्थानमा युव उपस्थिति न्यून देखिन्छ ।
राजनीतिक क्रान्तिको सफलतापछि अब आर्थिक क्रान्तिको समय आएको छ । राजनीतिक भाषणवाजीले मात्र गरिबी निवारण हुदैन्, आम गरिब नेपालीको मुहारमा मुस्कान ल्याउन सक्दैन । अबको कार्यभार व्यवहारिक रुपमा नै नेपालमा गरिबी, शोषण र विभेदको अन्त्य गर्नैपर्छ । यो कार्यभार परम्परागत, सोच, चिन्तन र कार्यशैलीले पार लगाउन सक्दैन । त्यसैले हरेक परिवर्तनको नेतृत्व गदै आएको युवाले नै यो जिम्मेवारी लिनु आवश्यक छ । यसका लागि हामी युवाहरुको जीवनशैली, काम गर्ने तौरतिरका आदिमा आमूल परिवर्तन आवश्यक छ । एक्काइसौं शताब्दी अनुकूलको, भूमण्डलीकृत विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने देश निर्माणको लागि युवा तयार हुनु आवश्यक छ । राजनीतिक संघर्षमा खरो उत्रिएका युवाहरुलाई अबको आर्थिक क्रान्तिमा पनि उचित भूमिका दिनुपर्छ । तब मात्र देशको समृद्धिको सपना पूरा हुन्छ ।
समृद्धिकाे आधार युवा
त्यसो त, सैद्धान्तिक रुपमा त नेपालको समृद्धिको आधार यहाँको युवा शक्तिलाई मान्ने गरिन्छ । तर व्यवहारिक रुपमा भने नेपालको विकास यात्रामा युवाहरुलाई सही रुपमा परिचालित गर्न सकिएको छैन । युवाशक्तिलाई रचनात्मक कार्यमा लगाउन सकिएको छैन । रोजगारीको अभावको कारण दैनिक हजारौँको संख्यामा नेपाली युवाहरु मलेसिया र खाडी मुलुकलाई हराभरा र समृद्ध बनाउन दिनरात पसिना बगाइरहेका छैन । उनीहरुले पठाएको विप्रेषण आयले देशको अर्थतन्त्र चलायमान छ । तर उनीहरुको श्रमशक्तिको उपयोग थर्न नसक्दा एकातर्फ नेपाल अविकास र गरीबीको दुष्चक्रमा अल्झिएका छन् भने अर्कोतर्फ ती युवाशक्तिले जोखिमयुक्त श्रममा लाग्नु परेका कारण असमयमै ज्यान गुमाउनु परेको छ । कैयाैं अंगभंग भएर फर्कन अभिशप्त छन् ।
देशको राजनीतिक परिवर्तनका लागि अग्रमोर्चा सम्हाल्ने,अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका युवाहरु सही परिचालनका लागि समृद्ध नेपाल निर्माणको अभियानमा पनि अग्रणी भूमिका दिनैपर्छ । यसो भएमा उनीहरुले आम नेपालीको समृद्धि सपनालाई साकार तुल्याउने छन् । यसका लागि राजनीतिप्रतिको युवाको आकर्षण बढाउने, संगठनलाई युवाहरूको रोजाइको केन्द्र बनाउने, समाज रूपान्तरणका लागि युवा संगठनमा लाग्न प्रोत्साहित गर्नुपर्छ ।
राजनीतिक पार्टीहरुले पनि युवा संगठन निर्माणमा ध्यान नदिएका होइनन् । नेकपा एमालेको राष्ट्रिय युवा संघ, माओवादी केन्द्रको वाइसियल, नेपाली कांग्रेसको तरुण दल आदि राजनीतिक पार्टीहरुले युवाहरुलाई दिएका स्थान हुन् । यी युवा संगठनहरुलाई आन्दोलन तथा क्रान्तिमा परिचालन गरिएको छ । यस्ता कार्यमा उनीहरु सफल रहँदै आएका छन् ।
तर अब युवाहरुलाई सिर्जनात्मक अभियानमा योजनाबद्ध रुपमा परिचालन गरिनुपर्छ । सामाजिक सांस्कृतिक रूपान्तरणमा युवाहरुको भूमिका बढाउनुपर्छ । विभिन्न पार्टीका भ्रातृ संगठनको रुपमा रहेका युवाहरु बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देशलाई उन्नत र सहिष्णु समाज निर्माणमा लाग्नु युवा संगठनहरुको दायित्व हुनुपर्छ । समाजको सामाजिक सांस्कृतिक क्षेत्रमा रहेका जडतालाई फाल्नु, कुसंस्कार, विकृति र विसङ्गतिलाई उखेल्नु, र मौलिकतालाई जोगाउने जस्ता अभियानमा युवाहरुलाई परिचालन गर्नुपर्छ ।
(लेखक राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)
