१३ जना नेपाली वम आक्रमणमा मारिएका छन् । यो खबर फैलियो । अकल्पनीय खबरले नेपाल स्तब्ध भयो । अफगानस्तानको काबुलमा बम आक्रमणमा परी १३ जना नेपालीको ज्यान गएको त्यो कालो बिहान थियो ०७३ असार ६ गतेको । वम आक्रमणमा परी ६ जना नेपाली घाइते भए । तिनका परिवारजनलाई असहनीय वज्रपात हुने नै भयो, सारा नेपाल र नेपालीको आँखामा आँशु भरियो, मनमा आक्रोश पलायो ।
त्यस्तो बेला एकखाले मनुवा र मिडियाहरु सरकार विरुद्ध जाइलागेका थिए । नेपालमा मिडिया थोरै मात्र छन्, अधिकांश मिडिया दलाली कर्म गर्छन्, कालोलाई सेतो भन्छन्, सेतोलाई कालो लेख्छन् । त्यसबेला नेपाली मिडिया पूर्वाग्रह र दुराग्रह फैलाउन व्यस्त थियो । त्यो अकल्पनीय घटनालाई पनि सरकार विरोधी हर्कतमा उपयोग गर्ने प्रयास मिडिया शक्ति, राजनीतिक शक्ति र कथित नागरिक शक्तिले गरेको थियो ।
हो, त्यसबेला केपी शर्मा ओली नेतृत्वको सरकार थियो । त्यो घटनाको थप वेलिविस्तार अलि तल पनि लगाउँला । यहाँ त्यो घटनाको सन्दर्भ र आजको अफगानस्तानको अवस्था चर्चा गरौं ।
अहिले अफगानस्तान रणभूमि बनेको छ । तालिवानले देशको अधिकांश हिस्सा कब्जा गरिसकेको छ । राजधानी काबुललाई तालिवानले घेरा हालेको छ । बीचमा कुनै चमत्कार भयो भने बेग्लै कुरा, होइन भने काबुल सहित अफगानस्तानलाई तालिवानले कब्जामा लिन अब धेरै बेर लाग्दैन ।
अफगानस्तानमा के हुन्छ त्यो उनीहरुको आन्तरिक मामिला हो । तर, गृहयुद्ध गर्ने देशले आफ्नो देशको मामिलालाई आन्तरिक मामिला भनेर उम्कन पाउँदैन । अफगानस्तानमा शान्ति स्थापना नेपालको मुख्य चाहना हो । तर, यो चाहनाको पक्षमा वर्तमान परमादेशीय सरकार कति उभिन्छ भन्न सकिन्न । किनभने विश्वका मुख्यमुख्य युद्ध पिपासु शक्तिहरुको चाहनामा देउवा सरकार बनेको जगजाहेर छ । अफगानस्तानमा नेपालको तत्कालको सरोकारको विषय हो– त्यहाँ रहेका नेपालीहरुको उद्दार ।
देउवा सरकार कति संवेदनहीन छ भने यसका हर्ताकर्ताहरु अफगानस्तानमा नेपाली सुरक्षित छन्, उद्दार आवश्यक छैन भन्दैछन् । यस्तो सरकारी बोलिलाई सामान्य रुपमा लिन मिल्दैन । यो बोलि होइन । यो त जघन्य अपराध हो । युद्धको आगोमा दनदनी बलिरहेको अफगानस्तानबाट आफ्ना नागरिकको उद्दार गर्न आवश्यक छैन भन्ने सरकार अपराधी नै हो । माओवादी जनयुद्धकालमा प्रचण्ड, बाबुराम लगायतका नेताहरुले जसरी मान्छे मार्थे त्योभन्दा भयंकर तरिकाले तालिवानले हत्याकाण्ड मच्चाइरहेको छ । तालिवान त्यो शक्ति हो जसले कूटनीतिज्ञहरुलाई समेत मार्न हिच्किचाउँदैन । तालिवान त्यही शक्ति हो जसले ०७३ असार ६ मा योजनावद्ध रुपमा नेपालीहरुलाई काबुलमा मारेको थियो । त्यस्तो शक्तिले अफगानस्तान कब्जा गर्दैछ तर यहाँ देउवा सरकार उद्दार गर्न आवश्यक छैन भनिरहेको छ ।
यो भनाई हद दर्जाको अपराध हो । देउवा सरकारको अपराधी वयान विरुद्ध अहिले सडकमा टायर बल्नुपर्ने हो, प्रचण्ड, देउवा लगायतका नेताहरुको पुत्ला जल्नुपर्ने हो । सारा मिडिया सरकारमाथि खनिनुपर्ने हो । अहँ, कम्फर्टेबल सरकार पक्षधर मिडिया बोल्दैन, नागरिक समाज उर्फ डलर समाज बोल्दैन । यस्तो मामिलामा प्लेकार्ड बोकेर माइतीघरमा तमासा गर्न कुनै एनजीओले फण्डिङ गर्दैन । किनभने देशमा कम्फर्टेबल सरकार छ । हजारौं नेपाली अफगानस्तानमा फसेको अवस्थामा कम्फर्टेबल सरकार आरामसँग निदाइरहेछ । कम्फर्टेबलका मतियारहरु पनि मुखमा पानी हालेर बसेका छन् ।
यस्ताहरुलाई ‘कम्फर्टेबल अपराधी’ भने हुन्छ ।
त्यो उद्दार, त्यो तदारुकता
अफगानस्तानमा केही हजार नेपाली छन् । तिनका परिवारजन कैयन दिनदेखि अनिदो छन् । भोकै छन् । सुर्ता चिन्ताले आज हजारौं नेपाली ब्याकुल भएका छन् । अहँ, कम्फर्टेबल सरकारलाई मतलब छैन ।
माथि चर्चा गरिए अनुसार यहाँ ०७३ असार ६ मा काबुलमा भएको हत्याकाण्ड प्रकरण स्मरण गरौं । सो घटना हुनासाथ तत्कालै प्रधानमन्त्री केपी ओलीले निन्दा गर्नुभएको थियो । मारिएका नेपालीको शव ल्याउने, घाइतेलाई काबुलमा प्रभावकारी उपचार गराउने, उनीहरुलाई नेपाल ल्याउने, काबुलमा रहेका अन्य नेपालीहरुको सुरक्षाका लागि पहल गर्ने काममा सरकारले तत्कालै एक्सन लिएको थियो ।
घटना लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलका सदस्यहरु, सुरक्षा प्रमुखहरु तथा उच्च अधिकारीहरुको विशेष वैठक बोलाउनुभएको थियो । नेपालीको शव ल्याउने तथा घाइतेहरुको उद्दार गर्ने काम ठाउँको ठाउँ थालिएको थियो ।
सो हत्याकाण्ड हुनासाथ ओली सरकारले नेपालबाट एउटा चार्टर विमान काबुल पठाउने निर्णय गरेको थियो । घटना हुनासाथ तत्कालीन परराष्ट्र सचिवले संसदको परराष्ट्र समितिको बैठकमा घटनाको विस्तृत जानकारी गराएका थिए ।
सो घटना सम्बन्धमा सूचना प्रवाह गर्न, अन्य समन्वय गर्न सरकारले सम्पर्क अधिकृतका रुपमा सुधिर भट्टराईलाई तोकेको थियो तथा सम्पर्कका लागि दुईटा फोन नम्बर र इमेल सार्वजनिक गरेको थियो ।
ओली सरकारले त्यो घटनालाई कति संवेदनशील रुपमा लियो भने राष्ट्रपति विद्यादेवी भण्डारी र अफगान राष्ट्रपति बीच फोन संवाद भयो । नेपालको परराष्ट्र मन्त्रालयले अफगानस्तानमा निरन्तर सम्पर्क र अनुगमन गरेको थियो । परराष्ट्र मन्त्री स्तरमा पनि फोन संवाद भयो ।
ओली सरकारले तत्कालै चार्टड विमान काबुल पठाएको थियो । घटनाको पर्सीपल्ट चार्टड विमानबाट नेपाली प्रियजन १३ जनाको शवलाई ओली सरकारले मातृभूमि ल्याएको थियो । साथमा नेपाल फर्कन चाहने २४ जना नेपालीलाई पनि ल्याएको थियो ।
देउवा सरकारलाई एउटा जानकारी– घटनाको २७ घन्टा नबित्दै ओली सरकारले प्रियजनको शव नेपाल ल्याएको थियो । कम्फर्टेबल सरकारका महानुभावहरुलाई अर्काे कुराको पनि जानकारी होस् । त्यसरी विमान नेपालबाट जाँदा र ल्याउँदा विभिन्न अन्तराष्ट्रिय प्रकृया पुराउनुपर्ने हुन्छ । मेडिको लिगल प्रोस्युडर, ओभर फ्लाइट पर्मिसन लगायतको काम २७ घन्टाभित्रै पूरा गरिएको थियो । अर्काे कुरा पनि स्मरण गरौं– काबुल जाने टोलीमा नेपाली सेनाको मेडिकल टिम समेत थियो ।
शव नेपाल ल्याएपछि हेलिकोप्टर मार्फत् सम्बन्धित जिल्ला–गाउँमा पुराइएको थियो । नेपाली मारिएको घटनामा नेपाल सरकारले गरेको कडा कूटनीतिक प्रतिकार सारा विश्वले देखेको थियो । नेपालले रेस्क्यूमा देखाएको तदारुकता, रेस्क्यू अप्रेशन देखेर विश्वले प्रशंसा गरेको थियो ।
अहिलेका कम्फर्टेबल
त्यसबेला नेपालले गरेको रेस्क्यु अप्रेशनमा अनावश्यक मान्छेलाई चार्टड विमानमा काबुल लगिएको भन्दै ओली सरकारको खोइरो खन्ने मिडिया अहिले कम्फर्टेबल सरकारको पक्षमा छन् । शोकाकूल परिवारजनको आँशु पुछ्न छाडेर ती कम्फर्टेबल नेता र मिडियाले विमान चार्टर महंगोमा गरिएको भन्दै कुप्रचार गरेका थिए ।
सन्तोष मानौं, अहिले अफगानस्तानमा नेपालीहरुलाई केही पनि भएको छैन । सरकारले गरेको अनौपचारिक आकलन अनुसार काबुल बाहिर नेपाली छैनन् । काबुलमा एक हजार पाँचसय जति नेपाली भएको अनुमान छ । विगत ओली सरकारले केही मृतक तथा घाइते नेपालीका लागि त्यस्तो तिब्र गतिमा एक्सन लियो । अहिलेको सरकार सुतेर बसेको छ । त्यहाँका नेपालीको उद्दार तत्काल थाल्नुपर्नेमा सम्पर्कमा आउन फोन नम्बर चाहिँ सरकारले सार्वजनिक गर्ने भएको छ । काबुलका नेपालीलाई फोन नम्बर होइन उद्दार चाहिएको हो, यति कुरा कम्फर्टेबल सरकारले किन बुझ्दैन ।
काबुलको अवस्था अहिले भयावह छ भन्ने सबैलाई थाहा भइसकेको छ । यस्तो बेला नेपालीको उद्दारका लागि सरकारले सम्पूर्ण व्यवस्था मिलाइसक्नुपर्ने हो तर सिन्का भाँचेको छैन । कम्फर्टेबलका मतियारहरु कानेखुसीको आवाजमा भन्दैछन्– नेपालीको उद्दार हुनुपर्छ । उनीहरु किन सानो स्वरमा उद्दारको कुरा गरिरहेका छन् भने कम्फर्टेबल सरकारको निद्रा भंग हुनुपर्छ ।
अफगानस्तानमा रहेका नेपालीलाई जेसुकै होस् तर यहाँ कम्फर्टेबल सरकारको निद्रामा वाधा पुग्नुहुँदैन भन्ने चिन्तन अपराधपूर्ण छ ।
