पुष्पकमल दाहाल प्रचण्डका लागि आज महान खुसीको दिन हो । आजका दिन प्रचण्डको दाँत र आँत मात्र नभएर हड्डी नै हासेको हुनुपर्छ ।
प्रचण्डको लामो समयदेखिको राजनीतिक अभीष्ट आज पूरा भएको छ ।
प्रचण्डको खुसी वयान गर्न ०४७ सालतिर फर्कनुपर्ने हुन्छ । प्रचण्ड भरखरै तत्कालीन मसालको महामन्त्री हुनुभएको थियो । ठूलो षडयन्त्र साथ मोहन वैद्य सहितका सिनियर नेताहरुलाई एउटै राजनीतिक खाडलमा जाकेर प्रचण्ड महामन्त्री बन्नुभएको थियो । लगत्तै ०४६ सालको जनआन्दोलन भयो । आन्दोलनका बेला प्रचण्डले पञ्चायती शासकहरुसँग घाँटी जोड्नुभएको थियो । पञ्चायत ढल्ने अवस्था देखिएपछि संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर प्रचण्डहरुको टोली पनि पञ्चायत विरोधी आन्दोलनमा लागेजस्तो गर्न वाध्य भयो ।
जनआन्दोलन सफल भयो । नेपाली कांग्रेस र वाम मोर्चाको हातमा सरकार आयो । प्रचण्डहरु सडकको सडक नै हुनुभयो । त्यसपछि अहिलेको एमाले अर्थात् तत्कालीन मालेले देशव्यापी संगठन बनायो । चुनावमा एमाले प्रतिपक्षी दल बन्यो, प्रचण्डहरु नौ सिटमा खुम्चनुपर्यो । चुनावी बाटोबाट सरकारमा पुग्न पनि नसकिने तथा चुनावी बाटोमा एमालेलाई जित्न नसकिने प्रचण्डले ठहर गर्नुभयो ।
यही ठहरको परिणाम थियो जनयुद्ध । प्रचण्डले कैयन भाषण तथा दस्तावेजमा अहिलेकै बाटोबाट ठूलो पार्टी बन्न नसकिने भनेर त्यसबेला लेख्नुभन्नुभएको थियो । केही समय जनयुद्ध गर्ने, उग्रवादी बाटोमा जाने अनि फर्किएर आएर ठूलो पार्टी बन्ने सुनियोजित योजनासाथ जनयुद्ध थालियो । प्रचण्ड बाबुरामहरुले भारतमा बसेर जनयुद्ध चलाउनुभयो । भारतमै बसेर १२ बुँदे सम्झौता गर्नुभयो । त्यसपछि सत्तासीन हुनुभयो ।
सत्तासीन हुँदा पनि एमाले नै वाधक देखियो । एमालेको तत्कालीन नेतृत्व माधवकुमार नेपाल तथा झलनाथ खनालहरुलाई प्रचण्डले आफ्नो अधिनमा ल्याइसक्नुभएको थियो । एमाले लिंग नछुट्टिने पार्टी बनिसकेको थियो । तर, एमालेभित्र केपी शर्मा ओली भने प्रचण्डको कुत्सित योजनाको प्रतिकारमा लाग्नुभयो । माधव झलनाथहरुले प्रचण्डको उग्रवाद र विदेशी एजेण्डा सामु आत्मसमर्पण गरे पनि केपी ओली भने प्रतिकारमा लाग्नुभयो ।
र, ओलीले एमालेको नेतृत्व लिनुभयो । प्रचण्डको सपना भत्कियो । त्यसपछि प्रचण्डले सके एमाले खाने, नसके पनि फुटाउने रणनीति अपनाउनुभएको जगजाहेर छ । प्रचण्डको त्यो रणनीतिले पूर्णता पाएको दिन हो आज । त्यसैले आज प्रचण्डको हड्डी हासेको हुनुपर्छ । हुनत एमाले फुटेको छैन, चोइटिएको मात्र हो, तैपनि फुटेको भन्दै प्रचण्डले आत्मरती लिइरहनुभएको हुनुपर्छ ।
केपी ओलीको स्वास्थ्य ठिक छैन, कुनै पनि बेला उहाँको ज्यान तलमाथि हुन्छ भन्ने आश र विश्वास प्रचण्डलाई थियो । यही कारण एमालेसँग एकीकरण गर्न तयार हुनुभयो । जतिजति बेला ओलीको स्वास्थ्य बिग्रन्थ्यो, त्यतित्यति बेला प्रचण्डले साधुको रुप धारण गर्नुहुन्थ्यो भन्ने यति चाँडै बिर्सन मिल्दैन । ओली अस्पताल भर्ना हुनासाथ प्रचण्डको रुपरंग र भावभंगिमा अर्कै हुन्थ्यो । भित्र मनमा ब्वाँसो भए पनि बाहिर चाहिँ गाई रुप धारण गर्नुहुन्थ्यो ।
तर, प्रचण्डहरुको दुर्भाग्य, केपी ओलीको मृगौला प्रत्यरोपण अत्यन्त सफल भयो । त्यसपछि हो प्रचण्ड र माधव नेपालहरुले पार्टी फुटाउने बाटो लिएको । अब ओली धेरै वर्ष बाँच्नुहुन्छ, पार्टी कब्जा गर्न सकिँदैन भन्ने उहाँहरुले बुझ्नुभयो ।
माधव नेपालहरुको जत्था एमालेबाट बाहिरिएको छ । तर, यस बीचमा ठूलो राजनीतिक उतारचढाव भएको छ । प्रचण्डको सपना विपरित एमाले र माओवादी बेग्लाबेग्लै भयो । एमाले खान सक्नुभएन । त्यसपछि उहाँले आफ्ना पूराना राजनीतिक दास माधवकुमार नेपाल, झलनाथ खनालहरुलाई प्रयोग गर्नुभयो । एमालेलाई चोइटाउनुभयो ।
जुन एमालेलाई सिध्याउन प्रचण्ड जीवनभर लाग्नुभयो, त्यो एमालेलाई कहिले समाप्त पार्न सक्नुभएन । हो, त्यो एमालेका मुख्य नेताहरुलाई राजनीतिक कमैया भने बनाउनुभयो । एकथरी नेतालाई कमैया बनाए पनि केपी ओलीको उदय भयो, प्रचण्डको सपना साकार भएन । वास्तवमा प्रचण्डको जीवनको पछिल्लो ३५ वर्ष एमालेलाई सिध्याउने योजना बुन्दाबुन्दै बितेको छ ।
अहिले आएर एमालेलाई चोइट्याउन प्रचण्ड सफल हुनुभएको छ । वास्तवमा माधव नेपाल आफ्नो बुँताले, आफ्नो तागत र औकातले फुट्नुभएको होइन । प्रचण्डको काँधमा बसेर, प्रचण्डको काखमा बसेर माधवले पार्टी चोइटाउनुभएको हो ।
प्रचण्डको जीवनको सबैभन्दा ठूलो इगो आज समन भएको छ । एमालेको रीसडाहा गरेर प्रचण्ड र बाबुरामहरुको जीवन बितेको जगजाहेर छ । एमालेलाई चोइटाउन प्रचण्ड सफल हुनुभएको छ । त्यसैले आज प्रचण्डको दाँत र आँतमात्र नभएर हड्डी नै हासेको हुनुपर्छ ।
प्रचण्डको हड्डी हास्दा माधव नेपाल सहित केही दर्जन नेताको राजनीतिक जीवन भने समाप्त भएको छ ।
