नेकपा एमाले फुटेकै हो त ? अहँ, होइन । एमाले फुटेको छैन । फुटाउने प्रयास भएको हो तर फुटाउन सकेनन् । त्यसो भए एमाले के भएको हो त ? यसको सटिक जवाफ हो– चोइटिएको हो । फुट्नु र चोइटिनुमा आकाश पातालको फरक छ । फुट्नु भनेको फक्लक्क दुई फ्याक हुनु हो । अहिले एमाले दुई फ्याक भएको छैन । मूल एमालेलाई असर पर्ने गरी विभाजित भएको पनि छैन । सिर्फ केही नेता बाहिरिएका हुन् । यसलाई फुटेको भन्न मिल्दैन । यो त चोइटिएको हो । चोइटिएकोलाई फुटेको कसरी भन्ने ?
कतिपयले भन्दैछन्– दुई दशक पछि एमाले फुट्यो । यो पनि सत्य होइन । विगतमा वामदेव गौतम, सहाना प्रधान, सीपी मैनाली लगायतका नेताहरुले एमालेका मान्छेहरु लगेर नेकपा माले नामको नयाँ पार्टी बनाउनुभएको थियो । त्यसबेला पनि भनियो– एमाले फुट्यो । तर, चुनाव परिणामले देखायो, एमाले फुटेको थिएन । चोइटिएको मात्र थियो ।
एमालेबाट छुट्टिएकाहरुले आमचुनावमा एक सिट पनि जित्न सकेनन् । एमालेले त्यस अघि जति सिट थियो लगभग त्यति नै जित्यो । चुनावमा एक सिट पनि ल्याउन नसकेपछि माले पार्टी नै एमालेमा विलय भएको थियो । त्यसकारण एमाले विगतमा फुटेको, विभाजित भएको थिएन । अहिले पनि विभाजित भएको छैन ।
त्यसबेला वामदेव गौतमहरुले मालेमा एमालेका लगभग आधा सांसद् लैजानु भएको थियो, आधा जति नै केन्द्रीय सदस्य लैजानुभएको थियो । कार्यकर्ताको ठूलो पंक्ति मालेमा लागेको थियो । त्यति हुँदा पनि त्यो फुटेको ठहरिएन, एक सिट पनि नल्याउने हैसियत भयो । अहिले त त्यस्तो अवस्था हुँदै होइन । माधवकुमार नेपालहरुले केही सांसद् मात्र लैजानुभएको छ, केन्द्रीय समितिका केही सदस्य मात्र लैजानुभएको छ, केही कार्यकर्ता मात्र लैजानुभएको छ ।
त्यसबेला माले एक्लैले आमसभा गर्ने हैसियत राख्थ्यो, एमालेको जत्रैजत्रै आमसभा गरेको पनि हो । तैपनि त्यो विभाजन ठहरिएन, चोइटिएको मात्र ठहरियो । अहिले त चोइटिएकै हो । चोइटिएर गएकाहरुलाई भावी चुनावपछि एकमुखे रुद्राक्ष खोजे जसरी खोज्नुपर्ने अहिले नै निश्चित देखिन्छ । अनि, कसरी एमालेलाई विभाजित भएको मान्ने ? कसरी फुटेको मान्ने ? एउटा सानो टुक्रा चोइटिँदा एमाले जस्तो विशाल पार्टीलाई केही पनि फरक पर्दैन । त्यसैले एमाले विभाजित भएको मान्न सकिन्न ।
माधव नेपालहरु जँदा एमालेलाई संगठनात्मक रुपमा एक प्रतिशत पनि फरक पर्दैन । औंलामा गन्न पुग्ने मानिस भेला गरेर पार्टी बन्छ र ? औंलामा गन्न पुग्ने मानिसहरु जाँदा फुटेको भन्न मिल्छ र ?
माधव नेपालहरुको नयाँ पार्टीको हैसियत एउटा आमसभा गर्ने पनि छैन । काठमाडौंको खुलामञ्च भर्ने त कुरै छाडौं, गाउँका विद्यालयको प्राङगण भर्ने सामथर््य पनि यो पार्टीसँग छैन । कांग्रेस र माओवादीले मान्छे पठाइदिए भने माधव नेपालहरुको पार्टीले कोणसभा सम्म गर्न सक्ला, आमसभा त गर्न सक्दैन । अनि, कसरी एमाले फुटेको भन्ने ? सिर्फ चोइटिएको हो ।
उहिले एमालेबाट माले जन्मनुमा केही वैचारिक, केही रणनीतिक कारण थिए । त्यसबेला तत्काल सरकारमा जाने हैसियत पनि मालेसँग थिएन । तैपनि फुटेको थियो । तर, अहिले सिर्फ मन्त्री पदका लागि र केही रकमका लागि एमाले फुटेको हो । हेरिरहनु होला, फुटेकाहरु एक दुई दिनभित्र पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको पाउमा पर्नेछन्, केही थान मन्त्री पद पाउनेछन् । केही थान राजनीतिक नियुक्ति पाउनेछन् । त्यसैमा रमाउनेछन् । सिर्फ मन्त्री बन्न एउटा जत्था पार्टी छाडेर जान्छ भने त्यसलाई फुटेको भन्न कसरी मिल्छ ?
वास्तवमा एमाले चोइटिएको पनि होइन । माधव नेपालहरु आफ्नै बुद्धि विकेकले एमाले छाडेर जानुभएको होइन । उहाँहरुको स्वतन्त्र विवेक छैन । उहाँहरुले कांग्रेस र माओवादीको पाउमा विवेक बन्दकी राख्नुभएको छ । केही दिन सत्ताको स्वाद लिन उहाँहरुले आँखा छोप्नुभएको छ । वास्तवमा माधव नेपालले एमाले चोइटाउनुभएको पनि होइन । माधव नेपालको औकात र हैसियत एमाले चोइटाउन सक्ने खालको छैन । प्रचण्ड र देउवाको काँधमा बसेर माधवले भाँडाकुटी खेल्नुभएको हो । बालबालिकाले भाँडाकुटी खेल्दा बनाएको घर, भान्सा, चुल्होचौका र खानेकुरा जस्तो हो, माधवको पार्टी त्यस्तै हो । माधवको पार्टीको नाम ‘भाँडाकुटी’ राख्दा चाहिँ उपयुक्त हुन्छ ।
मन्त्री खान मरिहत्ते अपहत्ते गर्ने, जीवनमा पहिलो तथा अन्तिम पटक मन्त्री बन्छु भनेर प्राण हत्ते हाल्ने, केही थान खुद्रे राजनीतिक नियुक्ती खान अपहत्ते गर्नेहरु, मन्त्रीको पिए तथा सवारी चालक बन्न चाहनेहरुको जमातले एमाले छाडेर नयाँ पार्टी बनाएको हो । नयाँ पार्टी बनेको सत्य हो तर एमाले फुटेको या विभाजित भएको सत्य होइन । एमाले सिर्फ चोइटिएको हो ।
कतिपयलाई लागेको छ– माधव नेपालहरु चोइटिँदा एमालेलाई ठूलो क्षति हुन्छ । यो कुरा पनि तथ्यसंगत छैन । माधव नेपालहरु चोइटिँदा एमालेलाई क्षति हुँदैन, बरु फाइदा हुन्छ । कतिपय मानिसहरु एमालेमा कीर्ना र जुम्राका रुपमा रहेका थिए । त्यस्ता मान्छेहरु चोइटिएर जाँदा एमालेलाई कसरी घाटा हुन्छ ? बरु, फाइदा हुन्छ । माधव नेपालहरुको कारणले एमालेको संगठन निष्क्रिय जस्तै भइसकेको थियो । अब एमालेको संगठन जाग्छ । जिल्लाजिल्लाबाट एमालेका केही कीर्ना र जुम्राहरु पनि माधव नेपालको पार्टीतिर लाग्लान् । यसले त एमालेको शुद्धिकरण पो हुन्छ, कसरी घाटा हुन्छ ?
हो, सैद्धान्तिक वैचारिक विभाजन भएको भए संख्यालाई गौण मानेर विभाजन या फुटेको पनि भन्न सकिन्थ्यो । माधव नेपालहरुको एमालेमा के सैद्धान्तिक विमति थियो ? के वैचारिक असहमति थियो ? बहुदलीय जनवादमा उहाँहरुको कुनै असहमति थिएन । विचार सिद्धान्त नमिलेर हिँडेको भए पनि एउटा कुरा, पद पाइनँ, कमाउन पाइनँ भन्दै कोही मानिस हिँड्छ भने त्यसलाई पार्टी विभाजन भन्न कसरी मिल्छ ?
माधव नेपालले बारम्बार भनिसक्नुभएको छ– ‘मलाई मानसम्मान पुगेन ।’ मानसम्मान भन्ने चिज मागेर पाइँदैन । यो त आफ्नो कर्मले आर्जन गर्नुपर्छ । माधव नेपाललाई दुईटा चिज चाहिएको थियो– एउटा हो मानसम्मान, अर्काे हो अध्यक्ष पद । अध्यक्ष पदमा चुनाव लड्ने, चुनाव हार्ने अनि त्यही पद रोइकराई गरेर माग्ने कस्तो राजनीति हो । माधव नेपालले सांसद् पद जित्नुभएको हो । चुनावमा उहाँसँग हार्नेले सांसद् पद तपाईं छाडिदिनुस्, मलाई दिनुस् भन्यो भने माधवले दिनुहुन्छ ?
मानसम्मान र हारेको पद नपाएकाले पार्टी छाडेर हिँड्ने नेपालको पहिलो र एकमात्र नेता माधवकुमार नेपाल हो । उहाँले कुनै विचार सिद्धान्तका आधारमा पार्टी छाड्नुभएको पनि होइन र नयाँ विचार बोकेर पार्टी खोल्नुभएको पनि होइन । अनि, कसरी एमाले फुट्यो ? सिर्फ चोइटिएको हो ।
माधव नेपालको व्यक्तिगत हैसियत भने उच्च छ । नेपालमा विगतमा मानिस कुन पदमा पुगेको थियो भन्ने आधारमा हैसियत दिने चलन छ । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैले अहिले भुपू प्रधानमन्त्री हो । भुपू प्रधानमन्त्री भएको हुनाले माधवले पार्टी छाड्दा एमाले फुटेको, विभाजित भएको कतिपयले भनेका होलान् । अनि, कतिपयले चाहिँ एमालेलाई कमजोर पार्न सकिन्छ कि, एमालेर्लाइ ताछ्न खुइल्याउन पाइन्छ कि भनेर माधवहरुले पार्टी छाड्दा एमाले विभाजित भनेका छन् ।
निश्चित छ– आगामी दिनमा एमाले विभाजित भएको, फुटेको भन्दै कोकोहोलो मच्चाइनेछ । माधव नेपालहरुको सानो समूहलाई ठूलो पार्टीका रुपमा प्रचार गरिनेछ । माधव नेपालहरुलाई वेलुन फुलाए जसरी फुलाइनेछ । माधव नेपालहरुलाई मन्त्री पद पनि दिइनेछ । तर, चराको उडान र वेलुनको उडानमा के फरक हुन्छ भन्ने सबैलाई थाहा छ ।
आगामी चुनावमा एक सिट ल्याउने त अलि परको कुरा भयो, देशभरी उम्मेदवारी पनि दिन नसक्ने हैसियत भएकाहरुलाई विभाजनको मान्यता दिन सकिँदैन । माधव नेपालको समूहले एमाले छाडेको हो तर सबैले छाडेका होइनन्, माधवको साथमा कैयन दिग्गज नेता कार्यकर्ताहरु थिए, उनीहरु माधवको पछिपछि लागेर गएनन् । आगामी दिनमा माधवको साथमा लागेकाहरु पनि एमालेमै फर्कनेछन् । माधव नेपालहरुको बहिर्गमन राष्ट्रिय राजनीतिमा केही दिन चर्चाको विषय बन्ला तर त्यसले अर्थ राख्दैन । फेसबुक, टिकटक, युट्युबतिर सामान्य मान्छे पनि भाइरल बनिरहेको हुन्छ । त्यही स्तरको भाइरल घटना मात्र हो माधवहरुको बहिर्गमन । केही दिन मिडिया रंगिनेछ तर माधवहरुको समूहको आकार भने झन्झन् घट्दै जाने निश्चित छ ।
अन्तिममा फेरि पनि लेखौं– एमाले फुटेको होइन, विभाजित भएको पनि होइन, एमाले चोइटिएको मात्र हो । एमाले चोइटिँदा शेरबहादुर र प्रचण्डलाई सत्ता टिकाउन केही दिन लाभ होला तर एमालेलाई भने स्थायी लाभ हुनेछ । किनभने एमालेले आफ्नो संगठन शुद्धिकरण गर्ने मौका पायो, शरीरबाट जुम्रा र कीर्ना हटाउने मौका पायो ।
