नेपालका सबैभन्दा भाग्यमानी नेता को हो ? माधवकुमार नेपाल हो । माधव जति भाग्यमानी नेता यो देशमा कोही पनि देखिएन ।
माधवकुमार नेपाल अहिले नयाँ पार्टीको अध्यक्ष हुनुहुन्छ । नयाँ पार्टीको संसदीय दलको नेता पनि हुनुहुन्छ । अर्थात्, दुवै पद माधवको हातमा छ । यी दुवै पद उहाँले चुनाव नलडी पाउनुभएको हो । माधवले पार्टी फुटाएर नयाँ खोल्नुभएको हो । माधव कति भाग्यमानी भने पार्टी फुटाउन पनि उहाँले धेरै मेहेनत गर्नु परेन । जेजति मेहनत गर्नुभयो, पुष्पकमल दाहाल प्रचण्डले गर्नुभयो । पार्टी फुटाएर माधवलाई अध्यक्ष र संसदीय दलको नेता पद दिलाइदिन शेरबहादुर देउवा सहित केही विदेशी शक्तिहरुको पनि मेहेनत परेको छ ।
नेपालको सर्वाधिक लोकप्रिय र ठूलो पार्टी एमाले हो । यो पार्टीको डेढ दशक माधवले नेतृत्व गर्नुभयो । उहाँले सुरुमा पार्टी नेतृत्व चुनाव लडेर हात पार्नुभएको थिएन । जननेता मदन भण्डारी र जिवराज आश्रितले दाशढुंगा दुर्घटनामा जीवन गुमाउनुभएको थियो । त्यसपछि माधवलाई पार्टी महासचिव पद आइलागेको थियो ।
माधवकुमारको पिता पुर्खा भारतमा थिए । सुगौली सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय उहाँकै पुर्खा हो । सुगौली सन्धिमा हस्ताक्षर गरेपछि चन्द्रशेखर भारततिरै भागेका थिए । उतै घरजम गरेका थिए । आफ्नो देश नेपाललाई गद्दारी गरेर सुगौली सन्धिमा हस्ताक्षर गरिदिए वापत अंग्रेजले चन्द्रशेखरलाई भारतमा जागिर दिएका थिए, जग्गाजमिन दिएका थिए । पछि माधवको पुर्खा भारतसँग जोडिएको रौतहटमा बस्न थालेको थियो ।
पुर्खा चन्द्रशेखरसँग नाम गासिँदा राजनीति गर्न सजिलो नहुने देखेपछि माधवले थर फेर्नुभयो । उहाँका दाजुभाईले अहिले पनि उपाध्याय थर लेख्छन् तर माधव भने ‘नेपाल’ थर लेख्नुहुन्छ । उहिले चन्द्रशेखरलाई राजनीति फापेको थियो । उनै चन्द्रशेखरका सन्तति माधवलाई पनि राजनीति फापेको छ । किनभने माधवको भाग्य असाध्यै बलियो छ ।
नेपालमा भुपू प्रधानमन्त्रीको ठूलो हैसियत भएको मानिन्छ । माधव भुपु प्रधानमन्त्री पनि भाग्यका कारण बन्नुभएको हो । नेपालमा सबैभन्दा आश्चर्यसँग कोही प्रधानमन्त्री बन्यो भने माधव नै हो । नेपालमा मात्र होइन, विश्वलाई नै चकित पार्नेगरी माधव प्रधानमन्त्री बन्नुभएको थियो ।
पहिलो संविधानसभा चुनाव माधवले हार्नुभएको थियो । सांसद् पदमै नपुगेपछि प्रधानमन्त्री बन्न सक्ने कुरा आएन । तर, त्यसबेला माधव चोर बाटोबाट संसद्मा पुग्नुभयो । त्यसबेला व्यवस्थापित संसद्मा मनोनीत सांसद् पनि हुन्थे । मन्त्रिपरिषद्को सिफारिसमा माधव सांसद् बन्नुभयो । चुनाव हारे पनि माधवलाई फरक परेन । किनभने उहाँ पार्टी अध्यक्ष हुनुहुन्थ्यो । आफ्नो हात जगन्नाथ गर्दै माधवले आफैंलाई मनोनीत गर्न सिफारिस गर्नुभयो र सांसद् बन्नुभयो ।
चुनाव हारे पनि सांसद् बन्ने विरलै भाग्यमानी यो देशमा छन् । चुनाव हारे पनि सांसद् बन्ने चलन माधवले नै चलाउनुभएको हो । त्यसपछि धेरै मानिस सांसद् बने जसले चुनाव हारेका थिए । चुनाव हारेर पनि मन्त्री प्रधानमन्त्री बन्ने प्रथा सुरुआत गर्ने माधवले धेरैको भाग्य खोलिदिनुभएको छ । माधव नेपालले गत आमचुनाव जित्नुभएको थियो । उहाँ सांसद् पदमा हुनुहुन्छ । तर, नेकपा एमालेको गत महाधिवेशनमा भने माधव पराजित हुनुभएको थियो । चुनाव हारे पनि त्यसलाई जितमा बदल्ने विलक्षण तिकडम माधवसँग छ । उहाँले चुनावमा हार स्वीकार्नुभएन । जिते मात्र स्वीकार्ने, हारेको अवस्थामा अरु टेक्निक लगाएर पासा पल्टाउने खुबी माधवमा छ । माधवले चुनाव हारे पनि पार्टी अध्यक्ष पद चाहियो भनेर माग्नुभयो । अध्यक्ष पद नदिने हो भने पार्टी फुटाउँछु भन्नुभयो । हारेका उम्मेदवारलाई विजयी उम्मेदवारले पद छाडिदिने कुरा भएन । त्यसपछि माधवले पार्टी फुटाउनुभएको हो ।
नेपालका सबैभन्दा भाग्यमानी नेताका रुपमा माधवले सानै भए पनि पार्टीको अध्यक्ष पद हात पार्नुभएको छ । त्यो पनि चुनाव नै नलडी । सानै भए पनि संसदीय दलको नेता पद हात पार्नुभएको छ ।
माधवकुमार नेपालमा देशको प्रधानमन्त्री तथा सर्वाधिक शक्तिशाली पार्टीको प्रमुख हुने खुबी र क्षमता कहिले पनि देखिएन । उहाँको पालामा एमाले खुम्चिएर सानो पार्टी बनेको थियो । त्यसबेला एमालेलाई लिंग नछुट्टिने पार्टी भनिन्थ्यो । खुबी नभए पनि माधवले नेपाली राजनीतिमा रजगज गर्नुभएकै हो ।
माधव नेपालको राजनीतिक चलखेल हेरेर भन्न सकिन्छ– भाग्य होस् त माधवको जस्तो ।
