यशोदा कार्की-
हरेक सन्तानको आफ्नो बुवासँगका अनेक संस्मरण हुन्छन् । वाल्यकालमा तितो लाग्ने घटना युवाकालमा मीठो लाग्छ । बुवाले कराएको, असल बाटोमा लाग्न दवाब दिएको, नियन्त्रणमा राख्न खोजेको जस्ता अनेक घटना हरेक सन्तानको मानसपटलमा जीवनभर रहन्छ ।
उमेर जति बढ्दै जान्छ, वाल्यकालीन स्मरण त्यति प्यारो लाग्छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको प्रसंगमा मेरो पनि बुवासँगका अनेक घटनाको सम्झना छ । यहाँ म बुवासँग प्रत्यक्ष गासिएको नभएर अप्रत्यक्ष गासिएको घटनाको चर्चा गर्छु ।
केही समय पहिले मैले एउटा तस्बिर सामाजिक सञ्जालमा राखेकी थिएँ । तस्बिरमा धेरै नै लाइक र कमेन्ट आयो । अधिकांश कमेन्टमा लेखिएको थियो– ह्याप्पी बर्थ्डे बुवा । अनि कतिपय कमेन्टमा लेखिएको थियो– ह्याप्पी फादरस डे ।
तस्बिर मेरो बुबाको थियो । त्यो दिन न बुबाको जन्मदिन थियो, न बुबाको मुख हेर्ने दिन नै थियो । त्यो पोष्ट बिशुद्ध आफ्नाे बुबाको प्रशंसा र सम्मानस्वरूप गरेकी थिएँ । त्यसो त छोराछोरीको खुसीको लागि त्याग, समर्पण र संघर्षमा जीवन बिताउनुभएका बुवाका लागि दुई शब्द बोल्न अथवा लेख्नलाई विशेष दिन हुन जरूरी पनि छैन । आफ्ना आमाबुवाको तस्विर जतिबेला पनि पोष्ट गर्न सकिन्छ । तर, तपाई हामी बहिरी दुनियामा यतिसम्म हराउन र रमाउन लागेछौ कि तस्बिर देखेरै हामी बुझ्छौ तस्बिरका बाँकी रंगहरु ।
बुवा, जून शब्द आफैमा सम्मानजनक छ । हरेक छोराछोरीका लागि जीवनको पहिलो र सबैभन्दा महान ब्यक्ति बुवा नै हो । एउटा यस्तो व्यक्ति जो आफ्नो सन्तानका लागि प्रेरणा र रोल मोडेल बन्दै सन्तानको सफलताका लागि ठूलो भूमिका खेलिरहनु भएको हुन्छ । अनि, निस्वार्थ माया र आशिर्वादले सधै साहस र उत्साह दिइरहनु भएको हुन्छ ।
त्यसो त बुवाले सधै आफ्नो माया, ममता र स्नेह नदेखाउन पनि सक्नुहुन्छ । तर, उहाँले गर्नुभएको दुःख र परिश्रम, आफ्नो जीवनको सुखसयल छोडेर बिना कुनै अपेक्षा सन्तानको भविष्यका लागि दिनुभएको योगदान कुनै पनि सन्तानले तिरेर तिर्न नसकिने ऋण हो ।
हाम्रो जीवन सृष्टिकर्ता, अहोरात्र खटेर जन्म र कर्म दिने बुवाको बारेमा जति वयान गरे पनि कम नै हुन्छ ।
अलिकता इतिहास हर्ने हो भने नेपाली संस्कृतिको महत्वपूर्ण दिन, एक उत्सवको दिन हो कुशे औंसी । कुशे औँशी पर्व हिन्दू धर्मावलम्बी तथा नेपाली जगतले पवित्र बनस्पति कुश घरमा भित्राएर वर्षभरि धार्मिक, संस्कृतिक कार्य तथा पितृ कार्यमा प्रयोग गरिने चलन रहेको छ । कुनै पनि धार्मिक कार्य कुश बिना सम्पन्न नहुने र कुश घरमा भित्राउनाले लक्ष्मीको वास हुने तथा घरमा सधै शान्ति छाउने विस्वास गरिँदै आएको छ । कुशे औंशीका दिन कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितद्वारा घर घरमा कुश पुराउने गरिन्छ ।
सोही दिनलाई नेपाली समाजले बुवाको मुख हेर्न दिनका रूपमा मनाउने गरेको छ । कुशे औंसी बुवाको सम्मान अनि विशेष समर्पण गर्ने दिन पनि हो । यसै अवसरमा छोराछोरी पनि बिहानै उठेर बुवालाई पूजा गर्ने, बुवालाई मन पर्ने मिठाइ तथा भोजन खुवाउने, मन पर्ने वस्त्र तथा उपहार दिई आदर सम्मान प्रकट गरिन्छ । कुशे औंसीमा बुवाको मुख हेर्दा पुण्य तथा आशिर्वाद प्राप्त हने विस्वास गरिन्छ । बुवा नहुनेहरू विभिन्न पवित्र धार्मिक स्थलमा गई आफ्ना बुवाको नाममा पिण्डदान गर्ने तथा श्राद्ध गरी सिदा दान गर्छन् ।
तथापि वर्तमान अवस्था हेर्ने हो भने सन्तानले बुवा आमालाई हेर्ने कोण पनि बदलिँदै गइरहेको छ । समयको अभावले, आर्थिक संकटले, व्यक्तिगत समस्याले गर्दा आफ्ना पूजनीय बुवाआमालाई अवहेलना गर्ने, वद्धाश्रम लगेर छोडिदिने तथा हेला गर्ने प्रवृत्ति पनि बढ्दै गइरहेको छ । जन्म र कर्म दिने बुवाआमालाई ठेस पुराउने संतानले पक्कै पनि भावी दिनमा त्यस्तो दुष्कर्मको फल भोग्नुपर्ने हुन्छ । हामी यो पनि नबिर्साैं कि मानव जीवन एउटा चक्र हो, आजको सन्तान भविष्यमा आमा बुवा बन्छन् । हामीले हिँडेको बाटो सन्ततिले पछ्याउने छन् । तसर्थ हामीबाट नै सूसंस्कारको थालनी गरौं, भावी पीढिमा पनि पारिवारिक माया, ममता र सम्मान को भावना जगाऊँ । आधुनिकतासँगै आएका विकृतिको लहलहैमा लागेर सन्तानका रुपमा आफ्नो दायित्व पूरा गर्न कोही पनि चुक्नु हुँदैन ।
कुशे औंसी विशेष दिन हो बुबाका लागि । भाद्र कृष्ण–कुशे औँशी अर्थात् बुवाको मुख हेर्न दिन । घरबाट टाढा रहेकाहरुले बुवालाई भेट्न नपाए पनि बुवाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न कुनै भूगोलले छेक्दैन । मेरो बुवा प्रतिको सम्मान, स्नेह र अथाह माया मेरो हृदय मा सधै रहिरहनेछ । मेरो बुवाले दिनुभएको शिक्षा, ज्ञान, माया र आशिर्वादका कारण इमान र स्वाभिमानसाथ बाँच्ने भएकी छु ! मेरो सानोसानो खुसीका लागि बुवाले आफ्नो इच्छा, चाहना र खुसीको कति बलिदान गर्नुभएको होला भन्ने कुनै हिसाब हुन सक्दैन ।
बुढ़ेसकालमा बुवाआमाको लौरी बन्न सकूँ भनेर म प्रार्थना गर्दछु । हरेक सन्तानले वृद्धावस्थाको बुवाआमाको लौरी बन्न सक्नुपर्छ । त्यही लक्ष्य साथ आफ्नो जीवनको कार्यक्रम र योजनाहरु बनाउनुपर्छ ।
सम्पूर्ण बुवाहरु प्रति नमन ।
