--नारायण घर्ती--
नेकपा एमाले जनताकाे पार्टी हाे,गरिब-दु:खीकाे हित गर्ने पार्टी हाे, गरिखानेहरुकाे पार्टी हाे, सर्वहाराकाे पार्टी हाे, युवाहरुकाे पार्टी हाे, राष्ट्र निर्माण गर्ने शक्ति हाे । हालै सम्पन्न पार्टीकाे प्रथम विधान महाधिवेशनले याे कुरालाई पुर्नपुष्टि गरेकाे छ ।
नेकपा एमाले समय सापेक्षित विचार बोक्ने र मजबुत सांगठनिक संरचना भएको पार्टी हो । एमालेले बोकेको विचार अन्तर्राष्ट्रिय दर्शनमा आधारित मात्र छैन, नेपाली समाजको धरातलीय यथार्थसँग मेल खाने पनि छ ।
पार्टीको सांगठनिक संरचना अध्यावधिक छ । कलात्मक, प्रशिक्षित र जिम्मेवारी नेताकार्यकर्ताको उत्पादनबाट मात्र प्रभावशाली पार्टी निर्माण सम्भव छ भन्ने कुरा एमाले नेतृत्वले आत्मसात गरेको देखिन्छ।
हालै सम्पन्न पार्टीको प्रथम एेतिहासिक विधान महाधिवेशनले विस्तृत र प्रतिनिधित्वमूलक निर्णय प्रक्रियाको अभ्यास गर्न सफल भयो । पार्टीको तर्फबाट निर्वाचित देशैभरका स्थानीय तह, प्रादेशिक र संघीय जनप्रतिनिधिहरु उत्साहजनक ढंगले सहभागी हुनुले एमाले जनताबीच निक्कै लोकप्रिय छ भन्ने पुष्टि भयाे । पार्टीका नेताकार्यकर्ताको उत्साहले नै पार्टीलाई थप जीवन्त बनाउने हो ।
ताप्लेजुङदेखि दार्चुलासम्म, झापादेखी कञ्चनपुर सम्मका जनप्रतिनिधि र पार्टी प्रतिनिधिको उत्साह देख्दा एमालेको भविष्य सुनाैलो छ भन्ने पुन: महशुस भयाे । एमालेकाे शक्ति कति भनेर पनि विधान महाधिवेशनले देखायाे । एमालेप्रतिकाे उत्साह पनि बिधान महाधिवेशनबाट पुष्टि भयाे । केही समूह चाेइटिएपनि एमाले ढगमगाएकाे छैन बरु बलियाे भएकाे छ भन्ने पनि विधान महाधिवेशनले पुष्टि गर्याे ।
०७० सालमा भएको पार्टी महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वमा आएपछि पार्टी स्थानीय निर्वाचन, प्रादेशिक र संघीय निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो । भूमिका र विचारका दृष्टिले नेकपा एमाले राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा उभियो । निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले कैयौं जनपक्षीय कामहरु गर्न सफल भयो । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपाली नक्सामा नक्सांकन गर्ने, कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने, विकासका पूर्वाधार निर्माणलाई तिब्रता दिने, पुनर्निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने काम राष्ट्रवादी नेता ओली नेतृत्वको सरकारले गर्याे । तत्कालीन सरकारका उल्लेखित जनपक्षीय कामबारे स्पष्ट पार्न पनि विधान महाधिवेशनको मञ्च महत्त्वपूर्ण रह्यो ।
पार्टी जीवनमा विधान महाधिवेशनले नीतिगत निर्णय गर्छ भने महाधिवेशनले नेतृत्व र कमिटीबारे निर्णय गर्दछ । नेकपा एमाले नीतिगत र सांगीतिक हिसाबले परिस्कृत पार्टी भएको हुँदा यसको आन्तरिक जीवनलाई थप मजबुत बनाउन यस्ता ’फोरम’हरुको महत्त्वपूर्ण भूमिका रहन्छ । नेपालका अन्य पार्टीहरुको स्पष्ट बिधान छैन, समयमा महाधिवेशन हुँदैन, नेतृत्व अद्यावधिक छैन तर नेकपा एमाले यसअर्थमा साच्चिकै परिस्कृत र पृथक छ । एमालेको आन्तरिक जीवनमा उच्च लोकतान्त्रिक अभ्यास छ । यसकारण हामी एमाले कार्यकर्ता हुनुमा गर्व गर्दछौं । पारदर्शी र समय सापेक्षित प्रणालीले नै पार्टी संरचनालाई मजबुत बनाउने हो । जुन कुरा एमालेले अंगिकार गर्दै अगाडि बढेकाे छ ।
पार्टीकाे आन्तरिक नीति र अभ्यासहरुले समग्र राजनीतिमा प्रभाव पार्दछन् । आफ्नो पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्न नसक्ने कांग्रेस र माओवादीले देशमा लोकतान्त्रिक व्यवस्थाका वकालतकर्ता हौं भन्नु ब्यर्थ छ । जुन पार्टीहरु एकाधिकारवादी शैलीमा चलिरहेछन् तिनीहरु कसरी लोकतान्त्रिक हुनसक्छन् ? नेकपा एमाले यस अर्थमा राष्ट्रिय राजनीतिको अपवाद पार्टी हो । जसको आन्तरिक जीवन लोकतान्त्रिक छ । शासन व्यवस्थामा पनि लोकतन्त्रको वकालत गर्दछ । हाम्रो नियमित महाधिवेशन, नेतृत्व अध्यावधिक यसका सबै भन्दा ठूला प्रमाण हुन् ।
नेकपा एमालेले नीतिगत निर्णय मात्र गर्दैन, गरिएका निर्णयहरुको व्यवहारिक कार्यान्वयन पनि गर्दछ । केन्द्रीय कमिटी वा निर्वाचनमा युवा प्रतिनिधित्व, पिछडिएको वर्ग, महिला, अल्पसंख्यकका सन्दर्भमा पनि बिधान महाधिवेशनले थप स्पष्ट व्यवस्था गर्न सफल भयो । एकताबद्ध रुपमा विधान महाधिवेशनबाट तीन वटा दस्तावेज पारित भए ।
पार्टीको मूल मार्गदर्शक सिद्धान्त अनुसार सामुहिक नेतृत्व तहको भावनालाई मजबुत रुपमा अंगिकार गर्दै निर्णयहरु गरिको प्रष्ट देखिन्छ । यसको अभ्यास र कार्यान्वयन पार्टीको आगामी महाधिवेशनमा हुनेछ ।
बिधान महाधिवेशनमा केही 'नवीन सवाल’हरु पनि उठे । कुनैपनि नेताकार्यकर्ता पार्टीमा सक्रियपूर्वक आबद्ध हुने कुरा मात्र महत्त्वपूर्ण होइन, उसको व्यक्तिगत जीवन पनि उत्पादन वा सेवासँग जोडिदै व्यक्तिगत आम्दानीसँग जोडिनुपर्छ भन्ने सवाल पनि उत्तिकै टड्कारो रुपमा उठ्यो । यसप्रकाको प्रावधान र परिस्थितिले मात्र पार्टीलाई दिगो रुपमा मजबुत बनाउनसक्छ भन्ने अनुभूति नेतृत्व तहलाई भएको हुनुपर्छ । पदीय जिम्मेवारी प्रदानका सन्दर्भमा योगदान र क्षमतामा आधारित निर्णयको न्यायोचित अनुभूति दिलाउन पनि बिधान अधिवेशन सफल रह्यो ।
अन्तमा, अनेरास्ववियुको नेतृत्व तहमा रहेको हुँदा विधान महाधिवेशनमा प्रत्यक्ष रुपमा सहभागी हुने मात्र होइन, महत्त्वपूर्ण पूर्व भूमिका निर्वाह गर्ने अवसर यो पंक्तिकारले पनि प्राप्त गरेको थियो । जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियु अध्यक्षले त आफ्नो महत्त्वपूर्ण सम्बोधन गर्ने अवसर नै प्राप्त गर्नुभयो । यस्ता अवसरहरुले नेकपा एमाले युवाहरुलाई पनि महत्त्वपूर्ण अवसर दिने पार्टी हो भन्ने कुरा प्रदर्शीत गर्दछ । बिधानमा कायम गरिएको सत्तरी बर्ष उमेर हदको प्रावधानले पनि युवाहरु माझ सकारात्मक सन्देश प्रवाह गर्दछ । हामी युवाहरू नेकपा एमालेलाई योगदान दिँदै एमालेभित्रै आफूलाई समाहित गरिरहेकाछौं र सधै गर्छाैं ।
आगामी मंसिरमा चितवनमा आयोजना हुने नेकपा एमालेको दशाैं राष्ट्रिय महाधिवेशनले हामी युवा विद्यार्थी लगायत पार्टीका सम्पूर्ण नेताकार्यकर्ताको आकांक्षा सम्बोधन गर्नेछ र पार्टी अझ प्रभावकारी ढंगले अगाडि बढ्ने छ।
(लेखक अनेरास्ववियुका केन्द्रिय उपमहासचिव तथा संगठन बिभाग प्रमुख हुनुहुन्छ)
