सर्वाेच्च अदालतमा अहिले देखिएको विग्रहमा सबैभन्दा मुख्य हात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भएको प्रष्ट देखिन्छ ।
ज्यानमारा उद्योग सञ्चालन गरेर राजनीतिको शिखरमा समेत पुग्न सफल प्रचण्डले सर्वाेच्च अदालतमा प्रचण्ड पथ घुसाउनाले विग्रह आएको हो ।
यस सम्बन्धी केही तथ्य यहाँ प्रस्तुत गरिन्छ :
१– अदालतमा अहिले जे भइरहेछ त्यसलाई ब्ल्याकमेलिङ भन्न सकिन्छ । चोलेन्द्र शमशेर राणा लगायतले वार्गेनिङमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिनुभयो । प्रधानमन्त्री बनाइदिए वापत जेजे दिने भनिएको थियो त्यो नदिने, गाँजेमाजे गर्ने काम भयो । चोलेन्द्र र उहाँको टिमसँग देउवाको स्वार्थ एउटा थियो, प्रचण्डको स्वार्थ अर्काे थियो । स्वार्थ बाझियो । केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देउवालाई राखिदिए वापत चोलेन्द्रले पनि शीर्ष नेता बनेर भाग खोज्न थाल्नुभयो । चोलेन्द्रलाई भाग नदिने, साइड लगाउने उद्देश्यले अहिले वितण्डा सुरु भएको हो ।
२– चोलेन्द्र टिकेको अवस्थामा पनि निरीह नै बन्नुहुनेछ । प्रचण्डहरुलाई न्यायको तराजुमा तौलने न्यायाधीश चाहिएको छैन, आदेश पालक न्यायाधीश चाहिएको हो । चोलेन्द्र आदेश पालक नबनेर आदेश दिन थाल्नुभयो । त्यसैले चोलेन्द्रलाई हटाउनुपर्ने भयो । चोलेन्द्रलाई हटाउन प्रचण्ड, कल्याण श्रेष्ठ लगायतका पात्रहरु सफल भएको अवस्थामा नयाँ प्रधान न्यायाधीश जो बने पनि निरीह हुनेछन् । प्रचण्ड र कल्याणहरुको इशारामा फैसला नगरेमा ‘चोलेन्द्र शमशेर’ बनाउनेछन् । अर्थात्, प्रचण्ड कल्याणहरुले सर्वाेच्च अदालतलाई मुठ्ठीमा राख्नुहुनेछ । यही प्रयोजनका लागि अहिले वितण्डा मच्चाइएको हो ।
३– प्रचण्डको राजनीति सकिएकै हो । अब चुनाव लडेर राजनीतिमा जम्न प्रचण्ड र उहाँको समूहले सक्दैन भन्ने सबैले बुझिसकेका छन् । बुलेटको बाटोमा फर्कन सम्भव छैन, ब्यालेटको चुनावमा जित्न सकिन्न, त्यसैले षडयन्त्रको बाटो समाउनुपर्ने परिवन्दमा प्रचण्ड पुग्नुभयो । उहाँले सर्वाेच्च अदालत क्याप्चर गर्न खोज्नुभएको छ । यही कारण सर्वाेच्चमा विग्रह उत्पन्न गराइएको हो ।
४– राज्यका सबै अंग तथा निकाय कब्जा गर्नुपर्छ भन्ने प्रचण्डलाई पहिले नै थाहा थियो । तर, सर्वाेच्च अदालत कब्जा गर्दा कतिसम्म धाँधली गर्न सकिने रहेछ भन्ने प्रचण्डले भरखर भरखर मात्र बुझ्न थाल्नुभएको हो । इजलाशबाटै प्रधानमन्त्री तोक्ने षडयन्त्रका मुख्य निर्देशक प्रचण्ड नै हुनुहुन्थ्यो । अदालतबाट जे पनि गर्न गराउन सकिन्छ भन्ने प्रचण्डले बुझ्नु नेपालको न्यायालयका लागि दुर्भाग्य भयो । जगजाहेर छ– इजलाशबाट प्रधानमन्त्री तोक्दा न्यायाधीशहरु लोभ–पापमा फसेका थिए । लोभ–पापजस्तो कुकृत्यलाई अर्काे शब्दमा प्रचण्डपथ भन्न सकिन्छ । अर्थात्, अदालतमा प्रचण्डपथ पसेपछि ताण्डव भएको हो ।
५– चुनाव जितिँदैन त्यसैले चुनाव बाहेकको कुनै बाटोबाट राजनीतिमा पकड राख्ने प्रचण्डको ट्याक्टिस खुलेआम देखिन थालेको थियो । जानकारहरु भन्छन्– प्रचण्डकै मतियारीमा न्यायाधीशहरुसँग सेटिङ भएको थियो । त्यही भएकाले प्रतिनिधि सभाको दोस्रो विघटन अगाडि प्रचण्डले फैसला कस्तो आउनेछ भनेर पहिले नै सार्वजनिक ठोकुवा गरिदिनुभयो । नभन्दै त्यस्तै फैसला आयो ।
६– परमादेशको सेटिङमा न्यायाधीशहरुले केके पाउने भन्ने तय गरिएको थियो । डिजाइन प्रचण्डकै थियो । डिजाइन अनुसार नै चोलेन्द्र शमशेरको भागमा एकजना मन्त्री पर्यो र गजेन्द्र हमाल मन्त्री बनाइनुभयो । त्यस बीचमा प्रचण्डको माग बढ्दै गएको थियो । नेकपाको मुद्दा उल्टाउने, एमाले र माओवादी विघटन गरेर पूरानो नेकपा ब्यूँताउने प्रचण्डको प्रयास थियो । नेकपा ब्युँताएर सूर्य चिन्ह र एमालेको संगठनात्मक, ऐतिहासिक तथा वैचारिक विरासत अपहरण गर्न सके मात्र राजनीतिमा टिकिन्छ भन्ने बुझेरै प्रचण्ड लागिपर्नुभएको थियो । चोलेन्द्रले यति असम्भव काम म गर्न सक्दिन भनेपछि खटपट सुरु भयो ।
७– अदालती सेटिङ मिलाउने, संवैधानिक नियुक्ति सबै उल्टाउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्ना हनुमान नियुक्त गर्ने प्रचण्डको सपना थियो । त्यो सपनालाई विपना बनाइदिन चोलेन्द्रले आनाकानी गरेपछि प्रचण्डकै डिजाइनमा अहिले चोलेन्द्र माथि हमला गरिएको हो । चोलेन्द्रका हर्कतहरु हेर्दा उहाँ गलत नै हो । प्रचण्डलाई यति गलत मानिसले पुगेन, चोलेन्द्र भन्दा खराब मानिस चाहियो । त्यसैले प्रचण्डले अदालत तहसनहस पारिदिने, जो प्रधानन्यायाधीश र न्यायाधीश भए पनि आफ्नो इशारामा मात्र निर्णय गराउने परिपञ्च मिलाउन खोज्नुभएको हो । यसैका लागि अहिले सर्वाेच्च अदालतमा वितण्डा सुरु गरिएको हो ।
८– वस्तुत अहिलेको वितण्डा नयाँ होइन । प्रतिनिधि सभाको पहिलो विघटनमा फैसला गर्दा नै अदालतले बाटो विराइसकेको थियो । खिलराज रेग्मी बन्ने चोलेन्द्रको महत्वाकांक्षाका कारण अदालतमा झन् धेरै प्रदूषण फैलिएको थियो । विघटनमा दोस्रो फैसला गरेपछि अदालत पनि एउटा पार्टी जस्तो बन्न गयो । अदालत नामको पार्टीमा आफ्नो अह्रन खटन चलोस् भनेर प्रचण्ड अगाडि बढ्नुभयो । पहिले प्रचण्डले अदालतमा सेटिङ मात्र मिलाउने गर्नुभएको थियो । अब चाहिँ आदेश नै चलोस् भन्ने चाहनुभयो । त्यसैको परिणाम हो अहिलेको गडबडी ।
९– न्यायालयमा भ्रष्टाचार र न्यायाधीशहरुको भ्रष्टिकरण नयाँ विषय होइन । गोप्य विषय पनि होइन । नेपालको सर्वाधिक भ्रष्टाचार र घूसखोरी हुने निकाय न्यायालय पनि हो । भ्रष्टाचार र घूसखोरी व्यापक हुने ठाउँमा प्रचण्डको आँखा लाग्नु स्वाभाविक हो । न्यायालयभित्र विभिन्न माफीया छन् । सबै खाले माफिया प्रचण्डका समर्थक बनेका छन् । कांग्रेस समर्थक माफियाहरु पनि प्रचण्डको मुठ्ठीमा छन् । त्यसैले नागरिक समाजसँग नजिक भएका, लोकतन्त्रवादी हुँ भन्नेहरु, एनजीओवादीहरु, सबै खाले गिरोहले प्रचण्डको बोलि बोल्न थालेका छन् । प्रचण्डका लागि यो ठूलो सफलता हो । प्रचण्डको सफलतामा न्यायालय भने ....लय जस्तो बन्न थालेको छ ।
