रमला तुलाधर-
यो पृथ्वी मानिसको मात्र होइन, सबै प्राणीको हो । पृथ्वी साझा घर हो । यस्तो सन्देश विभिन्न चाडपर्वहरुले दिने गरेको छ । त्यसमध्ये विश्वकै विलक्षण चाड नेपालको तिहार हो ।
तिहार मानिसको मात्र चाड होइन । गाई, गोरु, कुकुर र कागको पनि चाड हो । पशुपंक्षीलाई समेत पुज्ने नेपालको संस्कृति विश्वमै अद्धितीय छ । समस्त प्राणीप्रतिको प्रेम, प्राणीको कल्याण, प्रकृति प्रेमका दृष्टिले तिहार विश्वकै लागि अनुपम र उदाहरणीय छ ।
तिहारमा गाई, काग, गोरु र कुकुरको पूजा गरिन्छ । पूजा भनेको धार्मिक विधिविधान मात्र होइन । यसले पशुपंक्षी तथा समस्त प्राणीलाई मानवले गर्ने प्रेम, स्नेह र संरक्षण पनि झल्काउँछ । तसर्थ, नेपालको तिहार नेपालको मात्र नभएर विश्वकै चाड हो र हुनु पनि पर्छ ।
अन्तराष्ट्रिय गाई दिवस, अन्तराष्ट्रिय कुकुर दिवस, अन्तराष्ट्रिय गोरु दिवस, अन्तराष्ट्रिय काग दिवस मनाउन सबैभन्दा उपयुक्त दिन नै तिहारका पाँच दिन हुन् ।
हुनत कतिपय देशका कतिपय मानिसले गाई, काग, कुकुर, गोरु दिवस घोषणा गरेका छन् । उनीहरुको त्यस्तो घोषणालाई अन्यथा लिन हुँदैन । उनीहरुले प्राणी प्रेमकै लागि त्यसो गरेका हुन् । तर, दिवस मनाउनु र दिवस तोक्नुका पछाडि ठोस कारण हुनुपर्छ । त्यस्तो दिवसलाई विश्व समाजले अपनाउनका लागि तर्कपूर्ण र न्यायपूर्ण कारणहरु हुनुपर्छ । त्यसरी घोषणा गरिएका दिवसलाई कुनै पनि देशको सरकार तथा विश्व संस्थाहरुले मान्यता दिएको देखिँदैन । तथापी, त्यसरी गरिएका प्रयासलाई प्रशंसा नै गर्नुपर्छ । उनीहरुलाई नेपालको तिहार चाड र यसमा गरिने पशुपंक्षी पूजा थाहा पक्कै नहोला । थाहा भएको भए उनीहरुले नेपालको तिहारका दिनहरुलाई नै कुकुर, काग, गाई र गोरुका अन्तराष्ट्रिय दिवसका रुपमा मनाउँथे होलान् ।
तिहार नेपालमा मात्र मनाइँदैन, भारत लगायतका देशहरुमा पनि मनाइन्छ । विशेषगरी हिन्दू, बौद्ध, किराँत, जैन, शिख धर्मावलम्बीले एक या अर्काे प्रकारले तिहार मनाउने गरेका छन् । यी धर्मावलम्बीहरु विशेषगरी नेपाल र भारतमा छन् । अर्थात्, ठूलो संख्यामा मानिसले तिहार मनाउँछन् । काग, कुकुर, गाई र गोरुको पूजा गर्छन् । करोडौं मानिसले पुजा गर्ने, सम्मान दिने दिनलाई नै सम्बन्धित पशुपंक्षीको अन्तराष्ट्रिय दिवसका रुपमा मनाइनुपर्छ । यसो गर्नु न्यायपूर्ण र औचित्यपूर्ण पनि छ ।
अन्तराष्ट्रिय गाई दिवस लक्ष्मी पूजा या गाई पूजाको दिन मनाउनु वाञ्छनीय हुन्छ । त्यसैगरी काग तिहारका दिन अन्तराष्ट्रिय काग दिवस मनाइनुपर्छ । कुकुर तिहार नै अन्तराष्ट्रिय कुकुर दिवस हो । गोरु तिहारका दिन अन्तराष्ट्रिय गोरु दिवस मनाउनु औचित्यपूर्ण होइन र ?
जसले धार्मिक विधिविधान सहित तिहार मनाउँदैनन्, उनीहरुले अन्तराष्ट्रिय दिवस मनाउनुपर्छ । काग तिहार, गाई तिहार, गोरु तिहार, कुकुर तिहारलाई अन्तराष्ट्रिय दिवस घोषणा गरिनुपर्छ । यसका लागि नेपाली समुदाय नै अगाडि सर्नुपर्छ । विश्वभरी छरिएर रहेको नेपाली समुदायले तिहारका विभिन्न दिवसलाई सम्बन्धित प्राणीको अन्तराष्ट्रिय दिवसका रुपमा प्रचार गर्नुपर्छ ।
तिहार विश्व सम्पदा पनि हो । तिहारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हामीले आवाज उठाउनुपर्छ । नेपाल सरकारले पहल लिनुपर्छ । अन्तराष्ट्रिय गाई दिवस, अन्तराष्ट्रिय कुकुर दिवस, अन्तराष्ट्रिय गोरु दिवस र अन्तराष्ट्रिय काग दिवस घोषणा गर्ने काम संयुक्त राष्ट्रसंघ, युनेस्को, विश्व वन्यजन्तु संरक्षण कोषले गर्नुपर्छ । यसका लागि नेपाली समुदाय तथा विश्वभरीका समस्त प्राणीप्रेमी, प्रकृतिप्रेमीहरुले उनीहरुलाई अपिल गर्नुपर्छ ।
नेपाल सरकारले काग, कुकुर, गाई र गोरु तिहारका दिनलाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गर्नुपर्छ र विश्व संस्थाहरु समक्ष अपिल पनि गर्नुपर्दछ । मुख्य कुरा, यसका लागि समस्त नेपाली नै अगाडि सर्नुपर्छ । हरेक नेपालीले गाई, गोरु, काग र कुकुर तिहारका दिनलाई सम्बन्धि प्राणीको अन्तराष्ट्रिय दिवस पनि हो भनेर प्रचार गर्नुपर्छ । सामाजिक सञ्जालमा लेख्नुपर्छ ।
मानिसले आफ्ना लागि मात्र सोंच्नु हुँदैन, अरुका लागि पनि सोंच्नुपर्छ । समस्त प्राणीका लागि सोंच्ने र योगदान गर्ने दायित्व मानिसको हो । यो मानव कर्तव्य निर्वाह गरौं । यसका लागि गाई, गोरु, कुकुर र काग तिहारलाई अन्तराष्ट्रिय दिवसका रुपमा प्रचार गरौं ।
