शोभाश्री शाक्य-
केही वर्ष अघि विश्व बाघ दिवसको समाचार पढ्दै थिएँ । गैंडा दिवस चाहिँ छ कि छैन भन्ने जिज्ञासा भयो । इन्टरनेटमा सर्च गर्दा गैंडा दिवस पनि मनाइँदो रहेछ भनेर खुसी लाग्यो ।
तीन वर्ष अघि मेक्सिकोमा कुकुर तिहार मनाइएको समाचार पढ्दा झन् खुसी लाग्यो । कुकुर तिहार मात्र होइन, काग, गोरु र गाई तिहार पनि विश्वभरी मनाउनुपर्ने चाडपर्व हो । पशुपंक्षी तथा प्राणी जगतको सम्मान, कदर र प्रवद्र्धन गर्ने तिहार पर्वका प्रत्येक दिन विश्वका लागि अनुकरणीय छ ।
म कुकुरसँग अभिन्न रुपमा गाँसिएको छु । कुकुरको सेवा, व्यवस्थापन, उपचार र उद्धारको क्षेत्रमा केही वर्षदेखि काम गरिरहेकी छु । कुकुरको उद्दार र उपचारको क्षेत्रमा काम गर्दा अन्य पशुपंक्षीको समस्या पनि साक्षात्कार गर्नुपर्ने हुन्छ ।
पशुपंक्षीको उद्धार र व्यवस्थापनको क्षेत्रमा काम गर्दा मैले मानिस र कुकुरको अभिन्न सम्बन्धको अचम्मलाग्दा दृष्य सयौं देखेकी छु । कुकुर हजारौं वर्षदेखि मानव समाजको अंग हो । मानव समाजको सदस्य हो । मानव सभ्यता यहाँसम्म आइपुग्न कुकुर, गाई, गोरुको ठूलो योगदान छ । पंक्षीका रुपमा कागले मानवलाई ठूलो योगदान गरेको छ । योगदानको कदर गर्ने काम तिहार चाडका पाँच दिनमा गरिन्छ ।
मानिससँग असाध्यै निकट र समाजलाई ठूलो योगदान गर्दै आएको कुकुर, गाई, गोरु र पंक्षीका रुपमा रहेको कागको नाममा पनि अन्तराष्ट्रिय अथवा विश्व दिवस हुन आवश्यक छ । यस्तो दिवस तिहारको अवसरमा मनाइनु उपयुक्त हुन्छ भनेर नेपालबाट अभियान थालिएको छ । यो अभियानमा साथ र सहयोग दिनु सम्पूर्ण नेपालीको कर्तव्य हुन आएको छ ।
तिहार करोडौं मानिसले मनाउँछन् । भारतीय उपमहाद्धिपका हिन्दू, बौद्ध, शिख, इसाई, जैन, बोन, किराँत तथा अन्य विभिन्न प्राकृत धर्म मान्नेहरुले एक या अर्काे प्रकारले तिहार मनाउँछन् । तिहारलाई दिपावलीका रुपमा भारतमा मुस्लिम समुदायले पनि मनाउँछ । नेपालमा पनि काठमाडौंका रैथाने मुसलमानहरुले आफ्नै तरिकाले दिपावली मनाउने गरेका छन् । तिहार या दिपावली मनाउनुको अर्थ हो गाई, कुकुर, गोरु र कागको कदर गर्नु ।
याे पनि पढाैं
करोडौं मानिसले जुन दिन गाई, कुकुर, गोरु र कागको पूजा गर्छन्, पूजा नगर्नेले कदर भए पनि गर्छन्, सो दिनलाई नै यी पशुपंक्षीको अन्तराष्ट्रिय या विश्व दिवसका रुपमा मनाउनु उपयुक्त हुन्छ भनेर विश्व समाजलाई हामी सबै मिलेर बुझाउनुपर्छ ।
हरेक दिन कुनै न कुनै विश्व दिवसका रुपमा मनाइन्छ । कहिले विश्व क्यान्सर दिवस मनाइन्छ भने कहिले विश्व व्हेल दिवस मनाइन्छ । कहिले हात धुने विश्व दिवस मनाइन्छ भने कहिले धुमपान विरोधी दिवस मनाइन्छ । कहिले विश्व बाघ दिवस मनाइन्छ भने कहिले सरिसृप दिवस मनाइन्छ । खोई त कुकुर, गाई, गोरु र कागको दिवस ?
यी चार जिवको अन्तराष्ट्रिय विश्व दिवस मनाउने सबैभन्दा उपयुक्त दिन तिहार हो । गाई तिहारका दिन विश्व गाई दिवस मनाउनुपर्छ । कुकुर तिहारका दिन विश्व कुकुर दिवस मनाउनुपर्छ, गोरु तिहारका दिन विश्व गोरु दिवस मनाउनुपर्छ । त्यसैगरी काग तिहारलाई विश्व काग दिवसका रुपमा मनाउनुपर्छ ।
अन्तराष्ट्रिय या विश्व दिवस मनाउनुको खास उद्देश्य हुन्छ । त्यस्तो दिवसले सम्बन्धित पशुपंक्षीको संरक्षण, संवद्र्धनको सन्देश दिन्छ । प्राणीलाई प्रेम गर्नुपर्छ, पृथ्वी सबै प्राणीको साझा घर हो भन्ने सन्देश दिन्छ । यस्ता दिवसले प्रकृति र प्राणीको संरक्षणका लागि व्यक्ति तथा समाजलाई जागरुक बनाउँछ ।
यस वर्षदेखि कुकुर, काग, गोरु र गाई तिहारलाई अन्तराष्ट्रिय अर्थात् विश्व दिवसका रुपमा मनाउने अभियान नेपालबाट सुरु गरिएको छ । हामीले तिहारलाई चाडपर्वका रुपमा मात्र नभएर विश्व दिवसका रुपमा पनि मनाउन आवश्यक भएको छ । यसमा सबै नेपाली लागिपर्नु आवश्यक भएको छ । यो कुरा विश्वलाई बुझाउनु सबै नेपालीको कर्तव्य भएको छ ।
