–सुसन धमला
अमेरिकामा देउसी–भैलीलाई सबैभन्दा अपनाएको एउटा समुदाय छ । त्यो समुदाय हो– भूटानी । अमेरिका बसेका नेपालीहरु नै भन्छन्– ‘हामीले भन्दा संस्कृतिलाई भूटानीहरुले माया गर्ने गरेका छन् ।’ भूटानले नेपाली संस्कृतिमाथि प्रतिवन्ध लगायो, लाखौंलाई लखेटेर नेपाल पठायो । उनीहरु शरणार्थीका रुपमा नेपाल आए, शिविरमा बसे, पछि अमेरिकाले उनीहरुलाई लग्यो । आफ्नो धर्म संस्कृति मान्न नपाउँदा पीडित बनेका भूटानीहरुले अमेरिका पुगेपछि आफ्नो संस्कृतिलाई झन् माया गरे ।
अमेरिका, युरोप तथा नेपाली भएका सबै देशमा नेपालीले देउसी भैलीलाई बँचाएर राखेका छन् । तर, स्वदेशमै देउसी भैलीको मौलिकता जोगिएको छैन भने विदेशमा मौलिकता खोज्नुको अर्थ पनि हुँदैन । नेपालमा परम्परागत संस्कृति धमिलो हुँदै जान थालेको छ । देउसी भैली यसको एउटा उदाहरण हो ।
तिहारको रौनक भनेको देउसीभैली नै हो । लक्ष्मी पूजाको दिन घर घरमा लक्ष्मी पूजा गरेपछि रातभर गाइने गाथालाई भैली भनिन्छ भने लक्ष्मी पूजाको भोलि पल्ट गोवर्धनपूजा सकेपछि देउसी खेल्ने गरिन्छ । कतिपय स्थानमा तिहारमा सुरुभएको देउसी एकादशीसम्म पनि चल्ने गर्दछ । अचेल परम्परागत देउसीभैली हराउँदै जान थालेको छ । देउसी भैली भनेको लोक र व्यक्तिव्यक्तिले सिर्जना गर्ने समय पनि हो । देउसी भैलीले लोक संगीतलाई हलक्कै माथि उठाएको थियो ।
तर, आजकाल मौलिक र सिर्जनशील तरिकाले देउसी भैली खेल्न छाडिएको छ । स्पीकरमा गीत बजाएको भरमा देउसी भैली चल्न थालेको छ । देउसी भैली संस्कृति मात्र होइन, संगीत पनि हो । देउसी भैलीको आफ्नै प्रकारको सांगितिक ढाँचा छ । त्यो ढाँचा मर्दै गएको छ ।
अचेलको देउसीभैलीमा हामी प्रष्ट रुपमा मौलिकता हराएको देख्न सक्छौँ । पुराना पुस्ताका देउसी र अहिलेका पुस्ताको देउसीमा आकाश पतालको फरक रहेको छ ।
देउसी र भैलीको फरक परम्परागत रुपमा देउसी पुरुषले र भैली महिलाले खेल्थे । लक्ष्मीपूजाको दिन पूजा सकेर रातभर घरघर गएर महिलाले गाउने गाथा नै भैली हो । लक्ष्मीपूजाको भोलिपल्ट गोर्वधनपूजा सकेर घर–घर गएर देउसी खेल्ने गरिन्छ । देउसीमा पनि भैलीको झैंं एकजनाले भट्याउँछ र अरुले ‘देउसुरे’ या ‘देउसिरे’ भन्छन् ।
देउसी र भैलीको रोचक पक्ष भनेको कथा हो । भट्याउनेले भट्याउँदा कथा भन्दै जान्छ । कथा विभिन्न हुनसक्छन् । भट्याउनेको खुबी कस्तो छ भन्नेले देउसी भैली टोलीको प्रभावकारिता निर्धारण हुन्छ । भट्याउने क्रममा कथा र लोकको गाथा भन्ने चलन हराउँदै गएको छ ।
एकजनाले भट्याउने र बाँकीले देउसुरे या भैलेनी भनेर कोरस गायन गर्ने एउटा तरिका भयो । सामूहिक गायन अर्काे तरिका हो ।
भैलीको एउटा छोटो नमुना भैलिनी आईन आगन,बढारी कुडारी राखन हे ! औसी को बारो, गाई तिहारो भैलो हरियो गोबरले लिपेको,लक्ष्मी पूजा गरेको हे ! औंसीको बारो,गाई तिहारो भैलो भैलिनी आईन आगन, गुनिया चोलो माँगन हे ! औसीको बारो, गाई तिहारो भैलो ............................................
देउसीकाे एउटा छाेटाे नमुना
आहै, भन मेरा भाइ हो-देउसिरे...
हे राम्ररी भन-देउसिरे....
आहै,स्वर मिलाई कन-देउसिरे...
आहै, देउसिरे भन-देउसीरे.....
आहै झिलिमिली झिलिमीली-देउसिरे...
आहै के को झिलिमीली-देउसिरे..
आहै फूलको झिलिमिली-देउसिरे....
आहै बत्तीको झिलिमिली-देउसिरे......
........................
कमजोर हुँदै गएको आशिष
देउसी भैली किन यति धेरै विस्तारित भयो ? किन यति लोकप्रिय भयो ? एउटा मुख्य कारण आशिष हो । देउसी भैली खेल्ने टोलीले सम्बन्धित घर परिवारलाई कोरस गायन सहित विभिन्न आशिष दिन्छन् । देउसी भैलीको सबैभन्दा मुख्य र अनिवार्य तत्व नै आशिष हो । आशिष दिने कामले देउसी भैलीलाई विशिष्ट बनाइदिन्छ ।
आशिष दिने तरिका अझ प्रभावकारि हुँदै जानुपर्नेमा आजकाल विधि पुराउन मात्र आशिष दिइन्छ । देउसी भैलीको मुख्य उद्देश्य नै आशिष दिनु हो भन्ने तथ्य नयाँ पुस्तालाई सिकाउनुपर्ने देखिन्छ ।
युग फेरियो, संस्कृति फेरियो
पहिले देउसीभैलीमा महिला तथा किशोरी गुन्यु चोलीमा हुन्थे, पुरुष दौरा सुरुवाल हुन्थे । साथमा मादल, झ्याली, झ्याम्टा, बासुरी आदि हुन्थ्यो । युग परिवर्तनसँगै पोशाक पनि परिवर्तन हुँदै गएको छ । तैपनि कतिपयले गुन्युचोली र दौरासुरुवालमा सजिएर देउसी भैली खेलेको देख्न पाइन्छ ।
मोवाइल फोनको स्क्रिनले समग्र विश्वको संस्कृति परिवर्तन गरेको छ । नेपाली संस्कृतिलाई पनि स्क्रिनले आक्रान्त पारिरहेको छ । देउसी भैली खेल्नुभन्दा फोनको स्क्रिनमै घोप्टिरहन चाहने नयाँ पुस्ता आएको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन सकेन भने संस्कृति मर्दै जान्छ । अहिलेको मुख्य चिन्ता यही हो । नयाँ पुस्ताले संस्कृतिलाई परिमार्जन र परिस्कार गर्दै लानुपर्ने हुन्छ । देउसी भैलीको हकमा संस्कृति परिमार्जन र परिस्कार हुँदै गइरहेको छैन । बरु, संस्कृतिलाई कुसंस्कृति बनाउने काम भइरहेको छ । देउसी भैलीको मौलिकता नै मर्दै गइरहेको छ ।
नेपाली संस्कृति विश्वका लागि नमूना छ, विश्वमै उत्कृष्ट छ भन्ने देउसी भैलीले पनि प्रमाणित गर्छ । यति सुन्दर देउसी भैलीलाई नयाँ पुस्ताले जोगाउनुपर्छ, जगाउनुपर्छ र फैलाउनुपर्छ ।
