काठमाडौं । धार्मीक कथामा दुई जना पात्र छन् । भस्मासुर र कुम्भकर्ण ।
यी दुवै पात्रले शिवजीसँग वरदान पाएका हुन् । यी दुई दानवको चरित्र भने फरक फरक छ । दुवै शिवजीको वरदान पाएर शक्तिशाली भए, त्यो वरको उचित प्रयोग गर्न सकेनन् र आफैँ सिद्धिए ।
भस्मासुर दानवले शिवजीको कठोर तपस्या गरे । शिवले प्रशन्न भएर वर माग्न भन्नुभयो । उनले आफ्नो हात जसको शिरमा राख्यो त्यो भस्म होस् भन्ने भन्ने वरदान मागे । शिवजीले तथास्थु भनेर वरदान दिनुभयो ।
वरदान त प्राप्त गर्यो तर त्यसको प्रयोग कहाँ गर्ने ? भस्मासुरले जसले वरदान दिनुभएको थियो तिनै भगवान शिवजी माथि प्रयोग गर्न खोज्यो र शिवको शिरमा हात राख्न खोज्यो ।
शिवजीलाई भाग्दाको हैरान । भस्मासुर पछिपछि खेद्ने, शिवजी अघिअघि दौडने ।
यो देखेर भगवान विष्णुले अनर्थ हुनलाग्यो भनि भस्मासुरलाई रोक्ने उपाय खोज्नुभयो । शिवलाई भस्मासुरले खेद्दै गरेको ठाउँमा पुग्नुभयो र भन्नुभयो, ‘किन लखेटेको ?’
भस्मासुरले जवाफ दियो, ‘यिनले दिएको वरदान परीक्षण गर्न ।’
विष्णुले भन्नुभयो, ‘यी हावा जोगीले दिएको वरदान कहाँ लाग्नु, नचाहिएको कुरा, नपत्याए आफ्नै टाउकोमा हात राखेर हेर त ।’
विष्णुको कुरा सुनेर भस्मासुरले आफ्नै टाउकोमा हात राख्यो । शिवजीको वरदानको कारण टाउकोमा हात राखेपछि ऊ आफैँ जलेर भस्म भयो ।
यो त भयो भस्मासुरको कथा । धार्मीक कथाका अर्का पात्र कुम्भकर्णको कथा अलिक फरक छ ।
कुम्भकर्णले पनि शक्ति प्राप्तिको लागि शिवको तपस्या गरे । शिवजीले प्रशन्न भएर वर माग्न भन्नुभयो ।
कुम्भकर्णले आफूलाई संसारको वलशाली हुने वरदान माग्यो । कुम्भकर्णले ६ महिना जागा हुने र एक दिन मात्र सुत्ने वरदान माग्न खोजेको थियो । शिवजीको दर्शन पाएर अताल्लिएको कुम्भकर्णले ६ महिना सुत्ने र एक दिन उठ्ने वरदान माग्यो । शिवजीले तथास्तु भनिदिनुभयो ।
त्यस्तो वलशाली दानव कुम्भकर्ण सुतेको सुतेकै हुने भयो । कुम्भकर्ण ६ महिना सुत्थ्यो । ६ महिनामा एक दिन उठ्दथ्यो, खानपिन गर्दथ्यो फेरि ६ महिना सुत्दथ्यो ।
नेपालमा अहिले त्यस्तै भएको छ । न्याय क्षेत्र अस्तव्यस्त भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायतका न्यायाधीश आफ्नो शक्तिको चरम दुरुपयोग गर्दै राजनीतिक दलका नेतृत्वलाई लखेटिरहेका छन् ।
मन्त्री र राजदुत नियुक्तिको सेटिङमा केपी ओली नेतृत्वको सरकारलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भयो । एमालेले सांसद् पदबाट हटाएकाको मुद्दा सुनुवाइ नै नगरी एमाले फुटाउन अदालतले नै सहयोग गर्यो । विश्वका इतिहासमा र संविधानले कतै व्यवस्था नै नगरेको कुरा अदालतले फलानालाई नै प्रधानमन्त्री बनाउ भनेर परमादेश जारी गरिदियो ।
अहिले यी सबै तथ्य सार्वजनिक भए । हिजो एमाले र राजनीतिक निर्णयमा प्रयोग गरेको शक्ति अहिले सर्वोच्च अदालतका न्यायाधीशले आफ्नै टाउकोमा प्रयोग गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश न्यायालय विरुद्ध आन्दोलनमा उत्रिएका छन् । न्यायाधीशहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै आन्दोलनमा छन् । प्रधानन्यायाधीश आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् । उहाँहरु आफ्नो शक्ति कति छ भनेर आफ्नै टाउकोमा हात राख्दै हुनुहुन्छ ।
भस्मासुरले आफ्नो शक्ति परीक्षण गर्न जसरी आफ्नो टाउकोमा हात राख्दा आफैँ भस्म भयो, नेपालका प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीश पनि त्यसैगरी भस्म हुँदैछन् । प्रधानन्यायाधीश र न्यायाधीश आफ्नो टाउकोमा आफैँ आगो खन्याउँदैछन् ।
न्यायालय माथि गरिएका खेलबाड, न्याय सम्पादन प्रक्रिया माथि गरिएको खेलाँचीले उहाँहरुलाई सिध्याउने छ , भस्म बनाउने छ ।
अब यी प्रधानन्यायाधीश र न्यायाधीशबाट निष्पक्ष न्याय सम्पादन हुँदैन भन्ने कुरा हरेक नेपाली जनताले बुझिसकेका छन् । उनीहरु आफ्नो स्वार्थको लागि कतिसम्म गिर्नसक्छन् भन्ने तथ्य बाहिर आइसकेको छ । अबको विकल्प यी सबैको वहिर्गमन र नयाँ न्यायीक संरचना निर्माण हो भन्ने आवाज सर्वत्र उठिरहेको छ ।
यस्तो अवस्थामा हाम्रो सरकार कुम्भकर्ण नामको पात्र जस्तै निदाएर बसेको छ । सर्वोच्च अदालतको समस्या समाधानको लागि संसद् बैठक बोलाउनु पर्ने हो । सरकारलाई त्यसको कुनै वास्ता छैन् । सर्वोच्चको बबण्डरको विषयमा सत्ता सञ्चालन गर्ने गठबन्धनको आधिकारीक धारणा समेत आउन सकेको छैन ।
न्यायालयमा भएको यत्रो वितण्डाले पनि कुम्भकर्ण सरकार व्युझिएको छैन । ऊ निदाएको निदाएकै छ ।
सोमबार साँझमात्र कुम्भकर्ण सरकारको नेतृत्व गर्ने पाँचदलीय गठबन्धनको बैठक बस्यो । बैठकमा चुनाव कसरी जित्ने, एमालेललाई कसरी ढाल्ने भन्ने बारेमा छलफल भयो, निर्णय भयो । तर न्यायालयमा भएको वितण्डाको बारेमा कुनै छलफल भएन ।
सरकारका प्रवक्ताले लाजै नमानि भन्नुभयो, ‘आजको बैठकमा राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि तथा प्रदेश सभा उपनिर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल भयो, न्यायालयको विषय प्रवेश नै गरेन ।’
धिक्कार छ लाज नभएको कुम्भकर्ण सरकार । न्यायालयमा दैनिक धर्ना र आन्दोलन छ । वकिल कालोपट्टी बाँधेर बसेका छन् । न्यायाधीश इजलास वहिष्कार गरेर आन्दोलनमा छन् । न्याय माग्न गएका नागरिक न्याय नपाएर छट्पटाइ रहेका छन् । तर कुम्भकर्ण जस्तै टन्न खाएर सुत्न पल्किएका गठबन्धनका नेता र सरकार मस्त निन्द्रामा छन् । आनन्दले सुतिरहेका छन् ।
