बिक्रम केसी
भीम रावलले नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसले एमालेको आन्तरिक जीवन र महाधिवेशनमा केके असर पर्छ ? उहाँको उम्मेदवारी कस्तो हो ? किन हो ? केका लागि हो ? यसबारेमा वस्तुनिष्ठ मूल्यांकन हुन आवश्यक छ ।
भीम रावल अनुभवी राजनीतिकर्मी हुनुहुन्छ । उहाँलाई पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने पूर्ण अधिकार छ । त्यो अधिकार उहाँले किन र के कारणले प्रयोग गर्नुभयो भन्ने सम्भावनाका विभिन्न पक्षबारे स्वाभाविक रुपमा चर्चा हुन्छ नै ।
१– रावलले चुनाव जित्न सक्ने अवस्था देखिँदैन । सबैलाई थाहा भएको कुरा हो, एमालेका आम कार्यकर्ता तथा आम जनता केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने पक्षमा छन् । तैपनि उम्मेदवारी दिन खोज्नु रावलले लोकतान्त्रिक अभ्याशमा सहभागी भएर आफ्नो नेतृत्व विकास गर्न चाहनुभएको हुनसक्छ ।
२– महाधिवेशनमा केपी ओलीले भित्री हस्तक्षेप गरेर समर्थन गर्नुभएन भने भीम रावलले कुनै पनि पदमा जित्ने अवस्था छैन । चुनाव हारिन्छ भने किन अरु पदमा हार्ने ? अध्यक्ष पदमै हारौं भनेर उम्मेदवारी घोषणा गर्नुुभएको हुनसक्छ ।
३– भीम रावलको राजनीतिक अतित अत्यन्तै अस्थिर र ढुलमुले देखिन्छ । एकातिर बसेर अर्कातिर सेवा गर्ने, ध्वंश गर्ने, गुट बनाउने उहाँको पूरानो स्वभाव हो । जसरी पनि विवाद र चर्चामा आउने, अतिवादी कदम चाल्ने स्वभाव उहाँको राजनीतिक अतित हेर्दा देखिन्छ । यही स्वभावले निर्देशित भएर उम्मेदवारी घोषणा गर्नुभएको हुनसक्छ ।
४– भीम रावलले वार्गेनिङका लागि उम्मेदवारी घोषणा गर्नुभएको चर्चा व्यापक छ । उम्मेदवारी घोषणा गर्ने त्यसपछि उपाध्यक्ष पद पाउनका लागि वार्गेनिङ गर्ने उहाँको चाहना हुनसक्छ । अर्थात्, अन्तिम समय सम्म रावलको उम्मेदवारी कायम नरहन सक्छ । उहाँले उम्मेदवारी छाड्न पनि सक्नुहुन्छ ।
५– निश्चय पनि भीम रावल एमालेका सिनियर नेता हुनुहुन्छ । केपी शर्मा ओली नेतृत्वको आफ्नै सरकार ढाल्ने गम्भीर अपराधमा संलग्न भएपछि उहाँ पार्टीमा धेरै पछाडि पर्नुभयो । एमालेभित्र तथा सार्वजनिक रुपमा उहाँको हैसियत, शाख र विश्वशनीयता धरासयी भयो । हैसियत र गुमेको शाख फिर्ता गर्ने उद्देश्यले भीम रावलले उम्मेदवारी घोषणा गर्नुभएको हो भने उहाँले फेरि अर्काे गल्ती गरेको ठहरिन सक्छ । किनभने अपूर्व एकतासाथ महाधिवेशन गर्ने एमाले पार्टी पंक्तिको चाहनामा उहाँको उम्मेदवारीले धक्का लाग्न सक्छ ।
६– प्रचण्ड र माधव नेपाल एमालेलाई ध्वस्त पार्न चाहनुहुन्छ । त्यो उद्देश्यलाई परास्त गर्न एमालेले १० बुँदे सहमति गरेको थियो । त्यो सहमतिको सान्दर्भिकता समाप्त भइसकेको छ । तैपनि त्यसलाई बोकेर भीम रावल हिँडिरहनुभएको थियो । अर्थात्, एमाले ध्वस्त पार्ने मिशनमा अझै पनि लागेर रावलले उम्मेदवारी घोषणा गर्नुभएको हुनसक्छ ।
७– विगतमा अध्यक्ष पदमा हारेपछि माधवकुमार नेपालले बेग्लै गुट बनाउनुभएको थियो । आफूले पनि त्यस्तै गर्न सकुँला भन्ने भीम रावलको ध्येय हुनसक्छ । त्यो ठानेर उम्मेदवारी दिनुभएको हो भने सपना पूरा हुने देखिँदैन । किनभने एमालेभित्र विगतमा जसरी गुटगत गतिविधि अब सम्भव देखिँदैन । एमाले कार्यकर्ताजनले गुटगत हर्कतलाई विदा गरिसकेका छन् । त्यसो नभएर लोकतान्त्रिक अभ्याशका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो भने त्यसलाई अन्यथा भन्न सकिन्न ।
८– पार्टी छाडेर गए पनि एमालेभित्र ध्वंस मच्चाउने माधवकुमार नेपालको नियत तथा उद्देश्य मरेको छैन । एमालेलाई भित्रैबाट भत्काउन प्रचण्डले अनेक ट्याक्टिस लगाइरहनुभएको छ । त्यही ट्याक्टिस तथा ग्राण्ड डिजाइन अनुसार उम्मेदवारी घोषणा गर्नुभएको हो भने भीम रावलको साख र विश्वशनीयता अझ खस्कनेछ । माधवको डिजाइन र प्रचण्डको ट्याक्टिस अनुसार उम्मेदवारी नदिएर एमालेलाई बलियो बनाउने उद्देश्यसाथ उम्मेदवारी घोषणा गर्नुभएको हो भने गैरमनासिब भन्न मिल्दैन ।
९– अस्थिर स्वभाव र ढुलमुले चरित्रका वावजुद भीम रावल एक योग्य र सक्षम नेता हुनुहुन्छ । एमालेमा योग्य र सक्षम नेता दर्जनौं छन्, त्यो भीडमा भीम रावल पनि एउटा नाम हो । उहाँले एमालेको अध्यक्ष बन्न चाहनु अस्वाभाविक होइन । जित्दै नजित्ने अवस्थामा पनि उम्मेदवारी दिन खोज्नुले शंका उत्पन्न भएको मात्र हो ।
१०– राजनीति सम्भावनाको खेल हो । भीम रावलले आफूलाई केन्द्रमा राखेर निजी सम्भावना खोज्ने क्रममा उम्मेदवारी घोषणा गर्नुभएको हुनसक्छ । लोकतन्त्रमा व्यक्तिले निजी सम्भावना खोज्न पाइन्छ । यस अर्थमा उहाँको उम्मेदवारीलाई अन्यथा भन्न मिल्दैन । सम्भावनाकै कुरा गर्ने हो भने महाधिवेशनको निर्वाचन प्रक्रियामा सहमति खोज्ने काम पनि हुनेछ । चुनावमा सहमतिको खोजी पनि लोकतान्त्रिक प्रकृया नै हो । त्यो प्रक्रिया सुरु भएपछि भीम रावलले सहमतिलाई इन्कार गर्नुहोला कि असहमतिको उम्मेदवारी रोज्नुहोला ? यो प्रश्नको जवाफ पाउन अब धेरै दिन बाँकी छैन ।
