–वीरबल खड्का
हाम्रो गौरवमय पार्टी नेकपा एमाले को १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा मंसिर १० देखि १२ सम्म हुन गइरहेको छ । महाधिवेशनले देश व्यापी रुपमा आमजनता, नेता कार्यकर्ता पार्टी शुभेच्छुक सबैलाई उत्साहित बनाएको छ । पार्टी भित्रबाट मात्र होइन बाहिरबाट पनि एमाले महाधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
अबको एमालेको नेतृत्व कस्तो आउँछ, पार्टीले सबैलाई कसरी समेटेर लैजान्छ भन्ने सबैको चासो छ । एमालेमा नेतृत्व पुस्तान्तरणसँगै अझ सशक्त, सवल र सक्षम नेतृवको आशा पनि गरिएको छ । पार्टी भित्रका आपसी फरक विचारलाई जनवादी संगठनबाट समस्या हल हुने नीति प्रमुख रहने छ भन्ने अपेक्षा सबैले गरेका छन् ।
पार्टी भित्र बैचारिक, राजनीतिक, ऐतिहासिक, योगदान, आचरण, कर्तव्यनिष्ठ एवम् इमानका कसिमा जाँचिएका, खारिएका योग्य ब्याक्तित्व मध्येबाट चुनौतीलाई सामाना गर्नसक्ने योग्यतम कुशल नेतृत्व पाउन सकोस् भन्ने सबैको चाहना छ । समृद्धिको अभयिान हाक्न सक्ने, देशी विदेशी प्रतिक्रियावादीलाई ठेगान लगाउने नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाई फेरि पनि आवश्यक छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल, नोकरशाही पूँजीजवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने र जनताको बहुदलीय जनवादको जगबाट समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त, समृद्ध नेपाल स्थापना गर्ने, सुखी नेपाली बनाउने एक मात्र पार्टी नेकपा एमाले नै हो ।
नेकपा एमालेले जनताको जीविकासँग जोडिएका मुद्दा, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेसा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ । लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीका हक हितको संरक्षण गर्ने सवालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ ।
नेकपा एमालेको लोकप्रियताको चर्चा गर्ने हो भने मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार मानिन्छ । मनमोहनको सरकार नेपालमा मात्र नभएर विश्क कम्युनिष्टकै लोकप्रिय सरकारको कोटीमा पर्दछ । मनमोहनलाई सर्वाधिक सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्दछ । उहाँ विश्व कम्युनिष्ट आन्दोलनका शालिन, शान्त र भद्र नेताको रुपमा परिचित हुनुहुन्छ ।
यस्तै केपी शर्मा ओलीको सरकारले गरेका राम्रा काम सुखी नेपाली समृद्ध नेपालको अभियान हुँदै देश विकासमा सरकारले खेलेको भूमिका उदाहरणीय छ । राष्ट्रियताको सवालमा होस् वा समृद्धिमा होस् उहाँ प्रष्ट अडान भएको नेता प्रधानमन्त्रीको रुपमा स्थापित हुनुभयो ।
देश विखण्डन गर्नेदेखि देशलाई युद्धबाट राजनीतिक परिवर्तन गर्न सकिन्छ भन्नेलाईसम्म उहाँले शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यउन सफल हुनुभयो । उहाँले गर्नुभएको सफल नेतृत्लाई र नेपाली जनाताको मरेको सपना ब्युझाउन गरेको प्रयत्नलाई नेपाली जनताले सधैँ स्मरण गरिरहने छन् । जसले नेनकपा एमाले र समग्र नेपालको उचाइ बढ्दै गरेको छ ।
नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । जननेता मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो । यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनको व्यवहारबाट परीक्षित हुँदै सही सावित भएको छ ।
यसकै जगबाट आज नेपाल कम्युनिष्ट आन्दोलन चलिरहेको छ । आज पनि हाम्रा समग्र काममा यसले मार्गदर्शन गरिरहेको छ । नाम जे राखे पनि नेपालका सबै कम्युनिष्ट पार्टीले यसै सिद्धान्तलाई कुनै न कुनै रुपमा पालना गरेरै अघि बढेका छन् ।
जनताको बहुदलीय जनवादवादबाट निर्देशित भई देशको समृद्धि र विकास गर्ने एजेण्डा र कार्यक्रम भएको पार्टी नेकपा एमाले नै हो भन्नेमा अब दुईमत छैन । देशको कम्युनिष्ट आन्दोलनको मात्र होइन देशकै नेतृत्व गर्ने पार्टी हो नेकपा एमाले । महाधिवेशनले एमालेलाई अझ सशक्त पार्टी बनाएर लैजाने कुरामा विवाद छैन । यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँ, दक्ष र योग्य नेतृत्व चयन गरौ, सबैको आत्मासम्मानको वातावरण बनाऊँ । नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद ।
(लेखक नेकपा एमाले पाख्रिवास नगर कमिटी सदस्य तथा नगर युथफोर्स ईन्चार्ज हुनुहुन्छ)
