काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘जसको जौ खानु, उसैको जुँगा उखेल्नु ।’ यो उखान नेपाली राजनीतिमा सार्थक हुँदै आएको छ । नेपाली राजनीतिमा अहिले एमाले बाहेक सबै राजनीतिक दलले गाली गर्ने पार्टी एमाले बनेको छ । एमालेलाई भन्दा पनि उछित्तो काढेर गाली गर्छन् त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई । एमाले पार्टी अहिले नेपालका सबै राजनीतिक दलको एजेण्डा बनेको छ । कांग्रेस र माओवादी आफ्ना सम्मेलन र महाधिवेशन गर्दैछन् । ती सम्मेलन र महाधिवेशनमा ती पार्टीका आफ्ना एजेण्डा केही छैनन्, छ त केबल एमाले र त्यसका अध्यक्ष केपी ओलीको एजेण्डा । माओवादीका वडा, पालिका र प्रदेश तहसम्मका अधिवेशन भए, ती सबै अधिवेशनमा माओवादीको एजेण्डा होइन एमालेकै एजेण्डा प्रवेश गर्यो । अधिवेशनका कार्यविधि र शैली पनि एमालेकै अपनाइयो । एमालेले सबै वडा र पालिकाको अधिवेशन एकै दिन गर्ने अत्यन्त महत्त्वाकाङ्क्षी कार्यक्रम ल्यायो । कांग्रेस माओवादी रमिते बनेर हेरिरहेका थिए । उनीहरू ढुक्क थिए कि यो असम्भव काम हुनै सिक्दैन भन्नेमा । एक वर्षदेखि वडा र पालिका अधिवेशन गर्न नसकेर अलमलिएर बसेको कांग्रेसलाई असम्भव लागेको त्यो काम एमालेले सम्भव गरेर देखाइदियो । एकै दिन देशभरिका वडा र पालिकामा अधिवेशन गरेर कुशल संगठनको नमुना एमालेले प्रस्तुत गर्यो ।
एमालेका वडा र पालिकाको अधिवेशनमा विवाद हुन्छ, मारामार हुन्छ र रमिता हेरौँला भनेर बसेको माओवादी र माधव नेपालले नयाँ गठन गरेको समाजवादी दललाई एमालेले कम्युनिष्ट पार्टीको अनुशासन देखाइदियो, सिकाइदियो । अधिकांश वडा र पालिकामा सर्वसम्मत नेतृत्व आयो । नेतृत्व चयनमा एमालेले नयाँ कीर्तिमान नै कायम गर्यो । निर्वाचनको सबैभन्दा उत्तम विधि सर्वसम्मत नेतृत्व चयनको विधिलाई कांग्रेस र माओवादीले अपव्याख्या गरे । एमाले विचार नभएको पार्टी भएकोले सर्वसम्मत नेतृत्व बनाएको नाटक गर्यो भनेर प्रचार गर्ने प्रयत्न गरे । एमालेको महाधिवेशनमा विचारलाई बन्धक बनाइयोसम्म भन्न भ्याए । सहमतिको लागि केही समय गरेको प्रयासलाई विचारलाई बन्दी बनाएको संज्ञा दिए । त्यही विचारको कुरा, त्यागको सम्मानका कुरा गर्नेले कांग्रेस नेता रामचन्द्र पौडेल रुँदै राजनीतिबाट सन्यास लिएको देखेनन् । नेपाली कांग्रेसका नेता गगन थापाले त हाम्रो विचार बोक्ने पार्टी हो त्यहाँ विचार हुन्छ, मत हुन्छ, आआफ्नो मत राखिन्छ, मत बाझिन्छ भनेर भाषण ठोक्नु भयो । उहाँले भाषण ठोकेकै दिन कांग्रेसको वडा अधिवेशनमा मत मात्रै बाझिएन, विचार मात्र चलेन, गोली नै चल्यो, कुटा मारी भयो । सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भित्रको लोकतन्त्र देखियो । लोकतान्त्रिक अभ्यास देखियो । विचारको लडाइँ सडकमा नै पोखिएको देखियो । त्यही लोकतान्त्रिक पार्टीका पार्टी सभापति शेरबहादुर देउवाको जिल्लाका नेताहरू क्रियाशील सदस्यता वितरणमा नै धाँधली भयो भनेर पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसिरहेको बेला जिल्लामा अधिवेशन सकियो, प्रतिनिधि छानिए, धर्ना बसेका चुनावी कुनै प्रक्रियामा सहभागी हुन पाएनन् । तै पनि कांग्रेसले भनिरह्यो :'एमालेले विचार र सिद्धान्त नारायणीमा सेलायो, असली लोकतन्त्रवादी र विचार बोक्ने पार्टी त कांग्रेस पो हो त ।' एमालेले गरेको सबै लोकतान्त्रिक अभ्यासलाई निरङ्कुश देख्ने कांग्रेसले फेरी एमालेकै सिको भने गर्दैगयो । एक वर्षसम्म वडा अधिवेशन नै गर्न नसकेको कांग्रेसले एमालेको सिको गरेर बाँकी रहेको वडा तथा पालिका र जिल्लाका अधिवेशन एकै दिने गर्ने घोषणा गर्यो । त्यसमा सफल भयो । त्यही सफलतालाई देखेर प्रदेश अधिवेशन एकैदिन राख्यो त्यसमा पनि सफलता प्राप्त गर्यो । एमालेको अधिवेशन र महाधिवेशनबाटै पाठ सिक्दै कांग्रेस १४ औँ महाधिवेशन सक्ने अन्तिम चरणमा पुगेको छ । नीति र विधिको विधान अधिवेशन मार्फत टुङ्गो लगाएर जम्मा नेतृत्व चयनको लागि महाधिवेशन गरेको एमाले महाधिवेशनमा विचारको छलफल नै गरेन भन्ने कांग्रेसले नीति, विधि सबै एक घण्टामा नै बन्द सत्रबाट पास गर्यो । एमालेलाई विचारविहीनको जमात देख्ने, एमालेको भेला र सम्मेलनलाई विचारविहीनको भिड देख्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वडादेखि प्रदेशसम्म एमालेकै सिको गर्नुभयो । एमालेको सर्वसहमतिको प्रयासलाई निरंकुशता लादेको देख्ने प्रचण्डले वडादेखि प्रदेशसम्म स्वसहमतिको प्रयास मात्र होइन डिक्टेट नै गर्नुभयो । परिणामस्वरूप माओवादीका वडादेखि पालिका र प्रदेश अधिवेशन समेत सर्वसम्मत भए । सर्वसम्मत गराइयो । प्रचण्डकै भाषा सापट लिने हो भने त सर्वसम्मत भएको नाटक गरियो, नौटङ्की नै रचियो । किन ? किन भने सार्वभौम सम्पन्न प्रतिनिधिले छान्नुपर्ने पदाधिकारी छान्न प्रचण्डले प्रतिनिधिलाई प्रदेश समितिमा दिनुभएन । आफ्ना नजिकका मान्छेलाई प्रदेश पदाधिकारी बनाउन प्रचण्डले प्रदेश समितिको अधिवेशनमा गएका प्रतिनिधिको अधिकार खोस्नु भयो । प्रतिनिधि मध्येबाट प्रदेश समितिमा आउनेको नाम मात्र तोकियो । पदाधिकारी तिनै समितिका सदस्यमध्येबाट छान्ने भनेर प्रचण्डले आफ्ना मान्छेलाई च्याप्ने ठाउँ राख्नुभयो । आफ्नो निरङ्कुश र सामन्तवादी प्रवृत्तिलाई जोगाइ राख्नु भयो । अझै पनि प्रचण्ड एमाले र केपी ओलीलाई गाली गर्दै भन्नुहुन्छ एमाले विचार नभएको निरंकुशवादी, अनि त्यसको नाइके केपी ओली । सच्चा गणतन्त्रवादी लोकतान्त्रिक पार्टी त माओवादी नै हो , अनि त्यसको हिरो प्रचण्ड नै हो, प्रचण्ड । अब माओवादीको राष्ट्रिय सम्मेलन हुँदै छ । त्यसमा प्रचण्डले आफूलाई निर्विकल्प पार्टी अध्यक्ष त बनाउनु हुन्छ नै । अन्य पदमा पनि उहाँले जस जसलाई चाह्यो तिनीहरूलाई नै राख्नु हुन्छ । त्यसो त आफ्ना आलाेचक र फरक मत राख्नेलाई प्रचण्ड आफ्नो पार्टीमा बस्नै दिनुहुन्न । कि गलहत्त्याएर निकाली दिनुहुन्छ , कि निस्कन बाध्य पार्नुहुन्छ । फरक मत राख्ने सबैलाई निकालेर उहाँ सुपर पावर बन्न चाहनुहुन्छ । उदाहरण दिइराख्नै पर्दैन उहाँकै कारण उहाँकै राजनीतिक गुरु मोहन वैद्यले माओवादी छाड्नु पर्यो । माओवादी युद्धका योजनाकार डा. बाबुराम भट्टराई बुर्जुवाको कित्तामा खुम्चिन पुग्नुपर्यो । नेत्रविक्रम चन्द बन्दुक बोकेर जङ्गल नै पस्नु पर्यो । धन्न केपी ओलीले फकाएर शान्ति प्रक्रियामा ल्याउनुभएको छ । माओवादी जनयुद्धका कमाण्डर रामबहादुर थापा बादल माओवादीमा बस्न सक्नुभएन । उहाँ नेकपा एमाले र माओवादीमा फर्कँदा एमाले तिर लाग्नुभयो । बादल मात्र कहाँ हो र लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह जस्ता क्रान्तिका योद्धा माओवादीमा टिक्न नसकेर एमाले तिर लाग्नुभयो । प्रचण्डको पछि लागेको कोही अहिले खेती गर्दैछन् । कोही राजनीतिको नाम नलिनु भन्दै जङ्गिँदै छन् । प्रचण्डको विचार र आन्तरिक लोकतन्त्रको राम्रो नमुना दुनियाँले देखेको छ । तै पनि एमालेलाई गाली गर्दै र उसैको नक्कल गर्दै अघि बढ्ने प्रयत्नमा हुनुहुन्छ प्रचण्ड । माधव नेपालले त एमाले र केपीलाई गाली गर्नु स्वभाविक नै हो । त्यसै पनि नयाँ जोगीले अलि बढी खरानी घस्नै पर्यो । एमालेबाट चोइटिएर बनाएको पार्टीले एमालेलाई गाली गर्नै पर्यो । कांग्रेस र माओवादीसँग लपक्क टाँसिन पुग्नुभएका माधवलाई एमाले र केपीलाई गाली गरेर एमालेका केही मान्छे तान्न सकिन्छ कि भन्ने आस छ । त्यही आसले उहाँ सत्तोसराप गर्दै हुनुहुन्छ । त्यसो त एमाले नेपालको राजनीतिमा एउटा रोल मोडल नै हो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको नौ महिने शासनकाल नेपालको राजनीति र सामाजिक इतिहासमा टर्निङ पोइन्ट नै बन्यो । मनमोहन अधिकारी सरकारले ल्याएका आफ्नो गाउँ आफैँ बनाऊँ, 'नौ स' का अभियान, सामाजिक सुरक्षा भत्ता लगायतका कार्यक्रमले एमालेलाई जनताको मन मुटुमा स्थापित गर्यो । त्यति लोकप्रिय कार्यक्रम अहिलेसम्म कुनै सरकारले ल्याउन सकेनन् । त्यस यता बनेका सबै सरकारले त्यही कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । त्यसो त मनमोहन नेतृत्वको सरकारले ल्याएका कार्यक्रम नक्कल गर्दै नयाँ ब्राण्ड दिने कार्यक्रम अन्य सरकारले ल्याउन नखोजेका पनि होइनन् । त्यही सरकारको नक्कल गर्दै माओवादी नेतृत्वको सरकार बन्दा 'गाउँ गाउँमा सहकारी, घर घरमा भकारी' भन्ने कार्यक्रम ल्यायो । गाउँ गाउँमा सहकारी खुले, माओवादी कार्यकर्ता सहकारीका सञ्चालक बने । प्रत्येक सहकारीमा सरकारले एक लाख रुपैँया पठायो । त्यो पैसा तिनै माओवादीका कार्यकर्ताले खाए ।
सहकारी उठ्यो, भकारी त न राखियो, न खोलियो । अन्न भए पो भकारी बन्नु । कार्यक्रम आयो, गयो । तर मनमोहन सरकारले ल्याएको कार्यक्रम निरन्तर अघि बढ्यो । जो अहिले पनि बुढा बाबु आमाको सहारा जस्तै बनेको छ । मनमोहनको सरकार पछि फेरी राज्यको तर्फबाट नयाँ दृष्टिकाेण ल्याउन एमालेकै सरकार कुर्नु पर्यो । केपी ओली नेतृत्वको एमाले सरकार बनेपछि नयाँ नारा, नयाँ दृष्टिकोण ल्यायो, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ हो अहिले यो नारा हरेक नेपालीको मुख मुखमा झुण्डिएको छ । त्यही लोभले कांग्रेस नेता गगन थापाले त्यही नारालाई केही तोडमोड गर्दै अर्को नारा दिनुभएको छ । हेरौँ उहाँको नारा कत्तिको स्थापित हुने छ । उहाँको नारा स्थापित भए पनि नभए पनि एमाले अनि केपी ओलीको नक्कल नै गर्दै हुनुहुन्छ, त्यो पनि केपीलाई नै गाली गरेर । यी सबै घटनाक्रमलाई केलाउँदा भन्नै पर्छ नेपालको राजनीतिमा एमाले र केपी ओलीलाई गाली गरी उसैको नक्कल गर्दै नेपालको राजनीति अघि बढ्दै छ । आखिर किन ‘जसको जौ खानु, उसैको जुँगा उखेल्नु ?’ कम्तीमा जौ खाएपछि जुँगा त नउखेल्नु नि ।
