काठमाडौं । नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रमा सबैको पहुँच हुनु सामान्य सिद्धान्त नै हो । राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको मूल नारा नै हो । समाजवादको आधार स्तम्भ समाजमा पछाडि पारिएकाको हरेक क्षेत्रमा सहभागिता सुनिश्चितता हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल नारा बोकेको पार्टी नेपाली कांग्रेस नयाँ नेतृत्व चयन गर्दै छ । पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसक्नु भयो । अन्य पदाधिकारी र सदस्यको मत पनि पानी ट्याङ्कीमा जम्मा भएको छ । चाँडै परिणाम आउने नै छ । लोकतान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास सामान्य प्रक्रिया हो । तर त्यही सामान्य प्रक्रिया पूरा गर्न पनि कांग्रेसलाई निक्कै हम्मे हम्मे पर्यो । कांग्रेसले निर्धारित समयभन्दा एक वर्ष पछि मात्र पार्टीको महाधिवेशन गर्न सक्यो । लोकतन्त्र र समावेशिताको लागि वर्षौँ सङ्घर्ष गरेको पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास कस्तो होला वा कस्तो हुन्छ भन्ने कुराको सबैलाई चासो हुनु स्वाभाविक नै हो । यो हिसाबले हेर्दा कांग्रेस र त्यसका नेतामा मूल्य मान्यता, अडान कस्तो छ र रह्यो भन्ने कुराका पनि विश्लेषण गर्न आवश्यक छ । नेपाली कांग्रेसमा शेरबहादुर देउवा इतरका नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत यस पटकको महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो । त्यसैले देउवा इतरको शक्ति एक ठाउँमा उभिनु पर्ने उहाँहरू बताउँदै आउनुभएको थियो । तर अन्तिममा त्यो अडान कायम रहन सकेन । अन्तिम समयमा संस्थापन इतरबाट तीन जना उम्मेदवार हुनुभयो । रामचन्द्र पौडेल आँसु खसालेर पार्टीबाट बिदा हुनुभयो । अझ रोचक मोड त त्यति बेला आयो जति बेला पार्टी सभापतिको चुनाव दोस्रो चरणमा प्रवेश गर्यो । देउवाका कटु आलोचक प्रकाशमान सिंहदेखि, विमलेन्द्र निधि र कल्याण गुरुङसम्मका नेता देउवाकै पक्षमा उभिनुभयो र शेखर कोइरालालाई एक्लो बताउनुभयो । शेरबहादुर देउवासँग बन्द कोठामा केही बेर बस्ने बित्तिकै उहाँहरू फकिनुभयो । बच्चालाई चकलेट दिएर अभिभावकले फकाए जस्तै गरी देउवाले उहाँहरूलाई फकाउनुभयो । लेनदेन, बाचा बचन, आश्वासन के के लिने दिने काम भएको छ, त्यो त काल क्रममा खुल्दै जाला । खैर जे होस् कांग्रेसका नेतामा अडान, मूल्य र मान्यता कत्तिको छ भन्ने कुरा यो घटनाक्रमले प्रष्टै हुन्छ । यो त भयो अडानको कुरा । कांग्रेस महाधिवेशनमा यो पटक देखिएको अर्को विचित्र र लाजलाग्दो विषय आरक्षण कोटाको हो । आरक्षण कोटा पछाडि पारिएकालाई राजनीति र समाजको मूल धारमा ल्याउन छुट्यउने गरिन्छ । तर कांग्रेसको आरक्षण कोटा ती पछाडि पारिएका समुदायलाई होइन समाजमा सबैभन्दा अघि आएका समुदायले कब्जा गर्दैछन् । कांग्रेसको यो महाधिवेशनमा विश्वकै अरबपतिको सूचीमा रहेका विनोद चौधरी आरक्षण कोटाबाट चुनाव लडिरहनुभएको छ । उहाँ मधेसी आरक्षण कोटाबाट चुनावी मैदानमा हुनुहुन्छ । विश्वकै धनी मानिस लडेको कोटामा एउटा साधारण मधेसी कांग्रेसको कार्यकर्ताले कसरी प्रतिस्पर्धा गर्ला । अनि मधेसी आरक्षणको त्यो कोटा विश्वकै धनी मान्छेको लागि छुट्याइएको होला त ? विनोद चौधरीको के कुरा, प्रधानमन्त्री पत्नी र कांग्रेस राजनीतिलाई नै कब्जा गरेर राख्ने आरजु देउवा समेत आरक्षणको आडमा पार्टीमा चुनाव लड्दै हुनुहुन्छ । आरजु महिलालाई आरक्षित गरेको नौ जनाको कोटबाट चुनाव लड्दै हुनुहुन्छ । के कांग्रेसमा महिला आरक्षण कोटा आरजु जस्ता पहुँचवालाकै लागि राखिएको होला त ? अन्य सामान्य महिलाले आरजुसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् ? पैसाकै भरमा कांग्रेस राजनीतिमा आएर मन्त्रीसमेत बन्न सफल निजी विद्यालय सञ्चालक बिना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि कांग्रेस भित्र आरक्षण चाहिएको छ । उहाँ समेत आदिवासी जनजातिको कोटाबाट कांग्रेसमा चुनाव लडिरहनुभएको छ । उहाँसँग गाउँबाट गएको कांग्रेसको सामान्य आदिवासी जनजातिले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कांग्रेस भित्र पहुँच राख्ने चीनकाजी श्रेष्ठ जो पटक पटक मन्त्री भइसक्नुभयो । उहाँ समेत कांग्रेसमा आरक्षण कोटा खोजेर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । अरबपति बहादुरसिं लामालाई समेत आरक्षणको आड चाहिएको छ । उहाँ समेत जनजातिको आरक्षण कोटाबाट केन्द्रीय सदस्य लड्दै हुनुहुन्छ । उहाँहरू लगायत धेरै नेता हुनुहुन्छ, जसले आरक्षण कोटाको दुरुपयोग गर्दै हुनुहुन्छ । कांग्रेसको यो निर्वाचनमा खडा भएका आरक्षण कोटाका उम्मेदवारलाई हेर्दा आरक्षण शब्दलाई नै गिज्याए जस्तो लाग्छ । आखिर यस्तै पहुँचवालालाई उठाउन प्रयोग गरिने हो भने के काम ती आरक्षण सिटहरू ? अनि कसलाई देखाउन राखेको कांग्रेसले ती आरक्षण कोटा ? के ती देखाउने दाँत मात्रै हुन् ?
कांग्रेसमा आरक्षण : देखाउने दाँत मात्र
काठमाडौं । नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रमा सबैको पहुँच हुनु सामान्य सिद्धान्त नै हो । राष्ट्रियता, लोकतन्त्र र...
SUNRISE KHABAR
3 min read
