--गोविन्द थापा--
करिब ९० वर्षको उमेरमा पनि महाथिर मोहम्मद मलेसियाका प्रधानमन्त्री बन्नुभयो । आजको सशक्त मलेसिया बनाउन महाथिरको भूमिका सबैलाई थाहा छ । हालै चिलीमा ३५ वर्षका गाब्रियल बोरिस राष्ट्रपति निर्वाचित हुनुभएको छ । ३५ वर्षका मानिस राष्ट्रपति बन्दैमा चिलीका समस्या समाधान हुन्छन् त ? चिली विकास र समृद्धिमा अगाडि बढ्छ त ? यसबारे केही भन्न सकिन्न ।
प्रष्ट हुनुपर्छ– कुनै पनि देशको विकास र समृद्धि कति उमेरको नेता पदमा पुग्यो भन्नेले निर्धारण गर्दैन । कस्तो विचार भएको मानिस पदमा पुग्छ भन्नेले देशको भविष्य निर्धारण गर्दछ । देशको हकमा मात्र नभएर राजनीतिक पार्टीमा पनि कस्तो विचारको नेतृत्व निर्वाचित भयो भन्नेले अर्थ राख्छ, कति उमेरको मानिस निर्वाचित भयो भन्नेले अर्थ राख्दैन ।
पुस्तान्तरण, युवा पुस्ता, नयाँ पुस्ता जस्ता शब्दावली अहिले चर्चामा छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाको हालै सम्पन्न महाधिवेशनको सेरोफेरोमा यी शब्दावली चर्चा र बहसमा आएका हुन् ।
थोरै उमेर र धेरै चर्चाको अर्थ छैन
खासगरी कांग्रेस महाधिवेशन र सो पार्टीको केन्द्रीय समिति चयनका लागि भएको चुनावका सन्दर्भमा पुस्तान्तरण, युवा पुस्ता र नयाँ पुस्ता जस्ता शब्दावली बढी चर्चामा आएको देखिन्छ । यसमा प्रष्ट के हुनुपर्छ भने कांग्रेसमा युवा पुस्ता उदाएको होइन, पुस्तान्तरण भएको पनि होइन, नयाँ पुस्ता नेतृत्वमा पुगेको पनि होइन । कांग्रेस जस्तो थियो, त्यस्तै छ । विचार, नीति, कार्यक्रम, दृष्टिकोण आदिमा कांग्रेसमा केही पनि फेरबदल भएको छैन । कांग्रेस पुरातन विचारमै अड्किएर बसेको छ । नयाँ युग, नयाँ परिवेश र नयाँ पुस्तालाई सम्बोधन गर्ने नीति–कार्यक्रम कांग्रेसले ल्याएन । त्यसैले कांग्रेस पदाधिकारीमा चर्चित खालका केही पात्रहरु आउँदैमा पुस्तान्तरण भएको मान्न सकिन्न ।
केही धेरै उमेरको सट्टामा केही थोरै उमेरको मानिस पदाधिकारी निर्वाचित हुनु खासै महत्वको विषय होइन । राजनीतिमा उमेरको खासै अर्थ हुँदैन । हो, युवा र नयाँ पुस्तालाई अगाडि बढाउनुपर्छ । यसको अर्थ पुरानो पुस्ता र धेरै उमेरका मानिस काम लाग्दैनन् भन्ने होइन । नयाँ पुस्ता नेतृत्व पंक्तिमा पुग्ने तर विचार भने पुरातन नै बोक्ने हो भने नयाँ पुस्ताको उपस्थिति अर्थपूर्ण हुन सक्दैन ।
सामाजिक सञ्जालमा हिट अर्थात् चर्चित मानिसहरु कांग्रेस पदाधिकारीमा निर्वाचित भएका छन् । सामाजिक सञ्जालमा नेता चर्चित हुनुको पनि खासै अर्थ हुँदैन । सामाजिक सञ्जालमा चर्चित नेताले हाँकेको पार्टीले चुनावमा हावा खाएको हामीले राम्रैसँग देखेका छौं । रविन्द्र मिश्र र बाबुराम भट्टराई सामाजिक सञ्जालमा असाध्यै लोकप्रिय हुनुहुन्थ्यो । सामाजिक सञ्जालमा उहाँहरुको पार्टीको हाईहाई थियो । सामाजिक सञ्जालमा चहलपहल हेर्दा रविन्द्र र बाबुरामको पार्टीले एमाले र कांग्रेसको भन्दा धेरै सिट ल्याउँछ जस्तो देखिन्थ्यो गत चुनावमा । तर, परिणाम के आयो हामी सबैका सामु छ ।
कांग्रेसको नयाँ पुस्ताको औकात
कांग्रेसमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, भिष्मराज आङदेम्बे, उमाकान्त चौधरी, डिना उपाध्याय, जीवन परियार लगायतकाहरु पदाधिकारीमा निर्वाचित हुनुभएको छ । उहाँहरुमध्ये उमाकान्त अहिले मन्त्री पदमा हुनुहुन्छ । मन्त्रीका रुपमा उमाकान्तले कुनै पनि गतिलो काम गर्नुभएको देखिँदैन । गगन थापा विगतमा मन्त्री बनिसक्नुभएको छ । मन्त्री हुँदा गगनले उदाहरणीय कुनै काम गर्न सक्नुभएन । बरु, उहाँको नाम कमिशन काण्डहरुमा गासियो । डिना उपाध्याय पनि विगतमा मन्त्रिमण्डलमा पुगिसक्नुभएको हो । उहाँ मन्त्रिमण्डलमा पुग्नुभएको नेतृ हो भनेर धेरैलाई थाहा नै छैन । किनभने सम्झन लायक कुनै काम गर्नुभएन । नयाँ पुस्ताले जिम्मेवारी पाउनु ठूलो कुरा होइन । जिम्मेवारी पाएपछि उदाहरणीय र उत्कृष्ट काम गर्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य कुरा हो ।
जिम्मेवारी पाउँदा पनि कांग्रेसको नयाँ पुस्ताले गतिलो काम गर्न सकेको देखिँदैन ।
ज्येष्ठलाई अमानवीय अपमान
कांग्रेसमा नयाँ पुस्ता र युवा पुस्ताका नाममा अमानवीय र अनैतिक गतिविधि हुने गरेको छ । नयाँ पुस्ताका नाममा ज्येष्ठ नागरिकहरुलाई दुत्कार्ने काम गरिन्छ । के मानिस बुढो हुँदैमा उसलाई अपहेलना गर्नु जायज हो ? शेरबहादुर देउवा ८० वर्ष हाराहारी पुग्नुभयो भन्दैमा उहाँलाई उहाँकै पार्टीका कार्यकर्ताले ‘बुढा नेताको काम छैन’ भन्नु मानवीय र नैतिक हो त ? कांग्रेसमा थोरै उमेरका नेताहरु उदाउँदा धेरै उमेरका नेताहरुलाई अपमानवोध हुने गरी टिप्पणी गर्ने गरिएको छ, यो किमार्थ जायज होइन । पार्टीमा होस् या समाजमा, ज्येष्ठ नागरिकलाई अपमान गर्नु नैतिक हुन सक्दैन । अर्काे कुरा, कांग्रेस पदाधिकारीमा निर्वाचित भएका नयाँ पात्रहरु अधिकांश आम चुनावमा पराजित भएका हुन् । आमचुनावमा जनताबाट अस्वीकृत पात्रहरु पार्टी महाधिवेशनमा पदाधिकारीमा निर्वाचित हुनु खासै सुहाउँदो कुरा होइन ।
सामाजिक सञ्जालमा चर्चित रहँदै आएका कांग्रेसका नवचिर्वाचित पदाधिकारीहरुले विचारलाई भन्दा चर्चालाई प्राथमिकता दिन्छन् । उनीहरु त्यो विचार राख्छन् जुन विचार समाजमा चर्चित हुन्छ, जुन विचारले ताली पाउँछ । राजनीति असाध्यै गम्भीर विषय हो, राजनीति भनेको ताली होइन । देश हाँक्छु भन्नेहरुले तीतो यथार्थ बोल्न सक्नुपर्छ, ताली नपाइने अवस्थामा पनि सत्य बोल्नुपर्छ । यो मामिलामा कांग्रेसका अहिलेका कैयन पदाधिकारीहरु पार्टीको नेता नभएर टिकटके नेता झैं लाग्छन् ।
कांग्रेसमा अहिले निर्वाचित नयाँ पदाधिकारीहरु राजनीतिक दर्शनमा आधारित विचार राख्दैनन् । फेसबुक, ट्वीटर, युट्युब, टिकटकमा हिट हुने खालका विचार राख्छन् । नेपाली कांग्रेस पार्टीलाई वैचारिक हस्ताक्षेप गर्न सक्ने नेता देखिएनन् । कांग्रेस बुढो रुख हुँदै गएको छ । कांग्रेसलाई वैचारिक रुपमा परिमार्जित गर्दै लाने काम भएको छैन । नयाँ युग, नयाँ परिवेश र नयाँ राजनीतिक वातावरणलाई सम्बोधन गर्दै देश र जनताको हित हुने विचार लिन कांग्रेसले सकिरहेको छैन । कांग्रेसलाई रुपान्तरण गर्न जरुरी छ तर त्यस्तो नेता देखिएन । त्यस्तो नेता कोही आउनुपर्छ, त्यस्तो नेता ९०–९५ वर्षको भए पनि फरक पर्दैन । ८० कटेको नेताले कांग्रेस रुपान्तरण गर्ने विचार दिन्छ भने उसैलाई मान्ने हो नयाँ पुस्ता, त्यसैलाई भन्ने हो पुस्तान्तरण । कांग्रेसमा नयाँ भनिएको पुस्ताको वैचारिक धरातल ८० वर्ष हाराहारीका शेरबहादुर देउवाको भन्दा फरक छैन । त्यसैले कांग्रेसमा पुस्तान्तरण भएको पनि होइन, नयाँ पुस्ता उदाएको पनि होइन, युवा पुस्ता उदाएको पनि होइन ।
कांग्रेसभित्र ज्येष्ठ नागरिकलाई अपमान गर्ने परिपाटी विकास भएको छ, यो देश र समाजका लागि घातक छ ।
कांग्रेस र एमालेको नेतृत्व तुलना
पुरातन शैलीमा चले पनि, देश र जनताको आकांक्षा सम्बोधन गर्ने विचार र कार्यक्रम ल्याउन नसके पनि कांग्रेसलाई लोकतन्त्रको अग्रणी पार्टी मान्नैपर्छ । नेपालमा राजनीतिक पार्टी धेरै छन्, अधिकांश चाहिँ पार्टीका रुपमा नभएर क्लबका रुपमा छन् । कांग्रेस र नेकपा एमाले चाहिँ वास्तविक पार्टी हुन् । यी दुई पार्टीको काँधमा छ देशको भविष्य ।
कांग्रेसमा नयाँ पुस्ता र युवा पुस्ताको कुरा उठिरहन्छ तर एमालेमा त्यसरी प्रखर रुपमा उठ्दैन । किन ? यो प्रश्नको जवाफ कांग्रसका नेता कार्यकर्ताहरुले खोज्नु उपयुक्त होला । हालै एमालेको महाधिवेशन भयो । महाधिवेशनमा ७० वर्ष हाराहारीका केपी शर्मा ओली निर्वाचित हुनुभयो । ओलीको सट्टा थोरै उमेरको नेता चाहियो भन्ने आवाज एमालेमा उठेन । किन ? किनभने ओली उमेरले ७० को भए पनि पार्टी र देशका लागि नयाँनयाँ विचार दिनुहुन्छ । युवा र नयाँ पुस्तालाई सम्बोधन गर्नुहुन्छ । ओली अतितमा बाँधिएर बस्ने नेता होइन, भविष्यलाई सम्बोधन गर्ने नेता हो । देश र समाजलाई विकास र समृद्धिको बाटो देखाउने विचार र कार्यक्रम ओलीले दिइरहनुभएको छ । त्यसैले ओली ७० हाराहारीको नेता भए पनि युवा चाहियो भन्ने आवाज उठेन । विचार, कार्यक्रम र कार्यान्वयनका दृष्टिले केपी ओली युवा हो ।
एमाले महाधिवेशनमा पदाधिकारीमा कोही धेरै उमेरका छन्, कोही थोरै उमेरका छन् । कांग्रेसमा ‘युवा पदाधिकारी चाहियो’ भने जसरी एमालेमा आवाज नउठ्नुको कारण के हो भने एमालेको पदाधिकारीमा निर्वाचित प्रायजसो नेताहरु विचारले नयाँ छन्, परिमार्जित छन्, भविष्यमुखी छन्, देश र जनताको भलाईका लागि चिन्तन गरिरहन्छन् । एमालेमा पदाधिकारी निर्वाचित नेताहरु सामाजिक सञ्जालमा कसरी चर्चित भइन्छ भन्ने आधारमा विचार राख्दैनन् । एमालेका नेताहरु सत्य बोल्छन्, तीतो बोल्छन्, देश र जनताको हितमा जस्तोसुकै अवस्थामा पनि अडान लिन्छन् । यही कारण एमालेमा नयाँ पुस्ताको कुरा पनि उठेन, पुस्तान्तरणको कुरा पनि उठेन । कांग्रेसमा विचार शुन्यताको अवस्था छ, त्यसैले त्यहाँ उमेरको कुरा उठ्छ, पुस्तान्तरणको कुरा उठ्छ, युवा पुस्ताको कुरा उठ्छ ।
अर्काे विचारणीय पक्ष के छ भने एमालेले नेतृत्वमा युवा पुस्तालाई पनि अगाडि बढाइरहेको छ । केन्द्रीय समितिमा युवा पुस्ताका कैयन पुगेका छन् । एमालेमा एउटा पुस्ताले अर्काे पुस्ताको बाटो छेक्ने, एउटा पुस्ताले अर्काे पुस्तालाई अपमानित गर्ने संस्कृति छैन ।
कांग्रेसको भविष्य
लोकतन्त्रलाई संस्थागत गर्न देशमा दुईटा शशक्त पार्टी हुन आवश्यक हुन्छ । पौने शदीको राजनीतिक अभ्याशले के स्थापित गरेको छ भने नेपालका मुख्य दुई पार्टी एमाले र कांग्रेस नै हुन् । यी दुवै पार्टी बलियो हुन आवश्यक छ । महाधिवेशन र नेतृत्व चयनले एमाले विगतमा भन्दा शशक्त बनेर उदाएको छ । तर, कांग्रेस भने झन् झन् अशक्त बन्दै गएको छ । कांग्रेसको हालत के छ भने सामाजिक सञ्जालमा चर्चित दुईचारजना नेता पदाधिकारीमा निर्वाचित हुँदा पनि ‘क्रान्ति भयो’ भन्नुपर्ने हालत छ ।
एमालेसँग प्रतिस्पर्धा गर्ने हो भने कांग्रेसले दर्जनौं धनराज गुरुङ र विश्वप्रकाश शर्माहरु जन्माउनुपर्छ । किनभने एमालेसँग नेतृत्वको यति शशक्त पंक्ति छ कि कांग्रेसले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था छ । एमाले केन्द्रीय समितिमा सबै उमेर समूहको प्रतिनिधित्व छ र असाध्यै सक्षम र क्षमतावान पदाधिकारी पंक्ति छ । कांग्रेसका सभापति र एमालेका अध्यक्ष, कांग्रेसका पदाधिकारी र एमालेका पदाधिकारी, कांग्रेसको केन्द्रीय समिति र एमालेको केन्द्रीय समितिलाई निष्पक्षतापूर्वक दाँजेर हेरौं । यसरी हेर्दा कांग्रेस र एमालेको तुलना नै हुन सक्दैन । एमाले नेतृत्व पंक्ति असाध्यै शशक्त देखिन्छ ।
कांग्रेसको समस्या नयाँ पुस्ता र पुरानो पुस्ता होइन, पुस्तान्तरण भएन भन्नुको पनि तुक छैन । युवाले ठाउँ पाएनन् भन्नुको पनि अर्थ छैन । कांग्रेसको समस्या विचार हो । कांग्रेस अहिले लगभग प्रचण्डपथमा हिँडिरहेको छ । सत्ता गठवन्धनमा कांग्रेसको आकार हात्तीको जत्रो छ तर मुसा आकारका पार्टीहरुले कांग्रेसलाई तह लगाएर बसेका छन् । कांग्रेसको बुई चढेर ससाना पार्टीहरु हिँडिरहेका छन् । आउँदो चुनावमा पनि कांग्रेसकै बुई चढेर कांग्रेसको भाग खाने दाउमा साना पार्टीहरु लागिरहेका छन् । माओवादी, माधव नेपालको पार्टी, मोहनविक्रम सिंहको पार्टीहरुका अगाडि कांग्रेस लाचार छ । यी पार्टीहरुले आउँदो चुनावमा तीन प्रतिशत नल्याउने निश्चित छ ।
यहाँ फेरि उल्लेख गरौं– अरु पार्टीको हिसाब नै भएन, माओवादीले पनि आउँदो चुनावमा तीन प्रतिशत मत ल्याउने छैन । तीन प्रतिशत मत नल्याएपछि समानुपातिकमा सिट पाइँदैन । यसको अर्थ हो– प्रत्यक्षमा एकदुई सिट जित्यो भने जित्यो, नत्र माओवादी शुन्य सिटमा सीमित हुनेछ । माओवादी र माधव नेपालको पार्टी मिलेर चुनाव लड्नुको अर्थ शुन्नामा शुन्ना जोडेजस्तै हो । शुन्नामा जतिवटा शुन्ना जोडे पनि शुन्ना नै हुन्छ । यो कुरा बुझेर साना पार्टीहरु कांग्रेसको जिउमा जुका टाँसिए झैं टाँसिएका छन् । कांग्रेसको रगत खाएर माओवादी र माधव नेपालको पार्टी मोटाउने कोशिसमा लागेका छन् । आफ्नो पार्टीको शरीरबाट जुका हटाउन कुन कांग्रेस नेताले आवाज उठाउँछ ? कुन कांग्रेस नेताले सक्छ ? अहिलेको प्रश्न यो हो ।
यो पंक्तिकार नेकपा एमालेको कार्यकर्ता हो । तर, म कांग्रेसको पनि शुभचिन्तक हो । कांग्रेसका नवनिर्वाचित साथीहरु सबैलाई बधाई तथा शुभकामना छ । माथि नै मैले उल्लेख गरिसकें– लोकतन्त्र समृद्ध बनाउन एमाले मात्र शशक्त बनेर हुँदैन, एमालेलाई टक्कर दिनसक्ने हैसियतको पार्टी आवश्यक हुन्छ । त्यस्तो हैसियत बनाउन सक्ने पार्टी कांग्रेस नै हो । कांग्रेस अहिले गतिहिन र मतिहिन बन्दा सबैलाई चिन्ता लाग्ने नै भयो । नयाँ नेतृत्व पंक्तिको चुनाव गरेर कांग्रेस शशक्त हुने होइन । कांग्रेसले आफ्नो शरीरमा लागेको परजीवि हटाउन सक्नुपर्छ । एक्लै चुनाव लड्ने हिम्मत कांग्रेसले जुटाउन सक्नुपर्छ ।
कांग्रेस पदाधिकारीमा निर्वाचित कथित नयाँ पुस्तासँग एक्लै चुनाव लड्ने हैसियत छ कि छैन ? प्रचण्डपथबाट कांग्रेसलाई मुक्त गर्ने हिम्मत छ कि छैन ? यस्ता प्रश्नको जवाफ अहिले देशले खोजिरहेको छ ।
