लुम्बिनी । शान्तिका प्रवर्तक र शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो हो लुम्बिनी । विश्वभरिका मानिसले लिने नाम हो लुम्बिनी । अनि संसार भरिकै बौद्ध धर्मावलम्बीको छनौटको गन्तव्य हो लुम्बिनी । ऐतिहासिक थलो लुम्बिनी धार्मिक पर्यटनको हिसाबले मात्र होइन, खोज, अनुसन्धान र अध्ययनको पनि महत्पूर्ण थलो हो । शान्ति, त्याग र समर्पण पाठ पढ्ने र व्यवहारिक अभ्यास गर्नेका लागि विश्व विद्यालय हो लुम्बिनी । एउटा राजाको छोरा सबै राजसी मान, सान, प्रतिष्ठा छाडेर सन्न्यासी बनेर हिँडेको ठाउँ हो लुम्बिनी । त्यसैले शान्तिसँगै त्यागको पुण्य भूमि हो लुम्बिनी । लुम्बिनीको विकास र लुम्बिनी क्षेत्रको प्रवर्धनसँगै लुम्बिनीको भ्रमणमा आउने पर्यटक बढ्दै गएका छन् । लुम्बिनी पुग्ने स्वदेशी हुन् वा विदेशी पर्यटक, त्यहाँ पुगेपछि उहाँहरूको मन लुम्बिनीबाट फर्कनै मान्दैन । लुम्बिनीमा नै रमाउँछ र हराउँछ, लुम्बिनी घुम्न गएकाको मन । हालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको तिलौराकोटमा अवस्थित लुम्बिनी विश्वका पर्यटकीयस्थल मध्येको एक बनेको छ । घुम्नकै लागि अहिले लाखौँ स्वदेशी र विदेशी पर्यटक बर्षेनी लुम्बिनी पुग्ने गर्दछन् । लुम्बिनी विकास कोषले सो क्षेत्रको विकासको लागि गुरु योजना नै निर्माण गरेर काम गरिरहेको छ । नाराणघाटदेखि बुटवलसम्म पुग्ने सडक विस्तार गर्ने काम अहिले अघि बढिरहेको छ । सो सडकको निर्माण पूरा भएपछि बसबाट लुम्बिनी पुग्न निक्कै सजिलो हुने निश्चित । अझ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि विदेशी पर्यटक सोझै लुम्बिनी झर्न सक्ने छन् । पछिल्लो समय लुम्बिनी क्षेत्रको विकासका लागि धेरै काम भइरहेका एमाले पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई बताउनुहुन्छ । सडक विस्तार, पूर्वाधार निर्माण लगायतका धेरै काम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि अघि बढेको उहाँ बताउनुहुन्छ । अब लुम्बिनीको विकासको कुरामा कसैलाई पनि पूर्वाग्रह नराखी काम गर्न पनि उहाँको आग्रह छ । लुम्बिनी घुम्नको लागि केही क्षण वा एक दिन बसेर कुनै भेउ नपाइने भट्टराईको भनाइ छ । त्यसैले लुम्बिनी घुम्न आउनेलाई अलिक फुर्सद मिलाएर आउन पनि उहाँले सुझाव दिनुभयो । लुम्बिनी विकासको धेरै काम गर्न अझै बाँकी रहेको र सो क्षेत्रको उत्खननको धेरै काम बाँकी रहेको उहाँले बताउनुभयो । अहिले लुम्बिनीको सबैभन्दा आकर्षण मायादेवी मन्दिर हो । त्यहाँ गौतम बुद्धको जन्मस्थलदेखि दरबारका अन्य संरचनालाई संरक्षण गरेर मन्दिर बनाइ राखिएको छ । तर मन्दिरको बाहिर पनि धेरै भग्नावशेष छन् । तिनीहरूको संरक्षण चुनौतीपूर्ण छ । घुम्न जाने र फोटो खिच्नेहरूबाट ती संरचना जोगाउन सुरक्षाकर्मी निरन्तर परिचालित छन् । उनीहरूलाई पनि ती संरचना सग्लै राख्न हम्मे हम्मे छ । इसा पूर्व २४९ मा मौर्य सम्राट अशोकले लुम्बिनीको भ्रमण गर्नुभएको थियो । सो क्रममा उहाँले सो स्थानमा स्तम्भ गाड्न लगनुभएको थियो । जसलाई अशोक स्थम्भ भनिन्छ । जहाँ गौतम बुद्धको जन्मथलो त्यही भएको लेखिएको छ । बुद्ध इसा पूर्व ६२३ मा लुम्बिनीमा जन्मनुभएको अभिलेख पाइन्छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा पनि लुम्बिनीको बारेमा धेरै खोज, अध्ययन र अनुसन्धान गर्न बाँकी रहेको बताउनुहुन्छ । लुम्बिनी क्षेत्र आसपासमा बुद्धसँग जोडिएका स्थानको खोज, अनुसन्धान र अध्ययन गर्ने हो भने अझै धेरै पुराना इतिहास पत्ता लाग्ने उहाँको भनाइ छ । लुम्बिनी विश्व समुदायकै लागि खोज, अध्ययन र अनुसन्धानको महत्पूर्ण थलो हो । विगत १७ वर्षयतादेखि लुम्बिनीमा लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापना गरेर यसको अध्ययन र अनुसन्धानको लागि थप सहयोग पुर्याउने काम भएको छ । लुम्बिनी विकास कोष पनि यो कार्यमा लागिरहेको छ । यही ऐतिहासिक महत्वकै कारण युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदाको सूचीमा राखेको छ । त्यसैले पनि यसको महत्त्व थप पुष्टि गर्दछ । लुम्बिनी र गौतम बुद्धसँग सम्बन्धित विषय केवल मायादेवीको मन्दिर वरपर मात्र छैन । नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रमा पनि जोडिएका छन् । ती क्षेत्रमा अझै उत्खनन र अध्ययन गर्ने काम नै भएको छैन । बुद्ध दर्शन यति व्यापक छ, जसको अध्ययन र अनुसन्धानमा अध्यताहरु निरन्तर लागि रहनुभएको छ । अझै पनि उहाँहरू त्यसको चुरोमा पुग्न सक्नु भएको छैन । त्यो ज्ञानको महासागर भित्र उहाँहरू चुर्लुम्मै डुबेर हराउनु हुन्छ । बुद्धको जन्मथलो र उहाँसँग जोडिएका स्थान र क्षेत्र यति सौम्य र प्रिय छन् जति घुमे पनि अघाइन्न् । प्यास मेटिँदैन । उहाँसँग जोडिएको क्षेत्र यति व्यापक छ, जसको उत्खनन जति गर्यो त्यति धेरै नयाँ कुरा र ज्ञान प्राप्त हुँदै जान्छ । साँच्चै तपाईँ पनि पुग्नुभयो त लुम्बिनी ? छैन भने योजना बनाउनुस्, भ्रमण गर्नुस् र धार्मिक तथा ऐतिहासिक भ्रमणको मज्जा एकैसाथ लिनुहोस् ।
जति घुमे पनि नअघाइने लुम्बिनी, जति उत्खनन गरे पनि नसकिने लुम्बिनी
लुम्बिनी । शान्तिका प्रवर्तक र शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो हो लुम्बिनी । विश्वभरिका मानिसले लिने नाम हो लुम्बिनी । अनि संसार भरिकै...
SUNRISE KHABAR
3 min read
