♦- निराेज पाैडेल
अहिले नेपाली राजनीति महाधिवेशनमय छ । नेकपा एमाले, नेपाली कांग्रेस लगायतका ठूला राजनीतिक दलले महाधिवेशन सकेका छन् । राप्रपा, नेकपा माले लगायतका दलले पनि महाधिवेशन गरेका छन् । माओवादी केन्द्रले महाधिवेशन नामको सम्मेलन गरी पार्टीको कानुनी वैधता सुरक्षित गर्ने औपचारिकता पूरा गर्ने काम गर्दैछ ।
यी महाधिवेशन तथा राजनीतिक गतिविधिलाई आसन्न चुनावको तयारीको रूपमा प्रयोग गरिएको पनि हेर्न सकिन्छ । अब हुने स्थानीय, प्रदेश र संघीय चुनावको पूर्व तयारीको रूपमा यी गतिविधिलाई लिनुपर्दछ । त्यसैले पनि दलहरुका यी कार्यक्रमलाई सबैले गम्भीरता र चासोका साथ हेरिरहेका छन् ।
विभिन्न पार्टीका महाधिवेशनमध्ये एमालेको महाधिवेशन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको केन्द्र बन्यो । एमाले महाधिवेशनले जति मिडिया कभरेज र जनचासो कुनै पार्टीको महाधिवेशनले पाएको देखिएन । जनसहभागिताका दृष्टिले हेर्ने हो भने एमालेको महाधिवेशन सर्वोत्कृष्ट रह्यो । एमाले महाधिवेशनले सबैका महाधिवेशनलाई ओझेल पारिदियो । चर्चा र जनसहभागिताका दृष्टिले एमालेको महाधिवेशनको तुलनामा अन्य दलका महाधिवेशन फिक्का रहे ।
माओवादीको महाधिवेशन मूलतः ‘श्राद्धमा बिराले बाँध्ने’ उपक्रम जस्तै देखिएको छ । अर्थात् पार्टीलाई वैधानिकता दिनका लागि मात्र माओवादीले महाधिवेशन गरेको प्रष्टै देखिन्छ । माओवादीको महाधिवेशनमा वैचारिक रुपमा केके भइरहेको छ भन्ने खासै चर्चा नभएको अवस्था हो । माओवादीको महाधिवेशनमा न नेताहरुमा उत्साह देखियो, न कार्यकर्तामा उत्साह देखियो । हरेक राजनीतिक दलका लागि महाधिवेशन एक पर्व हो, यस्तो पर्वमा व्यापक जनसहभागिता बीच उद्घाटन समारोह गरिन्छ । ससाना पार्टीले समेत आमसभा सहितको महाधिवेशन गर्छन् । तर, माओवादीले खुला सभा समेत गर्न सकेन । अर्थात्, माओवादी केन्द्र वैचारिक रुपमा मात्र नभएर संगठनात्मक रुपमा समेत मृत्यु उन्मुख भएको सन्देश महाधिवेशनले दिएको छ ।
बरु, राप्रपाको महाधिवेशनले नेतृत्वका लागि एमाले र कांग्रेसले जस्तै व्यापक चुनाव गरेको छ, पार्टी नेतृत्व परिवर्तन गरेर राजनीतिक तरंग सिर्जना गरेको छ । माओवादीको भन्दा राप्रपाको महाधिवेशन चर्चा र चासोको विषय बन्यो । वैचारिक बहसमा शून्यता रहे पनि कांग्रेसको महाधिवेशनले एक प्रकारको हलचल पैदा गरेको मान्न सकिन्छ । वैचारिक बहस शुन्य र भावी नेपाल निर्माणको दृष्टिकोण नै नभएको कांग्रेससँग जनअपेक्षा नहुनु स्वाभाविक हो । तैपनि सामाजिक सञ्जालमा चर्चित रहेका नयाँ पुस्ताका केही नेताले पदाधिकारी पदमा उम्मेदवारी दिनाले कांग्रेसको महाधिवेशन तर्फ धेरैको ध्यान तानिएको थियो ।
बहुदलीय कालखण्डको तीन दशकको विगत परिदृष्यलाई केलाउने हो भने राजनीतिका हरेक मोर्चामा तथा सरकार सञ्चालनमा एमालेको भूमिका नेतृत्वदायी रहेको देखिन्छ । केपी शर्मा ओलीले पार्टी अध्यक्ष पद समाल्नु अघि पनि संगठनका दृष्टिले एमाले नै देशको पहिलो नम्बरको पार्टी थियो । तैपनि चुनाव तथा अन्य विभिन्न मोर्चामा भने एमाले पछाडि परेको थियो । केपी ओली नेतृत्वमा आउनु अघि एमाले वैचारिक तथा राजनीतिक पहल कदमीका दृष्टिले निरन्तर कमजोर बन्दै गएको थियो । जनताको बहुदलीय जनवाद (जबज) जस्तो शशक्त विचार तथा कार्यक्रम बोके पनि एमाले ढुलमुले पार्टीका रुपमा दरिएको थियो । ओलीले समाल्नु अघिको एमाले अरुको एजेण्डाको पिछलगू बनेको थियो । तेह्रौँ महाधिवेशनमा केपी ओली अध्यक्ष बन्नुभएपछि देशको समग्र राजनीतिको केन्द्रमा रहेको पार्टी एमाले बनेको छ भने केन्द्रीय नेतृत्व ओली बन्नुभएको छ । पार्टीको दायराभन्दा माथि उठेर राष्ट्रिय नेता तथा राजनेताका रुपमा ओलीले भूमिका निर्वाह गरिरहनुभएको छ ।
अहिले एमालेले क्रिया गर्छ, अन्य पार्टीले प्रतिक्रिया दिन्छन् । एमाले हात्ती जसरी अगाडि बढिरहेछ, अन्य पार्टीहरुको हात्तीको पुच्छर तानिरहेका छन् । एमाले दौडिरहेको छ, अन्य पार्टीहरु हिँडिरहेका छन् । रंगमञ्चको नायक जस्तो एमाले बनेको छ, अन्य पार्टीहरु खलनायक जस्तो देखिँदै छन् । अर्थात्, यो कालखण्डमा एमाले अगुवा बनेको छ ।
विगतमा मरिच जस्तै चाउरिएको एमाले केपी ओलीको नेतृत्वमा जागृत भएको छ । एमाले पार्टीपंक्ती तथा यसका शुभचिन्तकहरु महाधिवेशन अघि जति उत्साहित थिए, चितवन महाधिवेशनपछि झन् उत्साहित भएका छन् । राजनीति प्रति खासै चासो नराख्ने मानिसहरु पनि एमालेको महाधिवेशनपछि उत्साहित बनेका छन् । महाधिवेशनपछि एमाले कार्यकर्ता र जनताप्रति झनै आशा र भरोसा बढाएको छ, देशमा उत्साह जगाएको छ । यो काम अन्य पार्टीको महाधिवेशनले गर्न सकेको देखिँदैन ।
राजनीति तलाउको पानी जस्तो स्थिर रहँदैन । यो गतिशील हुन्छ र हुनपर्छ । अब छिट्टै पालिकाको निर्वाचन गर्नैपर्ने संवैधानिक बाध्यता छ । त्यस लगत्तै प्रदेश तथा सङघीय संसद्को पनि चुनाव हुन्छ नै । हुनत पाँच दलीय गठवन्धनले चुनाव टार्न अनेक कोशिष गर्नेछ । पाँच दलभित्र अरुको बुई नचढी चुनावमा जान नसक्ने पार्टीहरु छन् । जस्तो कि माओवादी र माधव नेपालको पार्टी कांग्रेसको बुई नचढी चुनावमा गयो भने अस्तित्व समाप्त हुन्छ भन्ने चिन्तामा छन् । खासगरी माओवादीमा महाधिवेशनसँगै निराशा झन् बढ्ने प्रष्टै बुझिन्छ । उता एमाले भने महाधिवेशनपछि तिब्र गतिमा संगठन विस्तारमा लागेको छ, जनताको विशाल पंक्तिलाई पार्टीप्रति झन् आकर्षित गरिरहेको छ ।
राजनीतिक दलहरुका महाधिवेशनले पनि आगामी चुनावको झल्को दिएको छ । नेपाली जनताले पनि राजनीतिक पार्टीका गतिविधिलाई मिहिन ढङ्गले नियालिरहेका छन् । जनताले पार्टी सरकारमा रहँदा गरेका काम मार्फत पनि मूल्याङ्कन गरेकै हुन्छन् । चुनावमा जनताले हरेक दल तथा नेताको मूल्यांकन गर्नेछन् ।
एमालेले दुई तिहाई ल्याउँछ भन्ने आकलन पाँच दलीय गठवन्धनका नेताहरुले पनि गरिसकेका छन् । त्यसैले उनीहरु चिन्तामा देखिन्छन् । भावी राजनीतिक परिदृष्यमा एमालेले दुई तिहाई मत पाउने देखेकाले पनि कांग्रेस माओवादी लगायतका दलको महाधिवेशनमा उत्साह नदेखिएको हो ।राजनीतिक दललाई मूल्यांकन गर्ने धेरै आधार हुन्छन् । त्यस्तो आधारमध्ये एउटा महाधिवेशन पनि हो । कसले कस्तो आकार, प्रकार र गुणको महाधिवेशन गर्यो भन्ने जनताले देखिसके ।
महाधिवेशनहरुको सेरोफेरोलाई ध्यानमा राखेर आकलन गर्दा पनि अबका चुनावहरुमा एमालेले दुईतिहाई मत पाउने प्रष्ट देखिएको छ ।
(लेखक निरोज पौडेल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)
