--प्रकाश रावल--
नेकपा एमाले देशको पहिलो राजनीतिक शक्ति हो । नेपालको वामपन्थी आन्दोलनको मात्र नभएर देशकै प्रमुख पार्टी हो । जनताको बीचबाट स्थापित भएको पार्टी हो । जनताले बचाएको र जनताकै जगबाट उठेको पार्टी हो । एमालेको आधार जनता हो अनि जनताको आधार पनि एमाले नै हो । एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार हो । एमाले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि उभिने एक मात्र पार्टी हो । एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा स्पष्ट र सशक्त आवाज उठाउने पार्टी हो । त्यही एमाले पार्टीका नेता जन्माउने प्रमुख थलो हो अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ।
जसरी नेकपा एमाले देशको प्रमुख पार्टी र शक्ति हो । त्यसैगरी अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको प्रमुख र निर्विकल्प शक्ति हो । अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मूल धार हो । अनेरास्ववियु नेपाली विद्यार्थी आन्दोलनको उदाउँदो सूर्य हो । देशका लाखौँ विद्यार्थी मात्र नभएर समाज, देश र जनताको लागि लडिरहने शक्ति हो । सामाजिक रूपान्तरका लागि काम गर्नेहरूको संगठन हो । सामाजिक विकृति र विसंगतिविरुद्ध लड्ने, किशोर, युवा र विद्यार्थीकाे संगठित र अनुशासित संगठन हो । अनेरास्ववियुले विद्यार्थीको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ । त्यति मात्र होइन देश र जनताको हितका लागि अनेरास्ववियुले निरन्तर आवाज उठाउँदै आएको छ ।
शैक्षिक र सामाजिक क्षेत्रमा देखा परेका विकृति विसंगतिको अन्त्यका लागि सम्बन्धित निकायलाई घचघच्याउने काम अनेरास्ववियुले गर्दै आएको छ । महँगी, मूल्यवृद्धि, शिक्षा क्षेत्रको विकृति-विसंगति, सामाजिक विभेद लगायत विषयमा पनि अनेरास्ववियुले आवाज उठाउँदै आएको छ । अनेरास्ववियु आफूले उठाएको एजेण्डालाई लगातार उठाउँछ र त्यसलाई निष्कर्षमा पुर्याएर छाड्छ । जुन कुरा इतिहासले पुष्टि गरिसकेकाे छ ।
जनजिविकाका सवालसँगै देश र जनताका लागि अनेरास्ववियु हरपल खटिरहेकाे छ । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । सामाजिक परिवर्तन भए । क्रान्ति भए । तर अझैपनि परिवर्तन संस्थागत हुन सकेकाे छैन । युवाका कुरा, विद्यार्थीका मुद्दा,जनजिविकाका सवालमा धेरै काम गर्नै बाँकी छ । यसका लागि देशका सबै विद्यार्थीहरु अनेरास्ववियुमा आवद्ध हुन जसरी छ । याे अहिलेकाे आवश्यकता हाे र समयकाे माग पनि यही हाे । किनकी अनेरास्ववियुले जे बाेल्छ,जे मुद्दा उठाउँछ त्याे मुद्दा टुंगाेमा पुर्याएर छाड्छ । आफ्नाे जिम्मेवारी बिचमै छाेड्ने छुट अनेरास्ववियु र उसका नेता-कार्यकर्तालाई छैन । अनेरास्ववियु र यसका नेता कार्यकर्तालाई थाक्ने छुट पनि छैन ।देश र जनताका लागि निरन्तर याेगदान गर्नु अनेरास्ववियुकाे परम धर्म हाे । चाहे आफ्नाे दलले हाेस् चाहे अन्य दल देश र जनताका विरुद्ध गरेका कुनै निर्णयमा अनेरास्ववियु खराे उत्रिन्छ ।
अनेरास्ववियुनै किन रोज्ने ?
नेकपा एमाले नेतृत्वकाे सरकारले थालेकाे 'समृद्ध नेपाल,सुखी नेपाली'काे अभियान पूरा गर्ने अभियानमा पूर्ण रुपमा सघाउनु अनेरास्ववियुकाे दायित्व हाे । एमालेले लिएकाे समाजवादकाे लक्ष्य पूरा गर्न आफ्नाे ठाउँबाट सक्दाे पहल गर्नु अनेरास्ववियुकाे कर्तव्य हाे । किनकी एमालेले भनेकाे समाजवाद भनेकाे देश समृद्ध हुनु, जनता सुखी हुनु हाे, विकास र समृद्धिकाे लक्ष्य पूरा हुनु हाे, हरेक नेपालीकाे आधारभूत आवश्यक पूर्ण रुपमा पूरा हुनु हाे, राष्ट्रियताकाे रक्षा गर्नु हाे र जनताकाे मुहारमा खुशी ल्याउनु हाे । वेराेजगारले राेजगारी पाउनु पनि एमालेले भनेकेा समाजवाद हाे । यी सबै कुरा पूरा गर्न अनेरास्ववियुमा आबद्ध हरेक व्यक्तिले याेगदान गर्न आवश्यक छ । अनेरास्ववियुमा नजाेडिएका पनि जाेडिन आवश्यक छ । किनकी एमालेले लिएकाे देश बनाउने नीति अनेरास्ववियुले अनुशरण गरेर अगाडि बढ्न जरुरी छ । सबै मिलेर काम गरे मात्र समाजवादकाे लक्ष्य पूरा हुन्छ । समाजवादकाे लक्ष्य पूरा हुनु भनेकाे देश थप एक कदम अगाडि बढ्नु हाे । देशभरका युवा शक्तिलाई एकताकाे झण्डामुनी गाेलबद्ध गरेर देशकाे उन्नति र प्रगतिका लागि निरन्तर लडिरहने एक मात्र विद्यार्थी संगठन अनेरास्ववियु हाे ।
दक्षिणपन्थी शक्ति र उग्र क्रान्तिकारी विद्यार्थी संगठनका भ्रमपूर्ण अभिव्यक्तिका कारण अनेरास्ववियुलाई बदनाम गराउने प्रयत्न हुँदैछ । उनीहरूका क्रियाकलापबारे विद्यार्थी, बौद्धिक वर्ग र आम जनतालाई सत्य बुझाउनु अनेरास्ववियुकाे कर्तव्य हो । विद्यार्थी संगठनकाे नामबाट काम गरेपनि अनेरास्ववियुले देश र जनताका लागि काम गरिरहेकाे हुन्छ । एमालेसँगै अनेरास्ववियु विरुद्ध फैलाइएका भ्रम ताेड्न जरुरी छ । राष्ट्रिय स्वाभिमानसाथ विद्यार्थी आन्दोलनको स्वतन्त्र विचार कलमको सहायताबाट सगरमाथाको उचाइमा पुर्याउने शाहस जब कोही विद्यार्थीमा आउँछ तबदेखि उ पूर्ण रूपमा अनेरास्ववियु बन्छ । अनेरास्ववियुको स्वर्ण अक्षरमा लेखिएका विगतका इतिहासका पानालाई पल्टाएर राष्ट्रियता र राष्ट्र प्रेमको करुणा रुपी हृदयले उच्चारण गर्दा हर कोही अनेरास्ववियु प्रेमीको छाती गर्वले फुल्छ र ठूलो हुन्छ । अनेरास्ववियु राष्ट्रिय स्वाभिमानमा आफ्नो शीर निहुरिन नदिने संगठन हो ।
शासकलाई होस् वा भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्धमा लडाइँ लडिरहने एक अग्रपंक्तिको संघठन भएकाले पनि यसको इतिहास छुट्टै पानामा लेखिएको छ । अनेरास्ववियुले थुप्रै नेता जन्माएकाे छ । अनेरास्ववियुले जन्माएका तीनै नेताहरुले अहिले एमालेलाई हाँकिरहनुभएकाे छ । देश र जनताका लागि लागिरहनुभएकाे छ । चाहे कालापानी लिपुलेकमा मार्च पास अभियान होस् चाहे भारतीय नाकाबन्दी र देशमा सृजना भएको संकटमा अनेरास्ववियु सधैं अग्रपंतिमा थियाे, छ र रहनेछ । राष्ट्रिय स्वाभिमानसाथ सधैं देश र जनतालाई शीरमा राखेर अनेरास्ववियु अगाडि बढेको छ । गरिब दुखीहरुकाे आवाज बाेल्ने,गरिब दुखीकाे हितका लागि काम गर्ने,शैक्षिक मुद्दाहरुबारे बाेल्ने संगठन भनेकाे अनेरास्ववियु मात्र हाे । त्यसैले आम युवा अनेरास्ववियुमा आबद्ध हुन आवश्यक छ । अनेरास्ववियुलाई नै राेज्न आवश्यक छ । अनेरास्ववियुमा जाेडिएर देशका लागि याेगदान गर्न आवश्यक छ ।
सधैं एक कदम अगाडि
देशमा प्राकृतिक विपत्ति आउनासाथ उद्धार र राहतका लागि सबैभन्दा पहिले पुग्ने काम अनेरास्ववियुले गर्दै आइरहेकाे छ । विपद् व्यवस्थापनका लागि सरकारलाई झकझकाउने काम अनेरास्ववियुले गर्दै आइरहेकाे छ । भूकम्प,बाढीपहिराे र डुवानमा परेकाहरुकाे उद्धार र राहतका लागि अनेरास्ववियुले काम गर्दै आइरहेकाे छ । विद्यार्थीकाे शुल्क वृद्धि विरुद्ध, पेट्राेलियम लगायत खाद्य पदार्थमा भएकाे मूल्य वृद्धि विरुद्ध सबैभन्दा पहिले मैदानमा उत्रिएर सम्बन्धित निकायलाई झकझकाउने काम अनेरास्ववियुले गर्दै आएकाे छ । मेलम्चीका बाढीपीडितकाे पीडामा मलम लगाउन सबैभन्दा पहिले अनेरास्ववियु पुगेकाे थियाे । ०७२ बैशाख १२ मा गएको महाभूकम्पको भोलिपल्टै अनेरास्ववियु १२ वटा समूह बनाएर अति प्रभावित जिल्ला गएर उद्धारमा सक्रिय थियाे । यस्ता लाखाैं उदाहरण छन् जाे अनेरास्ववियु अगाडि नसरेकाे हाेस् । अनेरास्ववियु नजाेडिएकाे हाेस् ।
सामाजिक,सांस्कृतिक र राजनीतिक परिवर्तनमा मात्र नभएर 'समृद्ध नेपाल सुखी नेपाली' निर्माणमा पनि अनेरास्ववियु सक्रिय रुपमा अगाडि बढिरहेकाे छ । विद्यार्थी र जनातको अधिकार प्राप्ति तथा विद्यार्थीको बौद्धिक,नैतिक एवं आत्मविश्वासका लागि क्रियाशील रहने, विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक समाजवाद उन्मुख र सर्वसुलभ शिक्षा प्राप्त गर्ने तथा सबैले निशसल्क रूपमा शिक्षा पाउने वातावरण मिलाउने काममा पनि अनेरास्ववियु अग्रपंक्तिमा छ । नेपाली समाजलाई आमूल परिवर्तन गर्ने र शैक्षिक जागरणको कार्यदिशा अनुरूप अगाडि बढ्ने, नेपाल र भारतबीच भएका अपमानजनक र असमान सन्धि सम्झौता खारेज गर्ने, अनेकौँ ठाउँमा भएका सीमा अतिक्रमणको विरोध गरी राष्ट्रिय स्वाधीनता र सामाजिक मुक्तिको आन्दोलनलाई अघि बढाउने, सामन्तवाद, दलाल नोकर शाही, पुँजीवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनलाई उचाइमा पुर्याउने, नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको पक्षमा विद्यार्थी समुदाय र आम जनसमुदायसम्म पुर्याउने र जनमत सिर्जना गर्ने लगायत उद्देश्य बाेकेर अनेरास्ववियु हिँडिरहेकाे छ । ती उद्देश्य पूरा गर्ने काममा अनेरास्ववियु सफल हुने क्रममा छ ।
अनेरास्ववियुकाे काँधमा धेरै ठूलाे जिम्मेवारी छ । त्याे जिम्मेवारी पूरा गर्न अनेरास्ववियुले आफ्नाे कामकाे प्रवाहलाई अझ अगाडि बढाउनु जरुरी छ । शिक्षामाथि व्यापार गर्ने काम राेकिएकाे छैन । निजी र सरकारी शैक्षिक गतिविधिको गुणस्तरमा आकाश पातलको असमानता छ । सरकारी विद्यालय र विश्वविद्यालयमा बढ्दो राजनीतिक नियुक्ति प्रमुख चुनौतीकाे विषय बनेको छ । आंगिक क्याम्पसमा विगतका दशकदेखि स्ववियु चुनाव नहुँदा विद्यार्थीका हकहितका मुद्दा ओझोल पर्दै आएका छन् । यसका लागि अनेरास्ववियुले आवाज उठाइसकेकाे छ । चुनावकाे मिति प्रस्ताव गरिसकेकाे छ । यी सबै समस्या र मुद्दाकाे सम्बाेधनका लागि अगाडि बढ्ने भनेकै अनेरास्ववियु हाे । विद्यार्थी आन्दोलन बचाउने हो भने स्ववियु चुनाव हुन आवश्यक छ ।
(नोट : लेखक प्रकाश रावल अनेरास्ववियु नेपाल कमर्स क्याम्पसका सचिव हुनुहुन्छ ।)
