- कमल चौलागाईँ ऋषि देवकोटा आजादको हत्या भएको ४१ वर्ष पछि उहाँको अर्को फोटो फेला परेछ । यस अघि उहाँको एउटा मात्र फोटो फेला परेको थियो । देवकोटाको त्यही एउटा मात्र दुर्लभ फोटो सबैतिर प्रयोगमा थियो । उहाँहरूका एक आफन्तकोमा राखिएको सो फोटो फेला परेर छ । त्यो फोटो निक्कै जतन साथ राखेको पाइयो । फोटो भेटेपछि उहाँकी कान्छी छोरी जोसिला देवकोटाले एउटा मार्मिक स्ट्याटस पोष्ट गर्नु भएछ । त्यसले मलाई भित्रैसम्म छोयो ।
उहाँको स्मरणमा मलाई पनि केही लेख्न मन लाग्यो । उहाँसँगको सङ्गत र सहकार्य मैले अझै पनि बिर्सिएको छैन । त्यो बिर्सने कुरा पनि भएन ।
विसं २०३५/३६ तिर क. आजाद तत्कालीन नेकपा (चौम) को केन्द्रीय सदस्य भएकोले पूर्वी ब्युरो (१६ जिल्ला) को इन्चार्ज हुनु हुन्थ्यो । म रामेछाप जिल्ला सेक्रेटरी भएको कारण ब्युरो सदस्य थिएँ । पार्टीको सङ्गठन र आन्दोलन संयोजनको सिलसिलामा रामेछाप ,र पूर्वी जिल्लामा आजाद र म गाउँ गाउँ हिँडेका थियौँ ।
कान्छी छोरी जोसिला जन्मेको ताका आफ्नो सुत्केरी पत्नी गोमा देवकोटालाई भेट्न भूमिगत रूपमा आजाद सिराहा वस्तिपुर जाँदा पनि म साथै थिएँ । बेखर्ची र भोकै हिँड्नु परेको कारण उहाँले आफ्नो मित रामप्रसाद गजुरेललाई खर्च मागेर एउटा लामो चिठ्ठी दिएर मलाई रामेछापको गौरीशङ्कर हाई स्कुलमा पठाउनु भयो । तर म खाली हात फर्कनु परेको थियो ।
बिँडी खुब पिउनु हुन्थ्यो आजाद । बेखर्ची हुँदा वनमा सुकेको सतिबेरको पात बेरेर पनि विना सुर्ती धुवाँ उडाउनु हुन्थ्यो ।
विसं २०३६ ताका सिन्धुली भिमानका रघुनाथ कोइराला मारिएको कारण सिन्धुलीमा चरम राज्य आतङ्क भएबाट पार्टी जिल्ला कमिटी सदस्यहरू दुर्गा सुवेदी, दलबहादुर रजन मगर मारिनु भयो । तत्कालीन सिन्धुली जिल्ला पार्टी सेक्रेटरी सीपी गजुरेल लगायत कैयन व्यक्तिहरू चरम यातना साथ थुनामा हुनु हुन्थ्यो । बाँकी धेरै वारेन्टेड नेता कार्यकर्ताले भूमिगत रूपमा रामेछापका विभिन्न गाउँमा सेल्टर लिनु भएको थियो । त्यस ताका सिन्धुलीको जिल्ला कमिटीको मिटिङ नै भूमिगत रूपमा रामेछाप मा भएको थियो ।
रामेछापका गुन्सीभदौरे ९ हाम्रो गाउँ० , दिमीपोखरी, मैरे ,मन्दर, रजमन्टार,आरुखर्क, वेथान सार्की गाउँ, डहु, रिष्ठे, थापागाउँ, मानपुर, च्यासिनटार, टिमु, डडुवाको सुर्के, सैलुङ राजभिर गुम्बा, दोरम्बा, पुरानागाउँ, भंगेरी, भलुवाजोर, होदिल, ओख्रेनी, खिम्ति, तिल्पुङ, पिपलदिप, सैपु देविथान, भूजी, दुरागाउँ साव्रा, नमाडी भित्तरी, बन्चरे आदि गाउँमा भूमिगत सङ्गठन गर्न सिन्धुलीका कमरेडहरुको योगदान रहेको थियो । यी मध्ये धेरै गाउँमा क। आजाद पुग्नु भएको थियो ।
भूमिगत सेल्टर बसेको घरमा जाँतो पिध्ने, हलो जोत्ने, भारी बोक्ने, दाउरा खोजेर ल्याउने, चिर्ने, बच्चाको थाङ्ना, दिसा–पिसाव धोइ दिने, खाना पकाई दिने जस्ता सबै काम आजादले गर्नु हुन्थ्यो । ढिकी कुट्ने, नाङ्लो छिन्कने जस्ता काम नजान्नेलाई सिकाउनु हुन्थ्यो । छिटो हिँड्नु हुन्थ्यो । मिठो नमिठो केहि नभनि दिएको खुसी साथ खानु हुन्थ्यो आजाद ।
सैलुङ राजभिर आनिको (थुप्तेन ग्याल्छेनको आमा) गुम्बामा हामी जिल्ला कमिटि मिटिङ गर्थ्यौँ । सैलुङ पुग्नासाथ क। आजादको मन त्यसै त्यसै उद्वेलित हुन्थ्यो । चीनको चिङकाङ सान पहाडसँग सैलुङलाई दाँजेर त्यस ठाउँमा छापामार सैन्य तालिम चलाउने र वरिपरिका गाउँलाई आधार इलाका बनाउने कल्पना गर्नु हुन्थ्यो ।
त्यस सोचमा आधारित भएर आजादले एउटा सैन्य दस्ताबेज लेख्नु भएको थियो । त्यो समेत उहाँका लेख र किताब भएको ट्याङ्का सैपुका क. चतुरमान सुनुवारको घरमा थियो । जङ्गलको छेउको घर हुनाले अक्सर हामी लामो समय बस्दा त्यही ठाउँ रोज्थ्यौ ।
आजादले धनुषाका कम्युनिष्ट नेता सूर्यनाथ रान यादवलाई क्रान्तिकारी हिरो नै मान्नु हुन्थ्यो । क.सूर्यनाथ नेतृत्वमा भएका धनुषा, सिराहाका जमिनदार विरोधी सङ्घर्ष, डाँका तथा दमन गर्ने पुलिसको कसरी सफाया गरियो भन्ने बारे थुप्रै घटना र किस्साहरू सुनाउनु हुन्थ्यो ।
आजादले नेकपा चौमबाट विद्रोह गरे पछि सोझै भदौरे स्थित मेरो घरमा आइपुग्नु भयो । जति बेला सिन्धुली पार्टी जिल्ला कमिटीका अधिकांश कमरेडहरू त्यहीँ भएकोले हरिवोल गजुरेल पनि जेलबाट छुटेर त्यहीँ आइपुग्नु भयो । जिल्ला कमिटी बैठक बस्यो । एक सदस्य रस बहादुर कार्की बाहेक सबैले आजादले विद्रोह गर्नु गलत भएको ठहर गर्यो ।
उहाँले काठमाडौंमा निर्मल लामा, दिलबहादुर श्रेष्ठ समेत वाग्मती ब्युरोका साथी भेट्छु भन्नु भयो । मैले तत्काल पार्टी सेल कमिटी सदस्य सुबोध चौलागाईँ साथ लगाएर काभ्रे मादन कुडारीका कमानसिं लामाकोमा जाने व्यवस्था मिलाए । त्यहाँबाट कमानसिंको साथ लागी फलाटे स्कुलका श्याम श्रेष्ठ (काभ्रे पार्टी सेक्रेटरी) र त्यहाँबाट काठमाडौं घट्टेकुलोका बलराम बास्कोटाको सम्पर्कमा आजादलाई पठाइयो ।
पछि सुने अनुसार वाग्मती ब्युरोले उहाँलाई विद्रोह नगर्न सुझाव दिएछ । तर उहाँले मान्नु भएनछ । पछि विद्रोही केन्द्र बनाएर उहाँ र धनुषाका क. आसेस्वर यादव भएर नेकपा मालेसँग एकता वार्ता चलाउनु भएछ । एक दिन फेरि दिउसो ४ बजे भदौरे स्थित मेरो घरमा आजाद आइपुग्नु भयो । वारेन्टेड भएको कारण हामी प्राय राती हिँड्थ्यौँ । टर्च वा बत्ती बाल्न निषेध थियो । म आफैँ मेरो घरमा राति मात्रै आउँथे । उहाँ डेथ वारेन्ट भएको मान्छे, किन यस्तो लापरबाही गर्नु भएको भनेर आपत्ति जनाएँ । मैले चौम छोडी सकेकोले त्यति कडाइ नगर्ला भन्नु भयो । तपाईँ मुग्लान भासिए पनि तपाईँ माथि यति धेरै सङ्गिन मुद्दा छन् कि भेट्ना साथ मारिदिन्छन् भनेँ । उहाँले त्यसमा सही थाप्नु भयो र भन्नु भयो मुगिटार आइपुग्दा एउटा दरबारको सीआईडी सूर्य प्रसाईँ भेट भयो । उसले पनि खुला नहिँड्नोस्, खतरा छ भन्यो । दुई दिनदेखि भोको थिएँ, उसले लगेर टन्न दही चिउरा खुवायो भन्नु भयो ।मेरो नातेदार ठाकुर गौतमले मिलिटर ब्याग दिनु भएको थियो । नयाँ बोक्न सजिलो रहेछ भन्नुभयो । मैले त्यो आजादलाई दिएँ, खुसी हुनुभयो ।
त्यस पछि आजादलाई कुरियर साथ लगाएर काभ्रे हुँदै काठमाडौं पठाइदिएँ । त्यताबाट घुम्दै भिमान पुग्नु भएछ । चौम पार्टी छोडेकोले उसका सेल्टर निषेध भएको र नयाँ सङ्गठन बनिसकेकोले सुरक्षित सेल्टर नभएको स्थितिमा उहाँको मितसँग भेट भए छ । उसले घर लगेछ र पुलिसलाई खबर गरिदिएछ । घेराउ गरी उहाँलाई प्रहरीले पक्राउ गरी लगेछन् । पछि राति भिमानको जङ्गलमा लगेर गोली हानी हत्या गरेर बोरामा हालेर राति नै लास डढाई दिएछन् ।
वोलिभियाको जङ्गलमा अर्नेष्टो चे ग्वे भारालाई जसरी नै नेपालको भिमानको जङ्गलमा नेपाली क्रान्तिकारी योद्धा क. ऋषि देवकोटा ’आजाद’ को निरङ्कुश सत्ताले हत्या गर्यो । आजाद मारिनु भयो तर उहाँ आजाद नै रहनुभयो । रामेछापको प्रगतिशील सङ्गठन तथा महिला जागरणको उहाँ जग हुनु हुन्थ्यो । नेपाली क्रान्तिको इतिहासमा क।आजाद अजर अमर रहनु भएको छ ।
(लेखक नेकपा एमाले पोलिटब्युरो सदस्य हुनुहुन्छ )
