--गोविन्द थापा--
माओवादी केन्द्र डेरा हो । माधव नेपालको त पार्टी नै होइन, पौवा मात्र हो । नेकपा एमाले चाहिँ घर हो । नेपालका समस्त कम्युनिष्टहरुको घर एमाले हो । कम्युनिष्टहरुको मात्र नभएर विकास र समृद्धि चाहनेहरु सबैको घर हो एमाले हो । देशको स्वाभिमान, विकास, उन्नति, नेपाली संस्कृति, नेपालीपन र नेपाली मनका लागि एमाले नै रोज्नुपर्छ । यस अर्थमा नेकपा एमाले भनेको विकास र समृद्धि चाहने सबैको घर हो । नेपालीको साझा घर एमाले मात्र हो । देशको विकास र समृद्धि चाहनेहरुले डेरा छाडेर घर आउनुपर्छ, घरमा सबैलाई स्वागत गर्नुपर्छ भन्ने भावका साथ नेकपा एमालेले अहिले विशेष अभियान चलाइरहेको छ ।
अभियानका कारण अहिले देशभरी एमाले प्रवेशको लहर चलिरहेको छ । हजारौं हजार मानिस, विभिन्न पार्टीका नेता कार्यकर्ताहरु प्यारो घर एमालेमा पसिरहेका छन् । वास्तवमा उनीहरु एमाले पार्टीमा प्रवेश गरेका होइनन्, डेरा छाडेर आफ्नो प्यारो घर आएका हुन् ।
हजारौंहजार मानिस एकैपटक एमाले प्रवेश गर्ने काम कसरी भइरहेको छ ? धेरैलाई जिज्ञासा लाग्दो हो । कतिपयले नकारात्मक प्रश्न पनि उठाइरहेका छन् । यस्ता चर्चाका बीच २०४८ सालपछिको नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाको सम्झना आउँछ ।
त्यो झुठो प्रवेश
०४८ सालमा कांग्रेसले बहुमतको सरकार बनायो । प्रधानमन्त्री बन्नुभयो गिरिजाप्रसाद कोइराला । उहाँ जहाँ जानुहुन्थ्यो त्यहाँ कांग्रेस प्रवेश कार्यक्रम राख्नुहुन्थ्यो । त्यसबेला अहिलेजस्तो सञ्चार माध्यम ब्यापक थिएनन् । देशव्यापी पहुँच भएको सञ्चार माध्यम रेडियो नेपाल मात्र थियो । कांग्रेसको नियन्त्रणमा रहेको रेडियो नेपालले कांग्रेस प्रवेशको कार्यक्रमलाई बढाईचढाई प्रसारण गथर््यो । अतिरञ्जित बनाएर समाचार दिन्थ्यो ।
दुई चार जना मानिस कांग्रेसमा प्रवेश गरे भने पनि दुई चार सय भनेर समाचार फैलाउन खोजिन्थ्यो । सुरुसुरुमा त धेरैले कांग्रेस प्रवेशको समाचार पत्याए । तर, विस्तारै पोल खुल्दै गयो । कांग्रेस प्रवेशको समाचार मानिसले पत्याउनै छाडे । कांग्रेस प्रवेशको समाचार आउँदा मानिसहरु हास्न थाले । किनभने संख्या बढाईचढाई गरिन्थ्यो, समाचार झुठो हुन्थ्यो, अंक झनै झुठो हुन्थ्यो ।
गिरिजाप्रसाद र उहाँको रेडियो नेपाल सहितका सञ्चार माध्यमहरुले एक वर्षमा कति मानिसलाई कांग्रेस प्रवेश गराएछन् भनी हिसाब गर्दा नेपालको जनसंख्या भन्दा धेरै भएको थियो रे भन्ने किस्सा पूरानो भइसकेको छैन । तर, अब युग परिवर्तन भयो ।
अहिले देशभरी एमालेमा अन्य पार्टीका कार्यकर्ताहरु हजारौंको संख्यामा प्रवेश गरिरहेका छन् । कति मानिस एमाले प्रवेश गरे, कस्ता नेता र कार्यकर्ता एमाले प्रवेश गरे भन्ने ठाउँको ठाउँ लाइभ गरिएको हुन्छ । खुसुक्क होइन, हजारौं मानिसबीचको आमसभामा प्रवेश कार्यक्रम भइरहेको छ । प्रवेश कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सर्वत्र देख्न सकिन्छ । अर्थात्, उहिले कांग्रेसको गिरिजाप्रसाद कोइराला सरकारको पालामा जस्तो ढाँट्न सकिँदैन । साँचो झुठो के हो भन्ने भिडियो हेरेपछि जसले पनि बुझ्न सक्छ ।
एमालेप्रति यति ठूलो आकर्षण किन देखियो ? किन हजारौं हजार मानिस एमाले प्रवेश गरिरहेका छन् ? हिमालदेखि तराईसम्म, सहरदेखि गाउँसम्म एमाले प्रवेशको लहर चलिरहेको छ । युवादेखि ज्येष्ठ नागरिकसम्म, विभिन्न जातीय समुदायका मानिसहरु, किसान विद्यार्थी, मजदूर, पूँजीपति, व्यापारी, व्यवसायी, उद्योगी, किसान सबै एमालेमा प्रवेश गरिरहेका छन् । कांग्रेस, माओवादी, राप्रपा, समाजवादी, साझा पार्टी सहित विभिन्न पार्टीबाट नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको गर्यै छन् । एमाले प्रवेश अभियानका कारण कतिपय पार्टीहरु केही समयमा रित्तै हुने अवस्था सिर्जना भएको छ ।
के कारण मानिस एमालेप्रति आकर्षित भइरहेका छन् ? विचारणीय विषय बनेको छ । एमाले प्रवेशको लहरलाई झापाको दमकमा भएको प्रवेश कार्यक्रमका आधारमा यहाँ विष्लेशण गर्ने प्रयास यहाँ गरिन्छ ।
दमकको राजनीतिक चिनारी
एमाले प्रवेशको एउटा भब्य समारोहको साक्षी र अभियन्ता बन्ने अवसर मैले पनि पाएँ । झापा जिल्लाको दमक नगरपालिकामा पुष १२ गते नेकपा एमाले प्रवेशको जुन कार्यक्रम भयो, वास्तवमै ऐतिहासिक थियो । १२ गतेकै सेरोफेरोमा दमक बाहेक गौरादह लगायतका ठाउँमा पनि पार्टी प्रवेशको ऐतिहासिक कार्यक्रम भएको छ । ती कार्यक्रमले समग्र झापाको राजनीति सहित देशकै राजनीतिलाई प्रभावित गर्नेछ । विशेषगरी दमकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रमले झापा जिल्लाको मात्र नभएर देशकै राजनीतिमा तरंग ल्याएको देखिन्छ । विभिन्न पार्टीका करिब पाँच हजार नेता कार्यकर्ता सो कार्यक्रमबाट नेकपा एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा दमकका मात्र नभएर आसपासका गाउँपालिका नगरपालिकाका नेता कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका थिए ।
दमक तिब्र विकास भइरहेको देशकै अग्रणी सहर हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । तसर्थ, यहाँ हुने प्रवेश कार्यक्रमको विशेष महत्व हुने नै भयो । त्यसबाहेक पनि कैयन कारणले प्रवेश कार्यक्रम महत्वपूर्ण थियो । दमकको एउटा विशेषता के हो भने यस नगरमा विकासको मामिलामा सबै पार्टीका नेता कार्यकर्ता एक ठाउँ उभिने गरेका छन् । केन्द्रमा जनविरोधी र विकास विरोधी नीति लिएका पार्टीका दमक तथा आसपासका नेता कार्यकर्ताहरु पनि विकास निर्माणका काममा जागरुक देखिन्छन् । आफ्नो नगर, गाउँ, टोलको विकास दमकका जनताले पार्टी र राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर गरिरहेका छन् ।
विकासप्रतिको साझा चिन्तन नै दमक, गौरादह, गौरीगञ्ज तथा कमलको विशेषता हो । यी ठाउँ केपी ओलीको निर्वाचन क्षेत्र ५ हो । दमक तथा क्षेत्र नम्बर ५ मा अन्य पार्टीका हजारौं कार्यकर्ता एमाले प्रवेश गर्नुलाई यो कोणबाट पनि बुझिनुपर्छ । अर्थात्, दमकका राजनीतिक कार्यकर्ताहरु विकास चाहन्छन्, समृद्धि चाहन्छन् । यसै कारण एमाले प्रवेश गरेका हुन् ।
दमक सहित क्षेत्र नम्बर ५ का जनताको विकासप्रतिको समर्पर्ण र विकास कार्यमा देखिने एकता उदाहरणीय छ । विकास निर्माणको मामिलामा यहाँका राजनीतिक कार्यकर्ताले आफ्नो पार्टी नै बिर्सन्छन् । अर्काे कुरा, दमक तथा ५ नम्बर क्षेत्र भनेको विविध जातजाति र भाषाभाषीको इन्द्रेणी ठाउँ हो । विभिन्न जातजातिको संस्कृतिले यो क्षेत्र झन् सुन्दर बनेको छ । जनस्तरको यहाँको एकता अनुपम छ भने केन्द्रीय राजनीतिभन्दा पृथक रहेर यहाँका दल तथा कार्यकर्तामा आपसी सम्मान र सहिष्णुता रहेको देखिन्छ । दमकको यो सुन्दर पक्षलाई जोगाउँदै हजारौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको तथ्यलाई आत्मसात गर्नैपर्छ ।
केपी ओली र शशक्त नेताहरुको टिम
झापा भनेको नेपालका अनेक राजनीतिक आन्दोलनको केन्द्र हो । झापाले देशलाई एकसे एक सक्षम नेता दिएको छ । ती मध्ये अग्रणी हुनुहुन्छ केपी शर्मा ओली । केपी ओलीले राजनेताको उचाई हासिल गरिसक्नुभएको छ । नेपालमा जिवित अवस्थामै राजनेताको उचाई हासिल गर्ने नेता केपी ओली नै हो । देश र जनताप्रति केपी ओलीको समर्पण, विकासप्रतिको उहाँको प्रतिवद्धता, देशको स्वाभिमान प्रति उहाँको संवेदनशीलताका कारण जनता उहाँप्रति आकर्षित छन् । केपी ओली राजनेताको उचाईमा उठ्नु, उहाँको नेतृत्व सर्वसम्मत हुनुको कारणले पनि एमालेप्रति विभिन्न पार्टीका कार्यकर्ताका साथै आम जनताको आकर्षण बढेको हो ।
एमालेमा केपी ओलीका सयौं उत्तराधिकारी छन् । एमालेमा सक्षम योग्य र देश तथा जनताप्रति प्रतिवद्ध नेताहरुको शशक्त टिम छ । यसकारण पनि एमालेमा जनआकर्षण बढेको बढ्यै छ । एमालेले जिल्लादेखि केन्द्रसम्म नेतृत्वकर्ताहरुको यति शशक्त टिम तयार पारेको छ कि त्यसप्रति जनआकर्षण बढेको छ । त्यति शशक्त टिममा समाहित हुने चाहना अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुमा हुनु स्वाभाविक हो र स्वागतयोग्य पनि हो । यसकारण पनि एमालेप्रति आकर्षण बढेको बढ्यै छ । झापामा पनि यही देखियो । नेकपा एमालेको शशक्त नेता पंक्तिमा सामेल हुन लायक अन्य पार्टीका एकसे एक नेताहरु नेकपा एमालेमा दमकको कार्यक्रम मार्फत् प्रवेश गर्नुभएको छ ।
दमकको विशेष कार्यक्रममा नेकपा एमाले प्रवेश गर्नुभएका विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा पूर्ण रुपमा समाहित भइसक्नुभएको छ । अब उहाँहरु एमाले परिवारको सदस्य भइसक्नुभएको छ । अब एमालेलाई शशक्त बनाउँदै अगाडि बढाउने जिम्मेवारी उहाँहरुको काँधमा आएको छ । उहाँहरुले पदीय तथा कामको जिम्मेवारी पाउन थालिसक्नुभएको पनि छ । यस अर्थमा दमकमा एमाले प्रवेश समारोहको महत्व दूरगामी बनेको छ ।
दक्षिण एसियाकै अग्रणी हो एमाले
नेता त जुन पार्टीमा गए पनि हुन सकिन्छ तर जनताको नेतृत्व भने एमालेमा प्रवेश गरेर मात्र गर्न सकिन्छ भन्ने तत्वज्ञान अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई भइरहेको छ । एमाले र कांग्रेस बाहेक अन्य पार्टीसँग संगठन छैन भने पनि हुन्छ । संगठन र मानिसको जमात फरक चिज हो । संगठन हुनलाई विचार हुनुपर्छ, पद्धति चाहिन्छ, भविष्यप्रतिको दृष्टिकोण चाहिन्छ, देश र जनताप्रतिको प्रतिवद्धता चाहिन्छ । संगठनमा नेता कार्यकर्तालाई अवसर पनि हुनुपर्छ । अन्य पार्टीसँग यसको अभाव छ तर एमालेसँग नेपालको सबैभन्दा शशक्त संगठन छ । नेपालको सबैभन्दा लोकतान्त्रिक पार्टी संगठन कसैसँग छ भने एमालेसँग मात्र छ ।
एमालेलाई दक्षिण एसियाकै सबैभन्दा सुव्यवस्थित, जनता केन्द्रीत, पारदर्शि, विचार र सिद्धान्तले परिस्कृत संगठन मान्न सकिन्छ । दक्षिण एसियामा एमाले जत्तिको उत्कृष्ट पार्टी कुनै देशमा पनि छैन । दक्षिण एसियाकै सबैभन्दा शशक्त संगठन, उन्नत विचार भएको पार्टी नेपालमा छ भनेर हरेक नेपालीले गर्व गर्नुपर्छ । नेपालका केही पार्टीसँग अलिअलि इतिहास पनि छ तर उनीहरुसँग वर्तमान पनि छैन र भविष्य पनि छैन । तर, एमालेसँग भने अतित छ, वर्तमान छ र भविष्य पनि छ । त्यसैकारण जनता तथा अन्य पार्टीका नेता कार्यकर्ताले एमाले रोजिरहेका छन् ।
एमालेको विशाल र सुव्यवस्थित संगठनमा आवद्ध हुन आउने क्रम जारी छ । एमालेमा जो प्रवेश गर्छ उसले गर्व गर्छ । देशका लागि केही गरौं भन्ने भाव भएका मानिसले रोज्ने नै नेकपा एमाले हो भन्ने भावनाले ओतप्रोत भएर दमकमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्दा उहाँहरुमा देखिएको खुसी, उमंग, उल्लास र भविष्यप्रतिको विश्वास अविष्मरणीय रहन गयो । नेपालको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट पार्टीमा प्रवेश गर्दा साथीहरुमा गौरववोध हुनु स्वाभाविक हो ।
दमक प्रवेश कार्यक्रमको राजनीतिक प्रभाव
५ नम्बर क्षेत्रलाई लक्षित गरेर दमकमा भएको एमाले प्रवेश कार्यक्रमलाई मिडियाले विशेष स्थान दिएको पाइयो । कतिपय मिडियाले प्रवेश कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए, अन्य पार्टीबाट एमालेमा हजारौं नेता कार्यकर्ता प्रवेश गरेको त्यो दिनको दृष्य जो कसैले भिडियोमा हेर्न सक्छ, ती भिडियो इन्टरनेटमा जताततै पाउन सकिन्छ ।
दमकमा भएको कार्यक्रमलाई विशेष महत्वको भनिनुका पछाडि मुख्य कारण हो केपी शर्मा ओलीको चुनाव क्षेत्र हुनु । कैयन मिडियाले प्रवेश कार्यक्रमलाई यही रुपमा व्याख्या गर्दै अब ओलीका लागि उहाँको चुनाव क्षेत्र सम्पूर्ण रुपमा सुरक्षित भएको विष्लेशण गरेका छन् ।
अहिले मिडियाहरुमा आएका के कुरामा सहमत हुन सकिन्छ भने केपी ओली बाहेक मुख्यमुख्य दलका नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरु कोही पनि आफ्नो चुनाव क्षेत्रमा सुरक्षित छैनन् । आउँदो चुनाव जित्ने सुनिश्चित एक मात्र नेता केपी ओली हुनुहुन्छ । दमकमा पार्टी प्रवेश कार्यक्रमसँगै ओलीले दुई तिहाई मतले जित्ने अवस्था बनेको छ । अन्य पार्टीका नेताहरुमा पार्टीलाई जिताउने चिन्ता मात्र छैन, आफूले जित्नुपर्ने चिन्ता पनि छ । तर, एमाले अध्यक्ष केपी ओली भने पूरै पार्टीका लागि समय दिन पाउने अवस्थामा हुनुहुन्छ । किनभने उहाँलाई आफ्नो क्षेत्रको चिन्ता छैन । दमकको प्रवेश कार्यक्रममा एक वक्ताले बडो सटिक कुरा भन्नुभएको थियो । उहाँका अनुसार झापा क्षेत्र नम्बर पाँचमा मात्र नभएर झापाको कुनै पनि क्षेत्रमा केपी ओलीले उम्मेदवारी दिँदा जित सुनिश्चित छ । उहाँको रोचक भनाई थियो– मिल्ने भए ओलीलाई यो देशका ढुंगामाटो, रुख र बुट्यानले पनि भोट हाल्छन् ।
प्रमुख प्रतिपक्षी नेता अर्थात् केपी शर्मा ओली आफ्नो चुनाव क्षेत्रमा निश्चिन्त बन्नुभएपछि त्यसको असर राष्ट्रिय राजनीतिमा पर्छ भनी मिडियाहरुमा विष्लेशण आइरहेको छ । अरु नेताले आफ्नै क्षेत्रमा ध्यान दिनुपर्ने अवस्था तर ओलीले भने आफ्नो क्षेत्रको चिन्ता नगरी राष्ट्रिय राजनीतिमा ध्यान केन्द्रीत गर्ने अवसर रहेको भनी मिडियामा आएका कुरामा शतप्रतिशत सहमत हुन सकिन्छ । झापामा केपी ओलीले उम्मेदवारी मात्र दिए पुग्छ, चुनाव क्षेत्रमा समय र ध्यान नदिए पनि हुने अवस्थालाई महान अवसरका रुपमा लिइनुपर्छ ।
केपी ओलीले अब चुनावको दौरानमा आफ्नो क्षेत्रमा केन्द्रीत नभएर देशभरी ध्यान र समय दिन पाउनुहुन्छ । यसले निश्चय पनि नेकपा एमालेलाई अत्यन्तै ठूलो चुनावी लाभ हुनेछ, एमालेलाई फाइदा हुनु भनेको देशलाई नै फाइदा हुनु हो । यस अर्थमा पनि दमकको पार्टी प्रवेश कार्यक्रम ऐतिहासिक महत्वको रहेको छ ।
आर्टिकल भिडियाे:
