--रोजिना पान्डे--
युवा परिवर्तनका संवाहक हुन्, समृद्धिका मेरुदण्ड हुन्, देशकाे उदाउँदा तारा हुन्, यस्ता कैयाैँ उपमा दिइन्छ युवालाई । यी उपमाले मात्र युवाकाे जिम्मेवारी, कर्तव्य र देशप्रतिकाे भूमिका पूरा हुन सक्दैन । यसका लागि काम गर्नुपर्छ । काम गर्ने उचित वातावरण हुनुपर्छ ।
युवाहरुलाई काम गर्न मिल्ने वातावरण बनाइदिनुपर्छ । समय सुहाउँदाे शिक्षा दिनुपर्छ । विज्ञान र प्रविधिसँग युवालाई जाेड्नुपर्छ । युवाले गरेका अनुकरणीय कामकाे सम्मान गर्नुपर्छ । युवालाई सबल र सक्षम बनाउन राज्य र समाजले ध्यान दिनुपर्छ ।
राजनीतिलाई सेवाका रूपमा विकास गर्नुपर्छ र युवामा पनि काम गर्ने तीब्र इच्छाशक्ति हुनुपर्छ । अनि मात्र देश बनाउन सकिन्छ । 'समृद्ध नेपाल सुखी नेपाली'काे सपना पूरा गर्न सकिन्छ । विदेशिएकाे युवा शक्तिकाे शक्ति नेपालकै माटाेमा खर्चिन सकिन्छ ।
युवासँग समाज, देश र विश्व नै परिवर्तन गर्न सक्ने क्षमता हुन्छ । त्यसका लागि उनीहरूलाई उचित शिक्षा दिनुपर्छ । निर्णय प्रक्रियाका लागि अधिकार दिनुपर्छ । कानुनमा उल्लेख भएका कुरा लागू गर्नुपर्छ । कानुनी जटिलता छन् भनेर फुकाएर युवाका लागि सहज वातावरण बनाउनुपर्छ ।
समृद्ध नेपाल सुखी नेपाली र युवा
नेकपा एमालेले 'समृद्ध नेपाल सुखी नेपाली' अभियान थालेकाे छ । एमालेले परिकल्पना गरेकाे समृद्ध नेपाल र सुखी नेपाली भनेकाे हरेक युवा उत्पादनसँग जाेडिनु हाे । युवाले आफ्नाे क्षमताअनुसार राेजगारीकाे अवसर पाउनु हाे । राजनीतिमा जाेडिएर समाज परिवर्तनका लागि याेगदान गर्न सक्नु हाे । विदेशिएका युवाशक्तिलाई देश फर्काएर देशमै काम गर्न सक्ने वातावारण मिलाउनु हाे । क्षमता अनुसारकाे अवसर पाउनु हाे । कृषि लगायत पेसा व्यवसायमा जाेडिन खाेज्नेहरुलाई सहयाेग सँगै उत्साह दिन सक्नु हाे ।
'समृद्ध नेपाल सुखी नेपाली' अभियान एमालेकाे मात्र अभियान हाेइन । सिंगाे देश र सारा नेपालीकाे अभियान हाे । त्यसैले हरेक युवाहरुलाई याे अभियान पूरा गर्न परिचालन गर्नुपर्छ । यसमा युवाहरु पनि अग्रसर हुनुपर्छ । त्यसमा पनि नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघमा आबद्ध युवा त याे अभियान पूरा गर्ने जिम्मेवारीबाट पन्छनै मिल्दैन ।
युवाहरुकाे जोस, जाँगर, उत्साह, ज्ञान, सीप,कला र कौशललाई सही ठाउँमा प्रयाेग गर्न सके समृद्ध नेपालकाे अभियान सही बाटाेमा अगाडि बढ्न सक्छ । यसका लागि युवाहरुलाई राज्यकाे सबै संयन्त्रमा परिचालन गर्न सक्नुपर्छ । युवामैत्री कार्यक्रम ल्याएर कार्यान्वयन गर्नुपर्छ । युवासम्बन्धी नीति, नियम र कानुनकाे सही कार्यान्वयन गर्नुपर्छ । लागूऔषध जस्ता विकृति र विसंगतिमा फसेका युवालाई पुर्नस्थापना गरेर सामाजिक काममा परिचालन गर्न सक्ने बनाउनुपर्छ ।
अहिले हरेक राजनीतिक दलले समाजवादकाे रटान लगाइरहेका छन् । खासमा एमालेबाहेक अरु दलले समाजवादकाे प्रष्ट परिभाषा दिन सकेका छैनन् । एमालेले भनेकाे समाजवाद समृद्ध नेपाल सुखी नेपाली हाे । समाजका कुनै पनि व्यक्ति पछाडि पर्नुहुन्न भन्ने हाे । हरेक नेपाली सम्पन्न बन्नु भन्ने नीति हाे । वास्तवमा एमालेले अगाडि सारेका यी दुई अभियानलाई पूरा गर्न सबै एकजुट हुने हाे भने समृद्ध नेपालकाे परिकल्पना पूरा गर्न धेरै समय लाग्दैन । यसका लागि युवाहरुलाई सही ठाउँमा परिचालन गर्ने काम तत्काल थाल्नुपर्छ । युवाहरुकाे महत्व, शक्ति र क्षमतालाई पहिचान गर्न सक्नुपर्छ । नेपालमा भएका स्राेत र साधनमा युवाहरुलाई जाेड्नुपर्छ ।
राजनीति र युवा
राजनीतिलाई पेशा हाेइन सेवाका रुपमा विकास गर्न जरुरी छ । राजनीतिलाई सेवाका रुपमा विकास गरेर यसमा युवाहरुलाई जाेड्ने हाे भने देशले विकास र समृद्धिमा काेल्टे फेर्छ । चाहे प्राकृतिक विपद्मा परेकाहरुकाे सहयाेगका लागि हाेस् चाहे अरु कुने अप्ठेराेमा हाेस् युवा संघ र अनेरास्ववियु स्वत:स्फूर्त रुपमा जुरुक्क उठेर राहत उद्धारमा खटिन्छन् । अन्य पार्टीका युवा पनि प्राकृतिक लगायत अन्य विपद्बाट पीडित समुदायका लागि सारथी बनेर काम गर्दै आएका छन् । समाज र देशका लागि आवश्यक पर्दा सक्षम तरिकाले नेतृत्व गर्न सक्छन् भन्ने कुरा युवाहरुले कामबाट देखाउँदै आएका छन् । तीनै युवा देशमा उचित अवसर नहुँदा विदेश पलायन हुन वाध्य छन् । शिक्षा, रोजगार वा अन्य जुनसुकै कारणले भएपनि देश छाेड्नुपर्ने युवाहरुकाे वाध्यताकाे सम्बाेधन सरकारले गर्न सक्नुपर्छ ।
छिमेकी देशका उदाहरण दिएर मात्र हुँदैन । विकास र समृद्धिका लागि स्पष्ट भिजन दिएर युवाहरुलाई परिचालन गर्नुपर्छ । हरेक राजनीतिक दलले युवाका कुरालाई बढाे प्राथमिकतासाथ उठाइरहेका हुन्छन् । तर ती दलभित्र युवालाई अगाडि बढाउने वातारण देखिँदैन । घाेषणापत्रमा लेखिएका युवासम्बन्धी कार्यक्रम कार्यान्वयन हुँदैनन् ।राजनीति फाेहाेरी खेल हाे भन्ठानेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई ताेड्नुपर्छ । अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ । देशको नेतृत्व गर्न युवाहरुले आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ ।
सूचना र प्रविधिकाे युगमा नेपाल प्रवेश गरिसकेकाे छ । नेपाल डिजिटल युगमा प्रवेश गरिसकेकाे छ । दबाब दिन सडकमा उत्रिनुपर्ने अवस्थाकाे अन्त्य भएकाे । इन्टरनेटकाे प्रयाेगबाटै रचनात्मक काम र आन्दाेलन गर्न सहज छ । यसबाटै युवाहरुले कैयाैं उपलब्धि हासिल गरेका छन् । नेपाली युवा वैज्ञानिक अन्य देशकाे खाेज र अनुसन्धानमा तल्लिन छन् । तिनिहरुलाई नेपालमै अभ्यास गराउन सक्नेगरी संरचना बनाउने सके देश अझ अगाडि बढ्छ । यद्यपि कतिपय युवा अहिले पनि इन्टरनेटकाे पहुँचबाट टाढा छन् । त्यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।
युवाप्रति सरकार र राजनीतिक दलकाे दायित्व
युवा-युवा भनेर मात्र हुँदैन । उनीहरुका विचार भावना र क्षमताकाे सम्मान गर्दै सरकारसँगै राजनीतिक दलहरु अगाडि बढ्न जरुरी छ । कुरा युवाका गर्ने काम पटक्कै नगर्ने प्रवृत्तिकाे अन्त्य हुनुपर्छ । विकास र समृद्धिसँगै जलवायु परिवर्तन लगायत विषयमा पनि युवाहरुलाई सक्रिय रुपमा सहभागी गराउन आवश्यक छ । राज्यका हरेक अंग र हरेक तहमा युवाहरुलाई सक्रिय रुपमा सहभागी गराउनुपर्छ । युवाहरुलाई नेपालमै बस्नेगरी प्राेत्साहनमूलक कार्यक्रम ल्याउनुपर्छ । हरेक राजनीतिक दलले युवाहरुलाई गलत काममा प्रयाेग हाेइन उनीहरुकाे क्षमतालाई सही ठाउँमा सदुपयाेग गर्नुपर्छ ।
युवा शक्ति विदेश पलायन नहाैन् भन्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ । युवाहरु स्वदेशमै टिक्ने वातावरण निर्माण गर्नुपर्छ । दूरदर्शी र क्षमतावान नेतृत्व नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । काम गर्न खाेज्नेहरुका खुट्टा तान्ने प्रवृत्ति बढ्दाे छ । केपी ओली नेतृत्व सरकार ढालेर नयाँ सरकार बनाएकाे अवस्था यसकाे गतिलाे उदाहरणभित्र पर्छ । विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा शहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना अझैपनि सपना मै सीमित भएका छन् । हाम्रा अनगिन्ती सम्भावनाका स्राेत उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको लामो इतिहास बाेकेकाे नेपाल किन पछाडि पर्याे ? आखिर के कारणले सम्भव हुन सकेन त समृद्ध नेपालको परिकल्पना ? याे परिकल्पना निर्माण गर्न किन एमाले नै चाहियाे त ? किन केपी ओली नै त चाहियाे त ? अरु दलले यसअघि किन यी विषय किन परिकल्पना गर्न सकेनन् त ? यी प्रश्नमाथि बहस हुन आवश्यक छ । स्वामी विवेकानन्दले भनाइ छ - 'कुनै पनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्दछ ।' युवा नै देशको शक्ति हो भने कतै नेपालले वर्षौंदेखि युवा शक्तिलाई आजसम्म मुलुकको समृद्धिमा लगाउन नसक्नु नै त कारण होइन ? विश्व इतिहासका पाटा केलाउँदा सन् १९५० अर्थात् दोस्रो विश्व युद्ध पछाडि मात्र देशहरू विकास हुँदै समृद्ध राष्ट्रका रूपमा स्थापित भएका छन् ।
आज पनि दैनिक हाम्रा हजाराैँ युवा विदेशिन बाध्य छन् । अधिकांश युवा सजिलै देश छोडेर जान तयार हुन्छन् । विदेश बस्न पाउनुलाई सबैभन्दा ठूलो सफलता मान्छन् ।देशलाई आज विदेशीका लागि जनशक्ति उत्पादन गर्ने थलो बनाइँदै छ । आज सानो उमेरदेखि नै एउटा बालकलाई उसको अस्तित्व यो देशमा नभई बाहिर देखाइन्छ । विद्यालय जाँदा उसको कार्यस्थल यहाँ नभई विदेशमा खोज्न सिकाइन्छ । हामी श्रमको सम्मान गर्न हिच्किचाउँछौ, एउटा श्रमिकलाई सम्मानित नजरले हेर्दैनौं । त्यसैले यहाँ काम गर्नुको सट्टा उ विदेशलाई नै आफ्नो कर्मथलो ठान्छ । यस्तो अवस्थामा देशले समृद्धितर्फ कोल्टो फेर्ने अवस्था आउन अझै केही समय पर्खिनुपर्ने देखिन्छ । तर युवाको सक्रियतामा यस्तो मानसिकता चिर्न सके समृद्ध नेपाल निर्माण गर्न असम्भव पक्कै छैन ।
यसका लागि युवाहरु स्वयं युवासम्बन्धी नीति र सिद्धान्तलाई अंगिकार गर्दै अगाडि बढ्न जरुरी छ । देश बनाउने अभियानमा लाग्नेहरुलाई एकीकृत गरेर अगाडि बढ्ने हाे भने समृद्ध नेपाल सुखी नेपालीकाे परिकल्पना पूरा गर्न धेरै समय लाग्दैन । युवा हूँ, उमेरकाे छु भन्दैमा केही हुँदैन । त्याे युवाभित्र देश बनाउने नीति,जाँगर र इच्छाशक्ति चाहिन्छ । यसका लागि राजनीतिमै आबद्ध हुनुपर्छ भन्ने छैन । फरक फरक क्षेत्र आर्थिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै पक्षमा जानकार युवाले आफू सम्मिलित क्षेत्रबाट धेरैथाेर याेगदान गर्ने हाे भने एमालेले भनेकाे समाजवादकाे लक्ष्यमा पनि पुगिन्छ ।
युवा नै किन ?
युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा शक्तिकै बलमा मात्र देश अगाडि बढ्न सक्छ । चाहे त्यो विश्व युद्धताका हिटलरको पालामा होस् वा प्रविधिको युगमा होस्, युवा वर्ग नै हो युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने । नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफू र आफ्नो राष्ट्रलाई चिनाउने युवा वर्ग नै हो । युवाले चाहेमा समृद्ध नेपाल सम्भव छ ।
संसार परिवर्तन गर्न चाहनेले सुरुआत आफैंबाट गर्नुपर्छ । तसर्थ अब हरेक युवाले राष्ट्रप्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्छ । हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्छ । युवा वर्ग अब निराशामा होइन आशामा बाँच्नुपर्छ । विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्न थाल्नुपर्छ अनि मात्र सम्भव हुन्छ समृद्ध नेपाल र सुखी नेपालीको सपना । देशमा विद्यमान समस्याको पहिले पहिचान गरेर त्यसको समाधानको बहस अब युवा वर्गले चलाउनुपर्छ । देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुराको बहसमा युवा स्वयं संलग्न र क्रियाशील भई विकास र समृद्धिको नयाँ दृष्टिकोण एवं योजना निर्माण गर्नुपर्छ । देशको ऊर्जा, सडक सञ्जाल, सिँचाई, सहरी विकास र आधुनिकीकरण, वन संरक्षण, कृषि जस्ता दीर्घकालीन योजनाको मार्गचित्र तयार गर्न अहिलेबाट सुरु गर्नुपर्छ । चेतनामा आधारित विकासको परिकल्पना युवा वर्ग आफैँले गर्नुपर्छ । देशी विदेशी शक्तिबाट देशलाई जोगाउनुपर्छ । राष्ट्रिय स्वाधिनताकाे रक्षाका लागि हरेक पल पहरेदार भएर खटिनुपर्छ । हरेक श्रमलाई सम्मान गर्दै श्रम गर्ने बानी बसाल्नुपर्छ । विज्ञानको सदुपयोग गर्नुपर्छ । नेपालमै बसेर अवसरको प्रयोग गर्दै उद्यमशीलता विकास गर्दै गए समृद्ध नेपालको सपना चाँडै साकार हुनसक्छ । समृद्ध राष्ट्र निर्माणका लागि आधुनिक समयको मागअनुसारको दक्ष र प्रविधियुक्त जनशक्ति पहिलो सर्त हो । अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्को महत्वपूर्ण आधार हो । राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव एवं स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवा वर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ । राष्ट्र निर्माणका लागि अब युवा नै अघि सर्नुपर्छ । युवाले नै यसको नेतृत्व लिनुपर्छ । (लेखक राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य हुनुहुन्छ)
