--विक्रम केसी--
वाल्यकालमा हामी ‘नेपाल कृषिप्रधान देश हो’ भनी पढ्थ्यौं । राजनीति बुझ्न थालेपछि तथा नेपालमा केही पात्रहरुको उदय भएपछि यसो भन्नपर्ने दिन आयो – नेपाल षडयन्त्रप्रधान देश हो ।
माओवादीको तथाकथित जनयुद्ध दिवसको मौका पारेर नेपालमा एउटा ठूलो राजनीतिक षडयन्त्र सतहमा आएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग दर्ता गराइएको छ । महाभियोग यस्तो बेला दर्ता गरिएको छ कि यो कदमलाई खुराफात भन्न सकिन्छ । खुराफाती राजनीतिको पराकाष्ठा गरिएको छ । निश्चित छ, यो खुराफाती कदमले नेपालको राजनीतिमा ठूलै भूकम्प गइसकेको छ भने त्यसको कम्पन बेइजिङदेखि वाशिङटनसम्म पुगेको छ ।
चोलेन्द्र शमशेर महाभियोग लगाउनु पर्ने खालका पात्र हुन् कि होइनन् भन्ने विषयमा अब बहसको अर्थ रहेन । चोलेन्द्रलाई महाभियोग लगाइनै पर्ने थियो भने पनि गलत समयमा लगाइएको छ । अहिले महाभियोग चोलेन्द्र शमशेरलाई नभएर अग्निप्रसाद सापकोटालाई लगाइनुपर्ने थियो । अग्निप्रसादमाथि महाभियोग लगाइन्छ कि भन्ने डरले चोलेन्द्रमाथि लगाइएको हुनसक्छ ।
चोलेन्द्रमाथि महाभियोग प्रष्ट स्पष्टसँग खुराफात हो, षडयन्त्र हो । प्रचण्डका अतितका कर्तूतहरुलाई हेरेर भन्न सकिन्छ– चोलेन्द्रमाथिको महाभियोग नेपाल राष्ट्र विरुद्ध थापिएको एम्बुस हो । सबैलाई थाहा भएको कुरा हो– प्रचण्डको राजनीति एम्बुसले चलेको छ । कसै न कसैका विरुद्ध एम्बुस थाप्ने, खुराफात र षडयन्त्र गर्ने, जालझेल गर्ने अनि कुम हल्लाउँदै इमानदार गफ गर्ने प्रचण्डको शैलीलाई नेपाली जनताले डेढ दशकदेखि झेलिरहेका छन् ।
आजकै मितिमा, २०५१ फागुन १ मा एउटा भयानक षडयन्त्र नेपाल विरुद्ध थालिएको थियो । त्यो षडयन्त्रको नाम थियो– जनयुद्ध । त्यो षडयन्त्र उर्फ जनयुद्धले नेपाल देशलाई भताभुंग पारेको थियो, १७ हजार मानिस मारिएका थिए । १७ हजार मानिस मारेर देशलाई घाइते, समाजलाई विभाजित बनाइएको अपराधलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । आज माओवादीको जनयुद्ध दिवस पनि हो । जनयुद्ध दिवसका दिन माओवादीले महाभियोगको धरापमा देशलाई पारेको हो । देशलाई धरापमा पार्नु नै माओवादीका लागि सफलता हो । आफ्नो देशलाई जति क्षति पुराउन सकिन्छ त्यति आफू सफल भएको ठान्ने नेता र पार्टी यो देशमा छन् ।
ठिक यतिबेला महाभियोग किन ल्याइयो ? यो कुरा बुझ्न जरुरी छ ।
देउवा सरकारको प्राण प्रचण्ड र माधव नेपालको हातमा अडेको छ । माधव नेपालको प्राण १४ सांसद् विरुद्ध अदालतमा दर्ता मुद्दामा टिकेको छ । फ्लोर क्रशको अपराध गर्ने माधवका १४ सांसद् विरुद्ध आज सर्वाेच्च अदालतले फैसला दिँदै थियो । १४ सांसद्को पद खारेज गर्ने फैसला नगरी सुखै थिएन । हुनसक्छ, आज फैसला रोकिन्थ्यो । तर, जतिबेला र जहिले फैसला गरे पनि माधवका सांसद्को पद खारेज नगरी सुखै थिएन । माधवका सांसद्को पद खारेज हुनुको अर्थ हो– देउवा सरकार गिर्नु । देउवा सरकार गिर्नुको अर्थ हो– प्रचण्डको ओरालो यात्र झन् तिब्र हुनु । माधवका सांसद्को पद खुस्किएपछि माधवको एस पार्टी पनि विलाउने नै थियो ।
यही कारण फैसला रोक्न आजै महाभियोगको एम्बुस थापिएको हो ।
यो प्रकरणमा कांग्रेसलाई गुमराहमा राखिएको पनि हुनसक्छ । चोलेन्द्रले १४ जनालाई हटाउँदैछन् भनेर प्रचण्डले शेरबहादुर देउवालाई तर्साउनुभएको हुनसक्छ । झुठो सूचना दिइएको हुनसक्छ । प्रधानमन्त्री पद खुस्किने डरले देउवाले महाभियोग दर्ता गर्न मान्नुभएको हुनसक्छ । किनभने यो महाभियोग नेपाल राष्ट्र विरुद्ध थापिएको एम्बुस हो भनेर देउवाले नबुझ्ने कुरै भएन । आफ्नो पद जोगाउन शेरबहादुर देउवा कतिसम्म गिर्न सक्नुहुन्छ भन्ने उहाँको अतित हेरे पुग्छ । कुर्सी जोगाउन देउवा निकृष्टताको कुनै पनि हदसम्म गिर्न सक्नुहुन्छ ।
देउवाको निकृष्ट राजनीतिक संस्कारलाई बुझेर माओवादी र माधव नेपालले देउवालाई नै एम्बुसमा पार्नुभएको त होइन ? जे होस्, देउवा स्वयं एम्बुसमा परिसक्नुभएको छ ।
महाभियोगको एउटा तिरले एकसाथ कैयन सिकार गर्न खोजिएको छ । तिर हान्ने प्रचण्ड नै हो । यसमा माधवको भूमिका प्रचण्डको अर्दली सरहको मात्र हो । शेरबहादुर देउवा चाहिँ कुर्सीमा राखिएका बुख्याचा मात्र हो । तत्कालीन राजा ज्ञानेन्द्रको प्यादा बन्नुभएका देउवालाई प्रचण्ड र माधवको गोटी बन्न खासै आपत्ति हुने कुरा पनि भएन ।
प्रचण्ड र माधवलाई संसारमा कुनै चिजसँग डर लाग्दैन । राजनीतिक नैतिकता हुनेहरुसँग मात्र डर भन्ने चिज हुन्छ । फेरि पनि लेखौं– प्रचण्ड र माधवलाई संसारमा कुनै चिजसँग पनि डर लाग्दैन । तर, उहाँहरुलाई एउटा चिजसँग भने असाध्यै डर लाग्छ । त्यो चिज हो चुनाव । गरुडसँग सर्प डराएभन्दा चर्काे, बाघसँग बाख्रा तर्सिएभन्दा भयानक डर प्रचण्ड र माधवलाई चुनावसँग लाग्छ । चुनाव रोक्न पनि प्रचण्ड माधवले महाभियोगको एम्बुसमा देशलाई पार्नुभएको हो ।
स्थानीय चुनावबाट माधवको पार्टी डष्टबिनमा र प्रचण्डको पार्टी साइनबोर्डमा थन्किनेवाला छ । डष्टबिन र साइनबोर्डबाट जोगिन उहाँहरुले महाभियोगको खुराफात गर्नुभएकोमा कुनै शंका छ र ?
ठिक यतिबेलै कुनै खुराफात नगरी नहुने अवस्थामा प्रचण्ड, देउवा र माधव पुग्नुभएको थियो । एमसीसी पास नगरे अमेरिकाको दलाली गर्न नपाइने, एमसीसी पास गरे कार्यकर्ताले सिध्याउने । बडो विचित्र अवस्थामा उहाँहरु फस्नुभएको थियो । खासगरी प्रचण्ड र माधव एमसीसीमा गम्भीर ढंगले फस्नुभएको थियो ।
एमसीसी पास गरे पनि समाप्त हुने, पास नगरे पनि समाप्त हुने अवस्था प्रचण्ड र माधवको थियो । यही कारण उहाँहरुले कांग्रेससँग मतियारी गरेर महाभियोगको षडयन्त्र गर्नुभएको हो ।
अब के हुन्छ ?
अब नेपालको राजनीति सहज हुने छैन । पाँच दलीय गठवन्धन अब राजनीतिक गठबन्धन रहेन । षडयन्त्रकारी र खुराफाती गिरोह बन्न पुगेको छ । सत्तारुढ पाँच दलले महाभियोगको षडयन्त्र गरेर जे गरेका छन्, यस्तो शैलीको कुकर्म आपराधिक गिरोहले मात्र गर्न सक्छ । देशलाई ठाडै बर्बाद बनाउने यति षडयन्त्रकारी कदम चाल्ने गठवन्धनलाई राजनीतिक मान्यता दिनुको अब औचित्य रहेन ।
अब गठवन्धन गिरोहले भारत, अमेरिका, चीन सबैलाई झन् धेरै ढाँट्ने्छ । विदेशीलाई त ढाँट्ने नै छ, जनतालाइ झन् धेरै ढाँट्नेछ । यो गिरोह स्थानीय चुनाव गर्न तयार छैन । पाँच दलीय गिरोह बनाए पनि यसले एक्लो एमालेसँग चुनावमा भिड्ने आँट जुटाएको थिएन । चुनाव नै रोकेपछि भिड्न नै परेन ।
पाँचदलीय गिरोहले चुनाव रोकिसकेको छैन । अब चुनाव रोक्न खुराफात भाग दुई, तीन, चार गर्नेछ । महाभियोगमै गिरोहको खुराफात रोकिने छैन । चुनाव रोक्न, देशलाई झन् अस्थिर बनाउन गिरोहले थप षडयन्त्र गर्नेछ । यति षडयन्त्र गर्नेछ कि चुनाव रोकियोस् । गिरोहले सत्ताको प्रयोग गरेर, अदालतलाई तर्साएर अन्य विभिन्न खालका षडयन्त्र गर्नेछ । चोलेन्द्रलाई महाभियोग लगाएपछि सर्वाेच्चका अन्य न्यायाधीशहरु थर्कमान भइसकेका छन् । त्यस्ता न्यायाधीशहरुलाई तर्साएर गिरोहले अनेक अन्टसन्ट निर्णय गराउन खोज्नेछ ।
चुनाव रोक्नका लागि गिरोहले देशमा हिँसा र अशान्ति मच्चाउन सक्छ । अर्थात्, सरकार आफैंले हिँसा अशान्ति फैलाउन सक्ने ठूलो खतरा देखा परेको छ ।
पाँच दलीय गिरोहले षडयन्त्रमूलक ढंगले देश कब्जा गर्न खोजेको छ । यसका लागि उसले एमालेलाई कमजोर बनाउनुपर्ने हुन्छ । एमाले विरुद्ध अनेक षडयन्त्र गर्नुपर्ने हुन्छ । भ्रम फैलाउनुपर्ने हुन्छ । लोकतन्त्र र एमालेलाई सिध्याएपछि मात्र गिरोहले यो देशमा निष्कंटक शासन गर्न सक्नेछ । तर, एमालेलाई सिध्याउन लोकतन्त्र सिध्याउनुपर्ने हुन्छ, लोकतन्त्र सिध्याउन एमालेलाई सिध्याउनुपर्ने हुन्छ । एमाले र लोकतन्त्र सिध्यायो भने देश नै समाप्त हुन्छ । यो कुरा पाँच दलीय गिरोहले नबुझेको भए पनि जनताले भने बुझेका छन् ।
पाँच दलीय गिरोह तथा यसका अगुवा शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालहरुबाट देशलाई मुठभेडमा लैजान ठूलो प्रयास हुनेछ । यसको प्रतिकार जनताले गर्नेछन् । जनप्रतिकारमा प्रमुख प्रतिपक्षी एमालेले अगुवाई गर्नुपर्ने हुन्छ । एमालेले सो कर्तव्य अवश्य पूरा गर्नेछ ।
पाँच दलीय गिरोहको प्रतिकार र भण्डाफोर नै अब देश र जनताको पहिलो कर्तव्य बन्न गएको छ ।
