-दयालबहादुर शाही-
संविधान सभा र लेण्डुप दोर्जेलाई माध्यम बनाएर भारतले सिक्किम हडप्न सक्यो । नेपालमा पनि संविधान सभा र प्रचण्डलाई त्यसरी नै माध्यम बनाइको थियो तर काम लागेन । भारतको नोयडामा जागा दिएर प्रचण्डलाई गरेको लालनपालनको लगानी डुब्यो । नेपाल हडप्ने भारतीय अधूरो ईच्छा शस्त्र वल र शास्त्र वलका मुहान नेपाली जनताको सराहनीय चेतना, हिम्मत, देशभक्ति र जुझारु चरित्रले गर्दा अधूरै रह्यो ।
दुईटा संविधान सभाबाट एक थान संविधान दिन नसक्ने देश भनेर नेपाललाई असफल राष्ट्र बनाउन भारत जमेरै लागेको थियो । नेपालको घरेलु द्वन्द्व, महाभूकम्प र नाकाबन्दीको त्रिवेणी संकट अकारण थोपरिएको थियो । शिशु अवस्थामै नेपालको संविधानको हत्या गर्ने प्रयास भयो ।
सिक्किम मोडेल र मिसन अस्थिरता भारतको नेपालनीतिका दुई खम्बा हुन् । नेपाल सिंगापुर बन्यो भने भारतीय शासक वर्गमाथि भारतका मेहनतकस जनताको दबाब बढ्ने छ । नेपाल समृद्ध र नेपाली सुखी बनेमा केही करोड जनसंख्याको राइदाइँमै सीमित भारतीय शासक वर्ग जनताको वितृष्णाको शिकार बन्ने छ । यसैले हडपनीति, सीमा अतिव्रmमण र अस्थिरता मिसनको माध्यमबाट नेपाल र नेपालीको लय र गति रोक्नु भारतको नेपालनीति हो । सिक्किम मोडेल र मिसन अस्थिरता दुवै नीतिमा भारतका लागि गोटी बनेकाले प्रचण्डको पतन नेपाल र नेपालीको अस्तित्व, उदय र उत्कर्षको निरन्तरताका लागि अनिवार्य शर्त बन्न पुगेको छ ।
प्रचण्डको उद्दार गर्न भारत असमर्थ
नेपालमा निरन्तर अस्थिरता मिसनमा प्रचण्डलाई सबैभन्दा बढी उपयोग गरिएको छ । आफ्नो देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रधानसेनापति विरुद्ध हात धोएर लागेको एक मात्र नेताको विश्व रेकर्ड प्रचण्डकै नाममा छ । मौका आयो भने जोकसैको पनि विरुद्ध उत्रिहाल्नु प्रचण्डको बानी हो । युद्ध र प्रेममा जे पनि जायज भन्दै मर्यादा उलंघनमा अभ्यस्त प्रचण्डलाई लाजघिन लाग्दैन बरु आनन्द आउँछ । निष्ठा, देशभक्ति, सिद्धान्त, जनादेश बेचबिखनका विषय होइनन् । प्रचण्डलाई यी सबैको सौदागर बन्न संकोच लाग्दैन । देशभित्र कसैलाई मनपेट नदिनु तर भारतमा गएर देश र पार्टीको आन्द्राभुँडी छताछुल्ल पार्नुलाई प्रचण्डले आफ्नो पहिचान र उचाई ठानेको देखिन्छ । अस्थिरता मिसनको गोटी बन्न चाहिने आधारभूत गुण यिनै हुन् ।
वामगठन्धनको बलियो सरकारविरुद्ध भारतमै गएर फायर खोलिएको थियो । आलोपालो सरकार प्रचण्डको महत्वाकांक्षा र भारतीय आकांक्षाको खिचडी ‘गेमप्लान’ थियो । अन्तत्वगत्वा आलोपालोको प्रचण्ड ध्येय झन् पर धकेलिएको मात्र छैन बरु प्रचण्ड कहिल्यै सिंहदरबार नपस्ने आधार खडा भएको छ । मिसन अस्थिरताका भारतीय स्वार्थलाई भने माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहित भएर प्रचण्डले नगदा नगदी पूरा गरेको घाम जस्तै छर्लङ्ग छ । निरन्तर अस्थिरता भनेजस्तै खोजेजस्तै गोटी भेटिए पनि प्रचण्डको उद्धार गर्न भारत असमर्थ देखिन्छ । किनकी आफू र प्रचण्डप्रति नेपाली जनताले पालेको कोप भारतीय संस्थापनलाई राम्रैसँग थाहा छ ।
महाभारत भन्छ– ‘अविवेकीको पतन अनेक प्रकारले हुन्छ ।’ चरो अरुको पासोमा पर्छ तर मान्छे आफ्नै पन्दामा फस्छ । राजनीतिमा ल्याउने जीवन गुरुमाथिको कपट, अग्रज नेतालाई धोका, प्रमुख सहायकविरुद्ध कपट, पार्टीभित्र अर्काे विकल्प र उत्तराधिकारीको नसबन्दी उत्कर्षकालका प्रचण्डको चिनारुहरु थिए । यी सबै संग्रहित पापकर्महरु प्रचण्डलाई जीवनको उत्तरार्धमा पर्दैछन् । आफ्नासँगको छलकपट र एमाले–कांग्रेस जस्ता शक्तिकेन्द्रसँगको दुश्मनीले प्रचण्डलाई भिरको डिलमा पुराएको छ ।
प्रचण्डको उद्धार गर्ने र पतनमा नुनिला आँसु चुहाइदिने कोही छैन । चौथो महाधिवेशन(चौम) स्कुलिङ, एमाले–कांग्रेस सबैलाई उत्कर्षकालमा चिढाएका र अपमान गरेका छन् । कान्छी श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउने लोभले मुखमा रामराम गरेपनि प्रचण्डका जीवनगुरु मोहनविव्रmम सिंहले मौका आउँदा छुरा चलाउने नै छन् । मोहन वैद्य र बाबुराम भट्टराईले दागा धरेकै छन् । ओलीको रीसले उठनबस नगरे पनि प्रधानमन्त्री हुँदा सताएको र विषवृक्षको उपमा दिएको तुष आग्रहका प्रतिमुर्ति माधवले बिर्सिएका छैनन् । गिरिजाप्रसाद कोइरालालाई दिएको धोका र सुशील कोइरालालाई गरिएको गद्दारी कोइराला कांग्रेसले भुलेको छैन ।
गिरिजाप्रसाद कोइरालाको काखमा बसेर आफूलाई दरबारियाको बिल्ला लगाइदिएको ईख देउबामा जिवितै छ । जनमत गुमाउँदै गएका प्रचण्ड चोभारमा बगेको खण्डमा सुन्दरीजलमा खोज्न जानेको मात्रा बाक्लो छ, लर्काे लामो छ, संख्या ठूलो छ ।
एमालेले चिनेको र देशले भोगेको प्रचण्ड
देश बनाउने सिर्फ एमाले हो । त्यसैले प्रचण्डका लागि एमाले आँखाको कसिंगर बनेको छ । बनाउने र बिगार्ने बीच आम्नसाम्ने अपरिहार्य विषय हो । गएका तीन दशकमा एमालेले एकै प्रचण्डका अनेक कदकाँटीको सामना गर्नु परेको छ । प्रचण्डका केही कदकाँटी यस्ता छन् ः–
– एक सानो वामघटकका नेता प्रचण्ड, – जनयुद्धका नायक प्रचण्ड, – शान्ति प्रक्रियाका एक हिस्सा प्रचण्ड, – एमाले र कांग्रेसलाई चुनावी संग्राममा पछार्ने प्रचण्ड, – प्रधानमन्त्री पदमा रहँदा सत्ता कब्जा गर्न र अधिनायकवादी शासक बन्न जिउज्यान फालेर लागेका प्रचण्ड, – एमालेभित्रै माधव, झलनाथ र वामदेवलाई शिखण्डीका रुपमा उपयोग गर्ने प्रचण्ड, – २०७० को संविधान सभा चुनाव र २०७४ को स्थानीय चुनावमा पुर्नमुसी भएका प्रचण्ड, – एमालेविरुद्ध अनेक फण्डाले केही सीप नचलेपछि एमालेबाटै याचनासहित सहकार्य र तालमेलको भिख माग्न आइपुगेका प्रचण्ड, – एमाले स्कुलिङमा ढालिँदै गरेका प्रचण्ड, – माधव–वामदेवको साथ पाएपछि एमालेकै भण्डाफोर गर्न तम्सिएका प्रचण्ड, – एमाले हडप्न नपाएपछि कांग्रेसको निःशुल्क नोकर लागेका प्रचण्ड, – कम्फरटेबल ऋचा पढ्न र ‘हरहर मोदी’ गर्न विवश प्रचण्ड, – लोकलाजले थलिएर आत्महत्या जस्तो कायरतालाई सैद्धान्तिक जलप दिने प्रचण्ड, –‘आफै मर्छाै जोइ ल्याई के गर्छाै’ शैलीमा कांग्रेसका लागि एमालेको जनमत प्रभावित पार्न सक्रिय प्रचण्ड, –सफलतामा मात्तिएर कुम हल्लाउँदै बोल्ने र प्रतिकूलता सदावहार रुन्चे स्वरमा एमालेलाई सराप्ने प्रचण्ड,
एमालेले यी सबै रुपरंगका प्रचण्डको सामना, व्यवस्थापन, रुपान्तरण, प्रशिक्षण, सहकार्य, साझेदारी, धोकाघडी, उदय, उत्कर्ष र पतनका चरणहरु देखेको छ, भोगेको छ र पार गरेको छ ।
प्रचण्डले चपाएका अनुहारहरु
‘सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मती घोच्ने तीँ गली काँढा पहिले नै छन् तिखा कति ?’
कवि शिरोमणि लेखनाथ पौडेलको यो नीतिश्लोक प्रचण्डको नेपाली राजनीतिमा आगमन, उत्कर्ष र ओरालो यात्रातिर लक्षित गरेर रचिएको थिएन तर संयोगले हुबहु मिलेको छ । प्रचण्डको फण्डाको शिकार सुरुमै औंलो समाएर राजनीतिको कखरा सिकाउने जीवन गुरुहरु भए । मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य, निरञ्जनगोबिन्द बैद्यहरु प्रचण्डबाट सुरुवातीकालमै चपाइएका अनुहारहरु हुन् ।
सहकर्मीहरु सिध्याउने प्रचण्डनीतिको मूल चरित्र ‘भैँसीको मासु सिङको अचानो’ गरी काम फत्ते गर्ने रह्यो । बादलबिरुद्ध बाबुराम, बाबुरामविरुद्ध नारायण काजी, महराबिरुद्ध वर्षमान, वर्षमानविरुद्ध जनाद्र्धनको प्रयोग सिलसिला अझै जारी छ । डिटर्जेन्ट पाउडरको विज्ञापनमाझैं प्रचण्डले डुबाएका, निचारेका र सुकाएका असफल राजनीतिज्ञको बिस्कुन ठूलो छ ।
सुखमा मात्तिने र दुःखमा आत्तिने महानायकीय धर्म होइन । भागेका राजा, थाकेका गिरिजा, ब्यारेक पसेको सेना, चुनाव हारेका एमाले र कांग्रेस, प्रधानमन्त्री पदको चिठ्ठा प्रचण्डको जीवनको उत्कर्ष थियो । कांग्रेस र एमालेको एकअर्काप्रतिको गलत चुनावी रणनीतिले गर्दा माओवादीले पहिलो संविधान सभा चुनावमा शिविरमा रहेका लडाकु र वाईसीएलको प्रयोग गर्न पाएको थियो । विजय उन्मादमा डुबेका प्रचण्डलाई उक्त सफलता चार दिनको चाँदनी हो भन्ने सत्यको गहिराई थाहा भएन ।
भारतको नोयडामा बसेर नेपालमा नरसंहार मच्चाएको भएपनि एमाले र कांग्रेसले दया गरेर प्रचण्डको सुरक्षित अवतरण गराएका थिए । उत्कर्षकालमा प्रचण्डको गिरिजाप्रसाद र माधवप्रतिको व्यवहार वृहस्पति आदि सम्मानित ब्राह्मणहरुलाई डोले बनाएर अपमान गर्न पछि नपर्ने नहुशको जस्तो रह्यो । अविवेकीको पतन अनेक प्रकारले हुन्छ । एमाले र कांग्रेस त सदाका लागि सकिए नै, राष्ट्रिय सेना पनि ध्वस्त पारीहालौं भन्ने बढ्ता चलाखी नै प्रचण्डको पतनको मोटो कारण बन्यो । सेनापति काण्डले प्रचण्डको उत्कर्षलाई हलुवामा बालुवा मिसाए सरह बनायो ।
काँचो अन्न र जिउँदो मान्छे आज नभए पनि भोलि चाहिन्छ भन्ने सत्यलाई कुल्चिएर शान्तिप्रक्रियामा आइसक्दा पनि एमालेको कत्लेआममा उत्रिएका प्रचण्डका लागि अन्तिम उद्धारकर्र्ता एमाले नै भयो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ओरालो लागेका मृग बनेका प्रचण्ड २०७४ सालको चुनावमा जनदण्डको भागेदार भई रुझेको बिरालो जस्तो बनेपछि एमालेसँग टाँसिन आइपुगे । आफ्नो बुँताले नभ्याउने भएपछि प्रचण्डले एमालेलाई तालमेल र सहकार्यका लागि गुहार मागेका थिए । एमालेको साथले पुनर्जीवन पाएपछि औकात भुलेर आलु खाएर पेंडाको धाक लगाइरहे ।
धराशायी प्रचण्ड
भिरमा जान सिपालु भिरमै गएर मर्ने खतरा हुन्छ । रुख चढ्न सिपालु रुखबाट लडेर मर्छ । पाडी खेल्न सिपालु डुबेर मर्छ । उत्कर्षकालको बेला सबैलाई सुम्सुम्याएर सिध्याउने कलामा वनका ब्वाँसालाई पनि चित् खुवाउन सक्ने प्रचण्डलाई झुटको राजनीतिले थमाएको पतन पनि एक उदाहरण हो । सबैमाथि कपट गर्ने प्रचण्डलाई तीन ‘क’ कोइराला, केपी र कटवाल नै ओरालो झराईका कारण बने ।
गिरिजाप्रसादलाई दिएको धोका र तिरस्कारले प्रचण्डको खलनायक चरित्र उदांग भयो । रुक्मांगद कटवालको हिम्मतले प्रचण्डको पामर चरित्र निर्वस्त्र पारिदियो । केपी ओलीको दीर्घराजनीतिक साधना प्रचण्डका लागि एक मनोवल उचो भएको राज्यसत्ता भन्दा बढी तगारो भइरहेको छ । एमाले साँचोमा ढालिनै लागिका प्रचण्डका लागि सबैभन्दा खराब मित्र माधव नेपाल साबित भए । उग्रवामपन्थी सुधारगृह एमालेबाट माधव नेपालले नै प्रचण्डको पतनलाई सुगम र सहज पारिदिए ।
जबज, लोकतन्त्र, सदाचार, इमानजमान, धैर्य, सहिष्णुता, निष्ठा र नैतिकताको पाठ सिक्न तयार भैसकेका प्रचण्ड फेरि बिग्रनुमा सुँडेनीको भूमिकामा झलनाथ र वामदेवहरु पनि सक्रिय रहे । मगजको विरामीलाई आवश्यक परे बाँधेर उपचार गर्नुपर्ने हुन्छ । नेकपामा स्थिति यस्तो आयो कि मानौं मगजको नयाँ विमारीसँग सुधारकै चरणमा रहेका विमारीले दल जमाए । मानौं मगजका विमारीको उद्दण्डताका अगाडि डाक्टर नै भागेर हिँड्ने स्थिति आयो । अन्ततः प्रचण्डसँग माधव, झलनाथ र वामदेवको लसपस एमालेका लागि सौभाग्य र प्रचण्डका लागि दुर्भाग्य साबित भयो ।
इमानको बाटो हिँडेका भए माओवादी डुबाइसकेका प्रचण्ड एमालेको बोस बन्नसक्ने सम्भावना बलियो थियो । हतारमा ओलीको चपरीमा बास गराएर एमालेको सौर्य र जमिनमा हस्तिनापुरीको राज गर्ने अधैर्यताले प्रचण्डलाई सर्वनार्श थमायो । डुब्नै लागेको माओवादी नौकाबाट ससम्मान उद्धार गर्ने ओलीमाथिको कपट, बदला, असहिष्णुता र घेराबन्दीनेर प्रचण्ड नमज्जासँग चिप्लिए र फेरि उठ्न नसक्ने गरी धरासयी भए ।
प्वाँख हेरेर मयुर हाँस्छ, खुट्टा हेरेर मयुर रुन्छ
एउटा व्यक्ति असल हुनुको लाभ पृथ्वीले उठाउँछ र व्यक्ति खराव हुनुको मार पनि यही पृथ्वीले भोग्नुपर्ने हुन्छ । रावण खराव हुनुको मूल्य लंकाले चुक्ता गरेको छ । रामायण रचनाको प्रयोजन यही छ । दुर्योधन असल भएको भए महाभारत मच्चिने थिएन । महाभारतले यही भन्छ । पछिल्ला दशकमा प्रचण्ड राष्ट्रिय समस्या नभैदिएको भए नेपालको विकास र समृद्धिको महाअभियानले यो स्तरको अवरोध झेल्नुपर्ने थिएन ।
जीवनगुरु विरुद्धका हर्कत, यानप्रसाद गौतमको सफाया, बाबुराम दम्पतीको सफायाको प्रयास, जीपीदेखि केपीसम्मलाई काखमै रहेर रोपेको छुराले प्रचण्डलाई सदावहार उद्दण्ड एक खलपात्र पुष्टि गरेको छ । जुन पार्टीको छाता ओढ्यो त्यसैमा भ्वाङ पार्नु, चुला खाएर धुरीमा डिठ पार्नु र गाँस दिनु र बास नदिनु खराब चरित्रको पाहुनालेझै संगत गरेका जतिलाई वाक्क दिक्क पार्नु प्रचण्डको जीवनलिलाको मेरुदण्ड बनेको छ ।
उत्कर्षको बेला असहिष्णु हुनु र प्रतिकूलतामा आत्महत्या जस्तो कायरतालाई सैद्धान्तिक जलप लगाउने धृष्टता गर्नु असामान्य विचलन हो । आफैं मर्छाै जोई ल्याई के गर्छाै । आफैं निराश–हतास प्रचण्डको नेतृत्व क्षमतामाथि यसरी प्रश्न खडा भएको छ जसरी एक रतन्धो लागेको भेंडो बथानको अगुवाई गर्न वर्जित रहने गर्दछ ।
प्रचण्डलाई गोटीको रुपमा उपयोग गर्नुमा भारतसँगै बाध्यता पनि छ । उसको आसन्न संकटका कारण भारत छिमेकीलाई दुःख दिन विवश छ । वास्तवमा भारतको हालत उसको राष्ट्रिय पंक्षी मयुरको जस्तो छ । भनाई नै छ– प्वाँख हेरेर मयुर हाँस्छ, खुट्टा हेरेर मयुर रुन्छ । छिमेकीमाथिको थिचोमिचो, हप्कीदप्की र शान सौकत भारत रुपी मयुरको सबैलाई मख्ख पार्ने मनमोहक प्वाँख हो भने चरम गरिबी र धनी गरिब बीचको गहिरो खाडल उसको दारुण र निर्बल खुट्टा हुन् । धनी गरिब बीचको यो खाडलको वास्तबिकता र यसको कारकतत्व भारतेली शासक वर्ग हो भन्ने सच्चाई तब मात्र आम भारतीय जनतासम्म पुग्नेछ जब नेपाल समृद्ध हुनेछ ।
युरोप, अमेरिका, मलेसियाको उन्नतिले भारतलाई खासै फरक पर्दैन तर आम भारतीयले आफैं देख्न सक्ने गरी छिमेकी नेपालको द्रुत विकास भयो भने भारतलाई हूल बाँधेर आउन रुचाउने संकटहरुले लपेट्ने छन् । यसैले छिमेकीको प्रगतिमा जसरी पनि भाँजो हाल्नैपर्ने भारतेली शासक वर्गलाई बाध्यता छ ।
नेपाल बनेपछि भारतको विखण्डन अवश्यम्भावी छ भने ओली सत्तामा रहिरहे वा फेरि आए भने पुष्पकमल दाहाल र माधवकुमार नेपालको सान्दर्भिकता रहने छैन । त्यसैले मोदी, माओवादी र माधवको गठजोडको जरा र बाध्यताको गाँठो यहानेर परेको छ । यो षडयन्त्र ओली र एमालेविरुद्ध मात्र लक्षित छैन । वास्तवमा यस साजिसको निशाना नेपालको लय, गति, उन्नति र प्रगति विरुद्ध केन्द्रित छ ।
यसरी यो गठजोडले एक तीर दुई शिकारको नीति अवलम्वन गरिरहेको छ । २०४६ सालको जनआन्दोलनमा भारतीय सेना भित्राउन खोज्ने माधव नेपाल र विद्रोहीको खास्टो ओढेर खासमा उत्कर्षकालको नेपाली कांग्रेसविरुद्ध भारतको शरणमा पुगेर उसको भक्तियोगमा रहेका प्रचण्डको रगतमा भारतीय कुअन्नको प्रभाव छ । बेतिया थातथलो भएका माधवकुमार उपाध्यायको ‘नेपाल’ टाइटल जसको सिंङ छैन उसको नाम तिखेको पुनरावृत्ति मात्र हो । भनिन्छ, सुगौली सन्धीमा हस्ताक्षर गर्ने चन्द्र शेखर उपाध्याय नै माधव नेपालका पूर्वज थिए । उनीहरु भारतको बेतिया गएर बसे । पिताजी मंगलप्रसाद उपाध्याय, भाइहरु सरोज उपाध्याय र विनोद उपाध्यायले नामान्तमा उपाध्याय लेख्ने तर जेठा भाइ तिलकप्रसाद उपाध्याय उर्फ माधवको नामान्तमा मात्र नेपाल किन ? प्रचण्डको जीवनको महत्वपूर्ण समय र टर्निङ पोइन्ट पनि भारतको नोयडामा उनले पाएको शरण नै हो । नेपालका आन्द्राभुँडी भारतलाई बुझाउनकै निमित्त प्रचण्ड र माधवलाई भारतीय संस्थापनले युगदेखि युगसम्म कठपुतली बनाउँदै र नचाउँदै आएको छ । यसो गर्नै पर्ने मोदी प्रशासनलाई बाध्यता छ ।
भारतीय गरिबी र उसको नेपाल नीति
ओली नेतृत्वको नेपाल अल्पविकसितबाट विकासशील देशको स्तरमा चढेपछि भारतमा बहुसंख्यामा रहेका गरिव जनताको असन्तुष्टि विष्फोट हुने र त्यसको व्यवस्थापन भारतीय शासक वर्गको बर्कत भन्दा बाहिर रहने निश्चित छ । किनकी भारतको गरिबी भयावह छ । धनी र गरिव बीचको खाडल कहालिलाग्दो भए पनि महाशक्ति बन्ने महत्वाकांक्षा पालेको देश पनि भारत नै हो । चतुर र सज्जनता बीचको खाडल बढी भएको मुलुक पनि भारत नै हो ।
अक्सफामको एक रिपोर्टअनुसार एक प्रतिशत भारतीय धनी वर्गसँग ७३ प्रतिशत सम्पत्ति छ । सन् १९९३ यताका २८ वर्षमा भारतको जनसंख्याको आधा हिस्सा अर्थात् ६७ करोड भारतीयको आर्थिक वृद्धि केबल एक प्रतिशत मात्र भयो । जनसंख्या बृद्धि भारतको अर्को समस्या हो । एक अध्ययन अनुसार भारतको जनगणनाको मापन र सामथ्र्यमा नै गम्भीर सन्देह छ । करिब २० करोड हाराहारीमा रहेका भारतीय भीखारी, खाते, सुकुम्बासी, फिरंगाहरु, मुस्लिम, अल्पसंख्यक दलित तथा आदिवासी, अस्थायी रुपमा विदेश गएका, माफिया एजेन्ट आदि भारतको हरेक जनगणना छुट्ने गर्दछन् ।
अक्र्सफोर्ड प्रोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभका अनुसार सन् २००९ मा भारतमा ४२ करोड जनता गरिब थिए । यही प्रतिवेदनले भन्छ, भारतको विहार, छत्तीसगढ, झारखण्ड, मध्यप्रदेश, उडिसा, राजस्थान, उत्तरप्रदेश गरी आठ वटा राज्यमा यति धेरै गरिब छन् कि जसका कारण विश्वमा सबैभन्दा गरिब अफ्रिकाका १६ वटा मुलुकलाई भारत एक्लैले गरिबहरुको संख्याको हिसाबले उछिनेको छ । छिमेकी देशको सिमा मिचेर तथा त्यहाँको बस्तीमा यस्तै अनुत्पादक जनसंख्या थोपरेर आफ्नो गलगाँड घटाउन भारत हदै प्रकारका हकर्तमा उत्रन खप्पिस छ ।
बुद्धिनारायण श्रेष्ठ र शास्त्रदत्त पन्त जस्ता प्रबुद्धवर्गमा सीमित भारतीय हेपाहा रबैयाप्रतिको सचेतना ओली र एमालेको काँध चढेर मूलधारको राजनीतिको हिस्सा हुने र नेपालका वस्ती वस्तीमा देशभक्त जनउभार आउने चिन्ताले भारतलाई सताएको छ । हाल नेपालका तराईदेखि हिमालसम्मका वस्तीहरु प्रति वर्ष भारतबाट भित्रिने यस्तै भारतीय मगन्ते, साधुसन्त, चोर, जादुवाल, जडिबुटी बेच्ने, नुनिया, हजाम, धुनिया, मोचीले ढाकिएका छन् । तराईका हरेक बस्तीमा खुल्ला ठाउँ, सडक किनार, नहर किनार, पुलपुलेसाका पेटीमा पाल टाँगेर तथा छाप्रा बनाएर बस्न भारतीयहरु ओइरिएका छन् । यसरी नियोजित रुपले भारतको बोझ नेपाललाई बोकाइएको छ । यिनको रेकर्ड नेपालको कुनै पनि प्रशासनिक निकायसँग छैन ।
जुन ओली सरकारले क्षणिक प्रकारकै सही राजनीतिक स्थिरताको पोषण पाएर लिम्पियाधुराको खोजिनीति गर्यो, त्यही ओली सरकार रहिरहने हो भने नेपालका अनेकौं छिद्रहरु टाल्न सक्छ भन्ने त्रासमा थियो मोदी प्रशासन । सन् १९६२ मा चीनसँगको युद्धमा टिक्न नसकेर बहादुरी साथ पिठ फर्काइ भागेको भारतीय सेनाबाट अकारण अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको खोजिनीति गर्ने र आँखामा आँखा जुधाएर ‘डिल’ गर्ने हिम्मत देखाउने ओली र ओली ब्राण्डका देशभक्तलाई सत्ताबाट मात्र होइन जनताको दिलबाट, सम्झनाबाट र सके त यस धरतीबाटै हटाउने साजिस भइरहेको छ । ओली सरकार रहिरह्यो भने नेपालमा सिक्किमीकरण, फिँजीकरण र भुटानीकरणको भारतीय बहुआयामिक व्यूहनीति र गेमप्लानभण्डाफोर र असफल हुने देखेर मोदी, माओवादी र माधवको एम क्युब गठजोड सव्रिmय बन्यो र ओलीलाई सत्ताबाट हटाउन सफल भयो ।
नेपालमा जनसंख्या घुसाउँदै भारत
नेपालको अस्थिरताको धमिलो पानीमा आफूप्रति कम्फर्टेबल, कठपुतली एवं कमजोर शासकहरुलाई बल्छी र जाल बनाएर भारतले धेरै स्वार्थ पूरा गर्नु छ । गरिबी र बढ्दो जनसंख्याको बोझ थोपर्नु छ । नेसनल काउन्सिल अफ एप्लाइड इकोनमिक रिसर्च भारतको तथ्यांकले भन्छ, सन् २००९ मा २० लाख परिवारका २२ करोड भारतीय गरिबीको अन्तिम तहमा थिए । सोही समयमा नेपालमा त्यो तहका गरिबको संख्या ३० लाख मात्र थियो । यति भएर पनि नेपालको गरिबीको भारतीय पक्षले गर्ने विश्वव्यापी हल्लाखल्ला तथा विज्ञापन र आफ्नो असली अनुहार लुकाउनलाई गरेको ढाकछोप कला आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रो देख्ने सरहको छ ।
नेपालको सिमाना जोडिएका पश्चिम बंगाल, बिहार र युपीमा सन् २०१२ मा १० करोड घरबारविहीन, सुकुम्बासी, खाते, मगन्ते थिए । यो श्रमशून्य बोझपूर्ण जनसंख्याको अधिकतम हिस्सा नेपालमा स्थापित गराउन भारतीय व्युहनीतिमा नेपालको कम्फर्टेबल कठपुतली झुण्डलाई प्रयोग गरिएको छ । भारतीय घुसपैठका कारण आफ्नै भूमिमा नेपाली जनताको रोजगार खोसिएको छ । यसको मारमा सानामसिना व्यापारी परेका छन् । नेपालमा भारतबाट आएर सिकर्मी ५० हजार, डकर्मी ९० हजार, हजाम १ लाख २० हजार, तरकारी र फलफूल विक्रेता तीन लाख ६५ हजार, कृषि श्रमिक पाँच लाख, गार्मेन्ट २८ हजार, ठेक्कापट्टा आठ हजार, पान पसल आठ हजार, जुत्ता सिलाउने मोची ६ हजार र अन्य एक लाख १७ हजार नेपालमा रोजगार गरी बसेका छन् । प्रश्न उठ्छ नेपाली पनि भारतमा रोजगारीमा छन् । भारतमा रोजगार गर्ने नेपालीको संख्या ५–६ लाख मात्र छ । भारतबाट नेपालमा रोजगार गर्ने र यहाँ आएर स्थायी रुपमा बसोबास गर्नेको संख्या ६५ लाख नाघिसकेको छ ।
२०२७ सालदेखि २०३६ सालमा नेपालको तराईमा व्यापक वन फँडानी भएको थियो । त्यही मौका छोपी ‘रअ’को सक्रियतामा युपी र बिहारका गरिब र भोका नाङ्गालाई घुसपैठ गराएर नेपाली जमिन दिइएको थियो । कांग्रेस नेतालाई पञ्चायत कालमा र प्रचण्डलाई द्वन्द्वकालमा आश्रय दिएको मूल्य स्वरुप नेपाल घुसाइएका भारतीयलाई नागरिकता दिन २०६३ सालको संक्रमणकालको धमिलोमा हतारपतार गरेर नागरिकता विधेयक पास गराइयो । तराईमा भारतीयलाई बहुसंख्यक बनाउने भारतीय रणनीति जारी छ । भारतको यस अभीष्टका लागि ओली सरकारले गठन गरेको भूमि आयोग तगारो बनेको थियो । जनप्रिय काम गर्नमा कछुवा गतिमा घिस्रिरहेको देउबा सरकार भारत रिझाउन भने खरायो गतिमा दौडिरहेको छ । भूमि आयोगको नेतृत्व मात्र फेर्नु पर्नेमा देवी ज्ञवाली आयोग नै विघठन गरेर देउवा सरकारले भारतेली शासक वर्गको सेवा गरेको यो एक दृष्टान्त हो ।
प्रचण्डको भारत भक्ति
हातहतियारको होडबाजी र हस्तक्षेप भारतका बैशाखी हुन् । काश्मिर, लद्दाख, जस्ता कम उब्जाऊ भूमि, नेपालको लिपुलेक, भुटानको डोक्लाम क्षेत्रमा सामरिक शक्ति र उपस्थिति देखाएर, नेपाल लगायतका छिमेकी देशमा अस्थिरता ल्याएर, सत्तापलटमा कलापूर्णढंगले होमिएर तथा त्यहाँ कठपुतलीलाई टिकाउन पैसाको खोलो बगाएर, निर्वल, दयनीय वाक्पटु र रणनीतिमा इतिहासमै कमजोर प्रतिपक्षबाट चुनावी लाभ उठाएर मोदी प्रशासन जमे जस्तो देखिए पनि भारतीय गरिबका लागि तारनहार बन्न सकेको छैन । यसकारण जनताको ध्यान अन्यत्रै मोड्नु पर्ने मोदीसँग बाध्यता छ ।
कुनै बेला कांग्रेसजनका लागि कालदण्ड मानिने प्रचण्ड र एमालेमा सीमाहीन शक्ति अभ्यास गरेका माधव नेपाललाई आज देउबाको चरणचुम्बन गरेर पनि ओलीमाथि बदला लिनु छ । त्यसैले के खाउँ भन्छ ओढार, कहाँ जाउँ भन्छ बतास शैलीमा एम क्युब कनेक्सन संभव भयो । यो गठजोडको सबैभन्दा ठूलो कृत्य नेपाली जनताको चेतनासँग जिस्कनु हो । नाकाबन्दी विफल पारेकोमा नेपाली जनतालाई बदला लिने दाउमा रहेको भारतले प्रचण्ड र माधवमा लगानी ओइर्याएको छ ।
बिगतमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउबाले मध्यावधि घोषणा गर्दा प्रतिगमन नहुने यसपटक चुनावको घोषणादेखि अदालतको आदेशसम्मको मौन रहनुपर्ने अवधि पनि प्रतिगमन हुने कसरी ?
अदालतको निर्णय प्रभावित पार्ने गरी भएका प्रदर्शन, रक्तभोगी आन्दोलनको धामस र त्यहाँ खर्चिएको अपारदर्शी रकम, जनताको अदालत, जनताको सर्वाच्चता, जनताको परीक्षकीय भूमिका माथिको अपमान र अनादर हो । जनतामा भन्दा विदेशी प्रभुको भर पर्ने प्रचण्डको विनाशकाले विपरीत बुद्धि उनको भावभंगीमा देख्न सकिन्छ । नेपाली जनतालाई गाली गर्न निन्दावर्षाको आड लिने र भारतीय प्रभु रिझाउन सरस्वती पुर्याउन धक नमान्ने एक मात्र नेता पनि प्रचण्ड नै हुन् । नेपाली जति मेहनती जनता विश्वमा कहीँ पनि नभएकाले विश्व श्रम बजारमा नेपालीको इज्जत छ ।
प्रचण्ड भने अफिमको नशामा परेको क्रान्ति अघिको चीनको अवस्थाबारे माओको भनाई पैचो लिदै उहिलेको चीनमा वर्षा आएको कथाको किताबमा हेरेर नेपालमा अहिले छाता ओढ्ने गल्ती गर्दै आफ्नो पार्टी सुकाइदिएको झोक पोख्तै जनतालाई गाली गर्छन्– ‘म समस्या तपाइँ जनतामा देख्छु । तपाईहरु जनता अल्छी, तपाईहरु कामचोर, तपाईहरु लोभी । तपाईहरु पापी जस्तो । यसो भएपछि कसरी हुन्छ देशको प्रगति ।’ भारतेली शासक वर्गको स्तुतिका लागि रचिएको प्रचण्डको कम्फरटेबल साहित्यमा भने सारा भक्तिरस, लालित्य र सरस्वतीमाथि एकाधिकार जमाउने प्रयास गरिएको छ ।
भारतसँग हाम्रो सामाजिक, ऐतिहासिक, साँस्कृतिक, आर्थिक समन्ध, नदीहरुको वहाब सबै कारणले घनिष्ट छ र ओलीलाई सत्ताच्युत पारेर काग्रेस, माओवादी, मधेसवादी र माधव खेमा सहितको गठबन्धन भारतका लागि कम्फरटेबल हुन्छ भनेर जुन साहित्य फुर्यो, त्यो साहित्य प्रचण्डको छद्म भारतभक्ति युगको अन्त्य भएर खुलमखुला भारतभक्ति युगको सुरुवात जनाउने कोसेढुंगा हो ।
देउवाका दर्बान हुन् प्रचण्ड
भावी नेपालको सुन्दर मानचित्र बहुदलीय जनवादीहरुसँग मात्र छ । समृद्धिको यस महाअभियानमा अब कुनै जमिन्दारले सेरोफेरो भरिको जमिन अनुत्पादक ढंंगले बाँझो छोड्न पाउने छैन । मेहनती किसानले पुग्दो जमिन नपाउनुको सास्ती खेप्नु पर्ने छैन ।
नदीहरुले मनलाग्दी ढंगले जमिन बगर बनाउन पाउने छैनन्, तटबन्दीमा परेर सिधै परेड खेल्नु पर्ने छ । मेचीदेखि महाकालीसम्मका नदीबाट प्रभावित बाढीक्षेत्रमा मात्र नेपालको आधा जनसंख्यालाई खान पुग्ने जमिन उपयोगमा ल्याउन सकिने छ । खाद्य, वाली नगदे बाली, पशु फार्म, घाँस उत्पादन सहितको एकीकृत उत्पादन र शहरीकरणलाई सँगसँगै लगिने छ ।
सडक संञ्जाल विद्युतीकरण, सिँचाई आयोजनाको ओली सरकारले ल्याएको उछालले गरीवको घरको छाना फेरिने भयो, माना बढ्ने भयो र नाना फेरिने भयो भनेर कांग्रेसलाई चिन्ता थियो । गरिवको उत्थान हुँदा हली गोठाला नपाइने चिन्ताले कांग्रेसजनको निदहराम भएकै थियो ।
वामपन्थी आन्दोलनमा हरियो घाँसमा हरियो सर्प घुसेझै छिपिएर बसेका माधव, झलनाथ, वामदेव ब्राण्डका अवसरवादी पनि थपिएपछि नेपाली जनताको समृद्धिको सपना बिथोलिएको छ । भूमिको व्यवस्थापनबाट एकातिर सामाजिक न्याय कायम हुने र अर्को कृषि, उद्योग, बजार व्यवस्था, ग्रामीण विकासमा टेवा पुग्ने देखेर भूमि आयोग खारेज गरियो ।
तराईमा भारतीयको बाहुल्यता बनाउने भारतीय स्वार्थ र जमिन्दारको पार्टी नेपाली कांग्रेसको स्वार्थ मिलेका कारण त्यहाँ विकास र न्याय हुन सकेको थिएन । तराईको एकीकृत विकास हुँदा गरिव र राष्ट्रिय पूँजीपति वर्ग दुबैको हित हुनेर नेपालको आर्थिक बृद्धि हुने देखेर नेपालका घरेलु र बाह्य दुष्मनहरु सव्रिmय भए, जाल रचे र बहुदलीय जनवादीहरु विरुद्ध एक भए ।
मातृभूमि वा मोदी ? जनतासँग रोज्नेलाई तेश्रो बिकल्प छैन । नाकाबन्दी कार्डलाई म्याद सकिएको औषधी सरह पार्न इतिहासले सचेत जनता र साहसी प्रधानमन्त्रीको उदय र उपस्थिति खोजिरहेको थियो । ओली नेतृत्वको नेपाल र नेपालीले भारतीय नाकाबन्दीको धामसलाई रद्दीको टोकरीमा मिल्काइदिएको बदला स्वरुप कठपुतली कार्डको प्रयोगमा भारत उत्रिएको छ ।
यस मोदी, माओवादी र माधव गठजोडको अन्तिम परिणति प्रचण्डबाट माधव ठगिनु, कांग्रेसवाट वामपन्थी ठगिनु र भारतबाट नेपाल ठगिनु हुनेछ । पञ्चतन्त्रको कथामा ठगिएकी बेश्याको कथा छ । धनाढ्य बुढो लोग्नेकी जवान श्रीमति तरुनो नोकरसँग घरको धनमाल चोरेर अँधरी रातको मौका छोपेर भाग्छे ।
ऐश आराम, भोगविलाश र रसिकता भन्दा धन कमाउने दाउमा रहेको नोकर एक डाँका परेछ । डाँका तरुनी आइमाईका गहनापात, धनमाल राखिएको बाकस र पहिरिएका मूल्यवान लुगा कपडा खोसेर बाटो लाग्छ । तरुनो लोग्नेसँग झकास जिन्दगी बिताउने लोभले डाँकाको फन्दामा परेकी आइमाई रातको समयमा अघोर जंगलमा अलपत्र पर्छे ।
प्रचण्डको सुम्सुम्याएर सिध्याउने ब्वाँसेनीतिको फन्दामा परेर माधव नेपालले आफुसहित एमालेलाई २०६४ सालमा ठगिएकी बेश्याको हालतमा पारेको धेरै भएको छैन । एमालेको दियोको तेल सकिएको रहेनछ । जनताको अनुकम्पा र युवापुस्ताको सौर्यका कारण एमालेले पुनर्जीवन पायो ।
यसमा खासै मेहनत नपरेकोमा माधव नेपालमा भरपूर कुण्ठा थियो । ओलीको साहसी नेतृत्वमा रहँदा एमालेले देखाएको जादु भनेकै प्रचण्डको आकार र ओझ घटाइदिनु हो । कांग्रेसको ज्यान लिने कालदण्डबाट प्रचण्डलाई देउबाको दर्बानको तहमा ओर्लन बाध्य पार्नु चानचुने चमत्कार होइन ।
ओलीको नेतृत्वमा नेपालको राष्ट्रिय गौरबको उत्थान भएकोमा नरुचेर विरोधी गठबन्धन मोदी शरण गच्छामीको तहमा उत्रिएको छ । कठपुतली गठबन्धन मातृभूमिलाई ठगिएकी बेश्याको हातलमा पुगाउन तन, मन र बचनले लागिपरेको छ । जनताको चेतनासँग गरेको यो हँसिमजाक सत्तारुढ गठबन्धनले आफ्नै लागि खनेको चिहान हो ।
