-गाेविन्द थापा-
विश्वको सबैभन्दा शक्तिशाली देश चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण अत्यन्त महत्वपूर्ण छ । उहाँको यो भ्रमणको अर्थ र महत्व बहुआयामिक छ ।
विदेशमन्त्री यीको भ्रमण यस्तो बेला हुन गइरहेको छ जुन बेला समग्र विश्व युद्धको कालो छायाँमा परेको छ । शीतयुद्धको समाप्तिपछि विश्व राजनीति यति जटिल अवस्थामा शायद फसेको थिएन । यस्तो बेला चिनियाँ विदेशमन्त्रीको प्राथमिकतामा नेपाल पर्नु अर्थपूर्ण छ । उहाँको भ्रमण लामो तयारीपछि भएको होइन, छोटो तयारीमा भ्रमण हुन लागेको पनि विचारणीय छ ।
नेपाल–चीन सम्बन्ध विश्वासपूर्ण रहिआएको छ । अहिले आएर विश्वासमा छिद्र पर्न थालेको हो की ? कूटनीतिक वृत्तमा यस्तो टिप्पणी सहित बहस भइरहेको देखिन्छ । अति नै विश्वासपूर्ण चीन–नेपाल सम्बन्धमा अविश्वासको सानो छिद्र हुनु पनि चिन्ताको विषय हो । चीनलाई नेपालले पूरापुर विश्वास गरेको देखिन्छ । चीनले आजसम्म नेपाललाई अविश्वास हुने कुनै काम गरेको देखिँदैन । नेपालको सार्वभौमिकताको चीनले उच्च सम्मान गर्ने गरेको छ । नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताप्रति चीनको अटल प्रतिवद्धता प्रशंसालायक छ ।
चीन–नेपाल सम्बन्ध बहुआयामिक छ । युग अनुसार सम्बन्धका आयामहरु फेरिँदै जान्छन् । सम्बन्धका आयाम निरन्तर विस्तारित हुँदै गएको सन्दर्भमा सम्बन्धलाई अझ उच्च स्तरको बनाउन हुनुपर्ने जति प्रयास नभएको अनुभुति हुन्छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार आएपछि नेपालको वैदेशिक सम्बन्धमा विचलन आएको छ, विथोलिएको छ । सरकारका विभिन्न घटक पार्टीका नेताहरु वैदेशिक सम्बन्धलाई विथोल्न लागिपरेका छन् । अमेरिकी सहयोगको एमसीसी परियोजना संसद्बाट पारित गर्ने सेरोफेरोमा नेपाललाई अविश्वसनीय देश बनाउन सत्ता गठवन्धनले प्रयास गर्यो । एमसीसी नेपालका लागि कति ठिक कति वेठिक भन्ने अहिले पनि बहस जारी छ, यो अर्कै पक्ष हो । तर, एमसीसीको सेरोफेरोमा देउवा सरकारले नेपालको वैदेशिक सम्बन्धलाई विथोल्नसम्म विथोलेको छ । वाङ यीको भ्रमणका बेला यो पृष्ठभूमि पनि सम्झनुपर्ने हुन्छ ।
रुस–युक्रेन युद्धको सेरोफेरोमा देउवा सरकारले विश्व सम्बन्धलाई कसरी परिचालित गर्यो भन्ने पनि ध्यान दिनुपर्छ । वैदेशिक सम्बन्ध अत्यन्त संवेदनशील हुन्छ । घरेलु राजनीतिमा जसरी वैदेशिक सम्बन्धमा हतारको प्रतिक्रिया आत्मघाती हुनसक्छ । वैदेशिक सम्बन्धमा जोश होइन होस चाहिन्छ, संयम चाहिन्छ । यस्तो मामिलामा देउवा सरकार चुक्दै आएको छ । रुस–युक्रेन युद्ध र नेपालको पछिल्लो कूटनीतिक शैलीलाई समेत वाङयीको भ्रमणका सन्दर्भमा बुझ्नु उपयुक्त हुन्छ ।
यति निकट छिमेकी हुँदाहुँदै पनि नेपालले किन चीनबाट विकास र समृद्धि भित्राउन सकेन ? चीनबाट लगानी, प्रविधि, पूँजी भित्राउन किन नेपाल पछि परिरहेको छ ? चीनले नेपाललाई प्राथमिकता नदिएको हो कि नेपालबाटै वाधा व्यवधान गरिएको हो ? यो विषयमा विदेशमन्त्री वाङको भ्रमणका बेला वस्तुनिष्ठ समीक्षा हुन आवश्यक छ ।
चीनसँग अहिले सम्बन्धमा केही समस्या देखिन थालेको छ । आफ्नो सुरक्षा चासोलाई नेपालले पर्याप्त सम्बोधन नगरेको चिनियाँ चिन्ता देखिन्छ । नेपालमा एमसीसी सम्झौता अनुमोदनको सेरोफेरोमा चिनियाँ विदेश मन्त्रालयले दुई पटक टिप्पणी गरेको प्रसंग यहाँ सम्झनुपर्ने हुन्छ । नेपालले चीनको सुरक्षा चासोलाई सदैव सम्बोधन गर्दै आएको छ । अवैध र अनैतिक रुपमा अदालती आदेशबाट नयाँ सरकार बनेपछि नेपालको परराष्ट्र नीतिमा विचलन आएको स्वयं हामी नेपाली स्वीकार गर्न वाध्य छौं । यो अवस्थामा चीन सहितका मित्रराष्ट्रहरुमा अविश्वास र आशंका हुने परिस्थिति आउनु दुखद हो ।
एमसीसी फरक प्रकरण हो तर वर्तमान सरकार गठन नै अत्यन्त रहस्यमय र अनैतिक ढंगबाट भएको हो । सरकारले नेपालको वैदेशिक सम्बन्धलाई खेलाँचीका रुपमा लियो । सरकारमा सहभागी घटकका कैयन नेताहरुले आफू नै प्रधानमन्त्री र परराष्ट्र मन्त्री भए झैं व्यवहार गरिरहेका छन् । उनीहरुले नेपालको वैदेशिक सम्बन्धलाई लथालिंग पार्दै लगेका छन् । यो कारण चीन शशंकित भएको हुनसक्छ । नेपालबाट आश्वस्त हुन नै चिनियाँ विदेशमन्त्रीको भ्रमण हुन लागेको अनुमान काठमाडौंको कूटनीतिक वृत्तले गरिरहेको छ । यो अनुमानलाई अन्यथा भन्न मिल्ने अवस्था छैन ।
छिमेकी मुलुकभित्र हुने गतिविधिले आफ्नो सुरक्षामा आँच आउन सक्छ भनेर कुनै पनि मुलुक सतर्क हुन्छ । चीन पनि नेपालको आन्तरिक गतिविधिबाट बेखबर पक्कै छैन । नेपालमा स्थायी प्रकृतिको राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयत्न भइरहेको छ । नेपाललाई स्थिरतामा जान नदिने प्रयासप्रति चीनको चासो स्वागतयोग्य नै हुन्छ । त्यसबाहेक चीनियाँ कम्युनिष्ट पार्टीको नेपालका कम्युनिष्ट पार्टीहरुसँग परम्परागत रुपमा नै सम्बन्ध रहँदै आएको थियो । विचार मिल्ने राजनीतिक दलसँग अर्काे देशको राजनीतिक दलको सम्बन्ध विश्वभरी नै सामान्य मानिन्छ । यस अर्थमा चिनियाँ कम्युनिष्ट पार्टीको नेपालका कम्युनिष्ट पार्टीहरुसँग सम्बन्ध स्वाभाविक र स्वागतयोग्य छ । तर, अहिले आएर के प्रमाणित भयो भने नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी छ । त्यो पार्टी नेकपा एमाले हो ।
कम्युनिष्ट साइनबोर्ड टाँगेका सबै पार्टी कम्युनिष्ट होइनन् । एक्काइसौं शदीमा कम्युनिष्ट पार्टीको मुख्य ध्येय विकास, समृद्धि र स्थिरता हुनुपर्छ । एक्काइसौं शदीका कम्युनिष्ट पार्टीहरु जनता केन्द्रीत हुनुपर्छ । जनताको विश्वास बिना कम्युनिष्ट पार्टी बन्न सकिँदैन । यस अर्थमा नेपालमा कम्युनिष्ट पार्टी एउटा मात्र छ भन्ने तथ्य स्थापित भइसकेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी त्यहाँको कम्युनिष्ट पार्टीका नेता पनि हुनुहुन्छ । नेपाल भ्रमणको क्रममा उहाँले नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टीका रुपमा एमाले छ र सो पार्टीलाई अत्यधिक जनविश्वास प्राप्त छ भन्ने महशुस गर्नुहुने नै छ ।
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई नेपालले उपयोग गर्न सक्नुपर्छ । चीनको सुरक्षा चासो र हितप्रति नेपालले आफ्नो प्रतिवद्धता निरन्तर रहेको विश्वास दिलाउनुपर्छ । चीनबाट पूँजी र प्रविधि भित्राउनुपर्छ । चीनलाई नेपालले विकास साझेदार बनाउनुपर्छ । चीन र नेपालले विकास र समृद्धिका लागि रणनीतिक एकता गर्दै एक्काइसौं शदीका विकास चुनौती सामना गर्दै अगाडि बढ्नुपर्छ । विदेशमन्त्रीको भ्रमणको अवसरमा नेपालले लाभ लिनुपर्ने अन्य धेरै क्षेत्र छन् । नेपालको पूर्वाधार निर्माणमा चिनियाँ सहयोग नै मुख्य विषय हो । चीनले बिआरआई परियोजना अन्र्तगत सहयोगको प्रस्ताव अगाडि सारिसकेको छ, बिआरआईमा नेपालले सम्झौता गरिसकेको छ । बिआरआई कार्यान्वयन नै चीन–नेपाल सम्बन्धको मुख्य एजेण्डा बन्नुपर्छ ।
एमसीसीको सेरोफेरोमा जेजस्तो राजनीतिक र कूटनीतिक परिवेश नेपाल भित्रबाट निर्माण गर्न खोजिएको छ त्यसलाई नेपाली नेतृत्वले निस्तेज बनाउन सक्नुपर्छ र चीनलाई आश्वस्त बनाउनुपर्छ । विदेश मन्त्रीको भ्रमणको अवसरमा नेपालले चीनसँग उत्तरतर्फ थप नाकाहरु खोल्न, नाका जोडिने सडकहरुको स्तरोन्नति र निर्माण गर्न, बिआरआई परियोजनालाई नेपालमा प्रभावकारी कार्यान्वयन गर्न, पूँजी र प्रविधि भित्राउन जोड दिनुपर्छ । विदेशमन्त्रीको भ्रमणको अवसरमा थप भ्रमण आदानप्रदान गर्ने परिवेश निर्माण हुनुपर्छ । दुवै देशका राष्ट्रपति र प्रधानमन्त्री तहमा निरन्तर भ्रमणको व्यवस्था मिलाउन सकियो भने सम्बन्ध र विश्वासले नयाँ उचाई हासिल गर्नेछ । यसो गर्दा चीनबाट विकास र समृद्धि भित्राउने नेपाली चाहना पनि पूरा हुनसक्छ ।
विदेशमन्त्रीको भ्रमणका क्रममा दुई मुलुकबीच विश्वासपूर्ण सम्बन्ध बनाउन दुवै देशका सरकारहरुको दायित्व हो । आतिथ्य देश नेपाल भएकाले नेपालले निकै नै संवेदनशीलता देखाउन आवश्यक हुन्छ । यो भ्रमणबाट चीन–नेपाल सम्बन्धमा उचाई अवश्य थपिने छ ।
(लेखक गोविन्द थापा नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ )
